Dr. Govinda S. Upadhyaya

दर्शनशास्त्र र अर्थपूर्ण जीवन

मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु ? जीवनको लक्ष्य के हो ? सुख के हो ? मृत्यु के हो ? र यी सबै प्रश्नहरूको बीचमा मेरो कर्तव्य के हो ? यिनै प्रश्न नै दर्शनशास्त्रको मूल प्राण हुन् । जहाँ जीवन केवल दिन काट्ने अभ्यास बन्दैन, जहाँ भोग, पैसा, पद र प्रशंसाको पर्खाल नाघेर मान्छे आफैसंग गर्न थाल्छ, यहीं दर्शनको आरम्भ हुन्छ।

Dr. Govinda S. Upadhyayaवैदिक परम्पराले जीवनलाई केवल जैविक घटना ठानेन। यसले जीवनलाई ऋत, धर्म, कर्म, आत्मा र ब्रह्मसँग जोडेर बुझ्यो। उपनिषद्का नचिकेता यसको उज्ज्वल उदाहरण हुन्। बालक नचिकेताले यमराजसँग धन, आयु, ऐश्वर्य, पुत्र, पशु, राजसुख वा स्वर्गीय भोग मागेनन्। उनले सोधे—मृत्युपछि के हुन्छ ? आत्मा के हो ? जीवनको अन्तिम सत्य के हो ? यमले उनलाई लोभ्याउन खोजे, तर नचिकेता विचलित भएनन्। उनले क्षणिक सुखलाई अस्वीकार गरेर श्रेयको मार्ग रोजे। यसैले नचिकेता केवल बालक होइनन् । उनी मानव-चेतनाको साहस हुन्। उनी हामीलाई भन्छन्—अर्थपूर्ण जीवन  भौतिक वस्तुहरूमा होइन, ती प्रश्नहरूमा भेटिन्छ जसले मान्छेलाई बाहिरबाट भित्रतिर लैजान्छ।

भगवद्गीताका अर्जुन पनि जीवनको अर्थ खोज्ने अर्को महान् प्रतीक हुन्। कुरुक्षेत्रको मैदानमा अर्जुन केवल युद्ध गर्न डराएका योद्धा थिएनन् । उनी नैतिक संकटमा परेका संवेदनशील मनुष्य थिए। आफ्नै बन्धु, गुरु, मित्र र कुलको विनाश देखेर उनको धनुष हातबाट खस्यो। यही अस्तित्वगत संकटमा उनले श्रीकृष्णलाई सोधे—म के गरूँ ? के गर्नु उचित हो ? जीवनको धर्म के हो ? श्रीकृष्णले अर्जुनलाई केवल युद्धको प्रेरणा दिएनन् । उनले कर्म, ज्ञान, भक्ति, आत्मस्वरूप, अनासक्ति र लोकसंग्रहको दर्शन दिए। गीता भन्छ—अर्थपूर्ण जीवन पलायनमा होइन, कर्तव्यमा छ ।  अहंकारयुक्त कर्ममा होइन, समर्पित कर्ममा छ; व्यक्तिगत लोभमा होइन, लोकहितमा छ।

पश्चिमी दर्शनमा पनि जीवनको अर्थको खोज उस्तै गम्भीर रूपमा उपस्थित छ। सुकरातले “परीक्षण नगरिएको जीवन बाँच्न योग्य छैन” भनेर जीवनलाई आत्मपरीक्षणसँग जोडे। प्लेटोले सत्य, शिव र सुन्दरको आदर्शमा जीवनको अर्थ खोजे। अरस्तुले सद्गुण र विवेकपूर्ण जीवनलाई मानव-समृद्धिको आधार माने। आधुनिक युगमा इमानुएल कान्टले जीवनको अर्थ बाह्य सफलता वा सुखमा होइन, कर्तव्य र नैतिक नियमप्रतिको सम्मानमा देखे। उनका लागि मान्छे त्यही बेला अर्थपूर्ण हुन्छ, जब उसले अरूलाई साधन होइन, साध्यका रूपमा व्यवहार गर्छ। कान्टको सदाचारयुक्त जीवन वैदिक “धर्म”को आधुनिक नैतिक प्रतिध्वनि जस्तै देखिन्छ।

नित्सेले जीवनको अर्थ शक्तिमा देखे। तर उनको शक्ति केवल अरूमाथि शासन गर्ने हिंस्रक शक्ति होइन । त्यो आत्मोत्तरणको शक्ति हो। नित्सेको “will to power” मनुष्यभित्रको सृजनशील ऊर्जा हो, जसले उसलाई भीडको नैतिकता, डर, कमजोरी र रूढ मान्यताबाट माथि उठ्न प्रेरित गर्छ। उनले मान्छेलाई आफ्नै मूल्य सिर्जना गर्न आह्वान गरे। उनको दृष्टिमा अर्थपूर्ण जीवन त्यो हो, जहाँ मान्छे आफ्नो नियतिको दास होइन, आफ्नै मूल्यको सर्जक हुन्छ। यस अर्थमा नित्से र गीता दुवै आत्मबलको कुरा गर्छन्, तर गीता आत्मबललाई लोकधर्मसँग जोड्छ, नित्से व्यक्तिगत सृजनात्मक उन्नयनसँग।

कार्ल मार्क्सले जीवनको अर्थ पूँजी, श्रम, उत्पादन र वर्ग-संघर्षको यथार्थमा खोजे। उनको “क्यापिटल” केवल अर्थशास्त्रको पुस्तक होइन । त्यो शोषणको संरचना बुझ्ने दार्शनिक प्रयास पनि हो। मार्क्सका लागि अर्थपूर्ण जीवन तब सम्भव हुन्छ, जब मान्छे आफ्नो श्रमबाट अलग्गिँदैन, जब उत्पादनको साधन केही व्यक्तिको निजी स्वार्थको हतियार बन्दैन, जब समाजमा अन्यायपूर्ण वर्गीय संरचना भत्किन्छ। उनले जीवनको अर्थ व्यक्तिगत मोक्षमा होइन, सामूहिक मुक्ति र न्यायपूर्ण समाजमा देखे। यहाँ मार्क्सको चिन्ता वैदिक “सर्वे भवन्तु सुखिनः”को सामाजिक भाष्यजस्तै देखिन्छ, यद्यपि उनको पद्धति भौतिकवादी छ।

नेपालका चौतारिया राजा जयपृथ्वीबहादुर सिंहले जीवनको अर्थ मानवताको प्रवर्धनमा देखे। उनले शिक्षा, सामाजिक सुधार, विश्वशान्ति र मानवहितलाई आफ्नो जीवनको ध्येय बनाए। उनी केवल राजा वा कुलीन व्यक्तित्व थिएनन्  । उनी मानववादी चिन्तक थिए। उनको “मानवतावाद”ले भन्छ—मान्छेको अर्थ जाति, सम्प्रदाय, राज्य, वर्ग वा निजी लाभमा सीमित छैन। मान्छेको वास्तविक पहिचान उसको मानवीयता हो। जहाँ अरूको पीडा आफ्नै पीडा लाग्छ, जहाँ अरूको उन्नति आफ्नै उन्नति लाग्छ, त्यहीं जीवन अर्थपूर्ण हुन्छ।

तर जीवनको अर्थ खोज्नु र जीवनलाई अर्थपूर्ण देखाउन अभिनय गर्नु फरक कुरा हो। एकातिर अर्थपूर्ण प्रश्न र उत्तरको खोज हुन्छ, अर्कोतिर अर्थपूर्ण देखिन गरिने प्रदर्शन हुन्छ। आजको समाजमा केही मानिसहरू आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन होइन, अर्थपूर्ण देखाउन लागेका छन्। उनीहरू समाजसेवाको नाममा स्वार्थ गर्छन्, धर्मको नाममा व्यापार गर्छन्, राजनीतिका नाममा जनतालाई छल्छन्, ज्ञानको नाममा अहंकार पाल्छन्, र सफलताको नाममा अरूलाई उल्लू बनाउँछन्। यस्तो जीवन बाहिरबाट चम्किलो देखिए पनि भित्रबाट रिक्त हुन्छ। दर्शनशास्त्रले यही रिक्ततालाई नङ्ग्याउँछ। यसले सोध्छ—तिमी जे गर्दैछौ, त्यो साँच्चै अर्थपूर्ण छ कि केवल अर्थपूर्णताको अभिनय हो ?

दार्शनिक दृष्टिकोणको आरम्भ यही सत्यनिष्ठ प्रश्नबाट हुन्छ—म को हुँ ? मेरो जीवनको उद्देश्य के हो ? जीवनको लक्ष्य कसले निर्धारण गर्छ ? समाजले, परम्पराले, बजारले, धर्मले, राज्यले, परिवारले, कि मेरो अन्तरात्माले ? सुख के हो—भोग, धन, पद, प्रसिद्धि, शक्ति, ज्ञान, प्रेम, सेवा, मुक्ति, कि आत्मसन्तोष ? मृत्यु अन्त हो कि रूपान्तरण ? जीवन क्षणभंगुर छ भने त्यसलाई कसरी सार्थक बनाउने ? यी प्रश्नहरू केवल पुस्तकालयका प्रश्न होइनन् : यी प्रत्येक सचेत मनुष्यका प्रश्न हुन्।

आजको संसारमा एलन मस्कजस्ता व्यक्तित्वलाई धेरैले सफलताको प्रतीक मान्छन्। असीमित धन, प्रविधि, उद्योग, कल्पनाशक्ति र विश्वव्यापी प्रभाव—यी सबै आधुनिक युगका शक्तिशाली उपलब्धि हुन्। तर पैसा कमाउनु मात्र अर्थपूर्ण जीवन होइन। मंगल ग्रहमा मानव बसाल्ने स्वप्न जति ठूलो छ, घण्टाघरको छेउमा बाटोमा बसेर भिक्षा मागिरहेकी, झोला नभएकै कारण कक्षाकोठामा जान नपाएकी एउटी सानी बालिकालाई विद्यालय जाने झोला दिनु पनि त्यत्तिकै अर्थपूर्ण हुन सक्छ। जब त्यो बालिका झोला बोकेर मुस्कुराउँदै विद्यालयतिर हिँड्छे, त्यो क्षणमा जीवनको अर्थ धनको संख्यामा होइन, करुणाको स्पर्शमा प्रकट हुन्छ।

अर्थपूर्ण जीवन सधैं विशाल योजनामा मात्र भेटिँदैन। कहिलेकाहीँ त्यो एउटा सानो दयामा हुन्छ, एउटा साँचो शब्दमा हुन्छ, एउटा क्षमामा हुन्छ, एउटा पुस्तक पढाउने शिक्षकमा हुन्छ, एउटा रोगीको हात समात्ने नर्समा हुन्छ, एउटा किसानको पसिनामा हुन्छ, एउटा आमाको मौन त्यागमा हुन्छ, एउटा विद्यार्थीको प्रश्नमा हुन्छ। बुद्धले करुणामा जीवनको अर्थ भेटे, महावीरले अहिंसामा, शंकराचार्यले ब्रह्मज्ञानमा, रामानुजले भक्तिमा, विवेकानन्दले मानवसेवामा, गान्धीले सत्य र अहिंसामा, जयपृथ्वीबहादुर सिंहले मानवतामा। यसैले जीवनको अर्थ एउटै सूत्रमा बाँध्न सकिँदैन।

वैदिक दृष्टिले जीवनको अर्थ धर्म, अर्थ, काम र मोक्षको सन्तुलनमा छ। धर्मविहीन अर्थ लोभ बन्छ, अर्थविहीन धर्म पाखण्ड बन्न सक्छ, संयमविहीन काम आसक्ति बन्छ, र जीवनविहीन मोक्ष कल्पना मात्र हुन्छ। त्यसैले वैदिक जीवनदृष्टिले मान्छेलाई समग्रतामा हेर्छ। यसले भन्छ—जीवन केवल संसार त्याग्नु होइन, संसारलाई ऋतअनुकूल, धर्मअनुकूल र लोकहितकारी बनाउँदै आत्मोन्नति गर्नु हो। यही कारणले उपनिषद् आत्मज्ञानको कुरा गर्छ, गीता कर्मयोगको, ऋग्वेद ऋतको, र स्मृतिहरू धर्मको।

पश्चिमी दर्शनले पनि आफ्नो ढङ्गले यही खोज जारी राखेको छ। अस्तित्ववादीहरूले भने—जीवनको अर्थ पहिलेबाट तयार भएर आउँदैन; मान्छेले आफ्ना छनोट, जिम्मेवारी र कर्मबाट अर्थ निर्माण गर्नुपर्छ। काम्यूले निरर्थकताको बीचमा विद्रोही चेतना खोजे। सार्त्रले स्वतन्त्रता र जिम्मेवारीलाई जीवनको केन्द्र बनाए। आधुनिक मनोविज्ञानमा भिक्टर फ्रान्कलले भने—मान्छे सुखको खोजी मात्र गर्दैन, अर्थको खोजी गर्छ। अत्यन्त पीडादायी परिस्थितिमा पनि जसले आफ्नो पीडालाई अर्थ दिन सक्छ, ऊ भित्रबाट पराजित हुँदैन।

यसरी हेर्दा दर्शनशास्त्र केवल सिद्धान्तहरूको संग्रह होइन; यो जीवनलाई अर्थ दिने अनुशासन हो। यसले मानिसलाई सोच्न सिकाउँछ, विवेक दिन्छ, भ्रमबाट छुटाउँछ, लोभको सीमा देखाउँछ, मृत्युको स्मरण गराउँछ, कर्तव्यको बोध गराउँछ, र करुणाको बाटो खोल्छ। दर्शनले जीवनलाई विशाल बनाउँछ, किनभने यसले मान्छेलाई उसको निजी स्वार्थभन्दा ठूलो बनाउँछ। दर्शनले सोध्छ—तिमीले कति कमायौ मात्र होइन, तिमीले कति बुझ्यौ ? तिमीले कति जित्यौ मात्र होइन, तिमीले कति बाँड्यौ ? तिमी कति चर्चित भयौ मात्र होइन, तिमीले कति जीवनलाई उज्यालो दियौ ?

जीवनको अर्थ सीमित छैन। कसैले सत्यको खोजमा अर्थ भेट्छ, कसैले कर्तव्यमा, कसैले ज्ञानमा, कसैले प्रेममा, कसैले करुणामा, कसैले सृजनामा, कसैले न्यायमा, कसैले मानवतामा। नचिकेताको प्रश्न, अर्जुनको संशय, कृष्णको उपदेश, कान्टको नैतिकता, नित्सेको आत्मोत्तरण, मार्क्सको न्यायचेतना, जयपृथ्वीबहादुर सिंहको मानवतावाद—यी सबै जीवनलाई अर्थपूर्ण बनाउने भिन्न-भिन्न दीपशिखाहरू हुन्।

अतः अर्थपूर्ण जीवन कुनै एक सूत्र, एक धर्म, एक दर्शन, एक व्यक्ति, एक पुस्तक वा एक उपलब्धिमा सीमित छैन। यो निरन्तर खोज हो—आफूलाई चिन्ने, अरूलाई बुझ्ने, समाजलाई मानवीय बनाउने र जीवनलाई विवेक, करुणा तथा कर्तव्यले उज्यालो पार्ने खोज। जसरी जीवनको अर्थपूर्णता सीमारहित छ, त्यसरी नै दर्शनशास्त्र पनि सीमारहित छ। दर्शनशास्त्रको वास्तविक सौन्दर्य यही हो—यसले मान्छेलाई केवल बाँच्न होइन, सचेत, सदाचारी, प्रश्नशील र करुणामय भएर बाँच्न सिकाउँछ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *