घृणावादका ऐजरूहरू

घृणावादका ऐजरूहरू

नेपाल विविधताको देश हो । यहाँ हिमाल, पहाड र तराईको भौगोलिक विविधता मात्रै छैन – भाषा, जाति, धर्म, दर्शन, संस्कृति, राजनीतिक विचार र जीवनपद्धतिमा पनि ठूलो विविधता छ । यही विविधता नेपालको सौन्दर्य हो । तर विडम्बना के छ भने यही विविधतालाई संवाद, सहकार्य र सिर्जनाको आधार बनाउनुभन्दा केही मानिस र समूहले घृणाको व्यापार गर्ने साधन बनाउँदै आएका छन् । उनीहरूलाई यहाँ कुनै कानुनी वा मनोवैज्ञानिक निदानका अर्थमा “घृणावादी” भनिएको होइन बरु निरन्तर रूपमा अर्को समुदाय, धर्म, जाति, विचार वा पहिचानलाई होच्याएर आफ्नो लोकप्रियता निर्माण गर्ने प्रवृत्तिका प्रतिनिधिका रूपमा यो शब्द प्रयोग गरिएको हो ।

वास्तवमा घृणावादी मानिसको सबैभन्दा ठूलो विशेषता उसले आफू के हो भन्ने कुरा भन्दा अरू कति खराब छन् भन्ने कुरा धेरै बोल्छ । उसको आफ्नो दर्शन कमजोर हुन्छ, त्यसैले उसको शक्ति फरक समुदाय वा व्यक्तिको चरित्रहत्या गर्नमा खर्च हुन्छ । ऊ आफ्नो धर्मको महिमा बताउन सक्दैन, त्यसैले अर्को धर्मलाई गाली गर्छ । आफ्नो राजनीतिक सिद्धान्तको औचित्य प्रमाणित गर्न सक्दैन, त्यसैले विपक्षीलाई शत्रु घोषणा गर्छ । आफ्नो जातीय गौरवको सकारात्मक व्याख्या गर्न सक्दैन, त्यसैले अर्को जातिको अपमान गरेर गौरव खोज्छ । नेपाली घृणावादीहरूको घृणाको केन्द्रमा हिन्दु वैदिक सनातन धर्म वा ब्राह्मण-क्षत्री समुदायतिर केन्द्रित देखिन्छ |  यही अर्थमा नेपालका केही प्रसिद्ध राजनैतिक, सामाजिक तथा धार्मिक व्यक्तिहरूमा  घृणावादी प्रवृत्ति देखिन्छन् र यस्तो घृणावादको स्रोत इर्ष्या र इर्ष्यालु प्रवृत्तिका कारण

नेपालको राजनीतिक इतिहासमा विचारभन्दा विरोधीप्रतिको इर्ष्या र घृणाले ठूलो ठाउँ ओगटेको छ । राजनीतिक दलहरूबीच मतभेद स्वाभाविक हो । लोकतन्त्रको सौन्दर्य नै असहमति हो । तर असहमति समाप्त भएर जब विरोधीलाई  देशद्रोही, प्रतिगामी, दलाल, सामन्त, फासिस्ट, अराष्ट्रिय, अपराधी वा जनविरोधी, ब्राह्मणवादी, एकलकाटे जस्ता शब्दले मात्र चिनाउन थालिन्छ, त्यहाँ राजनीति विचारको प्रतिस्पर्धा नभएर घृणाको प्रशिक्षणशाला बन्न पुग्छ । यो अपराध नेपालका सबैजसो राजनैतिक पार्टी र त्यसका नेतृत्वले गरिरहेका छन् ।

नेपालमा एउटा रोचक राजनीतिक संस्कृति विकसित भएको छ – आफ्नो पक्षले गरेको गल्तीलाई परिस्थितिको बाध्यता मान्ने तर अर्को पक्षले गरेको त्यही गल्तीलाई राष्ट्रघात भन्ने । आफ्नो नेताले बोलेको कठोर शब्द क्रान्तिकारी अभिव्यक्ति  हुन्छ, विपक्षीले बोलेको उस्तै शब्द घृणात्मक अभिव्यक्ति हुन्छ  यस प्रकारको दोहोरो मापदण्ड घृणावादको मुख्य लक्षण हो । राजनीतिक घृणावादीलाई समाजमा समस्या समाधान हुनु भन्दा समस्या रहिरहनु फाइदाजनक हुन्छ । किनभने समस्या समाप्त भयो भने उसको भाषणको विषय समाप्त हुन्छ । उसलाई शत्रु चाहिन्छ । शत्रु छैन भने उसले निर्माण गर्छ । नेपाल र भारतमा एस्तो घृणावादलाई जीवित राख्ने र त्यसका रमाउने धेरै राजनैतिक नेता छन् ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक पक्षहरूको साझा निवासस्थल हो  नेपाली समाजमा जातीय विभेद ऐतिहासिक समस्या हो। छुवाछुत, सामाजिक अपमान र अवसरबाट वञ्चित गर्ने अभ्यास कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैनन्। यस्ता विभेदको विरोध सामाजिक न्यायको आवश्यक अभियान हो । तर अन्यायको विरोध र नयाँ घृणाको निर्माण एउटै कुरा होइन ।

कुनै व्यक्तिले इतिहासमा कुनै समुदायका सदस्यबाट अन्याय भोगेको आधारमा त्यस समुदायका आजका प्रत्येक व्यक्तिलाई अपराधी घोषणा गर्नु न्याय होइन । पुर्खाको अपराध नातिले जन्मजात बोकेर आउँदैन । त्यसरी नै इतिहासको पीडालाई नकार्नु पनि अन्याय हो । यस अर्थमा, ती सबै व्यक्तिहरू घृणावादी हुन् जसले इतिहासका घटनाहरूको दोष अहिलेको व्यक्ति वा समाजलाई दिंदै सामाजिक सद्भावनामा खलल पार्ने प्रयत्न गर्छ ।  घृणावादी सोचले इतिहासको घाउ निको पार्न चाहँदैन । त्यसलाई बारम्बार कोट्याएर वर्तमानमा नयाँ द्वन्द्व पैदा गर्न चाहन्छ । सबै बाहुन यस्ता, सबै दलित यस्ता, “सबै मधेसी यस्ता, सबै पहाडे यस्ता, सबै जनजाति यस्ता भन्ने वाक्यहरू ज्ञानका वाक्य होइनन् पूर्वाग्रहका वाक्य हुन् । घृणावादीहरूका लागि सधैं विभेदकारी, विभाजनकारी र घृणा मिसिएको क्रान्तिकारी बोली प्रिय हुन्छ । उनीहरू सामाजिक र सांस्कृतिक सद्भावको कुरा गर्न जान्दैनन् र मान्दैनन् पनि ।

मानिसलाई उसको कर्मबाट होइन, जन्मबाट न्याय गर्ने मानसिकता नै जातिवादको आधार हो—चाहे त्यो जातिवाद माथिबाट तलतिर निर्देशित होस् वा तलबाट माथितिर।

नेपालको सार्वजनिक बहसमा पछिल्ला वर्षहरूमा एउटा अर्को प्रवृत्ति तीव्र भएको देखिन्छ – धर्मबारे अध्ययनभन्दा गाली धेरै गर्ने प्रवृत्ति । धर्मको आलोचना हुनुपर्छ । वेदको आलोचना हुन सक्छ, बौद्ध दर्शनको आलोचना हुन सक्छ, इस्लाम, इसाई धर्म, किरात वा अन्य परम्पराको पनि आलोचनात्मक अध्ययन हुन सक्छ । कुनै पनि विचार आलोचनाभन्दा माथि हुनु हुँदैन । तर आलोचना र अपमान फरक कुरा हुन् । यो सिद्धान्त गलत छ” भन्नु दर्शन हो। हिन्दु समुदाय विभेदकारी हुन्छ, छुवाछुतवादी हुन्छ, नारी विरोधी हुन्छ तेसैले हिन्दु व्यक्ति नै खराब हुन् भन्नु घृणा हो । कुनै पनि धर्म र धार्मिक समुदाय वा व्यक्ति विरुद्ध यस्ता शब्दहरू प्रयोग गर्नु नै घृणावाद हो ।

कतिपय मानिस आफूलाई नास्तिक, वैज्ञानिक, प्रगतिशील वा तर्कवादी घोषणा गरेपछि धार्मिक मानिसलाई मूर्ख ठान्ने अधिकार प्राप्त भएको जस्तो व्यवहार गर्छन् । अर्कोतर्फ केही धार्मिक कट्टरपन्थीहरू आफ्नो धर्म नमान्ने मानिसलाई नैतिक रूपमा निकृष्ट मान्छन् । यी दुवै एउटै सिक्काका दुई पाटा हुन् । सत्यप्रतिको प्रेमले प्रश्न जन्माउँछ, घृणाले गाली जन्माउँछ । बुद्धले करुणा सिकाएको नाममा हिन्दुलाई गाली गर्नु बुद्धको शिक्षा होइन । गीता बोकेर मुसलमान वा इसाईलाई घृणा गर्नु कृष्णको शिक्षा होइन । कुरान बोकेर गैरमुस्लिमलाई जन्मजात शत्रु ठान्नु आध्यात्मिकता होइन । बाइबल बोकेर स्थानीय संस्कृति र परम्परालाई शैतानीकरण गर्नु पनि प्रेमको शिक्षा हुन सक्दैन । धर्मको पोसाक लगाएको घृणा अन्ततः घृणा नै हो ।

आज नेपालको सबैभन्दा प्रभावशाली घृणावादी कुनै ठूलो दार्शनिक वा नेता नहुन पनि सक्छ । ऊ फेसबुक, टिकटक, युट्युब वा अन्य सामाजिक सञ्जालमा बसेको एउटा सामग्री निर्माता हुन सक्छ । आफ्नो नाम र उपस्थिति देखाउनकै लागि केही घृणावादी विचार बोक्नेहरुले सामाजिक सञ्जालको उपयोग गरिरहेका छन् । त्यस्ता व्यक्तिहरूलाई धेरै नेपालीले चिनेका छन् । उसलाई थाहा छ – शान्त विश्लेषणभन्दा आक्रोश धेरै बिक्छ । तेसैले उसले सधैं “घृणा” नै पस्किन्छ ।

उदाहरणका लागि यस विषयमा पाँचवटा पक्ष छन् भन्ने भिडियो कम चल्न सक्छ । यी मानिस देशका शत्रु हुन् भन्ने भिडियो लाखौँले हेर्न सक्छन् । सायद अहिले नेपाली समाजमा यस्तै भइरहेको छ । त्यसैले सामाजिक सञ्जालको अर्थतन्त्रले समेत घृणालाई प्रोत्साहन गर्ने सम्भावना पैदा गर्छ । मानिसलाई रिस उठाउने शीर्षक, आधा सत्य, काटिएको भिडियो, पुरानो फोटो, प्रसङ्गविहीन भनाइ र उत्तेजक भाषाले दर्शक तान्छ। यसरी घृणा क्रमशः विचार होइन, व्यवसाय बन्छ । दुर्भाग्यको कुरा के हो भने MNO जस्ता ओर्गनाईजेसनहरूले सबैले बुझ्ने, जान्ने र देखिने अवस्थामा घृणावादको विष पोख्दा पनि “नाकका आधारमा” नागरिक समाज, सरकार तथा समुदायले प्रतिकार (कानुनी) गरिरहेको देखिन्न | यो तुष्टीकरणको सबैभन्दा खतरनाक स्वरूप हो । डरलाग्दो कुरा के हो भने त्यस्ता व्यक्तिहरू आफूलाई समाजसुधारक ठान्छन् । उनीहरूलाई लाग्छ – मैले गाली गरेको होइन, सत्य बोलेको हुँ । तर सत्यको एउटा विशेषता हुन्छ – सत्यलाई प्रमाण चाहिन्छ र घृणालाई भीड मात्र चाहिन्छ । घृणावादी विचार पोख्नेहरूको सामाजिक सञ्जालमा हजारौँ समर्थकहरू भेटिन्छन् – उदाहरण यही हो ।

नेपालमा अर्को रोचक प्रजातिको घृणावाद पनि छ – चयनात्मक जातिवाद । आफूलाई मनपर्ने समूह पीडित हुँदा मानवअधिकार सम्झिने तर मन नपर्ने समूह पीडित हुँदा मौन बस्ने प्रवृत्ति यसकै उदाहरण हो । उदाहरणका लागि यदि कुनै आदिवासी वा जनजातीको मान्छे र बाहुनक्षेत्रीको मान्छेका विचमा झगडा पर्यो र कुनै कारणबस जनजातीको व्यक्ति घायल भयो भने बाहुनले जनजाति कुट्यो भन्ने तर यदि त्यहीं जनजातिले बाहुनको टाउको फुटायो भने चूपचाप बस्ने । पहिलोलाई मानवाधिकारको हनन भन्न्दै आन्दोलन गर्ने तर दोस्रोको विषयमा वास्ता नगर्ने | नेपाली राजैतिक र मानवाधिकार समुहमा यस्तो प्रवृत्ति गहिरो छ । उदाहरणका लागि बहुसंख्यक हिन्दुलाई सधैं दोषी देख्ने र दोषी भएर पनि अल्पसंख्यकलाई पीडित नै ठान्ने प्रवृति उचित होइन ।

मानवअधिकार यदि आफ्नो दलका मानिसका लागि मात्रै हो भने त्यो मानवअधिकार होइन, दलअधिकार हो । अभिव्यक्ति स्वतन्त्रता यदि आफूले बोल्दा मात्रै लागू हुन्छ भने त्यो स्वतन्त्रताको सिद्धान्त होइन, सुविधाको सिद्धान्त हो । साँचो मानवतावादीले पीडितको धर्म सोध्दैन, जात सोध्दैन, भूगोल सोध्दैन न आर्थिकत । साँचो न्यायप्रेमीले अन्याय गर्ने व्यक्तिको पार्टी हेर्दैन । जहाँ न्याय राजनीतिक परिचयअनुसार बदलिन्छ, त्यहाँ घृणाले नैतिकताको मुखौटा लगाएको हुन्छ ।

घृणावादको उद्गम इर्ष्याबाट भए पनि यसको वृद्धिमा धेरैको योगदान हुन्छ । खुला समाजका नाममा आफ्नै जरोकिलो काट्ने प्रवृत्ति बढ्दैजाँदा विदेशी शक्तिहरू आफ्नो स्वार्थ साँध्न सक्रिय हुन्छन् । उनीहरू घृणावादीहरूको प्रशंसा गर्छन् । घृणावादीहरूलाई देशी-विदेशी विज्ञका रूपमा स्थापित गर्छन् । उस्तै परे नोवेल पुरस्कारले समेत पुरस्कृत गर्छन् । नेपालमा पनि घृणावादलाई बलियो बनाउनमा विदेशी सहयोग अर्थात् चलखेलको हात छ । सबै विदेशी सहयोगलाई चलखेल भन्नु उचित हुँदैन तर धर्मपरिवर्तनको स्वतन्त्रता होस् वा सहअस्तित्वका सवालमा किन नहोस् – उनीहरूले जातिय, धार्मिक, भाषा, लिंग एवं राजनैतिक कलह, द्वन्द तथा विकृतिहरू फैलाएर मान्छेहरू आफ्नो पक्षमा बोल्न लगाउँछन् । राज्यले सबै कुरा बुझेर पनि मानवाधिकार, सहयोग आदिको डरले कुनै कुरा बोल्न सक्दैन | निरीह हुन्छ । नेपालमा पनि यस्तै भएको छ र भइरहेको छ । धार्मिक स्वतन्त्रता, समानता, धार्मिक स्वतन्त्रता, स्वायत्तताजस्ता मुद्दाहरू उठाएर एकआपसमा द्वन्द फैलाउने प्रयोजनका लागि विश्वविद्यालयका प्रोफेसरहरू, आयोगका पदाधिकारीहरू सक्रिय भएको इतिहास नेपालमा छ |

घृणा केवल सामाजिक वा राजनीतिक विषय होइन; यसको मनोवैज्ञानिक पक्ष पनि छ। मानिसलाई आफ्नो पहिचानप्रति गौरव चाहिन्छ । तर स्वस्थ गौरव र रोगात्मक श्रेष्ठताबोधमा फरक हुन्छ । स्वस्थ व्यक्ति भन्छ –  म आफ्नो संस्कृति  वा  धर्मसंग म गर्छु । घृणावादी भन्छ – मेरो संस्कृति महान् छ र तिम्रो संस्कृति निकृष्ट छ । मेरो संस्कृतिको उन्नतिको लागि तिम्रो विनाश हुनुपर्छ । तिमी र म सहयात्री हुनै सक्दैनौं  । तिम्रो आस्थाले नर्क पुर्याउँछ, मेरो आस्थाले सधैंका लागि स्वर्ग लैजान्छ | तिम्रो आस्था “शैतान” हो र मेरो आस्था ईस्वरीय हो ।

स्वस्थ धार्मिक व्यक्ति भन्छ – म आफ्नो विश्वासमा सन्तुष्ट छु । कट्टर व्यक्ति भन्छ – मेरो विश्वास स्वीकार नगर्ने मानिस गलत मात्र होइन, खराब पनि हो  । यहीँबाट घृणाको जन्म हुन्छ । इर्ष्या र लोभ घृणावादका जननी हुन् । आफूलाई ठूलो देखाउन अर्को मानिसलाई सानो बनाउनुपर्ने मानसिकता वास्तवमा आन्तरिक असुरक्षाको अभिव्यक्ति हुन सक्छ । शक्तिशाली विचारले विरोधीलाई सुन्न सक्छ र कमजोर विचारलाई फरक आस्थाको अस्तित्व नै असह्य हुन्छ ।

समाधान  : नेपाल आज आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक धेरै चुनौतीको सामना गरिरहेको छ । युवाहरू विदेशिइरहेका छन् । विश्वविद्यालयहरू कमजोर बन्दैछन् । उत्पादन न्यून छ । भ्रष्टाचार ठूलो चुनौती हो । मानसिक स्वास्थ्यका समस्या बढिरहेका छन् । परिवार र समुदायका सम्बन्धमा परिवर्तन आइरहेको छ । यस्तो अवस्थामा नेपाली समाजलाई अर्को जाति, अर्को धर्म, अर्को भाषा वा अर्को राजनीतिक विचारविरुद्ध लडाएर हाम्रो कुनै समस्या समाधान हुँदैन ।

बौद्धले हिन्दुलाई गाली गरेर बेरोजगारी हट्दैन । हिन्दुले बौद्धलाई गाली गरेर देश समृद्ध हुँदैन ।नास्तिकले धार्मिक मानिसलाई मूर्ख भनेर विज्ञान विकसित हुँदैन । धार्मिक मानिसले नास्तिकलाई अधर्मी भनेर नैतिक समाज बन्दैन । पहाडेले मधेसीलाई र मधेसीले पहाडेलाई अपमान गरेर राष्ट्रियता बलियो हुँदैन । एउटा जातिले अर्को जातिलाई गाली गरेर सामाजिक न्याय स्थापना हुँदैन । नेपाललाई घृणावादीभन्दा संवादवादी चाहिएको छ । असहमति राखौँ, तर अपमान नगरौँ । आलोचना गरौँ, तर अमानवीकरण नगरौँ । इतिहास पढौँ, तर इतिहासको बदला वर्तमान पुस्तासँग नलिऔँ । आफ्नो धर्म र संस्कृतिलाई प्रेम गरौँ, तर अर्कोको अस्तित्वलाई घृणा गरेर होइन ।

अन्ततः सभ्यताको परीक्षा हामी आफ्नो मित्रसँग कसरी बोल्छौँ भन्नेमा हुँदैन तर हामी असहमत व्यक्तिसँग कसरी बोल्छौँ भन्नेमा हुन्छ । नेपालका वास्तविक प्रसिद्ध घृणावादी कुनै निश्चित पाँच वा दस व्यक्ति मात्र होइनन् । घृणालाई तर्क ठान्ने, पूर्वाग्रहलाई ज्ञान ठान्ने, अपमानलाई साहस ठान्ने र भीडको उत्तेजनालाई सत्य ठान्ने हामीभित्रको प्रवृत्ति नै सबैभन्दा ठूलो घृणावादी हो । अर्कोतिर उपर्युक्त प्रबत्तिलाई आफ्नो प्रसिद्धी, शक्ति वा आर्थिक स्रोत बनाउनेहरू निश्चित रुपले घृणावादी नै हुन् । त्यसैले घृणाविरुद्धको पहिलो युद्ध अरूको मुख बन्द गर्ने युद्ध होइन – आफ्नो चेतना शुद्ध गर्ने अभ्यास हो ।

हामी प्रश्न गरौँ । आलोचना गरौँ । असहमत होऔँ । तर्क गरौँ । आवश्यक पर्दा तीव्र प्रतिवाद पनि गरौँ । तर मानिसलाई मानिस भएकै कारण सम्मान गर्ने सीमा कहिल्यै ननाघौँ । किनभने विचारसँग युद्ध गर्न सकिन्छ तर मानिसको अस्तित्वसँग युद्ध गर्न हुँदैन । नेपाली भएको नाताले आफ्नो मौलिक संस्कृति, धर्म, परम्परा, भाषा तथा पहिचानको रक्षा गर्नु हामी सबैको साझा जिम्मेदारी र कर्तव्य नै हो । यदि बाह्य वा आन्तरिक शक्तिले हाम्रो आत्मसम्मान, पहिचान तथा विश्वासबाट वेदखल पार्ने प्रयत्न गर्छन् भने ती विरुद्ध बोल्नु, लेख्नु घृणावाद ठहरिन्न ।

स्वस्त्यस्तु ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *