कुन गीता प्रमाणिक ?
“कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित प्रश्न हो। आज बजारमा अनेक प्रकारका गीता उपलब्ध छन्—संस्कृत पाठसहितका, नेपाली अनुवाद, हिन्दी टीका, अंग्रेजी व्याख्या, आधुनिक व्यवस्थापन–गीता, मनोविज्ञान–गीता, राष्ट्रवाद–गीता, धर्मनिरपेक्ष गीता, भक्ति–गीता, अद्वैत–गीता, कर्मयोग–गीता आदि। हरेकले आफ्नै गीता “सबैभन्दा प्रमाणिक” भएको दाबी गर्छ। यहीं समालोचनात्मक दृष्टि आवश्यक पर्छ ।
गीता स्वयं कुनै एक सम्प्रदाय, गुरु, संस्था वा भाषाको निजी सम्पत्ति होइन । यो महाभारतको भीष्मपर्वम भित्रको श्रीकृष्ण र अर्जुनबीचको दिव्य संवाद हो । यसको मूल पाठ संस्कृतमा छ र परम्परागत रूपमा ७०० श्लोकहरू छन् । त्यसैले सबैभन्दा पहिलो प्रमाणिक गीता भनेको मूल संस्कृत श्लोकसहितको श्रीमद्भगवद्गीता नै हो । तर यति भनेर मात्र समस्या समाधान हुँदैन । किनभने मूलश्लोक पढ्नु एउटा कुरा हो, तिनको आशय बुझ्नु अर्को कुरा हो । यहीँबाट भाष्य, टीका र व्याख्याको आवश्यकता हुन्छ ।
भारतवर्षीय दार्शनिक तथा धार्मिक परम्परामा कुनै ग्रन्थको प्रमाणिकता केवल लोकप्रियताबाट निर्धारण हुँदैन । यो शास्त्रीय परम्परा, तर्क, अनुभव, साधना र समन्वयबाट निर्धारण हुन्छ । ब्रह्मसूत्रको सूत्रले भन्छ : “अथातो ब्रह्मजिज्ञासा” अर्थात् अब ब्रह्मका विषयमा सोधपुछ गर्नुपर्छ । यो सूत्रले केवल प्रश्न गर्न मात्र भन्दैन अपितु गम्भीर, अनुशासित र प्रमाणसमर्थित जिज्ञासा गर्न भन्छ । त्यसपछि ब्रह्मसूत्रले “जन्माद्यस्य यतः” भनेर ब्रह्मलाई जगत्को उत्पत्ति, स्थिति र लयको कारणका रूपमा संकेत गर्छ । “शास्त्रयोनित्वात्” सूत्रले ब्रह्मज्ञानको प्रमाण शास्त्र नै हुन् भन्ने कुरा स्पष्ट पार्छ । अझ “तत्तु समन्वयात्” सूत्रले सम्पूर्ण श्रुति–वाक्यहरूको समन्वयबाट ब्रह्मतत्त्व बुझ्नुपर्ने बताउँछ । यही आधारमा गीताको अध्ययन पनि समन्वयात्मक हुनुपर्छ, संकीर्ण होइन ।
उपनिषद्हरूले पनि यही शास्त्रीय परामर्श दिछन् । तैत्तिरीयोपनिषद्ले भन्छ—“सत्यं ज्ञानमनन्तं ब्रह्म” । छान्दोग्योपनिषद्को प्रसिद्ध वाक्य “सर्वं खल्विदं ब्रह्म”ले सम्पूर्ण अस्तित्व नै ब्रह्म भएको उद्घोष गर्छ । बृहदारण्यकोपनिषद्ले “आत्मा वा अरे द्रष्टव्यः श्रोतव्यो मन्तव्यो निदिध्यासितव्यः” भनी आत्मा सुन्नुपर्ने, मनन गर्नुपर्ने र मनन गर्नुपर्ने विषय भएको बताउँछ। उपर्युक्त वाक्यहरूले स्पष्ट गर्छन् कि शास्त्र पढ्नु केवल वाचन होइन अपितु श्रवण, मनन र निदिध्यासनको त्रिस्तरीय प्रक्रिया हो । यसै दृष्टिकोणले गीतालाई पढ्नुपर्छ र बुझ्नुपर्छ । तेसैले एउटा गीताको साधकले बुझ्नु पर्छ कि केवल अनुवादहरू पढ्नु, प्रवचन सुन्नु र आधुनिक वाचाल गुरुको कुरा मानेर गीताको यथार्थ बुझ्न सकिन्न | आफुले गहिरो रूपमा स्वाध्याय गर्नुनै पर्छ ।
गीताले स्वयं प्रमाणिक अध्ययनको विधि बताएको छ । चौथो अध्यायमा श्रीकृष्ण भन्नुहुन्छ—“तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया” अर्थात् सत्यलाई जान्न विनय, प्रश्न र सेवा आवश्यक पर्छ । यहाँ तीन कुरा महत्त्वपूर्ण छन्—प्रणिपात अर्थात् पूर्णसमर्पण, परिप्रश्न अर्थात् विवेकपूर्ण प्रश्न, र सेवा अर्थात् साधनात्मक अनुशासन । यसबाट स्पष्ट हुन्छ कि गीता अन्धविश्वासको पक्षमा छैन । गीतामा प्रश्नविहीन (जिज्ञासारहित) भक्तिका लागि कुनै ठाउँ छैन र जिज्ञासाका नाममा अति अहंकारयुक्त प्रश्नहरूका लागि स्थान छ | त्यसैले “मेरो गुरुको गीता मात्र प्रमाणिक हो” भन्ने मतान्धता गीताको आत्मासँग मेल खाँदैन ।
गीताले समत्वलाई जिज्ञासाको मूल मान्छ—“समत्वं योग उच्यते।” यसैगरी “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” भनी कर्मको अधिकार र फलासक्तिको त्याग सिकाउँछ । “मन्मना भव मद्भक्तो” भनी भक्ति सिकाउँछ । “ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः” भनी ज्ञानको महिमा बताउँछ । “सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज” भनी परम शरणागतिको उद्घोष गर्छ । यसरी गीता केवल कर्मयोग मात्र होइन, केवल ज्ञानयोग मात्र होइन, केवल भक्तियोग मात्र पनि होइन । यो ज्ञान, कर्म, भक्ति, ध्यान, संन्यास, त्याग र शरणागतिको समन्वित शास्त्र हो। त्यसैले कुनै एक मतका गुरूको विचारमा गीता बुझ्नु भनेको अपूर्ण हुन्छ ।
यहाँ समालोचनात्मक प्रश्न उठ्छ—के सबै गीता–व्याख्याहरू समान रूपमा प्रमाणिक छन् ? उत्तर हो— छैनन् । वैदिक परम्पराको उदारता भनेको अराजकता होइन। विविधता भनेको मनपरी होइन । कुनै पनि व्याख्या प्रमाणिक हुनका लागि कम्तीमा तीन मापदण्ड आवश्यक छन् । पहिलो, मूल संस्कृत पाठसँग सामञ्जस्य हुनुपर्छ। दोस्रो, उपनिषद्, ब्रह्मसूत्र र गीता अर्थात् प्रस्थानत्रयीसँग विरोधी हुनु हुँदैन । तेस्रो, परम्परागत तर्क, साधना र सदाचारधर्मसंग जोडिएको हुनुपर्छ । यदि कुनै व्याख्याले गीतालाई केवल व्यापारिक प्रेरणाको पुस्तक, केवल राजनीतिक घोषणापत्र, केवल आधुनिक व्यवस्थापनको सूत्रपुस्तक, वा केवल आफ्नो सम्प्रदायको प्रचारसामग्रीमा सीमित गर्छ भने त्यो आंशिक उपयोगी भए पनि पूर्ण प्रमाणिक मान्न सकिँदैन ।
आदिशंकराचार्य, रामानुजाचार्य, मध्वाचार्य, निम्बार्काचार्य, वल्लभाचार्य, मधुसूदन सरस्वती आदि आचार्यहरूले गीताको व्याख्या वैदिक दर्शनको आधारभूमिमा गरेका छन् । शंकराचार्यको व्याख्या अद्वैततिर केन्द्रित छ, रामानुजको विशिष्टाद्वैततिर, मध्वको द्वैततिर, निम्बार्कको द्वैताद्वैततिर, वल्लभको शुद्धाद्वैततिर, चैतन्य परम्पराको अचिन्त्यभेदाभेदतिर । यी भाष्यहरूले दार्शनिक रूपमा फरक दृष्टिकोण प्रस्तुत गरे पनि सबैको आधार वेद, उपनिषद्आदि मौलिकशास्त्रहरू, तिनमा आधारित तर्क, साधना र परम्परा हुन् भन्ने तत्थ्यमा शङ्का गर्ने ठाउँ छैन । त्यसैले यी मतहरू फरकफरक भए पनि अप्रमाणिक छैनन् । समालोचना गर्नुपर्ने कुरा मतभेद होइनन् अपितु मतभेदहरूलाई घृणा र व्यापारमा बदल्ने प्रवृत्तिमा हो ।
वैदिक परम्पराको सौन्दर्य वा विशिष्ठता प्रश्न वा जिज्ञासाको प्रवृत्तिको सम्मान गर्नु हो । अब्राहमिक सम्प्रदायभित्र धार्मिक विषयमा प्रश्न गर्नुलाई पाप मानिएको छ । अर्जुन प्रश्नकर्ता हुन् । गीता प्रश्नबाट सुरु हुन्छ र समाधानमा पुग्छ । उपनिषद्हरू पनि प्रश्नोत्तरका ग्रन्थ हुन् । नचिकेताले यमसँग प्रश्न गर्छन्, श्वेतकेतुले आफ्ना पिताबाट शिक्षा लिन्छन्, जनक र याज्ञवल्क्य संवाद गर्छन्, गार्गीले दार्शनिक चुनौती दिन्छिन् । त्यसैले जुन गुरु, संस्था वा सम्प्रदायले प्रश्न गर्न रोक्छ, अरू भाष्य पढ्न निषेध गर्छ, आफ्नो संस्करणबाहेक सबैलाई भ्रम भन्छ, उसले वैदिक परम्पराको आत्मा बुझेको छैन भनेर बुझ्नुपर्छ। यस्तो आग्रह अब्राहमिक एकाधिकारवादी मानसिकताको नक्कल हो, वैदिक उदारताको होइन ।
आजको अर्को समस्या अंग्रेजी भाषामोह हो। अंग्रेजीमा धाराप्रवाह बोल्ने कुनै प्रवचनकर्ता वा लेखकले गीताको गहिरो अर्थ बुझेको हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । अंग्रेजी भाषा ज्ञानको माध्यम हुन सक्छ, तर प्रमाणिकताको स्वयंसिद्ध प्रमाण होइन । त्यस्तै संस्कृत उद्धरण गर्ने सबै व्यक्ति पनि तत्त्वज्ञानी हुन्छन् भन्ने छैन । भाषा साधन हो, साध्य होइन । संस्कृत मूल भाषा भएकाले गीताको तत्त्व बुझ्न अत्यन्त उपयोगी छ, तर संस्कृतको नाममा अहंकार निर्माण गर्नु पनि गीता–विरोधी हो। गीता विनय सिकाउँछ, भाषिक दम्भ होइन।
अनुवादको प्रश्न पनि गम्भीर छ। अनुवाद आवश्यक छ, किनभने सबैलाई संस्कृत जान्न सम्भव हुँदैन । तर अनुवाद मूल सरह हुनैसक्दैन । “धर्म, कर्म, योग, आत्मा, ब्रह्म, प्रकृति, पुरुष, संन्यास, त्याग, श्रद्धा, समत्व, माया, मोक्षजस्ता मौलिक शब्दहरूमा गहिरो दार्शनिक अर्थ लुकेको हुन्छ । तिनलाई अंग्रेजी वा नेपालीका एक–दुई शब्दले पूर्ण रूपमा समेट्न सकिँदैन । उदाहरणका लागि धर्मलाई केवल religion भन्नु गलत हुन्छ । कर्मलाई केवल action भन्नु अपूर्ण भने योगलाई केवल exercise भन्नु हास्यास्पद । त्यसैले अनुवाद पढ्दा मूल शब्द, प्रसंग र परम्परागत अर्थसँग तुलना आवश्यक पर्च्च ।
गीता पढ्ने जिज्ञासुले तीन तहको पद्धति अपनाउनुपर्छ । पहिलो, मूल संस्कृत श्लोकसहितको गीता पढ्ने । दोस्रो, शब्दार्थ र सामान्य भावार्थ बुझ्ने । तेस्रो, प्रमाणिक भाष्यहरूको सहयोगले दार्शनिक अर्थ मनन गर्ने । सम्भव भए शंकर, रामानुज, मध्व, मधुसूदन, श्रीधर स्वामी निम्बार्क, अभिनव गुप्तआदि परम्परागत भाष्यहरू तुलना गरेर पढ्नु उत्तम हुन्छ । यसो गर्दा जिज्ञासु एकल गुरु–दाबीको कैदी हुँदैन | ऊ वैदिक चिन्तनको विस्तृत परम्परामा प्रवेश गर्छ ।
समालोचनात्मक दृष्टिले हेर्दा गीताको बजारिकरण आजको ठूलो चुनौती हो । केही आधुनिक गुरुहरू गीतालाई आध्यात्मिक मुक्ति भन्दा व्यक्तित्व विकास, करिअर सफलता, धनार्जन, नेतृत्व, व्यवस्थापन र ब्रान्ड निर्माणको उपकरणमा उपयोग गरिरहेका छन् । नि:संदेह गीता जीवन–व्यवहारमा उपयोगी छ तर यो केवल भौतिक सफलताको साधनमात्र हो भन्ने व्याख्या गर्नु अर्धसत्य हुन्छ । गीता अर्जुनको मानसिक सङ्कटबाट सुरु भए पनि यसको समाधान केवल मनोवैज्ञानिक परामर्शमा सीमित छैन । यो आत्मतत्त्व, ईश्वरतत्त्व, कर्म, धर्म, योग र मोक्षसम्म पुगेको छ । त्यसैले गीतालाई केवल आधुनिक motivational literature मा ढाल्नु यसको आध्यात्मिक गहिराइप्रति अन्याय हुन्छ ।
त्यसैगरी केहीले आधुनिक बचाल गुरु र राजनेताहरूले गीतालाई धर्मनिरपेक्षता वा धर्मसमन्वयको आधुनिक भाषामा मात्र बुझाउन खोज्छन्। गीता अवश्य उदार छ, तर धर्महीन छैन । गीता समन्वयात्मक छ, तर तत्त्वहीन छैन। गीता सबै मार्गको सम्मान गर्छ, तर साधकलाई वैदिक साधना, श्रद्धा, ईश्वर, आत्मा र धर्मलाई केन्द्रबाट विचलित । त्यसैले गीताको आधुनिक व्याख्या गर्दा यसको मूल आध्यात्मिक मेरुदण्ड विर्सनु हुँदैन ।
गीताका साधकहरूका लागि ब्रह्मसूत्रको “तत्तु समन्वयात्” भन्ने सूत्र अत्यन्त उपयोगी छ । गीतालाई बुझ्दा उपनिषद्, ब्रह्मसूत्र र गीता—यी तीनैलाई समन्वयमा राख्नुपर्छ । उपनिषद्ले ब्रह्मविद्याको उपदेश दिन्छ दिन्छ । ब्रह्मसूत्रले त्यसको तर्कपूर्ण सूत्रीकरण गर्छ र गीताले त्यसलाई जीवन–व्यवहार, साधना र धर्मक्षेत्रमा उतार्छ । यी तिनबटा कुराको समन्वय बिना गीताको व्याख्या या त भावुक बन्छ, या बौद्धिक अहंकार बन्छ, या व्यापारीहरूले आफ्नो वाचाल शक्ति देखाउने आधुनिक छलमा रुपान्तरित हुन्छ ।
अन्ततः “कुन गीता प्रमाणिक ?” भन्ने प्रश्नको उत्तर यसरी दिन सकिन्छ — मूल संस्कृत पाठ सबैभन्दा प्रमाणिक आधार हो । परम्परागत भाष्यहरू प्रमाणिक सहायक हुन् । अनुवादहरू उपयोगी माध्यम हुन् । आधुनिक व्याख्याहरू सावधानीपूर्वक पढ्नुपर्ने सामग्री हुन् र गुरु–केन्द्रित एकाधिकारवादी दाबीहरू आलोचनात्मक विवेकले जाँचिनुपर्ने विषय हुन् । गीताको अध्ययन श्रद्धा र विवेक दुवैबाट हुनुपर्छ । केवल श्रद्धा भयो तर विवेक भएन भने अन्धभक्ति हुन्छ । केवल विवेक भयो तर श्रद्धा भएन भने अहंकारपूर्ण बौद्धिकता हुन्छ । गीताका साधकहरूमा यी दुवैको समन्वय महत्वपूर्ण हुन्छ ।
गीता पढेपछि यदि मनमा विनय, समत्व, कर्तव्यनिष्ठा, आत्मसंयम, ईश्वरप्रेम, करुणा र सत्यप्रति दृढता बढ्दैन भने त्यो अध्ययन अधूरो हुन्छ । यदि गीता पढेपछि अरू सम्प्रदायप्रति घृणा, आफ्नो गुरुको व्यापार, भाषिक अहंकार वा दार्शनिक संकीर्णता बढ्छ भने त्यो गीता–ज्ञान होइन, गीता–नाममा निर्माण गरिएको मानसिक बन्धन हो । गीताको अध्ययन मुक्तिदायी हुनुपर्छ, बन्धनकारी होइन ।
त्यसैले जिज्ञासुले गीता छान्दा केवल पुस्तक छान्ने होइन अपितु अध्ययन–दृष्टिकोण छान्नुपर्छ । मूल पाठप्रतिको श्रद्धा, उपनिषद्–ब्रह्मसूत्रसँगको समन्वय, प्रमाणिक भाष्यप्रतिको आदर, आधुनिक व्याख्याप्रतिको सावधानी, र आफ्नै अन्तःकरणप्रतिको इमानदारी—यही गीतापठनको सही मार्ग हो। गीता कुनै एक व्यक्तिको ब्रान्ड होइन अपितु यो सनातन ज्ञानपरम्पराको दिव्य संवाद हो । यसको प्रमाणिकता प्रचारमा होइन, शास्त्रमा छ । यसको प्रभाव भाषणमा होइन, जीवनपरिवर्तनमा छ । यसको सार आत्मबोध, समत्व, भक्ति, ज्ञान र निष्काम कर्ममा छ ।
मूल स्रोत–संकेत
१. ब्रह्मसूत्र १.१.१ — “अथातो ब्रह्मजिज्ञासा।”
२. ब्रह्मसूत्र १.१.२ — “जन्माद्यस्य यतः।”
३. ब्रह्मसूत्र १.१.३ — “शास्त्रयोनित्वात्।”
४. ब्रह्मसूत्र १.१.४ — “तत्तु समन्वयात्।”
५. तैत्तिरीयोपनिषद् २.१.१ — “सत्यं ज्ञानमनन्तं ब्रह्म।”
६. छान्दोग्योपनिषद् ३.१४.१ — “सर्वं खल्विदं ब्रह्म।”
७. बृहदारण्यकोपनिषद् २.४.५ — “आत्मा वा अरे द्रष्टव्यः श्रोतव्यो मन्तव्यो निदिध्यासितव्यः।”
८. भगवद्गीता २.४७ — “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।”
९. भगवद्गीता २.४८ — “समत्वं योग उच्यते।”
१०. भगवद्गीता ४.३४ — “तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया।”
११. भगवद्गीता १८.६६ — “सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज।”
