अपराधबोध होस्

अपराधबोध होस्

अपराधबोध होस्

भौतिकवाद, आध्यात्मवाद वा कुनै पनि वादप्रतिवाद अस्वीकार गर्न पाउने मान्छेको मौलिक अधिकार हो | यदि कुनै मान्छेले स्वतन्त्र रूपमा यी अधिकारहरूको सचेतना पूर्वक उपयोग गरिरहेको छ भने म खुसी नै हुन्छु | यदि कुनै मान्छे वा समाज पूर्वाग्रहग्रस्त छ भने यसरी सम्मान व्यक्त गर्न सक्दैन र व्यबहार पनि गर्न सक्दैन | पूर्वाग्रह सबैतिर खतरनाक छ तर त्यो भन्दा पनि खतरनाक पूर्वाग्रहको पक्षपोषण गर्न इतिहासकै अपव्याख्या गर्नुमा छ | उदाहरणका लागि “आर्यलाई जातिका रूपमा सुझाउने र तिनलाई विदेशी आक्रमणकारी”को आरोप लगाएर आफैलाई “आक्रमणकारी”का रूपमा स्वीकार गर्न बाध्य बनाउने” इतिहासहरू बुझ्नुपर्छ |

नेपाल र भारतका सन्दर्भमा आध्यात्मिकता र धर्म नङ र मासुझैं जोडिएका विषय हुन् | उदाहरणका लागि पश्चिमाहरूले बुझेको धर्मको परिभाषाभित्र हिन्दू, जैन र बौद्धहरू कुनै पनि हालतमा अटाउन सक्दैनन् | तर हिन्दू र बौद्ध विश्वका तेस्रो र चौथो सबैभन्दा ठूलो धार्मिक समूह हुन् | नेपालका वामपन्थी र तथाकथित पश्चिमा इतिहासका पक्षधर विद्वानहरूले नेपालको धार्मिक र सांस्कृतिक सामाजिक संरचनालाई समेत बाइबल-कुरानका चस्माले नै बुझ्ने गरेका छन् | पश्चिमा धार्मिक विश्वास र भारतवर्षीय धार्मिक विश्वासमा जमिनआकाशको फरक छ | दुर्भाग्यवस, जानाजान वा नबुझेर नेपालका विद्वानहरू यहाँ विकसित भएका आस्था र विश्वासहरूलाई “बाइबलीय” पद्यतिसंग तुलना गर्छन् तेसै रूपमा वैदिक, बौद्ध जैन संस्कृतिलाई बुझ्ने गर्छन् | उनीहरूबाट यही गल्ति हुन्छ जुन पछि पूर्वाग्रहका रूपमा विकसित हुन्छ |

नेपाली सन्दर्भमा बुझ्नुपर्दा धेरैजसो वामपन्थी विचारधाराबाट प्रभावित “प्रगतिशील”हरू र आफुलाई गैरवामपन्थी भन्ने तर युरोपेली प्रतिमानहरूबाट प्रभावित स्वतन्त्र विद्वानहरूले पनि बाइबलीय सूत्रमा नेपाली सामाजिक संरचनाबुझ्ने भूल गर्छन् र गरिरहेका छन् | तर केही संस्कृतज्ञ वामपन्थी र समाजवादीहरूमा मौलिकताको चेतना बुढ्यौलीतिर आएर फर्किएको छ | आफ्नो मौलिक संस्कृति र सभ्यताको अर्थ बुझ्न थालेका वामपन्थी/समाजवादी विद्वानहरूले आफुलाई धार्मिक भन्न अफ्टारो मानेर बुद्धलाई “भौतिकवादी”का रूपमा व्याख्या गर्दै आफु “नवबौद्ध” भएको ढोंग गर्न थालेका छन् |

एस्ता ढोंगीहरूमा धेरैजसो पुरोहित परिवारमा जन्मेर शिक्षादीक्षाका लागि वनारस, वृन्दावनआदि पुगेर संस्कृत शिक्षा प्राप्त गरेका छन् | जवानी मा मार्क्सवादको मात लागेर आफ्नै धर्म, संस्कृति, समाज र रितिथितिको जरोकाट्ने साहित्य सृजना गरेर तत्कालीन युवावर्गलाई आफ्नै धर्म, संस्कृति र समाज विरुद्ध उभ्याउन सफल भएका यी दुर्दान्त संस्कृतका विद्वानहरूले आजभोली बल्ल एसको महत्व बुझ्न थालेका छन् तर जीवनभरी “मात”मा डुवेकाकारण त्यो मातलाई चटक्क विर्सन पनि सकेका छैनन् |

कार्लमार्क्स, लेलिन, माओका विचारहरू गलत थिए तेसैले आजको संसारले अस्वीकार गरेको छ तर नेपालका संस्कृतज्ञ वामपन्थीहरूका लागि तिनै गतार्थ भएका सिद्धान्तहरू “चण्डीपाठ” बनेका छन् | उनीहरू नेपाली मनमा कार्लमार्क्सप्रति श्राद्ध गर्ने सङ्कल्प गराउन व्यस्त छन् | भारतवर्षमा विकसित भएका हरेक दार्शनिक चिन्तनलाई मार्क्सवादको चस्माले हेरेर, आफ्नै मनोगत व्याख्यालाई प्रमाणिक ठान्ने, ती व्याख्याहरूको पक्षमा मत जाहेर गरेर धुपौरेको भूमिका वहन गर्ने ठूलो जमात अवका केही वर्ष मै “भूतकाल” हुने छन् |

मार्क्सले राजनैतिक विचार अगाडी सारेका थिए र त्यो विचार विश्वमंचमा अत्यन्त गतिशीलताका साथ विस्तारित भएको थियो तर आज ती विचारहरू समय सापेक्ष रहेनन् | भौतिकवादको अर्थ नै मार्क्सवाद हो भनेर ठान्ने जडवादीहरू र सभ्यताको स्रोत पश्चिम हो भनेर उफ्रने बौद्धिक परजीवीहरूमा कुनै फरक छैन | असलमा, एस्ता राजनैतिक परजीविहरूको उमेर अव ढलिसकेको छ |

अवको नेपाली समाजलाई कार्लमार्क्स वा रुसोको आँखाले बुझ्न प्रयत्न गर्नेहरूले हार्नु पर्ने छ | यो तत्थ्य संस्कृतज्ञ मार्क्सवादीहरूको यु-टर्नले जनाउं दिइसकेको छ | अवको नेपाली समाजले आफ्नै मौलिकतामा आधारित सिद्धान्तका आधारमा नेपालको गौरव अगाडी बढाउने प्रवल इच्छाशक्ति राख्छ | बालकृष्ण समले एस्तो इच्छाशक्तिलाई “मनुष्यशक्ति” भनेर सम्बोधन गरेका छन् | अन्तिम सत्य मान्छेको बौद्धिकता नै हो शर्त एत्ति हो कि एस्तो बौद्धिकतामा विदेशी प्रतिमानहरूको नक्कल हुनुहुँदैन | आजको युवा समाजले यो कुरा बुझिसकेको छ |

नेपालको संस्कृति आध्यात्मिक पृष्ठभूमिमा विकसित भएको हो र नेपालीका रगतमा एस्तो पृष्ठभूमि प्राकृतिक रूपमा उपस्थित छ | तेसैले तथाकथित “भौतिकवादीहरू”ले जीवनको उत्तरार्थमा “नेपालका मौलिक धर्म, संस्कृति र ज्ञानले नै नेपालको विश्वमा पहिचान स्थापित हुने” भन्ने वकालत गरिरहेका छन् | नेपालमा मार्क्सवाद गलेको छ, अध्यात्मवादको सत्य निरन्तर उजागर भइरहेको छ | ईश्वरवादीहरू मात्र “अध्यात्मवादी हुन्छन्” भन्ने रोगी विचारबाट ग्रसीतहरूको कुनै उपचार छैन | हिन्दू, जैन तथा बौद्धहरूमा “परमेश्वर” विना पनि आध्यात्मवादी बन्ने मार्ग खुला छन् |

इसाई र मुसलमानले बाइबल र कुरान बाहेक अन्य धार्मिकग्रन्थ र धार्मिकताको अस्तित्वलाई अस्वीकार गरेझैं “भौतिकवाद भनेको केवल कार्लमार्क्सको पेवा हो” भन्ने पूर्वाग्रहग्रस्त रोगीहरूको कुनै उपचार सम्भव छैन भने समाजवादका नाममा बाइबलीय एकाधिकार स्वीकार्न बाध्य पर्ने पनि असफल हुँदैछन् | आज लक्ष्मीपूजाको दिन, संस्कृत पृष्ठभूमिका वामपन्थी/समाजवादी र प्रजातन्त्रवादीहरूले गरेका ऐतिहासिक गल्तिहरूलाई क्षमा मिलोस् र जवानीको जोसमा आफ्नो मौलिक ज्ञान परम्परा, संस्कृति तथा सभ्यताप्रति गरेको अपराधप्रति अपराधबोध होस् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *