बोक्सी विद्या : फुक्ने मन्त्र
“धोः गुरु धोः गुरु नौ घाट सिंह जालले बाँधौं, चार घाट महाजालले बाँधौं, तीन घाट ईन्द्र जालले बाँधौं, खोला पसि भूत मारौं, बाघ पसि बोक्सी मारौं, हंगिनी मारौं, डंकिनी मारौं, कौन कुभेदको भेद मारौं, वारी चण्डी पारी चण्डी, थर्सिङ नर्सिङ घर कुण्डार सिंह माईको बाचा फट स्वाहा !!”
३५ वर्षीय एउटी महिला लखतरान परेर बोक्सी फुकाउन मेरो मावली हजुर-वा कहाँ आउनु भएको थियो | उहाँ निकै थकित देखिनु हुन्थ्यो | हजुर वा ले अगेनोबाट खरानी झिकेर, औलाको चिम्टीमा राखेर आँखा वन्द गरेर एकदम तन्मयताका साथ उपरोक्त मन्त्र पढ्नु भयो | ११ पटक पढ्नुभयो | हरेक पटक फू-फू गरेर सम्वन्धित महिलाको शिरमा खरानी दल्नुभयो | यो कुनै गोप्यरूपमा गरिएको काम थिएन | हामी परिवारका सबै सदस्यहरू पिढीमा बसेर यो दृश्य हेरिरहेका थियौं | न फुकाउन आउने महिलाले केही “पारिश्रमिक” लिएर आएकी थिइन् न फुक्नेवाल हजुर वाले अपेक्षा नै गरेका थिए | फुक्ने फुकाउने काम १० मिनटमा सकियो | महिला उठेर आफ्नो घर लागिन्, हजुर वा आफ्नो दैनिकीमा लाग्नुभयो | यो प्रक्रियामा बोक्सी त फुकियो तर कुनै व्यक्ति विशेषलाई आरोप लगाएर चिन्हित गरिएन |
मैले धेरै पटक अनुरोध गरेपछि हजुर वाले यो मन्त्र टिपोट गरेर मलाई दिनुभयो |र कुनै औंसीका विहानपाख स्नान गरेर, मन्त्र जपेर (नियमित गायत्री जपेपछि) १०८ पटक जपेर कण्ठस्थ गर्नुपर्ने बताउनुभयो | मैले मन्त्र त घोकें तर “सिद्ध”चाहिं गरिन | यो कुरा करिव २८ वर्ष पुरानो हो | दोस्रो दिन ती महिला खुसी हुँदै आएर पुन: बोक्सी फुकाइन | हजुर वा ले भोली नआए हुन्छ भन्नुभयो | उनी निको भएकी थिइन् | तेसवखत मैले बुझेको तत्थ्य थियो “सबै लाग्नेहरू बोक्सी होइनन्, फरकफरक “लाग्ने”हरूले मान्छे विरामी पर्दो रहेछ | दिउसो १२ बजे हिड्ने, तर्सने तथा पूजाआजा गरेको ठाउँमा भूलवस थुक्ने-मुत्नेजस्ता कार्य गर्दा पनि “लागु” लाग्ने गरेको कुरा मैले हजुर-बासँग बुझेको थिएँ |
विज्ञानले बोक्सीको अस्तित्व स्वीकार्दैन, यो ठीक पनि होला तर विश्वभरिनै बोक्सीका विभिन्न अभ्यास र विश्वास जीवित छन् | निकै विकसित भनिएका देशहरूमा पनि बोक्सीको अभ्यास गरिन्छ, बोक्सीको निवारण गरिन्छ | मनोविज्ञानले बोक्सीको प्रचलनलाई “थेरापेटिक” स्वीकार गरिसकेको छ | नेपालमा मनोविज्ञानका प्राध्यापक डा. शिशिर सुब्बाले आफ्नो विद्यावारिधि नै नेपाली झाक्रीविद्याको सेरोफेरोमा गरेका हुन् भन्ने सुनेको छु |
कुनै व्यक्तिलाई “बोक्सी” “बोक्सो” तोकेर अत्याचार गर्नु अन्धविश्वास हो, कानुनी अपराध हो | व्यक्ति विशेषलाई “बोक्सी” तोक्नेहरू अज्ञान र अन्धविश्वासका संवाहक हुन् | नेपाली समाजमा बोक्सी र बोक्सी विद्याको अस्तित्व छ र यो नेपालका हरेक ठाउँमा जीवन्त पनि छ तर “बोक्सी”को अभ्यास गर्ने/गराउने तत्थ्यहरू केवल “कथा”मा विद्यमान छन् | आजसम्म कुनै पनि व्यक्तिले “बोक्सी/बोक्सो विद्याको अभ्यास गर्दैगरेको” व्यक्ति विशेष वा समाज विशेषलाई प्रत्यक्ष भेटेको/देखेको छैन | केवल “मिथक”का रुपमा फलानाले “फलाना फलानी”लाई फलानो ठाउँमा निर्वस्त्र, नीलो बत्ति बाल्दै, छौडा खेलाएको” देखेको भन्ने मात्र बुझिन्छ |
बोक्सी.बोक्सी शब्द नेपाली समाजमा गालीगलौज, डरत्रास र रहस्यमय अभ्यासको अर्थमा प्रयोग हुन्छ | महिलालाई बोक्सी र पुरुषलाई बोक्सो भन्ने चलन छ | बोक्सो र बोक्सिका सवालमा अनेकौं नकारात्मक तथा रहस्यमय कुराहरू प्रचलनमा छन् | तन्त्र, मन्त्र यन्त्र, जादु-टूना, मरण-मारणआदिसंग बोक्सो र बोक्सी विद्याको सम्बन्ध जोडिएको छ | मैले माथि उल्लेख गरेअनुसार समाजमा बोक्सी/बोक्सोको तान्त्रिक अभिचारबाट मुक्ति प्रदान गर्न शावर (प्राचीन तन्त्र र आधुनिक अभ्यासका कारण विकसित भएका भाषिक तथा संस्कृतिको तन्त्र मिश्रित मन्त्र)को बढी प्रयोग हुन्छ | ठाउँअनुसार मन्त्रहरू पनि फरकफरक रहेको कुरा फुक्ने व्यक्तिहरूले उल्लेख गरेका छन् |
अंग्रेजीमा बोक्सो/बोक्सी विद्यालाई “विचक्राफ्ट” (Witch Craft) का रूपमा अनुवाद गर्ने चलन छ | मध्यकालीन युरोपमा इसाईहरूले (पोपहरूले) बोक्सी/बोक्सोको आरोप लगाएर लाखौं-महिला र पुरुषको हत्या गरेको इतिहास इन्टरनेटमा Witch Craft भन्ने शब्द खोज्दामात्रै जान्न सकिन्छ | नेपाली समाजमा पनि बोक्सीको अन्धविश्वासका कारण निरपराधहरू अत्याचारमा पर्ने गरेका छन् | एस्ता अन्धविश्वासहरू विरुद्ध सरकारले कानुनी दण्डको व्यबस्था गरेको छ | व्यक्ति विशेषलाई बोक्सो-बोक्सीको आरोप लगाएर अत्याचार गर्नु अपराध हो तर समाजमा प्रचलित अभ्यासलाई सकारात्मक रुपमा लिएर खोजअनुसन्धान गर्नु आवश्यक ठान्छु |
म केटाकेटी हुँदा गाउँमा बोक्सिका सम्बन्धमा अनेकौं नकारात्मक कुराहरू सुनेको थिएँ | ती कुराहरूले मेरो मनमा खासगरी “बूढाबूढी”लाई बोक्सी बुझ्ने शंकालु र डरालु दृष्टिकोण विकसित भएको थियो | बोक्सा-बोक्सीका रूपमा केवल गरीवगुरुवा, बृद्धबृद्धाहरू किन र कहाँबाट लक्षित भए ? अत्यन्त दु:खद पक्ष यही हो | कसैले पनि नदेखेको “बोक्सो/बोक्सी”को अस्तित्व समाजले व्यक्ति विशेषमा थोपर्नु अन्धविश्वासको चरम अवस्था हो | यदि बोक्सी/बोक्सो तन्त्रविद्याका अभ्यासकर्ता हुन् र समाजका लागि ती उपयोगी छन् भने तिनको उचित खोज/सम्मान र स्थापना हुनुपर्छ, यदि यो केवल अन्धविश्वास जनितभ्रम हो भने कालान्तरमा स्वयं मासिने छ |
धेरैलाई “बोक्सो र बोक्सी”को कुरा उठान गर्नुनै गलत हो भन्ने लाग्न सक्छ | बोक्सो-बोक्सीको आरोप लगाएर व्यक्तिविशेषमा समाजले गरेको अत्याचार सुन्नु र देख्नुपर्दा गलत होइन तर सम्पूर्ण नेपाली समाजमा गहिरोसँग जरो गाडेर बसेको “विश्वास”लाई पूर्ण नकार्न सकिन्न | झाक्री, बन्नाइनी, बोक्सी, कुलानी, धामीजस्ता अनेकौं विश्वास समाजमा जीवन्त छन् | पीडित (मानसिक\
तहमा बोक्सो/बोक्सीको अन्धविश्वासले सृजित डरले) नै किन नहोस्, आफु विरामी भएको अनुभव गर्ने र जोखना हेरेर, फुकेर “निको” हुने र भएका थुप्रै मान्छे छन् | यो तत्थ्य आधुनिक मनोविज्ञानले समेत स्वीकार गरिसकेको अवस्था छ भने नेपालमा त झन् धामीझाक्रीहरूको साझा पेशागत संस्थासमेत सरकारीस्तरबाट स्वीकृत भएको छ |
मैले धेरै धामीझाक्रीहरूसंग “बोक्सी/बोक्सो” हुन्छ कि हुँदैन ?” सोधे सवैले तिनको अस्तित्व रहेको ब्याख्या गरे तर उनीहरूले “बोक्सो/बोक्सी” बन्न कुन र कस्तो मन्त्र अभ्यास गरिन्छ र मैले सिक्न चाहे के गर्नुपर्छ ?” भनेर सोध्दा जवाफ प्राप्त भएन | केही व्यक्तिहरूले धामीझाक्रीहरू नै बोक्सो-बोक्सी भएको पनि बताए तर धामीझाक्रीहरूले यो आरोप स्वीकार गरेनन् | मेरो लेखले न बोक्सी/बोक्सीको अस्तित्वलाई नकार्छ न तिनको अस्तित्वलाई स्वीकार्छ नै | एउटा मनोविज्ञानको विद्यार्थी भएको नाताले नेपाली समाजमा एतिबिध्न गहिरो रूपमा जनजनको मानसिक विश्वासमा गडेर बसेको “बोक्सी/बोक्सी”को विश्वास अभ्यास वारे गहिरोसंग अनुसन्धान हुनुपर्छ | यदि बोक्सो/बोक्सी तान्त्रिक अभ्यासद्वरा सामान्य मान्छेले पनि प्राप्त गर्ने सक्ने “विशेष-शक्ति” हो भने त्यो खोज हुनुपर्छ | तेस्तै यदि बोक्सी/बोक्सी विद्या नकारात्मक शक्ति आर्जन गरेर आफुलाई मन नपरेका व्यक्ति वा प्रलोभनमा परेर अर्कासंग धन लिएर अभिचार गर्दै “व्यक्ति विशेष”लाई दुख दिने अभ्यास हो भने पनि यो अनुसन्धानका माध्यमबाट सुरक्षित हुनुपर्छ |
परम्परागत तान्त्रिक विद्याअन्तर्गत मारण, उच्चाटन, सम्मोहन, भेदन, विच्छेदनजस्ता अनेकौं तान्त्रिक विधिहरूका लागि मन्त्र, यन्त्र र तन्त्र ती माध्यहरूको प्रयोग गर्ने विधिआदि प्रसस्त उपलब्ध छन् | नेपाल संस्कृत विश्वविद्यालयमा तन्त्र विधामा विद्यावारिधितहसम्मको पठन/पाठन गरिन्छ | नेपालका हरेक भागमा तान्त्रिक विधिद्वारा पूजाआजा गरिने अनेकौं शक्तिपीठहरू, भैरवका मन्दिरहरू, थानहरू र कोटहरू विद्यमान छन् | एस्तो अवस्थामा बोक्सो/बोक्सी विद्या पनि एउटा तान्त्रिक अभिचारयुक्त शक्ति प्राप्त गर्न अभ्यास र प्रयोग गरिने कुनै “तान्त्रिक-विधा” नै होला कि भन्ने मैले अनुमान गरेको छु |
मनोबैज्ञानिक तथा समाजशास्त्रीले आधुनिक परिपेक्षमा र संस्कृत विश्वविद्यालयको तन्त्र-विभागले परम्परागत परिपेक्षमा बोक्सी-तन्त्रमा गहनतम अनुसन्धान गर्ने सम्भावनाका लागि अग्रसर हुनुपर्छ | एउटा कुराचाहिं लेख्नैपर्छ युरोपेली विचक्राफ्ट र बोक्सी एकैप्रकारका विधा देखिए पनि फरक विधाहरू हुन् | नेपाल र भारतमा विकसित भएका “बोक्सी-विश्वास”हरू यहींका जीवनभोगाई र बुझाइसंग सरोकार राख्छन् भने अफ्रीका, अमेरिका, अस्ट्रेलिया महादेशहरूका रैथानेहरूले आरोग्यप्राप्तिका लागि गर्ने अभ्यासहरू तेसै सामाजिक धारणासंग मेल खान्छन् | मुख्य कुरा त के हो भने खराव अभ्यासहरूलाई छोड्दै जानुपर्छ र असल अभ्यासहरूलाई नाश हुनुबाट जोगाउनु पर्छ | कसैले “बोक्सी-बोक्सो” शब्दलाई नै खराव देख्दैमा समाजमा विद्यमान एसको मानसिक अस्तित्व समाप्त हुनेवाला छैन र स्वार्थका लागि कमसल अभ्यासको प्रसंशा पनि हुने छैन |
आफुलाई विज्ञानका पक्षधर भन्ने जडवादीहरूको लागि आधुनिक विज्ञान नै चुनौती बनेको छ | सबै बैज्ञानिक खराव हुँदैनन् र असल पनि हुँदैनन् | विनाशक हतियार बनाएर पृथ्वीको अस्तित्व नै धरापमा पार्ने “जान्ने वैज्ञानिक” नै हुन् भने प्रलोभनमा पारेर किडनीको व्यापार गर्ने, औषधिउपचारमा कमिसन खाने पनि तथाकथित “विद्वान र बैज्ञानिक” नै हुन् | समाजमा भएको विकृतिहरूलाई निरुत्साहित गर्न वहस र कार्ययोजना चाहिन्छ तर तिनको अस्तित्वलाई स्वीकार नगरी ती बिकृति विरुद्ध लड्न पनि सकिन्न | ज्ञान र विज्ञान दूवै मानवीय चेतनाका उपज हुन् | अपराधी मानसिकता भएको व्यक्तिले सकारात्मक शक्तिको प्रयोग नकारात्मक परिणामका लागि गरेका असंख्य उदाहरण छन् | तेसैले बिकृतिहरू विरुद्ध औला उठाउँ सकारात्मक पाटो खोज्ने प्रयत्न पनि जारी राखौं |
“बोक्सो/बोक्सी” नेपालीमा प्रचलित विश्वासको ठूलो संसार हो | यो संसारमा सबै खरावी नै छन् भन्ने मैले मान्दिन | खरावी गर्नेहरू विरुद्ध मेरो तीब्रतर विमति छ तर नेपाली संसारमा प्रचलित विश्वासको विकास र प्रचलनको स्रोत खोज्ने र तेसका सकारात्मक-नकारात्मक पक्षको अनुसन्धान र पहिचान हुनुपर्छ | विषालु सर्पको पनि रक्षा हुनुपर्छ | यदि बोक्सो/बोक्सी विद्या हुन् भने विषालु अभ्यास भए पनि हामी नेपालीले तेसको सुरक्षा गर्नुपर्छ | तेसैले बोक्सो/बोक्सीको व्यक्तिगत अर्थ छोडेर व्यापक अर्थमा एसको अनुसन्धान हुनुपर्छ |

