किरणको हिमाली दर्शन

किरणको हिमाली दर्शन

किरणको हिमाली दर्शन

देशका दूई प्रधानमन्त्रीका (प्रचण्ड र बाबुराम) राजनैतिक गुरू, बनारस हिन्दू विश्वविद्यालयबाट न्यायजस्तो “प्रमाण” दर्शनमा एम.ए. गरेका, संस्कृत भाषा समेतका जानकार कम्युनिस्ट नेता मोहन बैद्य किरणले लेखेको ‘हिमाली दर्शन” दार्शनिक कृति पढियो |
लेखन खोज मूलक र विद्वतापूर्ण मात्र होइन प्राचीन संस्कृत साहित्यमा भएका दार्शनिक चिन्तनहरूप्रति आत्मगौरवको भाव पनि कितावमा जताततै पोखिएको छ | नेपालको मौलिकताप्रति निकै भावुक छन्, संवेदनशील छन् तर आफ्नो राजनैतिक “‘पन्थ”का उनी गलेका छन् | अनावश्यक ठाउँमा पनि द्वन्दात्मक (मार्क्सवाद) भौतिकवादको छाता खोलेर “हिमाली दर्शन”लाई ओत दिने प्रयत्न गरेका छन् |
मार्क्सवादी चिन्तन विश्वको पहिलो, अन्तिम र अमर्त्य दर्शन होइन | विश्वमा मार्क्सवाद बाहेक पनि धेरै चिन्तनहरू छन् | विश्वका हरेक मान्छेमा दार्शनिक दृष्टिकोणका बीजहरू छन् | मार्क्सवादलाई मात्र दर्शनशास्त्र हो भनेर सिद्ध गर्न मरिहत्ते गर्ने किरण र बाइबल वाहेक अन्य कुनै पनि पुस्तक ईश्वरीय हुनै सक्दैन भन्ने विश्वास अरूलाई बोकाउन खोज्ने इसाई धर्मका विनम्र अनुयायीहरू वीच खासै फरक रहँदैन | फरक एत्ति हुन्छ कि किरणले ईश्वरमा विश्वास गर्दैनन् | “एकलवादी” दूवै हुन्छन् |
“यो पुस्तक द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणलाई आधार बनाई तयार पारिएको हो” भन्ने हिमाली दर्शनको प्राक्कथनले “हिमाली दर्शनलाई” मार्क्सवादको दास बनाउने प्रयत्न गरेको छु | मार्क्सवादले विश्वलाई धेरै थोक दिएको छ तर केवल मार्क्सवाद विश्व दृष्टिकोण हो बुझाई एउटा दार्शनिकको दृष्टिकोण हुनै सक्दैन | यो एउटा बैचारिक पूर्वाग्रह हो |
तर किरणले लेखेको यो “हिमाली दर्शनले” प्राचीन नेपालको दार्शनिक, सांस्कृतिक तथा सभ्यताप्रति गौरव गर्नेहरूलाई अनुसन्धान गर्न उत्प्रेरणा दिने छ | “द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण” हुन सक्छ भन्ने उहाको पन्थीय सोचसंग विनम्रतापूर्वक असहमति राख्दै “मलाई पुस्तक मन पर्यो र पढ्नु पर्छ” भन्छु |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *