gsharan icon

आधुनिक गुरुकुलको लागि सहकर्म

आधुनिक गुरुकुलको लागि सहकर्म
हामी आधुनिक गुरुकुलको अभियानमा छौँ | नेपालीका लागि गुरुकुलको शिक्षा अनिवार्य छ | विदेशीहरूले लेखिदिएको इतिहास र रोपिदिएको शिक्षानीतिले नेपालका रैथाने शिक्षापद्यतिहरू, सीपहरू, शास्त्रहरू गुम्दै गइरहेका छन् | हामी अर्कोको लागि नांगिदै छौं |
वैज्ञानिक शिक्षा आजको अनिवार्यता हो तर आधुनिकताको नाममा अर्काको मात्र अनुकरण गर्नुको औचित्य छैन | अमेरिका, युरोप वा अस्ट्रलियाका विश्वविद्यालयले गरेका विज्ञानका आविष्कार वैश्विक होलान् तर धर्म, दर्शन, शिक्षा, समाजशास्त्रआदिमा गरिएका अनुसन्धानहरू जस्ताको तस्तै स्वीकार्न सकिन्न |
यदि हामीसंग आफ्नै धर्म, संस्कृति तथा सभ्यता तथा नभएको भए उनीहरूको सामाजिक तथा मानवीय सिद्धान्तहरू स्वीकार्य हुन्थे | उनीहरू भन्दा हाम्रो धर्म, संस्कृति, इतिहास सबै उत्कृष्ठ छ भने हामीले उनीहरूको दासत्व स्वीकार्नुको औचित्य नै के छ र ?
सरकारले नेपाली सभ्यता र संस्कृतिको रक्षा र सम्बर्धनका लागि दिगो कार्यक्रम ल्याउन सक्दैन भन्ने घामझैं स्पस्ट छ | एस्तो परिस्थितिमा नेपाल भरी छरिएर रहेका हिन्दू, बौद्ध, जैन, बोन्पोआदि एकै ठाउँ आएर “आधुनिक गुरुकुल”को स्थापना गर्न अनिवार्य भएको छ |
धेरै व्यक्तिहरूको मनोविज्ञानमा गुरुकुल भन्दा साथ “टपरे-बाहुन” उत्पादन गर्ने हिन्दू धर्मावलम्बीको विद्यालय भनेर बुझ्ने गरिन्छ | अव यो भ्रमबाट मुक्त हुने बेला आएको छ | गुरुकुलका सवालमा हामी नेपाली रैथानेहरूले प्राचीन तक्षशीला, राँचीआदि विश्वविद्यालयहरूको सिको गर्नुपर्छ |
हामीले बुझ्नुपर्छ कि यी प्राचीन विश्वविद्यालयहरूले तेस बखत प्रचलनमा रहेका जैन, बौद्ध, हिन्दू यहासम्म कि धर्ममा विश्वास नगर्ने नास्तिकहरूलाई समेत समानरुपमा पढाउने गरिएको थियो | विद्याथीहरूले रोजेर जुनसुकै विषय पढ्न सक्थे भन्ने कुरा चिनिया विद्वान र यात्री फ़न्हानले लेखेकै छन् |
नेपालमा हिन्दू-समुदायको बाहुल्यता छ | तेसैले आधुनिक गुरुकुलको स्थापनाका लागि हिन्दूहरूले पहल गर्नु अनौठो मान्नु हुँदैन | स्वधर्म, स्वसंस्कृति तथा आफ्नो पहिचानको रक्षाका लागि आफ्नो जातीय, धार्मिक तथा भौगोलिक अहंलाई छोडेर हामी नेपालीहरू एकै ठाउँमा उभिनु जरुरी छ |
आधुनिक गुरुकुलमा अत्याधुनिक विषयसहित स्वधर्मका विषयहरू पढाउने ब्यबस्था गरिने छ | पाली, संस्कृत तथा तिब्बतेली भाषामा समेत पाठन ब्यबस्था गर्नुपर्छ | सबै समुदायका विद्यार्थीहरू सहृदयताको सम्बन्ध विस्तार गर्दै आफ्नो धर्म, संस्कृति तथा इतिहासका बलिया प्रहरी उत्पादन हुनेछन् | यी आधुनिक गुरुकुलबाट उत्पादित भएका जनशक्तिहरूले क्याम्ब्रिज र हावर्डलाई मात दिने छन् | हामी मिल्यौं भने सर्वोत्तम उदाहरण बनेर विश्वलाई नेतृत्व दिने छौँ |
राम्रो कुरा विश्वको जुनसुकै ठाउँबाट लिन सकिन्छ तर कमसल कुरो लिनुहुँदैन | तर अहिले नेपाललाई राजनीति, विदेशी धर्म तथा संस्कृतिको प्रयोगथलो बनाइएको छ | हरेक दिन हजारौं नेपालीहरूले धर्मपरिवर्तन गरेर आफ्नो धर्म, संस्कृति तथा इतिहास छोडिरहेका छन् | आधुनिक गुरुकुलले एस्तो पलायन रोक्न सैद्धान्तिक जग स्थापित गर्ने छ |
अहिले हामी अत्यन्त तरल अवस्थामा छौँ | नेपाली धर्म, संस्कृति तथा परम्पराहरूमा कठोर आक्रमण भैरहेको छ | दुर्भाग्यवस राज्यसमेत यसको मतियार बनेको छ | आधुनिक शिक्षाका नाममा विदेशीहरूले शिक्षाक्षेत्रमा चलखेल गरेर रैथाने शिक्षाहरूलाई “अन्धविश्वास”को बिल्ला भिराएर वदनाम गर्ने काम गरिएको छ | एस्तो अवस्थामा, हामी आफ्नो धर्म-संस्कृतिको लागि साम्प्रदायिकता बाट माथि उठ्नु जरुरी छ |
जरोकिलो नै काटिए नेपाल र नेपालीको अस्तित्वको अर्थ र प्रयोजन वदलिने छ | गुम्वा, चैत्य तथा मन्दिरहरूले संरक्षण गरेको विज्ञान, नैतिक जीवन प्रणाली सधैंका लागि मेटिने छ | कपुतन्त्रले दिएको यो पीडालाई हामीले शक्तिमा परिवर्तन गर्नुपर्छ | आधुनिक गुरुकुलका रूपमा शिक्षापद्यतिको विकास गरेर हामीले उनीहरूलाई चुनाती दिन सक्छौं भन्ने मेरो ठहर छ | अव आफ्नो जरोकिलो खोज्न हिन्दू, बौद्ध, जैन, बोन्पो किराती र अन्य नेपालीहरू आफै अगाडी बढ्नुपर्छ |
आज नेपालमा धेरै संघसंस्थाहरू आफ्नो धार्मिक, सांस्कृतिक तथा इतिहासको विचलनबाट चिन्तित बनेका छौं | एस्तो चिन्ताको दीगो निवारण गर्न हामीले संयुक्तरुपमा गुरुकुलको स्थापनातिर ध्यान दिनैपर्छ | हामी सबैको साझा चिन्ताको सम्बोधन गुरुकुल बाहेक गर्न सक्दैन |
यो लेखका माध्यमबाट नेपालभित्र र नेपालवाहिर रहेका समस्त स्वधर्म, स्वसंस्कृति तथा इतिहासको रक्षा गर्न र आफ्नो धर्म-संस्कृतिमा रहेका वैश्विक पक्षको अनुसन्धान गर्न आधुनिक गुरुकुलको सदर्भलाई सहकार्यको रूपमा विकशित गर्नतिर छलफल चलाउन आग्रह गर्छु |
सहवास, सहभोजन र सहकार्यको प्राचीन नेपाली पद्यतिको पुनविकास गर्न आधुनिक गुरुकुलको स्थापना गरेर अगाडी बढ्न सहकार्य गरौँ | आफ्नो धर्म, संस्कृति र विज्ञानको रक्षाको लागि आफैं अगाडी बढौं | हामी सरोकारवाल जोसुकैसंग सहकार्य गर्न उपलब्ध छौँ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *