डा. केसीको अनसनका सम्वन्धमा
डा. केसीका मांगहरू नाजायज हुन् भन्ने नैतिकता कसैमा छैन | मांगका कारण उनको आफ्नै जीवन संकटमा परेको छ | जीवनभन्दा ठूलो मूल्यवान् कोही हुँदैन | डा. केसीले आफुलाई संकटमा पारेर अरूलाई राम्रो गर्न खोज्दैछन् |
मेडिकल कलेज र अस्पतालहरूका वेथितिका विषयमा बुझेका र जानेका आधिकारिक व्यक्ति डा. केसी नै हुन् | हामीले मेडिकल कलेज र अस्पतालका विषयमा टिप्पणी गर्नु केवल अनुमान हुन्छ | खप्नै नसकेपछि सत्याग्रहमा बसेका होलान् | आँफु विरामी परेर अस्पताल जाँदाका भोगाई र डा.हरूको रुखो ब्यबहारको कुरा नगरौं र सत्याग्रहमा यो विषय पनि मिसिएकै होला |
उनको सत्याग्रहको चूरो अस्पतालहरूमा झाँगीरहेको नीतिगत तथा वास्तविक भ्रष्टाचारसंग समवन्धित रहेको छ भने उनको लक्ष त्यसलाई रोक्नु रहेको छ | सचेत नागरिकले उनलाई साथ दिनैपर्छ | तर सत्याग्रहको समालोचना नै नगरी समर्थन वा विरोध गर्नु सही होइन |
नेपालमा भ्रष्टाचार संस्थागत छ | अझै भन्नुपर्दा, प्रजातन्त्र वा लोकतन्त्रपछि राजनैतिक संस्कारका कारण गर्दा भ्रष्टाचार नेपालीहरूको संस्कार नै बनेको छ | कुनै व्यक्ति विशेष, राजनैतिक व्यक्ति वा सरकारलाई गालीगलौज गरेर भ्रष्टाचारको अन्त्य हुने भए, कुनै पनि चियापसलमा छिरेर सुनौं : सर्वसाधारण जनता देखि लिएर सरकारी तलव थाप्ने कर्मचारी तथा निजी ब्यबसाय गर्ने ठूलो वा सानो ब्यापारी सबै राजनीति र सरकारलाई सत्तेसराप गरिरहेका हुन्छन् |
भोट हाल्ने बेलामा यिनै राजनैतिक पार्टीलाई हाल्ने र सत्तामा पुर्याउने अनि, फुर्सदको समयमा तिनलाई नै गालीगलौज गर्ने हामी नेपालीहरूको संस्कार बुझिनसक्नु छ | भन्नुपर्छ, हामी जनता गालीगलौज गर्न सिपालु छौँ |
देशमा राजनीतिक अस्थिरताको उद्भव र विस्तार पनि हाम्रै कारण भएको हो भन्ने मेरो बुझाइ रहेको छ | यदि हामी जनता स्थिरताका पक्षमा हुन्थ्यौं भने भोट टुक्रयाउने थिएनौं, एउटा पार्टी विषेशको ‘पेवा-भोटर’का रुपमा आफुलाई बन्दगी राख्ने थिएनौं | अरूलाई दोष दिन सजिलो हुँदो रहेछ आफ्नो दोष देख्न गारो |
डा. केसीको सत्याग्रहमा मस्किने र झस्किने दुवै थरी छन् | मस्किनेहरूका लागि सत्याग्रह एउटा अवसर हो आफुलाई एक्स्पोज गर्ने | डा. केसीको अनुसरण गर्दैमा हाम्रो केटाकेटीदेखि लागेको बानी’ सुध्रिदैन | हामीले आफ्नो बानी सुधार्न निकै जोखिम मोल लिनुपर्ने हुन्छ |
हाम्रो समाजको चाहना र हाम्रो विचार कत्तिपनि मेल खाँदैन | समाजले असिर्वाद दिंदा ठूलोमान्छे बनेस् भन्छ | यदि आशिर्वाद पाउनेले आठदशवर्ष भित्र काठमाडौंमा घरठड्याउने सकेन भनेत्यो ‘निकम्मा’ रहेछ भनेरयही समाजले औला ठड्याउँछ | अघोषित रुपमा लेनदेनमा बहिस्कार गर्छ | नहुनेसंग केको सम्वन्ध ? छोराछोरीको विवाहसम्ममा समस्या पर्छ |
लोकमानसिंह वा मनमोहन अस्पताललाई विस्थापित गर्दैमा नेपाल भ्रष्टाचार मुक्त हुन्छ मुक्त हुन्छ भन्ने कुनै आधार छैन | एउटा कलम किन्दा नाफा खाने संस्कारका विरुद्ध जनमत सृजना हुनुपर्छ र बल्ल डा. केसीको आन्दोलनको अर्थ हुन्छ |
व्यक्ति विषेशको समर्थनमा बोल्नु र विपक्षमा उभिनुमा तात्विक फरक हुँदैन | कुनै व्यक्ति विशेषको समर्थन र विरोधका कारण विस्थापित र स्थापित भयो भने योनजिर बन्न सक्छ | लोकमानसिंहले के गरे, उनी जानुन् तर अन्तत: उनी व्यक्ति नै हुन् | कुनै पनि सत्याग्रह व्यक्तिविरुद्ध नजीर बन्नुहुँदैन | भोली कुनै व्यक्ति प्रधानमन्त्रीमा नियुक्त होला, चित्त नबुझेको मानिस वा अन्यायमा पारेको मानिसले आत्मदाह गर्न खोज्ला, अनि के हुन्छ ?
अप्रियनै सही,यदि मनमोहन अस्पतालका लगानीकर्ताहरू डा. केसी झैं सत्याग्रहमा बसे भने के गर्ने ? डा. भोला रिजालहरू आफ्नो लगानी जोगाउन अनसनमा उत्रिए भने के हुन्छ ? यी प्रश्नहरू काल्पनिक होइनन् |
भारतीय स्वतन्त्रता सेनानी सन्तविनोवा भावेको मांगले तिनको जीवन लिएको थियो | विनोवा भावेले भारतीय संविधानको धाराअनुसार नै भारतमा गौहत्या बन्द गर्नुपर्छ भन्ने साधारण मांग राखेका थिए |
डा. केसीको आन्दोलनपूर्ण सफल हुन बेलायतझैं स्वास्थ्य सेवाहरू सरकारी हुनुपर्छ | चिकित्साक्षेत्रलाई ‘ब्यबसाय’को प्रमाणपत्र दिंदासम्म डा. केसीको मांगको सम्बोधन हुँदैन |
शिक्षा-क्षेत्रमा पनि यही पिरलो छ | नैतिकता व्यक्तिको आफ्नो विषय हो | कानुनले कुनै व्यक्ति नैतिक वा अनैतिक बनाउन सक्दैन | डा. केसी झैँ नैतिकता भैदिएकोभए, नेपालको मानव-विकासकाअंकहरू उच्च हुनेथिए |
के डा. केसीको आन्दोलनको ओठे-समर्थनगर्ने राजनैतिकदलहरू वा तिनका नेताहरूमा संसदबाट कानून बनाउने आत्मिकबल छ ? के प्रजातान्त्रिक सरकारले चिकित्सा क्षेत्रबाट ”औषधि कम्पनीको कमिसन”को जालो सफागर्ला ?
यी प्रश्नहरू अनुत्तरित नै छन् भने कमिसनभोगी चिकित्सकहरूले कमिसन बहिष्कार गर्लान् ? यी प्रश्नहरूको जवाफ डा. केसी, उनका समर्थक चिकित्सक वा अन्यसंग छैन तर सर्वसाधारणसंग छ : चिकित्सकले कमिसन छोड्न सक्दैनन् र सरकारले पनि औषधि कम्पनीहरूलाई नियन्त्रित गर्न सक्दैन |
आन्दोलनको समर्थन गरिरहेका चिकित्सकहरू ‘सरकारी चिकित्सक बनेर’ डा. केसीझैँ तलवमा जीवन यापन गर्ने आत्मबल राख्छन् ? आन्दोलनको पक्षमा उभिएका नया वा पुराना चिकित्सकहरूले आफु भविष्यमा ‘सर्वसाधारण सरह जीवन यापन गर्ने लक्षमा प्रतिबद्ध नभएसम्म’ डा. केसीको आन्दोलनले आंशिक सफलता प्राप्त गर्नेछ |
आफ्नै जरोकिलोमा उभिएर, आफ्नै आत्मविश्वास र चाहनाले, आफ्नो ब्यबहार र सोच परिवर्तन गर्ने प्रतिबद्धताको सत्याग्रह सफल हुनुपर्छ |
डा. केसीको पक्षमा समालोचनात्मक समर्थन छ |
