Govinda Sharan

मुन्धुमको संदेश

मुन्धुमको संदेश

मुन्धुमको दार्शनिक चिन्तन प्रकृति केन्द्रित छ भन्नेहरू मार्क्सवादका प्रभावमा बोलेका हुन् जस्तो लाग्छ | पहिचानका नाममा आफ्नो धर्म, संस्कृतिलाई अलग्याएर विशिस्ट देखिन खोज्ने राजनैतिक रोगले मुन्दुम पनि दुखेको छ |
मुन्धुममात्र होइन जुनसुकै साहित्य पनि रचना गरिंदाखेरिको प्रकृतिक ब्यबहारबाट अलग रहन सक्दैन | मुन्दुमको रचनामा पनि प्रकृतिको प्रचूर प्रभाव परेको छ | तर यो आध्यात्मिक छैन भन्ने बचकाना हो | मुन्दुममा वैदिक संस्कृतिका धेरै प्रतीकहरू राइछाई छन् |
मुन्धुममा सबै खाले धार्मिक, दार्शनिक तथा सामाजिक चिन्तनको समग्र हो | वैदिक दर्शनसंग तुलना गर्दा मुन्धुममा चार्वाकको भौतिकवाद, जैनको अनेकांतवाद, बौद्धको क्षणभंगवाद, सांख्यको सत्कार्यवाद, वैशेषिकको परमाणुवाद र रामानुजको समर्पणवाद अर्थात् विशिष्टद्वैतका अंशहरू विद्वामान छन् |
मुन्धुम नास्तिक चिन्तन पटक्कै होइन | प्रगतिशील तथा गैर-वैदिक बन्नका लागि आफ्नै मौलिकतालाई राजनैतिक स्वार्थपूर्तिको साधन बनाइनु दुर्भाग्यपूर्ण हो | मुन्धुम संस्कृतमा लेखिएको छैन | संस्कृतमा लेखिएका सबै थोक हिन्दूसंग जोडिएका हुन्छन् भन्ने सोच मै खोट छ |
मुन्धुम नेपाली संस्कृतिको एउटा बलियो धरोहर हो | यो नेपाल र नेपालीको गौरव हो | वेद र मुन्दुम यही माटोका उपज हुन् | वेद संस्कृतमा लेखिएका छन्, मुन्धुम तेस बखतको प्रचलित भाषामा | यही नै यिनको विशेषता हो |
नेपाल कै माटोले चर्चिएका मुन्धुम र वेदमा विरोधाभाष देख्ने, खोज्ने र तेसैको आधारमा “विखण्डन”को विचारधारा रोप्नेहरू “धुन्धुकारी” नै हुन् | मुन्दुम र वेदको जाति छुट्याउदां यदि कसैलाई फाइदा हुन्छ भने त्यो हो विदेशी शक्ति हो |
हजारौं वर्षदेखि सहअस्तित्वमा रहेका वेद-मुन्धुमको संस्कृति सधैं निर्वाधरूपले अगाडी बढ्नुपर्छ | नेपालको प्रत्येक नागरिक जसले आफ्नो मौलिकताको माया गर्छ, तेसको जगेर्ना गर्ने इच्छा राख्छ र रक्षाका लागि क्रियाकलापमा सरिक हुन्छ, वेद र मुन्दुम उही हो |
नेपालका हरेक नागरिकले मुन्धुम र वेद बुझ्ने ईच्छा राख्नुपर्छ | आफ्नो मातृभाषाको रक्षाको लागि सिन्को नभाच्ने तर पहिचानवादको ठूलो नारा दिएर जनतालाई भ्रमित पार्नेहरूसंग सतर्क हुनुको विकल्प छैन |
मुन्धुमको दार्शनिक चिन्तनले सहयोग, सहकार्य, सहगमनको प्रेरणा दिन्छ | विश्वका हरेक प्राणिलाई प्रकृति तथा प्रकृतिका निर्माताको अंग ठान्छ | यही नै मुन्धुमको खासियत हो | मुन्दुमलाई बोकेर हिड्ने तर मुन्दुममा रहेका सतविचारलाई लुकाउनेहरू अपराधी हुन् |
मुन्धुमको नारामाभित्र अलगवाद बोकेर हिड्ने अपराधीहरूको मतियार बन्ने कि मुन्धुमका वैश्विक दार्शनिक चिन्तनको सहयात्री बन्ने भन्ने निर्धारण हामी नेपालीहरू गर्नुपर्छ | कित्ताकाटले समाजको निर्माण हुँदैन | मुन्दुम कित्ताकाटको दार्शनिक चिन्तन नभएर सहअस्तित्वको शास्त्र हो |
कहिले किरातीहरूलाई बौद्ध भन्ने, कहिले मङ्गोल भन्ने, कहिले इसाई भन्ने, कहिले हिन्दू वा गैरहिन्दू भन्नेहरूसंग सावधान हुनुपर्छ | नेपालीहरूको अनन्तकालीन प्रेमपूर्ण सम्वन्धलाई विगारेर आफ्नो उल्लु सिधा पार्नेहरू विरुद्ध मुन्धुमले शक्तिप्रदान गरोस् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *