गौ मांस र पहिचानको आन्दोलन
प्रदेश ३ की उपसभामुखले के भनिन् वा गरिन् तेसको लेखाजोखा गर्ने काम नेपाली संविधान अनुसार सरकारले गर्नुपर्छ | उनको विषयमा सामाजिक संजालमा आएका नकारात्मक टिप्पणीहरू निन्दनीय छन् | तर यी टिप्पणीहरूको अर्को पाटो नेपालमा रहेका सनातन, बौद्ध, जैन तथा अन्य अहिंसक समुदायको भावना पनि हो | सबैलाई थाहा छ – हिन्दूहरूले गाईको पूजा गर्छन् र संविधानले गौहत्या वर्जित गरेको छ | तैपनि हिन्दू समुदायको तेजोवध गर्न गौहत्याको स्वीकार्यता खोज्ने प्रयत्न गरिन्छ |
हामी नेपालीहरूले साउदी अरव वा चाइनामा गएर गाईको रक्षा हुनुपर्छ भन्ने मांग गरिरहेका छैनौँ | नेपालको ८१.३% प्रतिशत जनताले गाईको पूजा गर्छ र पूजाआजा गर्ने वर्गको सम्बैधानिक अधिकार हो | यसमा १०% अहिंसक बौद्धहरूको जनसंख्या जोड्दा ९३.३% प्रतिशत हुन्छ | बरू हिन्दूहरूमा हिंसाको प्रावधान छ तर बौद्धहरूले करुणा त्यागेर गौहत्याको पक्ष लिन्छन् भन्ने कुरा सपनामा पनि सोच्न सकिन्न |
नेपालको जनसंख्यामा ४.५% जनसंख्या मुस्लिमहरूको रहेको छ | कुनै पनि मुस्लिमहरूको अगुवाला गाईको मासु चाहिन्छ भनेको सुनिएको छैन | मुस्लिम समुदायले हिन्दूहरूको आस्थालाई सम्मान गरेको देखिन्छ | जव कि मुस्लिमहरूमा शाकाहारको कन्सेप्ट समेत हुँदैन | कुनै पनि हिन्दूले साउदी अरव वा भेटिकन सिटीमा गएर गौहत्या र गौमांसको विरोध गरेको छैन | देशको संविधानले निर्वाध रूपमा सम्मान गरेको वाक्स्वतन्त्रताको उपयोग देशका जनताबीच सहृदयताको सम्वन्ध विकास गर्न प्रयोग गर्नुपर्छ | तपाईंले उल्लेख गरेको लेखले देशको सबैधानिक ब्यबस्थाको उलंघन गर्छ |
आजभोली सामाजिक संजालमा केही व्यक्तिहरूले “गाईको मासु खानु वैदिक” हो भन्ने किसिमका कल्पित लेखहरूका माध्यमबाट मान्छेहरूलाई भ्रमित गरिरहेका छन् | एस्तो भ्रमको खेतीका सूत्राधारहरू नेपाली पक्कै होइन | यो लेख श्री सन्तजीले आफै खोज गरेर लेख्नु भएको हो कि केही मानसिक तवर मैं घृणावाद रोप्नेहरूले लेखेका लेखहरूलाई यहाँ उद्दृत गर्नु भएको हो स्पष्ट छैन | सामान्यतया एस्ता लेखहरूको स्रोत नेपालको परम्परागत संस्कृतिलाई शैतान भन्नेहरू हुन् | इसाई-कम्युनिस्ट अंग्रेजको आँखाले वेद, उपनिषद, गीताहरू पढे पछि एस्तै हुन्छ | गाई खानेहरूले हिन्दूहरूको धर्मपरिवर्तन गराउन वैदिक साहित्यको आफुमुखी अनुवाद गरेको कुरा नबुझी उनीहरूको भनाईमा पछि लाग्नु उचित देखिन्न |
तेस्रो पक्ष अर्थात् गाई खाने अंग्रेजहरूले गरेको अनुवादलाई जस्ताको तस्तै सारे पछि वेदको एस्तै अर्थ लाग्छ | म्याक्समूलर, कीथ, गोथे यी सबैले वैदिक साहित्यको अनुवाद “मिसनका” तहत गरेको कुरा कसैबाट लुकेको छैन | वेदमा के लेखेको छ, के लेखेको छैन भने यदि तपाईं साच्चिकै बुझ्न र पढ्न चाहनुहुन्छ भने सन् १७०० तिर माधव तथा सायणले लेखेको वेदको अर्थ पढ्नुस्, स्वामी दयानन्दले लेखेको अनुवाद पढ्नुस्, नेपाली मै पढ्न मन भए तिलकप्रसाद लुइँटेलले वेदको अनुवाद गरिदिएका छन् त्यो पढ्नुस् |
सात समुद्रपारिका गाई-खाने अंग्रेजहरूले गरेको अनुवाद स्वीकार्य हुने तर बुद्धले, महावीरले र आफ्नै छिमेकी एउटा हिन्दू धर्मावलम्बीले हिंसा गर्नुहुँदैन भन्दा फेरी विदेशीलाई नै गुरुथाप्नु पर्ने ? सबैलाई थाहा छ, तपाईंले लेख्नु भएको वेदको अर्थ घृणावाद कै पोषणका लागि हो | के तपाईंको यो लेख पढ्ने हिन्दूहरूले उप्रान्त गाईको हत्या गर्लान् ? लेखकको असल नियत भए पनि एउटा ठूलो समुदाय यो लेखबाट निकै मर्माहत हुन्छ जुन हामी नेपालीहरूको सहअस्तित्वमा कहिले पनि थिएन र रहने छैन |
जसले यो लेख लेखेको हो उसंग प्रश्न त गर्नै पर्छ – यदि तपाईंले वेदमा गौहत्या जायज भएको तत्थ्य फेला पार्नु भएको हो भने निश्चय नै तेही वेदमा गौरक्षा, गौ नमन, गौसेवा, गौपूजाका मन्त्रहरू पनि पढ्नु भएकै होला ? संस्कृतको विनम्र विद्यार्थी भएको नाताले वेदका जुन् मन्त्रहरूको गौहत्या परक अर्थ लगाउनु भएको छ, ती सबै अनर्थ र काल्पनिक हुन् | यो कुरा जुनसुकै संस्कृत जान्ने विद्वानबाट प्रमाणित गराए हुन्छ | गौ शब्दको अर्थ “पृथ्वी, इन्द्रीय,बुद्धि, अन्वेषण, बुझ्ने इच्छाआदि हुन्छ | तेसैले सन्दर्भ नबुझी शब्दको अर्थमात्र लगाउँदा अनर्थ हुन्छ | जुन् एस लेखमा भएको छ |
हामी बाहुनक्षेत्री र नेपालका अन्यजातिहरू हजारौंवर्षदेखि संगै छौं र रहने छौँ | छिमेकीको आस्थामा प्रहार गर्दैमा अमेरिकाले ग्रीनकार्ड, युरोपले पीआर, अस्ट्रेलियाले स्थायी नागरिकता दिने होइन | अमेरिका. जापानले डलर दिन सक्छन् तर हामी नेपाली-नेपालीहरू बीच रहेको सद्भाव, सहजता र आतिमियता दिन सक्दैनन् | हाम्रो सभ्यता नै हामी सबै मिलेर बनेको हो र यो नै हामीले गर्व गर्ने एकमात्र विषय हो |
सबैलाई थाहा छ हिन्दुहरूले गाईको पूजा गर्छन् | विदेशीहरूले कु-ब्याख्या गरेको यो अनुवाद पढेर हिन्दुहरूले गाईको पूजाआजा गर्न छोड्लान् त ? गाई सधैं हिन्दुहरूको पूज्य नै रहने छ | रह्यो कुरा, आफ्नो धर्मसंस्कृति छोडेका पूर्ववाहुनक्षेत्रीदलित (हाल इसाई)ले पनि सीधैं गाईको मासु खानबाट जोगिने गरेको तत्थ्य उहाहरूसंग सङ्गत गर्दा मैले फेला पारेको छु |
वेदको, मुन्दुमको, त्रिपिटकको अपब्याख्या गरेर घृणावाद र सामाजिक द्वन्द निम्त्याउन भन्दा आफ्नो छिमेकीहरूका भावनाहरूको कदर गर्नेहरूप्रति मेरो नमन छ | एकछाक गाईको मासुभन्दा छिमेकीको प्रेम धेरै महत्वपूर्ण हुन्छ | भन्नुस् त, उनीहरूको लागि हामी किन एकआपसमा घृणा गर्ने ?
अन्त्यमा, शर्मा र सर्माको अर्थ नछुट्याउनेहरूले लेखेको ब्याख्या एस्तै कुरूप हुन्छ र जानेर एस्तो घृणावादको पक्ष लिनु अनुचित हो भने नजानेर एस्तो विचार आएको हो भने सुधार्नुपर्छ | नियत मै खोट छैन भने हाम्रो सहृदयताको सम्बन्ध अझैं प्रगाढ हुनुपर्छ | असल नियत हुनेहरू सधैं आफ्नो ज्ञानलाई वृद्धि गर्छन् र प्रेमको सम्बन्धमा बल दिन्छन् | आफ्नो जरोकिलोको रक्षाको लागि सधैं तत्पर रहन्छन् |
