बटुकसंग गाँसिएका दूई संस्कृति
ब्राह्मणको निन्दा गर्न सजिलो छ तर बाल्यकालदेखि वेदको अभ्यास गरेर ब्राह्मण बन्न सजिलो छैन | बटुकहरूले टुप्पी बाँधेर वेदहरू घोकेर वैदिक संस्कृतिलाई निरन्तरता प्रदान गरेका थिए | अहिले पो छापाहरू आए ! संस्कृत बाग्मयको विशाल भण्डारलाई घोकेर जोगाउने यी ब्राह्मणहरूप्रति सभ्यता सधैं ऋणी रहनुपर्छ |
बौद्धहरूको निन्दा गर्न सजिलो छ तर बाल्यकालदेखि नै श्रमण संस्कृतिको पालन गरेर बौद्ध बन्न सजिलो छैन | विशाल साहित्यमा फैलिएको बौद्ध धर्मलाई यस्तै बटुक सन्यासीहरूले घोकेर जोगाए | आजको बौद्धधर्मले यी निर्दोष श्रमणहरूलाई धन्यवाद दिनुपर्छ |
उस्तै गुरुपरम्परा, उस्तै तपस्यापूर्ण जीवन पद्धति, उस्तै भाषा, उस्तै वेशभुषा, उस्तै घोक्ने र गुरूहरूबाट सिक्ने परम्परा, यही भूमि, उही नदी, उही हिमाल, तराई र पहाडहरू ! वैदिक, बौद्ध र जैनहरूलाई अलग्याउनेहरू पक्कै पनि नेपाली चेतनाभएका प्राणी होइनन् | यो तत्थ्य बुझ्नेहरू असली मित्र हुन् | यो कुरा नबुझ्नेहरू बुझ्नयोग्य छन् तर बुझेर पनि बौद्ध र हिन्दूलाई अलगअलग ठान्नेहरू विखण्डनवादी हुन् |
एउटा बटुकले सानो उकेर देखिनै गुरुबाट वेदहरूको अध्यायन आरम्भ गरेर वैदिक संस्कृतिको संवाहक बन्ने सङ्कल्प लिन्छ भने अर्को बटुकले बाल्यकाल देखिनै त्रिपिटकहरूको व्याबहारिक अध्ययन गरेर बौद्ध धर्म-संस्कृतिको निरन्तरता सुनिश्चित गर्छ | हिन्दू र बौद्ध फरक अवश्य छन् तर यो पार्थक्य मनको होइन चिन्तनको हो | जगत र आफुबिचको सम्वन्धको बुझाई फरक हो | पार्थक्यमा एकता देख्नेहरू ब्राह्मण वा श्रमण हुन् | पर्थ्यक्यमा भिन्नतामात्र देख्नेहरू नेपाली समाजका मूसा हुन् |
सनातनीले बौद्धसंग शास्त्रार्थ गरे, बौद्धहरूले सनातनीसंग शास्त्रार्थ गरे | यस्तो शास्त्रार्थ हारजितका लागि होइन सांस्कृतिक निरन्तरताका लागि थियो | आज सनातनी र बौद्ध दुवै गौरवका साथ आ–आफ्नो संस्कार अनुशरण गरिरहेका छन् | बौद्धले सनातनीका मन्दिर तोडेनन्, सनातनीले बौद्धक चैत्य, विहार र गुम्वाहरू भत्काएनन् | नेपाली समाजको हित चाहनेहरूले चैत्यचैत्यमा संगै पुजिने गणपति, सरस्वती भैरबको दर्शन गर्छन्, शाक्य कुमारीलाई वैदिकहरूले आराधना गरेको देख्छन् | वैदिकहरूले सिङ्गो बुद्धलाई विष्णुको अवतारका रुपमा आराधना गरेको देख्छन् तर राजनैतिक पूर्वाग्रह र रिलिजनको साँगुरो परिभाषामा आफ्नो र परायाको परिभाषा खोज्ने विखण्डनकारीहरूका लागि बुद्ध र विष्णुसंगै आएर एकताको संदेश दिए पनि स्वीकार्य हुनेछैन |
पाश्चात्य (एकेश्वरवादी) दृष्टिकोणले हेर्दा यी दूई बटुकले लगाएको लुगा, पढ्ने पुस्तक, पढाउने गुरू, सिक्ने विषयवस्तु तथा परिवेशका आधारमा केवल भिन्नता दृष्टिगत होला तर पौरस्त्य (वैदिक) दृष्टिकोणले हेर्दा र बुझ्दा फरक पुस्तक भए पनि अक्षर, पढ्ने र बुझ्ने, खाने, कर्मगर्ने सबै प्रक्रिया एकै छन् | दुवै बटुक हुन्, दूवै विद्यार्थी हुन्, दुवै धर्मला विनम्र साधक हुन्, दूवैले धर्म-संस्कृतिको प्रतिनिधित्व गरिरहेका छन् | एउटा धागोमा उनिएका हरेक फूलको नाम “माला” नै हुन्छ | धर्मको नजरियाले हेर्दा हामी एकै घरका दुई सन्तान हौँ तर रिलिजनको नजरियाले हेर्दा हामी एकैघरका विरोधी सन्तान हौँ | फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडा संसार” |
दूवै संस्कृतिहरू नेपालका पुर्ख्यौली हुन् | एक अर्काकाका पूरक हुन् | संस्कृत भाषा नै दूवै संस्कृतिका आधार हुन् | दुवै गुरूशिष्य परम्परामा आश्रित छ र दुवैको अन्तिम लक्ष मोक्ष वा महानिर्वाण हो | यी दूवै महान् संस्कृतिहरू गुरुशिष्य परम्परामा आधारित छन् र दुवै संस्कृतिको शिक्षण, दीक्षण र प्रशिक्षणका प्रारम्भविन्दू यी बटुकहरूलाई नमन गरौँ |
