दलित र गैरदलितको प्रसंग
जातपातको निर्माण आजका नेपाली जनताले गरेका होइनन् : न बाहुन क्षेत्रीले न दमै कामीले | जातजाति र त्यससंग जोडिएको विभेदहरू हामीले आनुवांशिक प्राप्त गरेका हौँ | यस अर्थमा वर्तमान जातीय-विभेदका लागि नेपालको जीवित जनसंख्या जिम्मेदार छैन तर यसो भनिरहंदा नेपालमा जातीय-विभेद छैन भन्ने मूर्खतापूर्ण कुरा म गर्दिन | मुख्य कुरा, के हिन्दू समाजका अगुवाहरूले जातीय-विभेद अन्त्य गर्ने काममा अग्रसरता लिएका छन् कि छैनन् ? भन्ने हो |
१. नेपालमा छुवाछुतवाद विरुद्ध आध्यात्मिक आन्दोलन
नेपालका हकमा भने सन् १८२२ देखि जोसमनी सम्प्रदायका संस्थापक दिलदास (मोहन प्रसाद पौडेल) ले जातिवादको विभेद विरुद्ध आध्यात्मिक मार्ग रोजेर आन्दोलन आरम्भ गर्नुभयो | अध्यात्मिकतासंग जोडिएको हुनाले मान्छेहरूले (राणाखाल बाहेक) धेरैले स्वीकार गरे | यहा सम्म कि राणा-परिवार कै धर्मेन्द्र समशेर राणा उनका शिष्य बने | योगमाया न्यौपानेले पनि यही बाटो समातिन् | आध्यात्मिकतासंग जोडिएको नाताले योगमायाका शिष्यहरूमा जातीय-विभेद थिएन | तर उनले सामुहिक आत्महत्या गराउने अपराध गरिन् |
नेपालमा भने जातीय-भेदभाव विरुद्धको ब्यबहारिक आन्दोलन संस्थागत रूपमा २००७ साल देखि नै भएको छ | त्यस बखत दलित-समुदायले भन्दा गैर-दलितहरूले नै छुवाछुत विरुद्ध कानुन बनाएका थिए भने राजा महेन्द्रले जारिगरेको २०२१ को संबिधानले जातीय छुवाछुत प्रथालाई दण्डनीय अपराध कै रूपमा परिभाषित गर्यो | यसले आजसम्म निरन्तरता प्राप्त गरिरहेको छ | हाम्रो समाज र संबिधानले निरन्तरता पूर्वक जातीय-भेदभाव विरुद्ध विजय प्राप्त गरिरहेको छ |
२. भेदभाव मेटाउने सगोल प्रयत्न
आज सम्पूर्ण हिन्दू-सनातनी समाज जातीय छुवाछुत र त्यससंग जोडिएको भेदभाव विरुद्ध एकढिक्का भएर उभिएको छ | हामी सबै छुवाछुत विरुद्ध उभिएका छौँ | वि.स. २००७ तिर विद्यमान रहेको, २०४७ सालतिरको जातीय विभेद अहिले छैन | हामी निरन्तर जातीय भेदभाव विरुद्ध विजययात्रा मा छौँ | सनातन धर्म हामीसंग छ |
इतिहास बदल्न सकिन्न तर विकृत बनाउन सकिन्छ | पेशाका रुपमा विकसित सामाजिक ब्यबस्था कसरी छुवाछुतवादी संस्कृतिका रूपमा विकसित भयो ? हामी मध्ये कसैले पनि जान्दैन तर छुवाछुत सामाजिक यथार्थ हो र यो बिकृतिलाई जरोदेखि उखेल्न हाम्रो हिन्दू-समाज कटिबद्ध छ भन्ने कुरा ८२% हिन्दूहरूले बनाएको सम्बैधानिक ब्यबस्थाले प्रमाणित गरिरहेको छ |
३. छुवाछुत र विभेद यथार्थता हो
अहिले पनि नेपाली समाजमा छुवाछुतको कू-प्रथा विद्यमान छ र यसले धेरै हिन्दू सनातनीहरूको आत्मबलमा प्रहार गरिरहेको छ भन्ने अथार्थ छदैछ | तेही पनि यसका दूईबटा पाटा छन् | जसले नेपाली समाजको भलो चाहन्छ, उसले आफ्नै प्राचीन प्रतिमान र वर्तमान उदहारणको समुचित प्रयोग गरेर सामाजिक परिवर्तन खोज्दछ | द्वन्द, घृणा, अपमान तथा विभेदहरूको समाधान सहृदयता पूर्वक गर्ने पन्थ रोज्दछ | दिलदास, योगमाया, फागुनन्द, भक्तिवादी आन्दोलनका पक्षधर सन्त, गोरक्षपन्थी, प्रणामी, स्कोन, हिन्दू पहिचानवादीआदिले यही बाटो अवलम्बन गरिरहेका छन् |
४, दलितवादको युरोपेली पाटो
दलितवादको दोस्रो पाटो युरोपियन इसाईहरुसंग जोडिएको छ | यी विभेदकारी इसाईहरूले दलितवाद खडा गरेर सनातन धर्म र तेसका प्रतिमानहरूको जरो उखेल्न उद्योग गरिरहेका छन् | पीडित समुदायहरूका केही शिक्षितवर्गलाई हिन्दू संस्कृति विरुद्ध प्रयोग गरेर अशिक्षित वर्गहरूलाई धर्मविमुख बनाउने गरेको तत्थ्य हामीबाट लुकेको छैन | दलितवादका अगुवाहरू जसले पश्चिमाहरूलाई उन्मुक्तिको भरपर्दो स्रोतका रूपमा स्थापित गर्ने प्रयत्न गर्दैछन्, उनीहरूले इसाईहरूको इतिहास अवश्य पढ्न, बुझ्न र जान्नपर्छ |
पहिलोपटक युरोपेलीहरूले समुद्रीमार्गहरू प्रयोग गरेर धनि बन्ने प्रयत्न गरेको सन् १४२३ तिर हो | सन् १८६६ सम्म उनीहरूले विश्वको अधिकांश भू-भाग बलजफ्ती कब्जा गरेर त्यहाका रैथानेहरूलाई “दास” बनाएको तत्थ्य उनीहरू कै इतिहासले बोलेको छ | अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका आदिवासीहरूको सामुहिक हत्या गरेको इतिहास पढ्ने हो भने जो-सुकैको मन रून्छ र कुइरेहरूले स्थापित गरेको प्रतिमानप्रति कठोर घृणा उत्पन्न हुन्छ |
आज अमेरिकामा र बेलायतमा जे-जति कालाजातिका मान्छेहरू छन् ती सबै युरोपियनहरूले जवर्जस्ती दास-दासीकारूपमा बेचेका कालाहरूका सन्तान हुन् भन्ने कुरा बुझ्नुपर्छ | अहिले पनि कालाजातिहरू र त्यहाका रैथाने आदिवासी प्रति गोरेहरूको विभेद जस्ताको तस्तै छ | यी सबै विभेदहरू बाइबलको उपदेशमा आधारित थिए र छन् |
५. बाइबलसंग भित्रिएको घृणावाद
बाइबल हातमा लिएर विधर्मीहरूलाई रोमको ठाडो आदेशमा जिउंदै जलाइएका लाखौँ लाख जनताहरू, जिहाद र क्रुसेडका नाममा निर्ममतापूर्वक मारिएका र आत्महत्या गर्न प्रेरित गरिएका धर्मभिरूहरू, बोक्सीको आरोपमा निर्ममतापूर्वक स्तन काटेर, आरा चलाएर, यौनांगबाट सूली चडाएर तथा सामुहिक रूपमा इसाईहरूले हत्या गरेका महिलाको चित्कार अझै सुन्न सकिन्छ | अफ्रिका, अमेरिका तथा अस्ट्रेलियाका आदिवासीहरूको आमहत्या गरेर विकासको दम्भ गर्ने कसाईहरूलाई “मानवाधिकारका ठेकेदार, मुक्तिका आधार, तथा समानताका प्रतिमान” ठान्नु नै अबैज्ञानिक छ | हिन्दू-वैदिक संस्कृतिको इतिहासमा एउटा पनि धार्मिक-सामुहिक हत्याको उदाहरण दिन स्वयम्भूहरूलाई चुनौती छ |
खुर्सानीको बिउ रोपे पिरो फल निश्चित छ, अंगुर रोप्नेले अंगुर नै खान्छ | धार्मिक, सामाजिक तथा सांस्कृतिक रूपमा एकलवादी (बाइबल) लिएर हिड्नेहरूले जहाँ गए पनि विभाजनका विउ नै रोप्छन् | सामाजिक, धार्मिक तथा सांस्कृतिक एकताका लागि सहयोगीका रूपमा बाइबलधारीलाई पत्याउनु र गोमन सर्पमा विष हुँदैन भनेर पत्याउनु एकै कुरा हो | यस अर्थमा यदि दलित अगुवाहरूले बाइबलधारीहरूलाई “मुक्तिदाता” मानिरहेका छन् भने ती कठोर भ्रममा छन् | छुवाछुतको नाममा नेपालका रैथाने संस्कृतिहरूलाई मास्नु नै उनीहरूको अन्तिम प्रयोजन हो | दलितहरूप्रतिको उनीहरूको प्रेम गोहीका आसु हुन् |
६. द्वन्द, घृणा र निन्दा
बाइबल र पश्चिमाहरूले विभेद निराकणका लागि “द्वन्द, घृणा र निन्दा”को बाटो अङ्गिकार गर्छन् | द्वन्दले द्वन्द, घृणाले घृणा र निन्दाले निन्दा नै जन्माउँछ | अहिले नेपालमा प्रचलित अधिकांश अधिकारवादी चिन्तनहरूले द्वन्द गरेर अधिकारप्राप्ति, घृणा गरेर समानता तथा निन्दा गरेर सम्मानको कामना गर्छन् | बाइबल र पश्चिमाहरूका इनै प्रतिमानहरूले गर्दा जहाँ पनि द्वन्द, घृणा तथा निन्दा नै फालिएको छ | नेपालमा पनि यही भएको छ | दलित-अधिकारका नाममा पश्चिमाहरूले इतिहाससंग द्वन्द, छिमेकी प्रति घृणा र आफ्नो संस्कृतिप्रति निन्दा गर्ने जेनेरेशनको विकास गर्न सफल भएका छन् |
७. दलित समुदायका महान हस्तीहरु
नेपाली समाजमा दलितसमुदायको सकारात्मक इतिहास छ | बाहुनले पढेर/लेखेर, क्षत्रीहरूले पराक्रम गरेर, ब्यापारीहरूले दान दिएर तथा शूद्र अर्थात् श्रमिक वर्गले आफ्नो सीपले वैदिक-संस्कृतिलाई जीवन दिएका छन् | दलित समुदायका बाल्मिकीले पहिलो महाकाव्य लेखेका छन् भने माझीका छोरा ब्यासले १८ पुराण र ब्रह्मसूत्रजस्तो प्रौढ ग्रन्थ लेखेर इतिहासमा आफ्नो नाम अमर परेका छन् | पुराणका प्रवक्ता सूत, दासीपूत्र नारद सबैका लागि पूज्य छन् |
माध्यमिक कालमा महात्मा कविर, तुकाराम, महात्माफूलेहरूले पनि सकारात्मकता अपनाएर विभेदकारी संस्कृतिमा परिवर्तन ल्याएकै हुन् | कुरा एत्ति हो कि उनीहरूको आन्दोलन भन्दा विभेदकारी शक्तिहरू बलियो रहेको यथार्थ हो | आज पुन: बाल्मिकी, ब्यास, कवीरको आन्दोलन पुन: स्थापित भएको छ | आज समग्र हिन्दू समाज नै छुवाछुतवादी संस्कृति विरुद्ध मानसिक, धार्मिक तथा राजनैतिक रूपमा नै उभिएको छ | यो तत्थ्यले हामी सबैको लागि गौरव बढिरहेको छ | हिन्दू संस्कृतिका अभिन्न निर्माता शिल्पीवर्गको गौरव पुन: स्थापित हुँदैछ |
नेपाली समाज धार्मिक छ र यही धार्मिकताका आधारमा प्राप्त प्रतिमानहरूको प्रयोग गरेर छुवाछुतवादी चिन्तन र ब्यबहारको अन्त्य गर्न सकिन्छ | जनताले बाल्मिकी र ब्यासआदिको जीवनी थाहा पाउँदा साथ विभेदकारी चिन्तनमा सकारात्मक प्रहार हुन्छ | दलित र गैरदलितवादको साङ्लो सजिलैसंग चुडिन्छ | आफ्नै प्रतिमान र उदाहरणबाट समाजको परिवर्तन सजिलो हुन्छ | हामीले आफ्नै सकारात्मक इतिहासको प्रयोग गर्नुपर्छ |
८. दलितअधिकारका नाममा कूतर्क
पश्चिमा विभेदकारी चिन्तनलाई आफ्नो मुक्तिको स्रोत ठान्ने एकजना दलित अगुवाले म संग भने “के तपाईं को छोराको दलित केटीसंग विवाह गर्न सक्नुहुन्छ ? मैले भने “यदि मेरो छोराले रोज्यो र ऊ त्यसो चाहन्छ भने मलाई कुनै आपत्ति छैन | सहजरूपले मेरो घरमा स्वागत गर्ने छु |” उनी त्यतिकै मा रोकिएनन् किनभने मेरो उत्तर उनको लागि अपत्यारिलो थियो | प्रश्न नै द्वन्दका लागि राख्ने मानसिकता नै गलत छ | उमेर पुगेका केटाकेटीलाई आफु खुसी जीवनसाथी छान्ने अधिकार हाम्रो संबिधानले दिएको छ | विवाह उनीहरूको निजी विषय हो | मैले उनीहरूको इच्छा विपरित विवाह गर्न/नगर्न कर गर्नु दण्डनीय विषय हो |
केही डलर पोषित दलित अगुवाहरू पण्डित-पुरोहितप्रति अत्यन्त घृणावादी सोच राख्छन् | एस्तो सोचको स्रोत पनि पश्चिमा इसाई कठोरतावाद नै हो | विचरा पण्डित-पुरोहितहरूले त्यही काम र मर्यादा पालन गरिरहेका छन् जुन उनले आफ्नो पूर्खाबाट प्राप्त गरे | उनीहरू पूजाआजा सिकेका थिए, त्यही पूजाआजा गरेर समाज र आफ्नो गर्जो टारिरहेका छन् | उनीहरूले छुवाछुत हुन्छ भन्ने विश्वास आफैले निर्मित गरेका होइनन्, बंशजका नाताले प्राप्त गरेका हुन् | आज धेरै पण्डितहरूलाई छुवाछुत कानुनीअपराध हो भन्ने ज्ञान छ | प्रकारंतरले दलितहरू पनि यही विश्वास गढेको छ | दूबै दोषी छैनन् |
ठीक यही तत्थ्य दलित समुदायमा लागु हुन्छ | आज पनि असंख्य दलितहरू छन् जसले बाहुनक्षेत्रीहरू ठूला जातिका हुन् भन्ने विश्वास छ | बाहुनमा ठूलोजातको अभिमान र दलितमा सानोजातको हीनताबोध दूबै हाम्रो समाजले इतिहास र बंशजका रूपमा प्राप्त गरेको हो | यथार्थ कुरा के हो भने आजको हिन्दू समाजले छुवाछुतवादी सामाजिक र सांस्कृतिक वा धार्मिक विश्वास गलत हो भन्ने स्वीकार गरिसकेको छ | हो, के दलित के गैरदलित, हामी अन्धविश्वासबाट पूर्णत उन्मुक्ति प्राप्त गरिसकेका छैनौँ | तर उन्मुक्तिको संयुक्त प्रयत्न निरन्तर चलिरहेको छ |
९. घृणावादी चिन्तनको स्रोत बहिष्कार गरौँ
हिन्दूहरूले सकारात्मक रुपले सामाजिक रुपान्तरणका लागि गरेको प्रयत्नहरूमा घृणा, द्वन्द र निन्दा रोपेर धर्मपरिवर्तनका लागि सजिलो बनाउन “दलितवाद”लाई संस्थागत गर्ने काम बाइबलधारी इसाई र तेसैको आधारमा आफ्नो एकलौटी साम्राज्य फैलाउन आतुर पश्चिमाहरूले मलजल गरिरहेका छन् | यसको प्रत्यक्ष उदहारण हो – दलित समुदायबाट इसाई धर्म-अङ्गिकार गर्ने वर्ग | एकातिर आफु वर्णाश्रम भित्र नपर्ने भन्दै हिन्दूहरूको घोर निन्दा गर्ने अर्कोतिर “हामी दलित हौँ” भन्दै दलित समुदायका लागि प्राप्त आरक्षणको सुविधा प्राप्त गर्न दलितवाद स्वीकार्ने |
डलरले संचालित दलितवाद नेपाली सामाजिक, धार्मिक तथा सांस्कृतिक अग्रगमनका लागि घातक छ भने आफ्नै धर्म, संस्कृति तथा सभ्यताको विभेदलाई आफ्नै धर्म, संस्कृति तथा सामाजिक परिवर्तनले समतामूलक समाज निर्माणमा विश्वास गर्ने दलितवादीहरूप्रति नमन छ, हाम्रो सामुहिक तथा व्यक्तिगत समर्थन उहाप्रति छ | एकजना पण्डितले, एकजना राजनैतिज्ञले वा एकजना इसाई अगुवाले निन्दा गर्दैमा कुनै पनि सामाजिक संस्कृति तुरुन्त परिवर्तित हुँदैन |
दलितहरूप्रति विभेद विद्यमान छ | यो भेदभावका विरुद्ध हाम्रो सामुहिक सङ्घर्ष जारी छ | हाम्रो संघर्ष द्वन्द होइन सामाजिकीकरण, घृणा होइन सकारात्मक प्रेम र निन्दा होइन असल कुराहरूको प्रशंसाबाट आरम्भ हुन्छ | हामी सद्भाव, प्रेम तथा सहृदताको बाटो मा विश्वास गर्छौं |
१०. वैदिक शास्त्रहरूको सकारात्मक अनुशीलनमा जुटौं
बाइबलवादी दलितहरूले हिन्दूशास्त्रहरू पढे भने हिन्दूहरूको वदनाम गर्न सकिने, घृणा फैलाउन सकिने र निन्दाका लागि बलियो हतियारका रूपमा प्रयोग गर्न सकिने श्लोकहरू मनुस्मृतिबाट निकाल्छन् तर हामीले बाइबल नै पढे पनि समाजलाई जोड्ने सूत्रहरू उल्लेख गर्छौं | हामी दलित वा गैरदलितको पहिचान नै निर्मूल पर्नुपर्छ भन्ने यात्रामा छौँ, उनीहरू दलितवाद र गैरदलितवाद संस्थागत गर्न लागि परेका छन् |
११. युरोपेलीका सबै कुरा त्याज्य छैनन् | उनीहरूले आफ्नो देशमा सामाजिक परिवर्तनका लागि गरेका सकारात्मक परिवर्तनहरू, जनतालाई दिएका सुविधाहरू, कानुनी राज्यको स्थायित्व, मानवको उच्च-मुल्यांकन, नारीहरूप्रतिको सम्मान अत्यन्त सम्मानयोग्य छ | तर “युरोपियन प्रतिमान नै विकास तथा प्रगतिको अन्तिम मापदण्ड हो” भन्ने उनीहरूको दम्भ कदापि स्वीकार योग्य छैन | हाम्रा आफ्नै प्रतिमान छन् र हामीले आफ्नो समाजना रहेका विभेदहरू आफ्नै बलवुतामा समाप्त पार्न सक्छौं भन्ने कुरा उनीहरूलाई बुझाउनुपर्छ | घाम पूर्वबाट झुल्किन्छ, पश्चिमाबाट होइन |
अन्त्यमा आऔं, हामी सबै मिलेर दलितवाद र गैरदलितवादी चिन्तन निर्मूल पार्दै सहृदयी समाजको निर्माण गर्न क्रियाशील बनौं | हाम्रा पुर्खाले गरेको गल्तिको लागि वर्तमान पुस्तालाई गालीगलौज गर्दै छुवाछुत निर्मूल पार्न सबैले मिलेर गरिरहेका प्रयत्नहरूको अवमूल्यन नगरौं | एकता पण्डित वा दलितसंग जवाफ माग्नुको सट्टा आफै जवाफदेही बनौं | आफ्ना बालबालिकाहरूलाई वैदिकशास्त्रहरू पढ्न/पढाउन उत्प्रेरित गरौं | आफ्नो जरोकिलोप्रति सकारात्मक सोच राखेर नकारात्मक ब्यबहारहरूको प्रतिकार गरौँ | मान्छे असल वा कमसल हुँदैन, ब्यबहारलाई दोष दिनुपर्छ, मान्छेलाई होइन | भगवानले सबै मान्छेलाई मान्छे नै बनाउनु भएको छ | हामी सबैको कल्याण होस्, हामी सबैको सामुहिक प्रयत्नले विभेदको अन्त्य हुनेछ |
