शिक्षामा सिद्धान्त कि व्यवहारको बहस !

शिक्षामा सिद्धान्त कि व्यवहारको बहस !

आजभोलि नेपाली समाजमा एउटा वाक्य अत्यन्त लोकप्रिय भएको छ – नेपालको शिक्षा सैद्धान्तिक भयो, व्यावहारिक भएन ! विद्यालयदेखि विश्वविद्यालयसम्म, चिया पसलदेखि संसद्सम्म र सामाजिक सञ्जालदेखि शैक्षिक गोष्ठीसम्म यो वाक्य यति धेरै दोहोरिएको छ कि अब यसलाई प्रमाणित गर्नुपर्ने विचारभन्दा पनि स्वतःसिद्ध सत्यझैँ मान्न थालिएको छ । एउटै कुरा धेरै पटक सुनियो भने असत्य पनि सत्यजस्तो लाग्न थाल्छ । हाम्रो शिक्षासम्बन्धी बहसमा अहिले यस्तै एउटा ‘न्यारेसन’ स्थापित भएको देखिन्छ ।

तर एउटा सामान्य प्रश्न सोधौँ – हामीले खोजेको व्यावहारिक शिक्षा वास्तवमा कस्तो शिक्षा हो ? यो प्रश्नको स्पष्ट उत्तर प्रायः कसैसँग हुँदैन । के हरेक विद्यार्थीले सिलाइ–कटाइ, सिकर्मी, डकर्मी वा मोटरसाइकल मर्मत गर्न जानेपछि शिक्षा व्यावहारिक हुन्छ ? के कम्प्युटर चलाउन जान्नु, कफी बनाउन जान्नु अथवा तीन महिनाको कुनै सीपमूलक तालिमको प्रमाणपत्र लिनु  इन्नैजिनियर, पाइलट, डक्टरआदि बन्नु नै व्यावहारिक शिक्षाको अन्तिम परिभाषा हो ? यदि होइन भने हामीले सर्वप्रथम ‘व्यावहारिक शिक्षा’ भन्ने शब्दको अर्थ स्पष्ट गर्नुपर्छ ।

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि CTEVT लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायले कार्यक्रम चलाइरहेका छन् । केही कार्यक्रम अत्यन्त उपयोगी पनि छन् । तर अनेकौँ कार्यक्रम वर्षौंदेखि एउटै परम्परागत मानसिकतामा अड्किएका छन् । महिलाका लागि सिलाइ–कटाइ, मैनबत्ती, अगरबत्ती वा अचार बनाउने तालिम; पुरुषका लागि सिकर्मी, डकर्मी, प्लम्बिङ वा वैदेशिक रोजगारीसँग जोडिने सीप । यी सीप आफैँमा अनावश्यक होइनन् । जीवन–सीपका रूपमा तिनको आफ्नै महत्त्व छ । समस्या सीपमा होइन, सीपप्रतिको हाम्रो साँघुरो कल्पनामा छ।

महिलालाई सधैँ सियो–धागोमा र पुरुषलाई सधैँ हथौडा–काँटीमा सीमित गर्ने सोच आफैँमा समस्याग्रस्त छ। अझ ‘व्यावहारिक शिक्षा’को नाममा नेपाली युवालाई केवल विदेशी श्रमबजारका लागि तयार पार्ने हो भने त्यो शिक्षा होइन, श्रमिक निर्यातको पूर्वतयारी मात्र बन्न सक्छ । हामीले इन्जिनियर बनाउने कि केवल मेसिन चलाउने? वैज्ञानिक बनाउने कि केवल उपकरण प्रयोग गर्न सिकाउने? उद्यमी बनाउने कि केवल कामदार? आविष्कारक बनाउने कि केवल अरूले बनाएको प्रविधि चलाउने?

यहीँ सिद्धान्तको महत्त्व आरम्भ हुन्छ । विश्वको जुनसुकै उत्कृष्ट विद्यालय वा विश्वविद्यालयमा गए पनि शिक्षाको आधार सैद्धान्तिक ज्ञान नै हुन्छ । चिकित्सकले बिरामीको उपचार गर्नुभन्दा पहिले शरीरविज्ञान, रोगविज्ञान र औषधिविज्ञानको सिद्धान्त पढ्नुपर्छ । इन्जिनियरले पुल बनाउनुभन्दा पहिले गणित, भौतिकशास्त्र र संरचनाको सिद्धान्त बुझ्नुपर्छ। मनोवैज्ञानिकले परामर्श दिनुभन्दा पहिले व्यवहार, अनुभूति, व्यक्तित्व र मानसिक प्रक्रियाका सिद्धान्त बुझ्नुपर्छ ।

सिद्धान्तविहीन व्यवहार सीप हुन सक्छ, तर ज्ञान हुँदैन । अझ कतिपय अवस्थामा सिद्धान्तविहीन व्यवहार आत्मघाती पनि हुन सक्छ । शरीरको रचना नबुझी शल्यक्रिया गर्न खोज्ने चिकित्सक, भारवहनको सिद्धान्त नबुझी घर बनाउने इन्जिनियर अथवा औषधिको प्रभाव नबुझी औषधि चलाउने व्यक्ति ‘व्यावहारिक’ होइन, खतरनाक हुन्छ । त्यसैले सिद्धान्त र व्यवहारलाई एकअर्काका शत्रुका रूपमा उभ्याउनु नै गलत हो । सिद्धान्त आँखाजस्तै हो भने व्यवहार हातजस्तै हो । आँखाविना हातले के समात्ने थाहा पाउँदैन, हातविना आँखाले देखेको संसारलाई रूपान्तरण गर्न सक्दैन ।

नेपालको शिक्षा प्रणालीमा कमजोरी छैनन् भन्नु मूर्खता हुनेछ। कमजोरी धेरै छन् – पुराना पाठ्यक्रम, कमजोर प्रयोगशाला, अनुसन्धानको अभाव, शिक्षणमा नवीनताको कमी, राजनीतिक हस्तक्षेप, अनियमित शैक्षिक पात्रो, न्यून लगानी र योग्य जनशक्तिको कमजोर उपयोग । यी सबै विषयमा कठोर आलोचना हुनुपर्छ । तर “नेपालको शिक्षा कामै नलाग्ने सैद्धान्तिक शिक्षा हो” भन्नु सत्य होइन । आफ्नै देशका दक्षजनशक्तिलाई विश्वास गर्न नसक्ने मानसिकता हो ।

यदि नेपालको विद्यालय र विश्वविद्यालयले दिने शिक्षा पूर्णतः अव्यावहारिक र अनुपयोगी हुन्थ्यो भने यहीँ पढेका हजारौँ नेपाली विद्यार्थी संसारका प्रतिष्ठित विश्वविद्यालयमा पुगेर कसरी उत्कृष्ट परिणाम ल्याइरहेका छन् ? यही विश्वविद्यालयमा पढेका चिकित्सक, इन्जिनियर, वैज्ञानिक, प्राध्यापक, सूचना–प्रविधिविज्ञ र अनुसन्धानकर्ताहरू विदेशका कठिन प्रतिस्पर्धामा कसरी टिकिरहेका छन् ? विद्यार्थी नेपालमा हुँदा ‘काम नलाग्ने’ र विमान चढेर विदेश पुगेपछि अचानक ‘प्रतिभाशाली’ भएको त होइन !

समस्या शिक्षार्थीको क्षमतामा भन्दा पनि त्यो क्षमतालाई उपयोग गर्ने वातावरणमा छ । हामी कहिलेकाहीँ एउटा पीडादायी दृश्यलाई नेपालको शिक्षा प्रणालीको प्रतिनिधि प्रमाण बनाउँछौँ । कुनै नेपाली युवक तीन महिनाको तालिम लिएर खाडी मुलुक पुग्यो र आफ्नो योग्यताभन्दा तल्लो स्तरको काम गर्न बाध्य भयो भने हामी भन्छौँ – “हेर, नेपालको शिक्षाको हालत!” तर त्यो युवाको कमजोरी हो कि राज्यको- ? आफ्नै देशमा रोजगारी सिर्जना गर्न नसक्ने राजनीति, उत्पादनमुखी अर्थतन्त्र बनाउन नसक्ने नीति, युवाको ज्ञान र सीप उपयोग गर्न नसक्ने प्रशासन र आफ्नै जनशक्तिमाथि विश्वास नगर्ने निजी क्षेत्रको असफलताको भारी किन एउटा युवाको काँधमा राख्ने ? खाडी जाने प्रत्येक नेपालीलाई अयोग्य देख्नु अन्याय हो। उनीहरूमध्ये धेरै जना नेपाली राजनीतिक, आर्थिक र नीतिगत असफलताले देशबाट धकेलिएका विवश नागरिक हुन् । जीविकाका लागि विदेशिनु उनीहरूको अपराध होइन ।

अर्को ठूलो समस्या तुलना गर्ने हाम्रो बानी हो । नेपालका विश्वविद्यालयलाई अमेरिका, बेलायत वा अस्ट्रेलियाका विश्वविद्यालयसँग तुलना गरिन्छ । तुलना गर्नै नहुने होइन । उत्कृष्टताको खोजीका लागि तुलना आवश्यक हुन्छ । तर संसाधन नदिई परिणामको तुलना गर्नु बेइमानी हो । एकातिर अत्याधुनिक प्रयोगशाला, ठूलो अनुसन्धान बजेट, पर्याप्त पुस्तकालय, अन्तर्राष्ट्रिय डाटाबेस, उच्च पारिश्रमिक, प्रविधियुक्त कक्षा र अनुसन्धान सहयोगीसहितका विश्वविद्यालय छन् । अर्कोतिर चक, बोर्ड, सीमित पुस्तक र न्यूनतम बजेटमै अध्यापन गर्न बाध्य विश्वविद्यालय । अनि हामी दुवैलाई एउटै तराजुमा राखेर भन्छौँ – हाम्रो विश्वविद्यालय कमजोर भयो ।

एक पटक उल्टो प्रश्न गरौँ । अमेरिका वा युरोपको उत्कृष्ट विश्वविद्यालयका प्राध्यापकलाई नेपाली विश्वविद्यालयमा ल्याएर यही बजेट, यही कक्षा, यही प्रयोगशाला, यही प्रशासनिक संरचना र यही राजनीतिक हस्तक्षेपभित्र पाँच वर्ष काम गर्न लगाउने हो भने के उनले आफ्नै विश्वविद्यालयमा जस्तो परिणाम दिन सक्छन्? यदि सक्छन् भने हाम्रो आलोचना स्वीकार्य छ । यदि सक्दैनन् भने नेपाली शिक्षक, विद्यार्थी र अनुसन्धानकर्तामाथि निरन्तर हीनताबोध थोपरिरहेका आलोचकहरूले कम्तीमा आफ्नो भाषामाथि पुनर्विचार गर्नुपर्छ ।

विदेशमा अध्ययन गरेर फर्कनु गौरवको कुरा हो । त्यहाँको उत्कृष्ट अभ्यास नेपालमा ल्याउने प्रयत्न झन् स्वागतयोग्य छ । तर अमेरिकामा पढेर फर्किएको व्यक्तिले अमेरिकाकै बजेट, प्रविधि र पूर्वाधार बिर्सेर केवल “अमेरिकामा यस्तो हुन्छ” भन्दै नेपाली संस्थालाई गाली गर्नु बौद्धिकता होइन । ज्ञानको वास्तविक परीक्षा नक्कलमा होइन, स्थानीय परिस्थितिमा समाधान खोज्न सक्ने क्षमतामा हुन्छ । नेपाललाई अमेरिका बनाउनु पर्दैन, नेपाललाई सक्षम नेपाल बनाउनुपर्छ ।

यसको अर्थ यथास्थितिवादको समर्थन होइन । शिक्षा र अनुसन्धानमा राज्यले ठूलो लगानी गर्नैपर्छ । विश्वविद्यालयमा प्रयोगशाला, पुस्तकालय, अनुसन्धान कोष र प्रविधि विस्तार गर्नुपर्छ । शिक्षकलाई पढाउने मात्र होइन, अनुसन्धान गर्ने वातावरण दिनुपर्छ र निर्धक्कसंग बाँच्न सक्ने तलवभत्ता दिनुपर्छ । उद्योग र विश्वविद्यालयबीच सम्बन्ध जोड्नुपर्छ । निजी क्षेत्रले आफ्नै देशका स्नातकमाथि विश्वास गर्न सिक्नुपर्छ । नेपाली शिक्षा जगतको दुर्भाग्य नै भन्नु पर्छ राजनैतिक नेतृत्वले आफ्नै दक्षजनशक्तिमा विश्वास गर्दैन | आफ्ना चिकित्सकमा विश्वास नगरेर उपचारका लागि विदेशी अस्पतालको शरण लिन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा – विश्वविद्यालयले उत्पादन गरेको जनशक्तिलाई राज्यले उपयोग गर्नुपर्छ ।हामीसँग कृषि विज्ञ छन् तर कृषि नीति अरूले बनाउँछन्। मनोवैज्ञानिक छन् तर मानसिक स्वास्थ्य कार्यक्रममा उनीहरूको स्थान सीमित हुन्छ। दर्शनशास्त्री छन् तर नैतिकता, शिक्षा र सार्वजनिक नीति निर्माणमा उनीहरूको उपयोग हुँदैन। अनुसन्धानकर्ता छन् तर अनुसन्धानको बजेट छैन। इन्जिनियर छन् तर निर्णयको टेबलमा राजनीतिक पहुँच बलियो हुन्छ । त्यसपछि हामी भन्छौँ—“विश्वविद्यालयले व्यावहारिक जनशक्ति उत्पादन गरेन ।” यो विश्वविद्यालयको मात्र असफलता होइन | यो जनशक्ति उपयोग गर्न नसक्ने राज्यको असफलता हो।

नेपालका विश्वविद्यालयले सैद्धान्तिक मात्र होइन, अनेक क्षेत्रमा पर्याप्त व्यावहारिक ज्ञान भएका जनशक्ति पनि उत्पादन गरिरहेका छन् । समस्या उत्पादनमा मात्र छैन । समस्या अवसर, प्रयोग, विश्वास र व्यवस्थापनमा छ । हामीले भाषणमा योग्यता खोज्ने तर व्यवहारमा ‘आफ्नो मान्छे’ रोज्ने संस्कार बदल्नुपर्छ । नियुक्तिमा क्षमता, अनुसन्धानमा प्रतिभा, उद्योगमा दक्षता र राज्य सञ्चालनमा विशेषज्ञताको सम्मान हुनुपर्छ । त्यसपछि सिद्धान्त जानेर व्यवहार गर्न नसक्ने व्यक्ति आफैँ प्रतिस्पर्धाबाट बाहिरिन्छ। व्यवहार जानेर सिद्धान्त नबुझ्ने व्यक्ति पनि सीमित हुन्छ । अन्ततः टिक्ने व्यक्ति त्यही हो जसले ज्ञानलाई कर्ममा र कर्मलाई ज्ञानमा रूपान्तरण गर्न सक्छ ।

त्यसैले प्रश्न  सिद्धान्त कि व्यवहार ? होइन । सही प्रश्न हो – सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्ने वातावरण हामीले बनायौँ कि बनाएनौँ ? विद्यालय र विश्वविद्यालयलाई गाली गर्नुअघि राज्यले आफ्नै ऐना हेर्नुपर्छ ।  अमेरिका वा वेलायतमा उच्निचशिक्जीषा लिएर नेपाल फर्केकाहरूले यहाँको वस्तुस्थिति विचारेर आलोचना होइन, समाधानका उपायहरू वारे सुझाव दिनुपर्छ । क्षेत्रले आफ्नै अविश्वासको समीक्षा गर्नुपर्छ। बौद्धिकहरूले विदेशी चस्मा फुकालेर नेपाली वास्तविकतालाई हेर्नुपर्छ । नेपाली विद्यार्थी कमजोर छैनन् । नेपाली शिक्षक असक्षम छैनन् । नेपाली विश्वविद्यालय सम्भावनाविहीन छैनन् ।उनीहरूलाई चाहिएको छ – संसाधन, अवसर, अनुसन्धान, विश्वास र न्यायपूर्ण वातावरण ।

त्यो वातावरण निर्माण गरेर एकपटक हेरौँ । सायद त्यसपछि हामीले थाहा पाउनेछौँ – समस्या सिद्धान्तमा रहेनछ, व्यवहारमा रहेछ र सबैभन्दा ठूलो व्यावहारिक कमजोरी हाम्रो शिक्षामा होइन, शिक्षित जनशक्तिलाई चिन्न र उपयोग गर्न नसक्ने हाम्रो प्रणालीमा रहेछ ।

स्वस्त्यस्तु।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *