खाद्यान्नहरूको आमसभा

खाद्यान्नहरूको आमसभा

खाद्यान्नहरूको आमसभा
एक दिन धान, गहुँ, मकैआदि खाद्यान्नहरू र फलफुलआदिको भेला भयो | विषय निकै गम्भीर थियो | मौसम परिवर्तन र जीन परिवर्तनका कारण खाद्यान्न, फलफुल तथा सागसब्जीहरूको प्राकृतिक जीवनचक्रमा गम्भीर समस्या आएको थियो | उपरोक्त भेलामा सबैले यसै वारे छलफल गर्ने र आफ्नो र मान्छेको अस्तित्व जोगाउने चिन्तन थियो |

“मान्छेहरू निकै जान्ने भए ! सृष्टिदेखि अहिलेसम्म मैले मान्छेलाई पाल्दै आएको थिएँ | आज उनीहरूले हाम्रो बंशलाई “खसी” पारेर हाम्रो अस्तित्वलाई नै सङ्कटमा पारे | मौसम परिवर्तन र हाम्रो वदलिएको स्वरूपले अव हाम्रो बंश धेरै चल्लाजस्तो छैन | हामी मासियों भने यी मान्छे जोगिएलान् त ? – मकैले गम्भीर प्रश्न उठाएका थिए |

“हो, हाम्रो पनि “म्युटेशन” भएको छ | मान्छेहरूले हाम्रो प्राकृतिक क्षमतासंग छेडखानी गरेका छन् | अव हाम्रो बंशको प्राकृतिक र मौलिक अस्तित्व भेट्टाउन गाह्रो छ | हाम्रा धेरै दाजुभाई जीन परिवर्तनका कारण प्रकृतिसंग टाढिएका छन् | सायद, अवको २० वर्षभित्र धान बंशको नाश नै हुने छ | यी “जान्ने” मान्छेले आफ्नो र हाम्रो विनाश गर्ने भए | अव त फल्न पनि जाँगर लाग्दैन – धानले चिन्तित हुँदै भन्यो |

“हो, मान्छेले हाम्रो प्राकृतिक र मौलिक स्वरूपसंग छेडछाड गरेर राम्रो गरेका छैनन् | हाम्रो प्राकृतिक स्वरूप बिगारेको मितिबाट हाम्रो मौलिकता गुम्न थालेको छ, हाम्रो प्राकृतिक शक्ति गुम्न थालेको हो | मलाई लाग्छ, हाम्रो बंश पनि धेरै चले २० वर्ष अरू अगाडी बढ्ला | त्यसपपछि मान्छेले के खाएर बाँच्लान् ? हामीमा गरिएको म्युटेसन, मोड़ीफिकेशन, जीन-परिवर्तनले मान्छे पनि सुरक्षित रहन्न | हाम्रो बंश नाश गरेर मान्छे कसरी खुसी रहला – गहुँले गम्भीर हुँदै भयो |

“मान्छेको जनसंख्या बढ्यो भन्दैमा मान्छेले हाम्रो मौलिक स्वरूपमा परिवर्तन गर्नु गलत भयो | आज हाम्रो दालसमूहका सबै सदस्यहरूमा पुन:उत्पादनको ठूलो समस्या भएको छ | एकातिर मान्छेले प्रकृतिसंग ठूलै छल गरेर उसको चक्रमा धक्का पुर्याएका छन्, अर्कोतिर हाम्रो उत्पादन क्षमतामा गम्भीर क्षति पुगेको छ | सकेसम्म हामीले उत्पादन दिन्छौं तर हाम्रो प्राकृतिक क्षमता नै नष्ट भए पनि, मान्छेले रोप्दैमा हामी उम्रने र फल दिने वाला रहन्नौं – दालले बडो दुखसंग भने |

त्यो बैठकमा धेरैजसो खाद्यान्नहरूका प्रतिनिधि उपस्थित थिए | सबै प्रतिनिधिहरू मान्छेले तिनको मौलिक स्वरूपसंग छेडखान गरेको र मान्छेकै क्रियाकलापकारण पर्यावरणमा आएको परिवर्तनप्रति चिन्तित थिए | अनि, आफुलाई निकै बुद्धिमान मान्ने मान्छेले आफ्नो कुरा नै नसुन्ने, “जान्नेछौँ, हामी जस्ता सुकै समस्याको पनि समधान गर्न सक्छौं” भन्ने घमण्ड गर्नेहुँदा उनीहरूसंग बोलेर काम नलाग्ने निष्कर्षमा पुगेका थिए | त्यैपनि मान्छेप्रतिको माया भने मरेको थिएन |

अन्त्यमा, सम्पूर्ण अन्नवाली, दलहन, फलफूल, सब्जीहरूले आगामी तीनवर्ष कुर्ने तर पनि मान्छे नसुध्रिए “मान्छेले जति रोपे पनि नफल्ने” भन्ने निर्णय गरे र विश्वको सबैभन्दा प्राचीन खाद्यान्न जौले “मान्छेले हाम्रो प्राकृतिक स्वरूपसंग छेडखान नगरेसम्म उत्पादन दिने छौँ” भन्दै सभा समाप्त गरे |

—–
यदि तीनवर्षपछि विश्वका सम्पूर्ण खाद्यान्नहरू, फलफुलहरू, सागसब्जीहरू उत्पादन हुन छोडेभने विश्वका मान्छेको तथाकथित “बैज्ञानिक उन्नति”को अहङ्कारको गति के होला ? मैले यही सोच्दैछु |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *