अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य

अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य

अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य
जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको जगजगी बढ्छ | सबै भन्दा चिन्ताजनक तत्थ्य के हो भने धेरैजसो अन्धविश्वासका क्रियाकलापहरू धार्मिक आवरणमा विकसित हुन्छन् | हामीले बुझ्नुपर्छ कि अन्धविश्वासको आधार अन्धविश्वास हुन्छ | धार्मिकता त्यसको आवरण हुन सक्छ तर सद्गुणहरू (धर्म) अन्धविश्वास होइनन् |

जव समाजमा अस्थिरता, अनिश्चय तथा अविश्वास बढ्छ, व्यक्तिहरू अन्धविश्वासतिर प्रेरित हुन्छन् | मानसिक समस्या भएका व्यक्तिहरूको सङ्ख्या बढ्छ | केही व्यक्तिहरू आफुमा देवी-देउता आएको दावी गर्दै भविष्यवाणी गर्न थाल्छन् र सम्पूर्ण समस्याहरूको समाधान आफुसंग भएको दावी गर्छन् | असलमा, यो सबै मानसिक समस्याको बढ्दो समस्याका कारण हुन्छ | नेपालमा मानसिक समस्याहरूका कारणले अध्विश्वास र अध्विश्वासीहरूको सङ्ख्या बढ्दो छ |

कुनै घटना, कुनै व्यक्ति, कुनै भनाई वा बुझाईलाई तर्करहित, चिन्तन रहित र मननरहित भएर विचार नै नगरी स्वीकार गर्नु र त्यसका लागि ज्यानैदिन तयार हुने अवस्थामा पुग्नु अध्विश्वास मानिन्छ | विश्वास र अन्धविश्वासको सीमारेखा निकै साँघुरो हुन्छ | विश्वासलाई व्यक्तिले पूर्वअनुभवहरूको परिवेशमा स्वीकार गरेको हुन्छ र त्यसमा धेरै तार्किकआधारहरू हुन्छन् तर अन्धविश्वासको कुनै तार्किक आधार हुँदैन | अन्धविश्वासमा व्यक्तिको संज्ञानात्मक क्षमता ढाकिएको हुन्छ | नेपालीमा अन्धविश्वासलाई “भेडोचाल” भन्न मिल्छ | मानसिकरूपमा ज्यादै असजिलो, अस्थिर र निराश भएपछि मान्छेको चिन्तन अन्धआस्थामा गएर केन्द्रीत हुन्छ | अन्धआस्था नै विकसित भएर अन्धविश्वास बन्छ | अन्धविश्वास नेपालमा मात्र होइन विश्वभरी छ तर यसका स्वरूपहरू फरकफरक छन् | नेपालमा अधिले अन्धविश्वासको अनुपात बढेको छ |

अव नेपालको कुरा गरौँ, २०४७ को राजनैतिक परिवर्तनपछि नेपाली समाजले विकासको ठुलो अपेक्षा गरेको थियो | नेपाली नेताहरूले नेपाललाई विकसित राष्ट्रको श्रेणीमा पुर्याउने विश्वास दिलाएका थिए | तर माओवादी विद्रोह र त्यसपछि राजनैतिक परिघटनाले मान्छेहरू ज्यादै निराश भए | देश र समाज विकसित हुनुको सट्टा अझै गरिवी, अनिश्चय तथा राजनैतिक अस्थिरताको भुमरीमा फसिरह्यो | कुनै पनि राजनैतिक दलका नेता वा कार्यक्रताले यस्तो अव्यवस्थाको लागि क्षमा माग्नु त कता हो कता एकले अर्काउपर औंला ठड्याए र दोषारोपण गर्न थाले | यदि यस्तो आपसी दोषारोपणले काम चलेन भने “विदेशी शक्तिको खेल” विदेशीलाई दोषारोपण गर्न थाले | अहिले पनि यही चलिरहेको छ |

जवजव देश र समाज अनिश्चय र निराशाको बन्दी हुन्छ, समाजमा मानसिक स्वास्थ्यसम्बधि समस्याहरू ह्वात्तै बढ्छन् | अहिले नेपाली समाजमा देवी चढ्ने, देउता चढ्ने र देवीदेवता चढेको बेलामा अनर्गल भविष्यवाणी गर्नेहरूको लर्को चलेको छ | यही मानसिक तरलताको अवसर छोपेर परम्परागत ज्योतिषलाई वदनाम गर्ने गरी केही युत्युबे ज्योतिषीहरूले पनि अनार्गत तथा निराशामूलक अन्धविश्वासहरू फैलाइरहेका छन् | धर्मको आड लिएर अन्धविश्वास फैलाएर समाज र व्यक्तिलाई अन्धविश्वासप्रति विश्वास जगाउने काम भइरहेको छ | कुनै पनि वैदिक, बौद्धशास्त्रहरूमा दीर्घकालसम्म देवीदेवता मान्छेमा “चढ्ने र त्यसका माध्यमबाटबाट भविष्यवाणी गर्ने” उल्लेख छैन | दैवीशक्ति प्राप्त महात्माहरूले समाज वा व्यक्तिलाई अहित हुने कुनै पनि भविष्यवाणी गर्दैनन् |

सत्य के हो भने जवजव मान्छेको मनमा आफ्नो वर्तमान र भविष्यप्रति अनिश्चितता, अविश्वास तथा सङ्कट अनुभव हुन्छ, चर्चहरूमा, मस्जिदहरूमा, मन्दिरहरू र बाबाहरूकोमा मान्छेको भीड बढ्छ | नयाँनयाँ जोगीका अवतारहरू उत्पन्न हुन्छन् | फरकफरक शैली र आवरणमा “सङ्कटमुक्तिका पसलहरू” खुल्छन् | मान्छेहरू अस्थिर, अनिश्चय र निराशाले भरिएको मन ती पसलहरूको ग्राहक बनेर केही क्षणका लागि भए पनि समस्याहरूबाट उन्मुक्तिको अनुभव गर्न चाहन्छ | केही वेर आनन्दको अनुभव गर्न चाहन्छ | केही वेर खुसी हुन चाहन्छ |

परापूर्वकालदेखि आफुले स्वाभाविक रूपमा मान्दै आएका, पूज्दै आएका र आराधना गर्दै आएका देवीदेवताको आराधना गरौँ | आफ्ना कुलदेवता, इष्टदेवता तथा गुरूहरूको सम्मान गरौँ | यसमा कुनै खरावी छैन | तर एकाएक चर्चमा आएका र “सबैप्रकारका समस्याहरूबाट मुक्ति दिने जादुको छडी बोकेका” देशी-विदेशी बाबा/बाबीहरूले फैलाउने अन्धविश्वासमा विश्वास नगरौं | उनीहरूले हाम्रो मानसिक अस्थिरता, अशान्ति र निराशामा खेल्दै आफ्नो दुनो सोझ्याईरहेका छन् | हामी जतिधेरै ती “सुकिलामुकिला”हरूमा विश्वास गर्छौं, त्यतिनै दलदलमा फंस्ने छौँ | यदि तपाईंको घरमा, समाजमा देवीदेउता चढेका व्यक्ति देखापर्छन् भने उनीहरूलाई मनोबैज्ञानिक परामर्श वा चिकित्साको आवश्यकता छ | उनीहरू स्वयं मानसिक अस्थितरता र निराशाले प्रभावित व्यक्ति हुन् | उनीहरूले तपाईंलाई सहयोग गर्न सक्दैनन् |

जेंजी आन्दोलनले नेपाली मनोविज्ञानमा अझैं बढी अशान्ति, अस्थिरता, अनिश्चितता र निराशा नित्याएको हुन सक्छ | यो जेंजी आन्दोलनप्रतिको आरोप होइन | देश र जनताले लामोसमयदेखि अस्थिरता र अनिश्चय भोग्दै आएको अवस्थाले निर्मित मानसिक अवस्था हो | यस विषयमा जेंजी तथा राजनैतिकदलहरूको नेतृत्व र कार्यक्रताले गम्भीरतापूर्वक मनन गर्नुपर्छ | जेंजी-आन्दोलनले देशलाई सकारात्मक रुपान्तरणमा लैजान सकेन भने जनतामा “अन्धविश्वास”प्रतिको अभिरुचि अझैं बढ्ने छ | उदाहरणका लागि आजभोली इसाईहरूले समस्या निवारण गर्छौं भन्दै “चंगाई”का कार्यक्रम्हरू सघन बनाएका छन् | चंगाई होस् नहोस्, जनताको मानसिक पीडामा खेलेर धर्मपरिवर्तन गर्ने व्यापार भने राम्ररी फस्टाएको छ | यस्तो सबैतिर हुन सक्छ |

देशमा राजनैतिक अस्थिरता हुँदै मान्छेको मानसिक शक्ति पनि अस्थिर हुन्छ | यो प्राकृतिक तत्थ्यलाई स्वीकार गर्ने र आफु र आफ्नाहरूलाई यस्तो प्रभावबाट न्यून प्रभावित हुने अभ्यास गर्नुपर्छ | युट्युवे भाइरल ज्यौतिषीका कुरा सुनेर, देशको अस्थिरताका कारण मानसिकरूपमा अस्वस्थ्य भएका “बाबा/बाबी”हरूको कुरामा पत्याएर, सुकिलामुकिला विदेशी सेलेब्रेटी बाबा/बाबीहरूको पछि लाएर हाम्रा समस्याहरू समाधान हुँदैनन् | उनीहरूले ब्युजिनेश गर्छन्, हामी अन्धविश्वासमा फंस्छौँ |

धामीझाक्री, झारफुक, मन्त्र – हाम्रा परम्परा हुन् | आवश्यकताअनुसार यिनको सेवा लिनुपर्छ तर अनावस्यक भरोसा र भर पर्न हुँदैन | आफ्नो र आफन्तको मानसिक स्वास्थ्यमा भर परौं | आवस्यक परे मनोबैज्ञानिक वा मनोचिकित्सकसंग सल्लाह/सुझाव लिउं |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *