योगमायाको जल समाधि

योगमायाको जल समाधि

योगमायाको जल समाधि कि सामुहिक आत्महत्या ?

आजभोली योगमायाको निकै महिमा मण्डित हुँदैछ | राम्रो काम गर्ने मान्छेको सम्झना गर्नुपर्छ | आधुनिकतावादीहरूले उनको निकै बखान गरिरहेका छन् र विश्वविद्यालयसम्म खोलिएको छ | तर इतिहासलाई झूटो बनाउन सकिन्न | उनी जोसमनी सन्त परम्परामा दीक्षित सन्त थिइन् | उनी साम्यवादी, समाजवादी, लोकतन्त्रवादी, महिलावादी कत्ति पनि होइन | उनले आफ्ना अनुयायीहरूसंगै आत्महत्या गरेकी थिइन् | आत्महत्या गर्नु, गर्न उक्साउनु राज्यविरुद्धको अपराध हो | धर्मका नाममा होस् वा अन्य, आत्महत्या (केवल देश रक्षाको सवालमा बाहेक) गर्ने गराउने कार्य प्रसंशाको विषय हुँदैन | “जल समाधि” शब्दको प्रयोग गर्दैमा आमआत्महत्या र हत्याराको औचित्य सिद्ध हुँदैन | सबै भन्दा प्राचीन इशोपनिषद्मा आत्महत्या गर्ने “अन्धकारमय लोकमा जान्छन्” भनिएको छ |
नेपाली विकिपेडियामा लेखिएको छ “योगमायाको जन्म संवत् १९१७ सालमा भोजपुरको दिङ्लामा भएकोथियो। बाँचुन्जेल उनले समाजका विकृतिहरू चिर्नमै समय लगाइन्। त्यति बेलाको त्यो सत्य घटना पनिआज एकादेशको दन्त्यकथाझैँ मानिन्छ। समाजको त्यही कठोर शासनप्रतिविद्रोहको चरम स्वरउराल्ने क्रममा उनले संवत् १९९८ असार २२ गते शनिबार आफ्ना अनन्य भक्तहरूसमेतलाई समेटेर जलसमाधि लिएकी थिइन् |”
त्यसपछि मैले जनकलाल शर्मा लगायतका विद्वानहरूले योगमायाका विषयमा लेखेका सामाग्रीहरू खोजेर पढें | निश्चय नै योगमाया न्यौपाने त्यस समयकी विद्रोही नायिका थिइन् र त्यो विद्रोही मानसिकताले उनी जोगी, उपदेशक तथा गुरूआमा बनिनन् | तेस समयका अन्य महिलाहरूमा एस्तो चेतना र विद्रोह देखिन्न | जीवनका प्रारम्भिक क्रियाकलापहरूमा उनी सामान्य महिला थिइन् तर उत्तरार्धमा उनी विशिष्ट बनिन् | हो, उनले नारीको उत्थानका लागि गीत लेखेकी छन् तर गीतको सारचाहिं ईश्वरप्राप्ति नै छ |
उनी जोसमनी सन्तपरम्परामा दीक्षित थिइन् जहाँ जातपात तथा छुवाछुतको कुनै महत्व थिएन | आचार्य शंकरले प्रतिपादन गरेको “ब्रहम बाहेक संसारमा अरू कुनै सत्य छैन” भन्ने विचारलाई जोसमनीहरूले ब्यबहारमा उतारेका थिए | त्यसबेला छुवाछुतको विरोध धार्मिक-आवरणमा मात्र सम्भव थियो किनभने साधुसन्तहरूप्रति जनमानसमा ठूलो श्रद्धा थियो | साधुसन्तले अनुभूति गरेका र तिनले भनेका विषयमा सर्वसाधारण समेत राजारजौटाले समेत विश्वास गर्थे |
उनले महिला उत्थान कै लागि काम गरेकी थिइन् भन्ने आधुनिकराजनैतिक विश्वासका आधारमा विद्वानहरूले लेखेका भनाईमा सहमत हुन सकिन्न | उनले जे-जति सामाजिक विद्रोहका विषयहरू चुनिन त्यसमा जोसमनी परम्पराको धार्मिक, सामाजिक तथा ब्यबहारिक दर्शनको विस्तार गर्ने भावना थियो भन्ने स्पष्ट हुन्छ | उनले नैतिक उपदेशकका रूपमा तेही भनिन् जुन त्यस बेलाको समाजले सपार्नु पर्छ भन्ने ठानिन् | अन्य जोसमनी गुरूहरूले पनि यही गरेका छन् |
तर दिग्लामा महायज्ञ गरेर अनुयायीहरूलाई सामुहिक आत्महत्या गर्न अभिप्रेरित गरेकोमा उनी आलोचित हुनुपर्छ | वैदिक धर्ममा आत्महत्यालाई ठूलो अपराधको रूपमा वर्णन गरिएको छ | गरुडपुराणले आत्महत्या गर्नेहरू असीवन नर्क,मा पर्छन् र सधैं नारकीय जीवन व्यतित गर्छन् भनेको छ भने एस्ता कथनहरू हिन्दू ग्रन्थहरूमा यत्रतत्र भेटिन्छन् | सामुहिक आत्महत्या रोक्ने काममा तेसबेलाको राणा-सरकार बढी प्रगतिशील छ | माधव सम्सेरले आत्महत्या गर्न र गराउन तम्सिएकी योगमायालाई थुनेर धेरै प्रगतिशील काम गरेका हुन् भन्न मिल्छ कि मिल्दैन ?
दूई वर्ष जेलखानामा विताएपछि पनि योगमायाको आत्महत्याको उन्माद रोकिएन | उनी फेरी चेलाचपेटाहरू जुटाएर सामुहिक आत्महत्याको प्रपन्च रच्न थालिन् | उनको धार्मिक आवरणले त्यसलाई सहजीकरण गर्यो र अन्त्यमा विक्रम सम्वत् १९९८ ताका पुन: आफ्ना भक्तहरूलाई सामुहिक आत्महत्या गर्न उक्साईन् | भनिन्छ, त्यही ताका उनको उक्साहटमा पारेर उनीसहित ६६ जना अनुयायीहरूले कोशीमा हामफालेर सामुहिक आत्महत्या गरेका थिए | संख्याका विषयमा फरक-फरक मत भेटियो तर योगमाया आफैले र केही उनका भक्त-अनुयायीहरूले आत्महत्या गरेको कुरामा विवाद छैन |
मैले इन्टरनेट र विभिन्न विद्वानहरूले योगमाया विषयक लेखहरू पढ्दा निकै निराशा लाग्यो | किनभने सतिप्रथा, बालविवाहजस्ता कुरीतिहरूको विरोधी तथा नेपाल कै प्रथम महिलाअधिकारवादी नेतृका रूपमा स्थापित गर्न चाहनेहरूले “सामुहिक आत्माहत्या गर्ने प्रेरित गर्ने र आफै आत्महत्या गरेको” जघन्य अपराधको कतै पनि निन्दा गरेका छैनन् | सतिप्रथाको विरोध गर्ने, त्यस बेलाको समाजका अन्य कुरीतिहरूको विरोध गर्ने तर योगमायाले उक्साएर ६६ जनाले गरेको आत्महत्याको एक शब्द पनि आलोचना गर्ने ? नारी हुँदैमा, आत्महत्या गर्ने र गर्न लगाउनेले उन्मुक्ति पाउनुपर्ने ?
“सामुहिक आत्महत्या” जस्तो जघन्य अपराध गर्न उक्साएको र त्यसै उकसाहटको उन्मादमा पारेर आफ्नो ज्यान गुमाउनेहरूकी योगमाया खलपात्र हुन् हुन् | उनले गरेका धेरै असलकार्यहरूलाई उनको यो अन्तिम अपराधले ओझेल पार्छ | धर्म र धार्मिकताको आवरणमा प्रायोजित गरिएको “सामुहिक आत्महत्या”जस्तो जघन्य अपराध घटित गर्नेहरुलाई महिमामण्डित गर्न मिल्दैन | महिलावादीहरूले यो तत्थ्य बुझेका नै होलान् र आधुनिक सभ्यसमाजको यो दोहोरो चरित्र अचम्मको लाग्छ |
योगमाया वाहेक हिन्दू धर्ममा सामुहिक-आत्महत्या गरेको र तेसो गर्न उक्साएको उदाहरण अन्यत्र पाइन्न | सतिप्रथा प्रथापनि आत्महत्या गर्ने उक्साहटबाट नै घटित हुन्थ्यो तर त्यो स्वेच्छिक थिएन | केहीले भारतीय राजपुत महिलाहरूको उदहारण देलान् तर पद्मिनीहरूको सामुहिक आत्महत्या मुस्लिम यौन-दुराचारीहरूसंग आफ्नो अस्मिता जोगाउन गरेका हुन् |
मलाई लाग्छ, योगमाया एस्ति पात्र हुन् जसले सामुहिकरुपमा आत्महत्या गराए पनि अधिकारवादीहरूको आँखाले महिलावादी देखेका छन् र महिमामण्डित गरेका छन् | जसले-जे भनोस्, योगमायाले सामुहिकरुपमा आत्महत्या गराए लोकिक र पारलौकिक रूपमा पाप गरेकी नै छन् यिनको यो पापको महिमामण्डित गर्नेहरू पनि दोषी नै छन् जलसमाधि उनको अपराध नै हो |
८ नोभेम्बर १९७८ का दिन पिपुल्स टेम्पलस् (Peoples temple cult) नामको एउटा क्रिस्चियन सम्प्रदायका गुरू जिम (Jim Jones and Jonestown Massacre) ले गुयानाको एउटा जङ्गलमा ९०९ जना आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न लगाएका थिए | आत्महत्याका क्रममा अभिभावकहरूले आफ्ना निर्दोष बालबालिकालाई विष दिएर मारेका थिए | यो काण्डले विश्वलाई विज्ञान बेच्ने अमेरिका निकै आलोचित भएको थियो र आम इसाईहरूले समेत आलोचित हुनु परेको थियो |
योगमाया नेपाली जर्जटाउन संस्करण हुन् तर जर्जटाउन भन्दा धेरै पहिले | केही स्वनामधन्य लेखक, लेखिका, इतिहासकारले योगमायाको यो जघन्य कृत्यलाई समेत “अधिकारवाद”संग जोडेर व्याख्या गरेका छन् | के आत्महत्या गर्न प्रेरित गर्नु र आत्महत्या गर्नु समाजका लागि उचित संदेश हो ? बौद्धिकता र व्यबहरिकता दूवैले उत्तर खोज्छ | योगमाया विश्वविद्यालयको जग राख्नेहरूले योगमायाको आत्महत्यालाई जस्तिफाई गर्नुपर्छ | फेरी पनि भन्छु, योगमायाका असल सङ्घर्षहरूलाई समेत आत्महत्याको काण्डले उझेलमा पारेको छ | यसका लागि इतिहास र समाजले उनको आलोचना गर्नुपर्छ |
उनी समाजवादी, डेमोक्रेटिक, साम्यवादी वा महिलावालवालिका अधिकारवादी केही थिएनन् | उनका भजनहरूमा जोसमनि सन्तपरम्पराका सन्त शशीधर, ज्ञानदील दासआदिको चेतना भेटिन्छ | योगमायाले कुनै नयाँ काम गरेको हो भने त्यो सामुहिक आत्महत्या गर्न उक्साएको र आत्महत्या गराएको र गरेको हो | यदि योगमायाको आत्महत्याको अभियान “सकारात्मक विद्रोह” हो भने जर्जटाउन आमहत्या पनि असल कर्म नै हो | नेपालको वर्तमान कानुनले आत्महत्या गर्ने, गर्न लगाउनेलाई हदैसम्मको सजायको व्यबस्था गरेको छ | योगमायाको सामुहिक आत्महत्यालाई “अधिकारवादी” आँखाले बुझ्ने र बुझाउन प्रयत्न गर्नेले सचेत हुनुपर्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *