कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको जन्मतिथि
यो संसारमा श्रीशंकराचार्य जस्तो महाविद्वान्, रामानुजाचार्यजस्तो भक्तिवादी, मण्डन मिश्रजस्तो कर्मयोगी अर्को हुनै सक्दैन | आचार्य शङ्करले मण्डन मिश्रको, आचार्य शंकरको रामानुजाचार्यले विनम्रता पूर्वक दार्शनिक सिद्धान्तहरूको खण्डन गरेका छन् | तर कुनै पनि आचार्यहरूले अर्को आचार्यप्रति व्यक्तिगत आक्षेप, निन्दा गरेका छैनन् | बरू सिद्धान्तको आलोचना गर्दा पनि आचार्यपाद, भगवतपाद, महामनाआदि पदहरूको प्रयोग गरेर एउटा सिद्धान्तकारले अर्को सिद्धान्तकारको सम्मान गरेका छन् | यस्तो विनम्र परम्परा वैदिक हिन्दू धर्ममा मात्र देख्न, सुन्न र पढ्न पाइन्छ |
आचार्य मण्डन मिश्र र आचार्य शङ्कर समकालीन हुन् | मण्डन मिश्र र आचार्य शङ्करका विचमा शास्त्रार्थ भएको र सो शास्त्रार्थमा निर्णायकको भूमिकामा मण्डन मिश्रकी धर्मपत्नी भारतीले गरेको प्रसंग आउँछ | वेदलाई सर्वाधिक प्रमाणिक मान्ने स्मार्त पक्षलाई महत्व दिने मण्डन मिश्रलाई युवा अद्वैतवादी दार्शनिक आचार्य शङ्करले शास्त्रार्थमा पराजित गरेको भन्ने पनि लेखिएको छ तर स्मार्तहरुले यस्तो अभिमतलाई अस्वीकार गर्छन् |
रामानुजाचार्य पनि अद्वैत वेदान्ती नै हुन् तर यिनले आफ्नो सिद्धान्तलाई “विशिष्टताद्वैत भनेका छन् | आचार्य शङ्कर जसरी आचार्य मण्डन मिश्रको सिद्धान्तका कठोर आलोचक हुन् तेसैगरी रामानुजाचार्य आचार्य शङ्करले प्रचारप्रसार प्रसार गरेको अद्वैतवादी वेदान्तका प्रबल आलोचक हुन् |
कर्मवाद, ज्ञानवाद र भक्तिवादका यी प्रकाण्ड आचार्य, सिद्धान्तकार तथा महान्तहरुको आज जन्मतिथी परेको छ | यी मध्ये आचार्य रामानुज चिरन्जीवी (१२० वर्ष जीवित रहेर) प्रपत्ति दर्शनको प्रचारप्रसार गरेका थिए | आचार्य शङ्कर केवल ३२ वर्षसम्म जीवित रहेर सनातन धर्मको प्रचारप्रसार र स्थापना गरे भने कर्मयोगी आचार्य मण्डन मिश्रको उमेर आचार्य शङ्करसंग शास्त्रार्थ गर्दा निकै पाको थियो भनिन्छ |
म व्यक्तिगत रुपमा आचार्य शङ्करसंग सबैभन्दा प्रभावित भएको अनुभव गर्छु किन भने यिनले आफ्नो ३२ वर्षे जीवनकालमा सम्पूर्ण भारतवर्षको ४ पटक परिक्रमा गरे, ८० भन्दा बढी पुस्तकहरूको प्रणयन गरे र उहाँको समयमा सबैभन्दा शक्तिशाली रहेका बौद्ध तथा जैनहरूलाई शास्त्रार्थमा पराजित गरेर सनातन धर्मका दीक्षित, प्रशिक्षित तथा शिक्षित गरेका थिए | विश्वको इतिहासमा एति सानो उमेरमा यतिधेरै काम गर्ने कुनै पनि व्यक्तिको इतिहास छ |
आचार्य मण्डन मिश्र, आचार्य शङ्कर तथा आचार्य रामानुजको जन्मजयन्तिको अवसरमा र उहाँमा नमन तथा उहाँले स्अथापित गरेका सिद्धान्तमा अनन्य निष्ठा राख्ने बिनम्र अनुयायीहरूप्रति स्वस्ति |

