स्वघोषणा : भोट
१. सधैं झूटो बोल्ने, सधैं विकास र रोजगारको सपना देखाउने तर भएका कलकारखानाआदि बेचेर आफन्तलाई पोस्ने राजनैतिक पार्टीका कुनै पनि नेतालाई भोट दिने छैन |
२. घरमा अर्बौंको सम्पति हुँदाहुँदै राष्ट्रलाई दोहन गरेर विदेशमा उपचार गराउने नेता र तिनका मतियारहरूलाई (मजस्ता जनतालाई मर्नका लागि छोडेर) भोट दिने छैन |
३. आफ्ना छोराछोरी महंगा विदेशी विद्यालयहरूमा पढाउने तर मजस्ता मतदाताको छोराछोरी पढ्ने विद्यालयका शिक्षक/शिक्षिकालाई राजनैतिक झोले बनाएर शिक्षालाई बिकाम्मे बनाउने दलका नेताले मेरो भोटको आश नगरे हुन्छ |
४. नेपाल निर्माण गर्छु भन्ने तर नेपाल जनताको पक्षमा निर्णयहरू गर्नुको सट्टा सधैं विदेशीहरूको कृपापात्र बन्न उनीहरूको चाहनाअनुसार निर्णय गर्ने राजनैतिक पार्टीका उम्मेदवारहरू मेरो भोट माग्न नआए हुन्छ |
५. आफुसंग शक्ति हुँदा बाटो नै नभएको खोलामा पनि पक्की पूल हाल्ने तर मजस्ता मतदातालाई तुहिन पनि नदिने नेतालाई भोट हाल्दिन |
६. नेपालको विकासको नाममा सधैं महङ्गो दरमा विदेशीसंग कर्जा लिने र त्यो कर्जाबाट आफु र आफु निकटकालाई स्वरोजगार बनाएर मजस्तालाई विदेशी ऋणको भारी बोकाउनेहरू मसंग भोट माग्न नआए हुन्छ |
७. देशमा रहेका मानव शक्तिहरूमा विश्वास नगरेर महङ्गा विदेशी “विज्ञ”हरू झिकाउने र मिलोमतो गरेर स्वदेशी युवाशक्तिलाई विदेश धापाउने, मजदूरसंगठनहरू उठाएर उद्योगहरू धरासायी बनाउने तर सधैं “हामी नेपाल बनाउछौं” भनेर गफ लगाउने राजनैतिक दलका नेताहरूलाई ज्यान गए भोट दिन्न |
८. नेपालको आफ्नो मौलिक सीप, असल परम्परा, संस्कृति तथा सभ्यताप्रति सधैं शत्रुतापूर्ण ब्यबहार गर्दै विदेशी धर्म. संस्कृति, परम्परालाई पवित्र ठान्ने प्रबृत्तिका राजनीति गर्नेहरूलाई मैले भोट दिन्न |
९. नेपालका मौलिक खाद्यान्न, उपचार पद्धतिहरू, वास्तुहरूको उपेक्षा गर्दै सधैं विदेशी प्रविधि भित्राएर कमिसनका लागि मरिमेट्ने राजनैतिक नेतृत्वलाई मेरो भोट जान्दैन |
१०. पिण्ड खाने वेलासम्म पनि प्रधानमन्त्री मन्त्रीको पदका लागि मरिमेट्ने स्वभाव भएका राजनैतिक नेताहरू विकास गर्ने, लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्रआदिका नाममा सधैं मजस्तो मतदातालाई झुक्याउने तथा ब्लाक मेलिंग गरेर सत्ता हत्याउनेहरूले मेरो भोटको आश नगरे हुन्छ |
११. कुरा निकै सदाचारका गर्ने तर जनताको ट्याक्सबाट संचालित राज्यका विभिन्न अंगहरूमा (न्यायालयसहित) आफ्ना झोलेहरू भरेर आफन्त पोस्ने चरित्र भएका कुनै पनि नेतालाई म भोट दिन्न | मैले यस्ता पार्टी र व्यक्तिहरूलाई राम्ररी चिनेको छु |
१२. विकासका नाममा मिलोमतो गरेर अनावश्यक डोजर संस्कृतिको विकास गर्ने, निर्यात भन्दा आयातमुखी अर्थतन्त्रम नाफा खोज्ने, देशको युवा शक्तिलाई विदेशीको दास बनाएर सत्तासुख भोग्ने, राजनैतिक सुधारका नाममा भ्रष्ट्राचार गर्न मिलोमतो निम्त्याउने कुनै पनि दलले मेरो भोटको आश नगर्नु |
१३. आफ्ना कार्यक्रताले जतिसुकै अपराध गरे पनि चुइक्क नबोल्ने तर अर्काले असल काम गर्दा पनि खोचे मात्र थाप्ने, विदेशीहरूलाई रिझाउन आफ्नो मौलिकतालाई समेत बेच्न तयार हुने पार्टी र तिनका मतियारलाई भोट दिन्न नदिन पनि आग्रह पनि गर्छु |
१४. जातिका नाममा, भूगोलका नाममा, भाषाका नाममा आफ्नै छिमेकीलाई गालीगलौज गर्ने, छुवाछुत गर्ने, प्रगतिशीलताको ढोंग गर्दै धर्मपरिवर्तनकारी शक्तिलाई सघाउने र विदेशीहरूको सैद्धान्तिक प्रतिमानलाई नेपालको गौरवमय इतिहाससंग साट्ने कुनै पनि दलका नेताहरूलाई भोट नदिने घोषणा गर्छु |
-१५. सधैं ऋषि संस्कृतिको खेदो खन्ने, आफ्नो इतिहासप्रति लज्जाबोध गर्ने, देशको चाहुदिक विकासका लागि भन्दा पनि नेता-व्यबस्थापन चुनावमा जाने, देश-दोहन गर्ने कामलाई प्राथमिकता दिने तर मौका पर्दा धार्मिकताको छाता पनि ओढ्नेहरूका लागि मेरो भोट नपर्ने घोषणा गर्छु |
सूचना………….
अर्को पटक म मतदाताले कस्तो उम्मेदवारलाई भोट दिन्छु भनेर घोषणा गर्ने छु, पढ्न नविर्सनु होला | इच्छामजस्ता मतदाताले यो घोषणापत्र जति शेयर गरे हुन्छ र आफ्नै नाममा शेयर गर्न पनि कुनै रोकटोक छैन | साथैं, यो घोषणापत्र लेख्ने म सचेत नागरिक हुँ, मलाई कसैको सल्लाह चाहिन्न तर सकारात्मक सुझावचाहिं स्वागत छ |

