मात्र नौ घण्टा !!
अहिले विश्वभरी १३४१० बटा अणुवम, हाड्रोजन बम, नाइट्रोजनआदि वमहरू छन् | यी बमहरूलाई एकै पटक प्रयोग गर्ने हो भने हाम्रो पृथ्वी खरानीमा परिणित हुन केवल ९ घन्टा लाग्छ | अर्थात् केवल ९ घण्टामा हाम्रो सुन्दर वासस्थल सधैंको लागि निर्जन, जीवनरहित र १८०० फरेन हाइट गर्मी भएको ग्रह बन्ने छ | मान्छेले मान्छेसंग लड्न र जित्न आविष्कार गरेको सबैभन्दा डरलाग्दो महाकाल हो | देशका सीमानाहरू बलियो बनाउँन, आफ्ना अमुक देश कति शक्तिशाली छ भनेर बाहुवल प्रदर्शन गर्ने “हिरण्यअक्ष शैली” उदेक लाग्दो छ र परिणाम सोच्दा समेत आँग जिरिंग हुन्छ |
स्टिफेन हकिंसले पृथ्वीको आयु १०० वर्ष तोकेका छन् | माथिल्ला शास्त्रहरूको प्रयोग हुने हो भने यसको आयु केवल ९ घण्टाको हुन्छ | पांच अर्ववर्ष आयु मानिएको पृथ्वीको आयुलाई ९ घण्टामा सीमित पार्न सक्ने मानवीय “लडाकुपन”को निन्दा, आलोचना, भत्सना जे-गरे पनि थोरै हुन्छ | राजनैतिक उन्माद, व्यक्तिगत चरम उपयोगितावाद तथा स्वार्थ पूर्तिको शिक्षा दिने शिक्षाले कदापि उपरोक्त तत्थ्यहरूको आलोचना गरेको हुन्छ | जुन पलदेखि शिक्षालाई “स्वार्थपूर्ति”को भर्यांग बनाउँन आरम्भ गरियो, मान्छेको बुद्धि बढ्यो तर विवेक मर्यो र आफुलाई यमराजमा परिणित गर्यो |
आजको मान्छे शिक्षित छ, प्रशिक्षित छ तर दीक्षित छैन | स्व. बालकृष्ण समले भनेझैँ मान्छे लडाई खेल्न मन पराउने प्राणी हो | मान्छे लडाई नगरी बस्नै सक्दैन | आज भौतिक युद्धहरू त्रासदीपूर्ण हुँदै गर्दा मान्छेले राजनैतिक युद्ध लडिरहेको छ | सित्तैमा प्राप्त हुने सुखसुविधा प्राप्तिको लागि विभिन्न वाद (समाजवाद, साम्यवाद, कुलीनवादआदिआदि) सृजित गर्दै सत्ताप्राप्तिको विवेकहीन युद्ध लडिरहेको छ | सम्प्रदायहरूको सृष्टि गरेर “स्वर्ग जाने र नर्क जाने”लडाई लडिरहेको छ | अहिलेका धेरैजसो लडाईहरू आधारभूत आवश्यकता प्राप्तिका लागि होइन “सुविधा” प्राप्तिका लागि लड़िदै छन् | उपलब्ध सुविधा जोगाउनैका लागि “सुविधाहीन”को बाँच्न पाउने अधिकारसमेत गुम्दै छ |
मान्छे आपसमा युद्ध नखेलून् भनेर धर्म र धार्मिकताको थालनी भयो तर धार्मिक (Religious) हरूले परमेश्वरको प्रसन्नताको लागि मान्छेकै हत्या गर्न थाले | कसैले क्रुसेड लडे भने कसैले जिहाद लड्दै छन् | उदेक लागि र विश्वास गर्न नै गाह्रो पर्ने तत्थ्य के हो भने शक्तिशाली अस्त्रशस्त्रझैं शक्तिशाली र विनाशक युद्धहरू पनि “इसाई-मुस्लिम”हरूको नेतृत्वमा लडिएका थिए भने उपरोक्त विनाशक हतियारहरू पनि जिससको आदेशमा हिड्ने इसाई वाहुल्य देशले निर्माण गरेका छन् | हिन्दू र बौद्ध समुदायले (पछिल्लो समय भारत र पाकिस्तानले पनि) भयानक मारक हतियारहरू बनाएर सुरक्षा होइन विनाश निम्त्याईरहेका छन् | ढुंगा, मूडा, झटारो, वाणले खेलिने युद्धहरूलाई “आणविक” बनाउन सफलता प्राप्त गर्ने इसाई नै हुन् |
सबै इसाई दोषी छैनन् तर इसाई वाहुल्य मुलुकहरूले विनाशक हतियारहरू निर्माण आफ्नै समुदायको अस्तित्वलाई पनि “९” घन्टामा झारेका छन् | आजको मितिमा पनि यहुदी, इसाई र मुस्लिमहरू धार्मिक लडाई लडिनै रहेका छन् | राजनीतिगज्ञहरूलाई विश्वास गर्ने धर्मगुरुहरूको बर्चस्वले शान्ति कायम गर्ने धार्मिक समुदायहरू पनि आगो र पानीझैं एकअर्काको अस्तित्व मेट्न प्रत्यक्ष तथा अप्रत्यक्ष लडाईलडिरहेका छन् | जव राजनीति धर्मसंग (Religion) मिसिन्छ तेसले विवेक गुमाउँछ र विवेकहीन सन्तानहरू उत्पन्न गरेर विश्वलाई झन् असुरक्षित बनाउन क्रियाशील हुन्छन् | रिलिजन विवेकहिन हुन्छ, तेसैले उनीहरूको लडाई विना बाँच्न नै सक्दैनन् | लडाईको शिक्षालाई “शिक्षाविद्”हरूले “कम्पिटिशन” भन्ने नाम दिएका छन् | विश्वास गर्नुपर्छ यही “कम्पिटेटिभ” शिक्षाले नै जित्नै पर्छ भन्ने मनोभावको विकास हुँदै गर्दा विश्व १३४१० बटा नर्कको आगो माथि राखिएको छ | यही “कम्पिटेटिभनेस”ले हरेक व्यक्तिलाई विवेकहीन, अशान्त र लडाकु बनाएको छ |
जवसम्म शिक्षाका विधाहरूबाट “कम्पिटेटिभ” भन्ने अवधारणाको लोप हुँदैन मान्छेहरू अझैं लोभी र व्यक्तिगत सुख/खुसीका मरिमेट्ने छन् | उपरोक्त १३४१० बटा विनाशक बमहरूको निर्माणमा नेपालको कुनै पनि नागरिकको योगदान छैन | यदि बम खसालियो भने नेपाली नागरिकहरूले ज्यानको मूल्य दिएर “कम्पिटेटिभनेस”को धर्म निर्वाह गर्नुपर्ने हुन्छ | हामी नेपालीले कहिल्यै पनि नगरेका अपराधको सामूहिक तथा व्यक्तिगत दण्ड तिर्नुपर्ने हुन्छ | हामीलाई नखाएको विष लागेर मर्नुपर्ने हुन्छ | कसाई खानामा पुगेका बोइलर कुखुराको जति आयु छ, त्यत्तिनै आयु हामी सबैको छ | मर्ने र बाँच्ने दूवै प्रक्रिया “कम्पिटेटिभ”बाट प्रभाववित भएको छ |
आधुनिक समाजले “प्रतियोगितात्मक”तालाई खेलका रूपमा होइन जीवनशैलीका रूपमा स्वीकार गरेको छ | आधुनिक प्रतियोगिता “युद्ध” बनेको छ सुख-सुविधा प्राप्त गर्ने र भोग्ने प्रयोजनका लागि | मान्छेले सुखसुविधा प्राप्त गर्नुपर्छ तर यदि थोरै सुविधा प्राप्त गर्दा छिमेकीको जीवन सजिलो हुन्छ भने न्यूनसुविधामा सन्तुष्टि उचित हुन्छ | आधुनिकतावादमा “न्यूनसुविधामा सन्तुष्टि” भन्ने धारणा नै उचित लाग्दैन | आफ्नो सन्तान वृद्धि गर्न बाघले अन्य भालेले जन्माएका सबै डमरुहरूको निर्मम हत्या गरेझैं आजको कम्पिटिटीभनेसले विश्वका संपूर्ण सुविधाहरू खोसेर आफ्नो बनाउन चाहन्छ | उदाहरणका लागि अमेरिकाले विश्वको ६०% सुखसुविधा भोग्छ, युरोपले ३०% सुविधा भोग्छ र अन्य १०% मात्र विश्वका लागि छोडिएको छ | १०% सुविधाहरूमा पनि पश्चिमा उपभोक्तावादीहरूकै बर्चस्व छ |
धर्म (रिलिजन) को सबैभन्दा ठूलो समस्या सधैं आफ्नो पुरानो इतिहासलाई स्वर्णयुग ठान्नु हो | विश्वभरिका धार्मिकहरूले वितिसकेका घटनाहरूको बखान गरेर स्वाद लिन्छन् | उनीहरूसंग भविष्यको विश्व कस्तो हुनुपर्छ ? भन्ने कुनै धारणा हुँदैन | विश्वभरिका धार्मिक समुदायहरू भूतकालमा बाँच्न चाहन्छन् | उनीहरूका लागि वर्तमानको हरेक क्षण भूतकालको आगमन हुन्छ | प्राचीनकालदेखिनै दर्शनशास्त्र र विज्ञानले यो चिन्तनलाई चुनौती दियो | कमसेकम विश्वका मान्छेहरू “समान”तहमा बाँच्न पाउनुपर्छ भन्ने विचार अगाडी सार्यो तर स्वार्थले स्वीकार गरेन | समतामूलक चिन्तनहरूलाई सतहीरुपमा सम्मानित ठानियो तर व्यबहारमा उपयोग गर्न सधैं पछि हटियो | फलत: आजको मानवीय विश्व बारुदको डाँडामा बसेर चैनको मुरली बजाईरहेको छ | यद्यपि, ती बारुदको डाँडा निर्माण गर्न हामी नेपालीको कुनै भूमिका छैन | दण्डित हुनबाट भने हामी पनि जोगिने छैनौं |
प्राचीन मानव विकसित थियो कि आधुनिक मान्छे विकसित छ ? यो प्रश्न निकै पेचिलो छ | विकसित मान्छेले पृथ्वीको उमेर घटाएर ९ घण्टामा झारेको छ भने अविकसित मान्छेले एउटा टुक्रा भोजनको लागि साथीको हत्या गरेको थियो होला तर उसले विश्वको आयु तोकेको थिएन | मान्छेको बुद्धि विकसित भयो, लोभ विकसित भयो, सुख भोग्ने इच्छा विकसित भयो, लडाई लड्ने तरिका विकसित भयो तर विवेकको विकास भएन | मान्छे सबै भयो तर विवेकशील भएन | शान्तिका नाममा अशान्तिको, मानवताका नाममा दानवता र समानताका नाममा कर्मकाण्डी भयो | यो सबै राजनीतिले गरायो | अर्थात् राजनीतिले “लड्न” अभिप्रेरित नगरेको भए पृथ्वीको आयु नौ घण्टाको हुने थिएन, हामी मान्छे निरन्तर विवेकशील हुने थियौं |
संगै हौँ, संगै भोजन गरौँ र विश्वको कल्याणका लागि सहकार्य गरौँ भन्ने वैदिक मार्गदर्शनले मान्छेलाई विवेकशील हुन प्रेरित गरिरहेकै बखत स्वार्थले जित्यो र मान्छेले माथिल्ला आदर्शहरूलाई विर्सेर विवेकहिन हुँदै स्वार्थका शरणमा पर्यो – अर्थात् राजनीति गर्न थाल्यौं र अहिले हामी सहित सम्पूर्ण पृथ्वीनै मान्छेको स्वार्थको भूमरीमा परेर राजनीतिज्ञहरूको कृपामा टिकेको ९ घण्टाको अनिश्चित जीवन जिउँदै छ | फेरी पनि. लडाईको खेल खेलिरहेको छ | यो खेलमा सहभागिता नजनाएका हामी नेपालीहरूले पनि खेलको विध्वंसक परिणाम भोग्नै पर्ने छ | हामी बाध्य पारिएका छौँ |
अव हमी सुत्नु हुँदैन | हामी तन्द्रामा रहनु हुँदैन | हामी सम्मोहनबाट वाहिर निस्किनुपर्छ | हामी नेपालीहरूले उत्तराधिकारमा सुरक्षित विश्वको मन्त्र प्राप्त गरेका छौँ | विवेकशील समाजको संरचनाका लागि हामीले नेतृत्व लिनुपर्छ | विज्ञानमा विवेकको प्रयोग गर्ने थालनी हामीले गर्नुपर्ने छ | बारुदको डाँडामाथि बसेर रुन्चे मुरलीमा रमिरहेको समाजलाई विवेकशील बनाउँने जिम्मा हामी उपर आएको छ | यसका लागि हाम्रो अनुभव, जीवनशैली र इतिहास सबै सहयोगी छन् | यो अनुहारलाई स्वागत गर्ने कि तिरस्कार गर्ने हाम्रो हातमा छ |

