कठोर क्यान्सर !!!
क्यान्सर कस्तो रोग हो ? यो चिकित्सकलाई थाहा हुन्छ | लाग्नेलाई थाहा हुन्छ र लाग्नेलाई सहयोग गर्ने (आर्थिक तथा सामाजिक) थाहा हुन्छ | मैले पहिलो पटक केमोथेरापीमा लैजाँदा क्याविनमा बस्ने निर्णय गरें | यो सुनेर नर्सले भन्नुभयो “दाई, पांचपटक क्याविनमा वस्नमा खर्च गरेको पैसाले एउटा थप केमोथेरापी गर्न मिल्छ, विचार गर्नुस् | धेरैलाई यो सुझाव होच्याएजस्तो लाग्न सक्छ तर मैले स्वाभाविक लिएँ | धनले मात्र जोगिन्छ भन्नु उचित होइन तर धन भएर जोगिएकाहरू थुप्रै छन् | उनीहरू बाँचिरहेका छन् |
चौथो केमोथेरापीले रोगीलाई गलायो, सहयोगीलाई पनि नराम्रो गलायो | चिकित्सकलाई किन दोष दिनु | सरकारले क्यान्सरजस्तो ज्यानमारा रोगको औषधिको मूल्य तोक्न सक्दैन, एक लाख दिएर जनतालाई घर न घाटको बनाई रहेको छ | सच्च्चिकै भन्ने हो भने सरकारले दिने एक लाखले क्यान्सरको प्रारम्भिक अवस्थामा सहयोग गर्ला तर दोस्रो, तेस्रो र चौथो अवस्थाका रोगीहरूको रोगलाई जिस्क्याउने मात्र काम गर्छ | उनीहरू उपचार आरम्भ गर्छन् तर मृत्युसंग लड्ने क्षमता हुँदैन | अन्त्यमा सरकारी संविधानले ग्यारेन्टी गरेको जीवनको अधिकार सधैंका लागि गुम्छ |
मैले औषधि पसलेलाई सोधें “ई औषधीहरू एतिबिध्न किन महंगा हुन् ? उसले भन्यो सरकारले कुनै पनि औषधिको जेनेटिक मूल्य तोकेको छैन | हरेक कम्पनीले आफुखुसीको मूल्य तोकेर बेच्छन् | कुरो ठिकै रहेछ, नेपालमा अधिकांश क्यान्सरका औषधिहरू छिमेकी बंगलादेश वा भारतबाट आयात हुन्छन् | बंगलादेशमा ११ हजार टोका पर्ने औषधि नेपालमा ४४ हजारमा बिक्री हुन्छ – मसंग एसको प्रमाण छ | छिमेकी देश भारतमा गरीव रोगीहरूका लागि जेनेटिक औषधि पसलहरू छन् | यो तत्थ्य बुझेपछि मैले भने “सरकार नेपालीको तर नेताचाहिं विदेशीको, किनभने ११ हजारको औषधि ४४ हजारमा गरीव नेपालीका बीचमा बेच्न दिने सरकारको नेतृत्व गर्ने नेता नेपालीको सरकार हुनै सक्दैन |
प्रसिद्ध चिकित्सक उपेन्द्र देबकोटाको अवशान क्यान्सरबाट भयो | जव चिकित्सकलाई क्यान्सर रोग लागेको/नलागेको हेक्का हुँदैन भने एउटा साधारण मानिसले क्यान्सर रोग लागेको कुरा जान्न सक्दैन | धेरैजसो मानिसहरूले दोस्रो वा तेस्रो अवस्थामा मात्रै थाहा पाउँछन् | सरकारले संविधानका धाराहरू काटेर एकलाखमा मृत्यु दिन्छ | साधन सम्पन्न व्यक्तिले क्यान्सरको उपचार गराउन (आर्थिकरूपमा) गारो हुन्छ भने गरीव र जीवनका वीचमा सङ्घर्ष गरिरहेका आम नेपालीसंग मृत्यु रोज्न बाहेक अर्को विकल्प छैन |
चौथो पटक फेरी ती नर्सले भनिन् “३५० को बेडमा उपचार गराउनेहरू पनि अन्त्यमा घर न घाटका हुन्छन् | चिकित्सक र नर्स दूवैले आँखा रसिलो परेर जीवनबाट बचाउन सकिने व्यक्तिलाई पनि विदा भएको हेर्नुपर्छ | तपाईंले एकएक पैसाको हेक्का राख्नुस् दाई” | तेसपछि मैले अस्पताल धेरै थोक विचार गर्छु | सकेसम्म वसको प्रयोग गर्ने प्रयत्न गर्छु तर ज्यानमारा ट्राफिकलाई कसैको पीर हुँदैन | भीडको कुनै संस्कृति हुँदैन र भीडको संस्कृतिमा रमाउने सरकारको कुनै मन हुँदैन जुन कसैको मृत्यु वा रोगसंग दुखोस् |
मैले धेरै पटक अनुभव गरेको छु “मलाई भोक रोज्न स्वतन्त्रता छ, आफ्ना ईच्छाहरू मार्न स्वतन्त्रता छ तर औषधीमा छूट माग्न, केही क्षणका लागि उधारो माग्न स्वतन्त्रता छैन | चिकित्सकले औषधि दिने हो तर औषधिको प्रवन्ध गर्ने काम रोगी वा रोगीका आफन्तको हो | यदि औषधीको इन्तजाम हुँदैन भने मृत्यु निश्चित छ | तैपनि कुनै पनि मान्छे मृत्युसंग हार्न चाहन्न | सङ्घर्ष गरिनै रहन्छ तर जव तपाईं सङ्कटमा हुनुहुन्छ मित्रहरू देखा पर्न, बोल्नबाट नै अलग्गिन्छन् | केही मात्र हुन्छ, जुन सधैं आफैसंग हुन्छन् | ईश्वरले मित्रताको ढोंग गर्नेहरूलाई लामो जीवन र निरोग काया प्रदान गरूँन् |
सरकारले सधैं हुनेखनेको ख्याल गर्छ | हुँदा खानेले आफ्नो ध्यान आफै राख्नुपर्छ | हुनेखानेको घरमा गरीवले पनि “मोटो”दाइजो हाल्छ तर तेही गरीवले हुनेखानेबाट “छोटो” दाइजो मात्र पाउँछ | विश्वास गर्नुस्, यो देश हुनेखानेलाई सघाउनेहरूले बनेको छ, हुँदाखानेहरूका लागि मसान सरह छ | मेरा यी बाक्यले मन भएका सहयोगीहरूलाई पोल्ने छैनन् | किनभने उनीहरूको शीतलताले विश्व उज्यालो र सम्भावनाको घर बनेको छ |
रोग र अस्पतालको अचम्मको नाता रहेछ | पैसा भए अस्पतालले आरोग्य दिन्छ | यदि पैसा छैन भने मृत्युको मिति तोकिदिन्छ | क्यान्सरका सवालमा त मितिहरू लगभग सुनिश्चितझैं हुन्छन् | क्षमता हुनेले जीवन प्राप्त गर्छन्, नहुनेहरूका लागि मृत्यु खुला हुन्छ | उपचार गर्दागर्दै गरेर खानेहरू गर्न नसक्ने हुन्छन् | गहना, घर, पशुपात सबै जीवनको जुवामा सकिन्छन् | अन्तत: हार्नु र जित्नुमा कुनै फरक रहन्न | जित्नेहरू घरमा हार्छन्, हार्नेहरू अझैं बढी हार्छन् |
मैले हार्ने अवस्थामा पुगेकाहरू भेटेको छु | तर हार्ने अवस्थामा न पुगेकाहरू पैसाको अभावले (औषधिको) जीवन हारेको देख्दा मन खिन्न हुन्छ | हरेक पल, हरेक घडी मारिरहेको अनुभूति हुन्छ | एस्तो बखतमा पनि केही ठेकेदारहरू पैसाको लागि मरिहत्ते गर्छन् भने केहीले पैसाको लागि सधैंका लागि सम्बन्धहरू तोडी दिन्छन् |
सैद्धान्तिक रूपले भन्नुपर्दा मान्छेहरू समाजसंग आपद र खुसी दूवै अवस्थाहरूमा सहयोग प्राप्त गर्न र दिन जोडिएका हुन्छन् | तर केही गफका धनि र मनका दरिद्रहरूको मन पग्लिन्न, मानौं उसले मृत्युपछि पनि आफुसंगै लिएर जाने छ !! एस्ता ठूलो बोल्ने छोटो मन भएका दरिद्रहरूलाई सधैं एस्तै गर्न पुगोस् – मैले क्यान्सर अस्पताल अगाडी उभिएर यही आशिर्वाद दिएँ | मैले व्यक्तिको होइन केवल प्रबृत्तिको कुरा गरेको हो |
मैले जतिधेरै जीवनका लागि प्रार्थना गरे पनि सरकारी मन पग्लिन्न | पढ्नेहरूले एउटा अनुभूति मूलक रोदन ठानेर, यो लेख विर्सने छन् | अधिकार प्राप्तहरू औषधिको कमिसनबाट घरघडेरी जोडीरहेका हुनेछन् | जसले जीवन हार्नेहरू उसकापछि सहानुभूति वाहेक अरू केही रहने छैन, त्यो सहानुभूति पनि “सबै सकेर गयो, आफु त गयो गयो, घरपरिवारलाई बिचल्ली पारेर गयो”मा परिणित हुने छ | गएको मान्छेले सुन्ने छैन नत्र उसको पीडा जीउनेहरूको भन्दा बढी हुन्थ्यो !!

