मृत्यु-सेलिब्रेटी !!
संसारमा कुनै पनि मृत्युन्जय छैन | एक दिन सबैले मर्नुपर्छ | तर विविध कारणले व्यक्तिको असामयिक वा अप्राकृतिक मृत्यु हुँदा आफन्त मात्र होइन सुन्ने र देख्ने सबै दुखी हुन्छन् | मानसिक पीडाको अनुभूति गर्छन् | एकजना महिला वा पुरुष जसको सबैभन्दा निकटको आफन्तको कलकलाउँदो देहावसान भएको छ, राजनैतिक आस्थाको करकापमा परेर (आफन्त गुमाउनुको पीडा, मानसिक तनाव, निराशा, विरह, डर) हजारौं मान्छेको अगाडी उभिएर भाषण गर्न सजिलो पक्कै हुँदैन | नेपाली राजनैतिक आकाशमा पिडित नै भाषणकर्ताको रूपमा उभिएर भाषणमा भक्कानिएको दृश्य यदाकदा देखिन्छन् |
संस्कार मान्नु/नमान्नु व्यक्तिको व्यक्तिगत सोचमा भर पर्छ | कुनै पनि संस्कार मान्नैपर्छ भनेर संविधानले तोकेको पनि हुँदैन | सांस्कृतिक र सामाजिक रूपले जन्म, विवाह, मृत्युआदि संस्कारहरू बाध्यकारीसरह नै भए पनि “फलानो संस्कार” मान्दिन भन्ने र नमान्नेको अधिकारलाई नेपाली न्यायले संरक्षण गरेको छ |
तर आफन्त गुमाउनुको पीडाका वीचमा पनि “राजनैतिक सेलिब्रेटी” बन्ने व्यक्तिलाई एउटा मान्छेको रूपमा पीडा त पक्कै हुन्छ | प्रचण्डजीले आफ्नो एकमात्र पुत्र गुमाउनु पर्दाको पीडा र एउटा सामान्य मान्छेले आफन्त गुमाउनु परेको पीडामा कुनै भिन्नता हुँदैन | राजनीतिको परिवन्दमा पारेर मृत्यलाई “सेलिब्रेटी” बनाउँदा पूर्वप्रम प्रचण्डले र उहाकी धर्मपत्नी सीताले मंचमैं आफ्ना आँशु रोक्न सक्नुभएको थिएन |
मेरो व्यक्तिगत विचारमा स्व. रवीन्द्रजी की धर्मपत्नीले मंचमा आएर पतिप्रति भाषणको माध्यमले श्रद्धान्जली अर्पण गर्दा मानसिक रूपमा निकै पीडादायी क्षण भएको हुनसक्छ | आखिर हामी सबै हाडछालाकै भावनात्मक मान्छे हौँ | अरूले भाषण गरेर श्रद्धान्जली दिनु प्राकृतिक नै ठहरिन्छ |
क्रिया गर्ने/ नगर्ने/कसरी गर्ने जस्ता नितान्त पारिवारिक विषयहरूलाई तीन दिने, सात दिने “क्रिया”का विषयमा अभिमत प्रकट गर्दा मानसिक रूपमा पीडा नै बढी हुन्छ | एस्तो “पीडादायी” अवस्थामा राजनैतिकतहबाट एस्ता विषयहरूमा हस्तक्षेपकारी नीति अवलम्वन गर्नु कत्तिपनि सुहाएन | बहस नै गर्नु छ भने तेस विषयसंग प्रत्यक्ष सरोकार राख्ने विद्वानहरूसंग गर्नुपर्छ र एस्तो बहस सामान्य अवस्थामा हुनुपर्छ |
पत्रपत्रिकामा बक्तब्य दिएर तीन दिनेको पक्षमा, सात दिनेको विपक्षमा वा तेह्रदिनको विपक्षमा भएको संदेश दिनुको कुनै औचित्य थिएन | राजनैतिक नेतृत्वको मृत्युमा एस्ता वहसहरू निस्कंदा “राजनीतिले धार्मिक आस्थाहरूमा प्रहार” गरिरहेको आरोप लाग्छ | इसाईसमुदायमा मृत्युभएको तेस्रो, पाँचौं र सातौं दिन भाषण दिने चलन छ |
संस्कारगत आस्थाका विषयमा राजनैतिक अगुवाहरूले हस्तक्षेप गर्ने हो भने मुस्लिमहरूले बकरिदमा गर्ने असंख्य पशुहत्या, स-साना बालकहरूको निर्दयता पूर्वक लिंग क्षेदन, एक महिने कठोर उपवास, तलाकआदि, बौद्ध समूदायमा प्रचलित ४९ दिने घेवाप्रथाआदि धेरै विषयमा हस्तक्षेप गर्नुपर्ने हुन्छ | किरात, इसाईसमुदायमा पनि यस्ता धेरै धेरै संस्कारहरू छन्, जुन निरन्तर रूपमा विना वहस मानिदै आएका छन् |
आफन्तहरूको मृत्युको पीडावाट गुज्रिरहेको अवस्थामा राजनैतिक सेलिब्रेटीपन तथा संस्कारहरूका विषयमा बहस दूबैले मानसिक पीडामात्र सृजित गर्छन् | अहिलेसम्म “क्रिया”वहसअन्तर्गत तीन वा सात दिनमा क्रिया सक्ने परिवार वा व्यक्तिहरूको प्रकृति बुझ्दा उहाहरूले “आफ्नो चाहना”लाई जनताको चाहना वा समयानुक परिवर्तन भनेर व्याख्या गरेको देखिन्छ | नीजि इच्छालाई सबैको भन्ने खुवी राजनीतिज्ञमा हुन्छ, सर्वसाधारणमा कत्ति हुँदैन |
संसारमा मृत्युभन्दा ठूलो पीडा केही हुँदैन | एस्तो विषयमा (संस्कार) राजनीति नगरेर निजका आफन्तहरूलाई मानसिक पीडाबाट मुक्त गर्ने दिशातिर केन्द्रीत हुनुपर्छ | यो तत्थ्य सम्वन्धित परिवारलाई चिन्ने वा नचिन्ने सबैको लागि समानरूपमा लागु हुन्छ |
