शान्ति र अशान्तिको कुरा
अहिलेको विश्व विभिन्न जीवनोपयोगी तकनिकी र मेडिसिनको विकासले सजिलो भएको छ | शिक्षित मानिसहरूको सङ्ख्या बढ्दो छ भने गरिवहरूको सङ्ख्या पनि घट्दो छ | विगतका तुलनामा थोरै भोकै मर्छन् | बालबालिकाहरूको जीवनस्तर उकासिएको छ | तकनिकी र मेडिसिनले मान्छेको रहनसहन, संस्कृति, सोच तथा दैनिकी मै परिवर्तन आएको छ | विकासले धेरै असल कुराहरू दिएको छ |
तर मलाई उपरोक्त परिवर्तनहरुलाई सकारात्मकरूपमा स्वीकार असजिलो परिरहेको छ | विश्वका बलिया र ठूला राष्ट्रहरूले “आत्मरक्षा” अर्थ नै गलत गरिरहेका छन् | उनीहरू दिनहुँ नयाँनयाँ वहाना निकालेर प्राकृतिक विश्वलाई अप्राकृतिक वमहरूले भरिरहेका छन् | बुद्धले ज्ञान प्राप्त गरेको भारत, शान्ति नामक (इस्लामको शाब्दिक अर्थ शान्ति हुन्छ भन्ने मैले सुनेको र पढेको छु ) सम्प्रदाय नै खडा गर्ने मोहम्मद जन्मेको साउदी र विश्वनै आफ्नो नियममा चल्नुपर्छ भन्ने अमेरिका, रूस चीन सबै “बम” निर्माण गरेर शान्ति स्थापना हुन्छ भन्ने विश्वास नै गर्न नसकिने अन्धो दौडमा छन् |
आत्मरक्षाको आत्मघाती व्याख्या र स्वार्थी नेतृत्वले विश्वलाई सबैभन्दा असुरक्षित अवस्थामा उभ्याइदिएको छ | युरोप, अमेरिका, चाइना तथा अरवेली राष्ट्रहरूको कृपामा अहिलेको प्राकृतिक विश्व (पृथ्वी)को आयु तोकिएको छ भन्दा अत्युक्ति हुँदैन | प्राकृतिक विश्वको भविष्य शान्तिका लागि उत्पादन गरिएका असंख्य वमहरू त ती बमहरूको रिमोट कन्ट्रोल आफ्नो हातमा राख्ने नेतृत्वको सोचमा समेटिएको छ | सत्य यही नै हो |
म शान्तिका विषयमा पक्ष तथा विपक्षवादसंग जोगिन चाहन्छु | वेद, पुराण, बाइबल कुरानआदि विश्वका ग्रन्थहरू शान्तिका पक्षमा छन् भन्ने धर्मगुरूहरू धेरै छन् | सबै धार्मिकहरू शान्तिप्रिय हुन्छन् भनेर ठोकुवा गर्ने आधार छैन | राजनीतिको जन्म यदि शान्ति र सुरक्षा स्थापित गर्नका लागि भएको हो भन्ने मान्यता पनि जीर्ण भैसकेको छ | सत्य के हो भने हामी मान्छेहरूको नियति शान्तिका लागि अशान्त विश्वमा जिउनु बनेको छ | यहाँ शान्तिका कुरा त हुन्छन् तर शान्ति स्थापनाका लागि वा भनौं शान्ति कै लागि साँचो प्रतिबद्धताको निकै खाँचो छ |
दीगो शान्ति चाहनाको इतिहास मान्छेको इतिहास जत्तिकै पुरानो छ | वेदहरूले मानवीय मात्र होइन अन्तरीक्ष, पृथ्वीआदि प्राकृतिक विश्वमा समेत शान्तिको कामना गर्छ जुन कामना महात्मा गान्धी, नेल्सन मण्डेला आधुनिक मनुवाहरू ले पनि प्रकारान्तरले दोहोर्याएकै हुन् र अहिले पनि “शान्ति चाहिन्न” भनेर विश्वमंचमा उभिने खुवी कसैमा छैन | धार्मिक, राजनैतिक, सामाजिक तथा सांस्कृतिक विश्व शान्तिको लागि क्रियाशील छ तर तेस्तो क्रियाशीलताको लक्ष राजनैतिक नेतृत्वको स्वार्थमा कैद छ |
यदि इजरायली इतिहासकार हरारेलाई पढ्ने हो भने लाग्छ विश्व शान्त र सभ्यतातिर निरन्तर अग्रगामी छ | मान्छेहरू पहिले भन्दा धेरै सुरक्षित छन् र निश्चिन्त छन् | तर उनको यो नजरिया एक पक्षीय छ | उनी सधैं लड्न र मर्न तयार रहने मुलुकका नागरिक हुन् | साथै उनी सधैं मिडियाहरूले लडाकु र झगडालुका रूपमा चिनाउने मुस्लिम-मुलुकहरूले घेरिएर रहेको मुलकबाट विश्वलाई पढ्न र बुझ्न बाध्य छन् |
उनले बुझ्नुपर्ने र बुझाउनु पर्ने कुरा के हो भने पहिलेका मानिसहरूले चलाएका हथियारले एक पटकमा एक वा दूई जनामान्छेको ज्यान जान्थ्यो | गाउँका गाउँ मारिंदा पनि हिरोसिमाको बमले जति मान्छे मार्न निकै समय र शक्ति लाग्थ्यो | तेस बखत मान्छेले सुरक्षाको लागि होइन वलवान् धनसम्पत्तिवान् र सम्राट बन्नका लागि लड्थे | अरू पनि थुप्रै तत्थ्यहरू पूर्तिका लागि उनीहरू लड्ने गर्थे | तर पनि विश्वको प्राकृतिक इतिहासमा पहिलो र दोस्रो युद्धमा जति मान्छे कहिले पनि मारिएनन् |
तेस वेलाको लडाईले विश्वको अस्तित्वलाई चुनौती दिन सक्ने हैसियत नै राख्दैनथ्यो | अहिलेको मानिसले शान्तिको नाममा पृथ्वीको प्राकृतिक अस्तित्वलाई समाप्त पार्न सक्ने विस्फोटहरू निर्माण गरेको छ | सत्य के हो भने बढ्दो जनसंख्या, विकासले दिएको सुख प्राप्तिको उच्चचाहना र व्यक्तिगत स्वार्थलाई सर्वोच्च ठान्ने मनोविज्ञानको चेपुवामा शान्ति परेको छ | मुखले जे-सुकै कुरा गरे पनि राष्ट्रवादका रूपमा मान्छेको मन सांघुरिंदै गएको छ | यदि कसैलाई शान्ति चाहिएको छ भने केवल काम गरेर आफ्नो दैनिकी चलाउनेलाई मात्र हो |
बालकृष्ण समले नियमित आकस्मिकतामा उठाएको कुरा सान्दर्भिक नै छ | मान्छेले युद्धका लागि शान्तिको खेल खेलिरहेको छ | शान्तिको लागि युद्ध होस् अथवा युद्धका लागि शान्ति बुझिनसक्नु छ | ममा राजनैतिक पूर्वाग्रह छैन | अमेरिका, चीन, फ्रान्स, बेलायत, भारत, पाकिस्तान, इजरायल, रूसजस्ता शक्तिशाली (अर्थात् धेरैभन्दा धेरै विनाशकारी हतियार भण्डारण गरेका र निर्माण गरिरहेका) राष्ट्रहरूले विश्वमा दिगो शान्तिका काम गर्छन् भनेर मजस्ता सर्वसाधारणले विश्वास गर्ने आधार छैन | असलमा, यी राष्ट्रहरूको नेतृत्व पनि ढुक्क छैन |
युद्ध तथा अन्य अशान्तिका लागि अर्को पक्षलाई दोषी देखाउन शक्तिशाली राष्ट्रको नेतृत्व खप्पिस छ | राष्ट्रवादको दाम्लोमा जकडिएका सम्मानित विद्वानहरूको निस्पक्षतामा विश्वास गर्न गाह्रो छ | असलमा, शान्ति एउटा राजनैतिक मुद्दा हो जुन हरेक राजनीतिज्ञले जीवित राख्न चाहन्छ | असुरक्षा, अशान्ति र समस्याहरू निवारण भएका दिन राजनीतिको अन्त्य हुन्छ | तर एसको अर्थ शान्तिका सवालमा गम्भीर चिन्तन गर्ने, सुझाव दिने, कार्ययोजना प्रस्तावित गर्नेहरूको त्यागलाई नकार्न सकिन्न | सम्भवत: शान्तिप्रतिको सजगताको जरोमा यिनै मनिषीहरूको योगदान छ भन्न मिल्छ | उहाहरूलाई जस दिनुपर्छ |
मान्छे शान्तिप्रिय प्राणी हो भन्न गारो छ | तर उसको सहज र समग्र विकासको लागि शान्ति नै चाहिन्छ | अहिले विश्व अशान्त हुनुको अर्थ केवल युद्धको चाहना मात्र होइन | जनसंख्याको चापले मान्छेको मनोविज्ञान नै वदलिएको छ | सुखपूर्ण जीवनको चाहले मनमा आन्दोलन र “खाइपाई आएको जोगाउने” वीच निकै अस्थिरता निम्तिएको छ | धनि मानिस र धनि देशहरू “आफ्नो जोगाउन” कम्मर कसिरहेका छन् भने गरीव र गरीव देशहरू तेस विरुद्ध क्रियाशील छन् | असलमा, एकै परिवार, समाज र देशहरूमा “जोगाउने र चाहने” वीच अदृश्य अस्थिरता छ |
इतिहास केलाउने हो भने “हुने खाने र हुँदा खाने”का वीचको द्वन्द मानव-सभ्यतासंग जोडिएको हुनसक्छ | बाल्मीकि ऋषिको रामराज्य होस् वा कार्लमार्क्सको पूर्णसाम्यवाद – दूवै मानसिक रमाइलोका रूपमा रुपान्तरित भएका छन् | रामराज्य एउटा कथा होला तर तथाकथित वैज्ञानिक भनिने पूर्णसाम्यवाद फेल भैसकेको छ | साम्यवाद र शान्ति, पूँजीवाद र शान्ति, समाजवाद र शान्ति सम्भावनाको दार्शनिक चिन्तनमात्र हुन् |
संसार धेरै विषयले सताइएको छ | पहिलो कुरा जनसंख्या हो | दोस्रो कुरा बलिया राष्ट्रहरूले शस्त्रलाई शान्तिको आधार मान्नु हो | तेस्रो प्रकृति विरुद्ध मान्छेले गरेको क्रियाकलाप हो | औषधिले मान्छेको मृत्युको दर मात्र घटाएको छैन आयु लामो समेत बनाएको छ | बलिया राष्ट्रहरूले अर्को बलियो राष्ट्रलाई डर देखाउन विनाशक बमहरू विकास गरिनैरहेका छन् | तेस्रो विज्ञानको चटक दिने सुख प्राप्त गर्न घांटीकाट प्रतियोगितामा होम्ने शिक्षानीतिले स्वार्थी मान्छेहरूको जमात बढिरहेको छ | बलिया राष्ट्रहरूले आफ्नो स्वार्थ रक्षा गर्न गरीव राष्ट्रहरूलाई प्रयोग गरिरहेका छन् |
उदाहरणका लागि नेपालमा जतिसुकै अशान्ति भए पनि विश्व प्रभावित हुँदैन भने प्रकृतिको विनाश होस् अथवा शस्त्रहरूको निर्माणले निम्त्याउने विनाश नै किन नहोस्, नेपालजस्ता गरीव मुलुकको कुनै भूमिका हुँदैन | विगतका दूबै विश्वयुद्धहरू धनि र बलिया राष्ट्रहरूले निम्त्याएका हुन् | तेसैले जस्तोसुकै अशान्तिको दोष उनीहरूले नै स्वीकार्नुपर्छ | तर एस्तो हुँदैन | किनभने उनीहरू प्रयोग हुन होइन प्रयोग गर्न माहिर छन् | अरूलाई दोष दिएर ओभानो हुन खप्पीस छन् |
सन् २०१७ को अगस्तमा पहिलो पटक लन्डन पुगें | एउटा शान्तिको लागि सधैं पहल गर्ने मुस्लिम धर्मगूरूले आयोजना गरेको तीन दिने सम्मेलनमा भाग लिने मौका मिल्यो | तेसो त धेरै गैर-मुस्लिमहरूले एउटा मुस्लिम धर्मगुरू शान्तिका पक्षमा उभिन सक्छ भन्ने कुरामा विश्वास गर्न गारो मान्न सक्छन् तर सत्य सधैं बलियो हुन्छ | दुर्भाग्यवस, आतंकवाद र मुसलमान पर्यायवाचीका रूपमा बुझिन थालेका छन् | विश्वको दोस्रो ठूलो समुदाय “हत्याहिंसा तथा असहिष्णुता”को प्रतिमानका रूपमा स्थापित भएको छ |
अलकति कुरो अहमादिया मुस्लिम जमातको पनि गरौँ | मुसलमानहरू लगभग ७३ बटा सम्प्रदायमा विभाजित छन् | ती सम्प्रदायहरू मध्ये सबैभन्दा “कान्छो अहमादिया मुस्लिम जमात”को जन्म भारतीय पंजावको कादियान भन्ने ठाउँमा सन् १८८९ मा भएको थियो | जसको स्थापना मिर्जा गुलाम अहमद (१८३५-१९०८) ले गरेका थिए | यिनले आफैलाई “धर्म समन्वय गर्न र इस्लामलाई पुन: उसको शुद्ध स्वरूपमा फर्काउन” आएको भन्दै नवि अर्थात् देवदूत भनिघोषणा गरे | यो घोषणा लगत्तै मुस्लिमहरूको एउटा तवकाले गुलाम अहमदलाई “खलिफा” अर्थात् सर्वोच्च धर्मगुरू”का रूपमा स्वीकार गर्यो |
सन् १०४७ मा भारत विभाजित हुँदा पाकिस्थानको रवा भन्ने ठाउँमा अहमादिया मुस्लिम जमातको मुख्यालय स्थापित गरियो | तर पाकिस्तानको राजकीय तन्त्रमा तानाशाह जियाउलहक उदाएपछि अहमादिया मुस्लिम जनहरूका लागि नराम्रा दिन आरम्भ भए | जियाउल हकले कानुन नै बनाएर यो पन्थ उपर प्रतिबन्ध मात्र नलगाएर “गैर-इस्लाम” घोषित गरी मुस्लिम धर्मअनुसार आचरण गर्न पनि रोक लगाए | तेसपछि यो समुदाय आफ्नो ज्यान जोगाउन पाकिस्तानबाट पलायन हुनथाल्यो |
हाल विश्वभरी लगभग दुईकरोड अहमादिया मुस्लिमहरू रहेको अनुमान गरिन्छ | एस पन्थका संस्थापक गुलाम अहमदले स्पस्ट रूपमा “राजनीति र धर्म नितान्त स्वतन्त्र रहनुपर्छ” भन्ने आदेश पालना गर्दै हरेक अहमदी आफ्नो राष्ट्रप्रति लोयल रहेर स्वधर्म र संस्कृतिको अनुसरण गरिरहेका छन् भन्ने सुनिएको छ | मैले पनि अहिलेका सर्वोच्च गुरू मिर्जा मसरूर अहमदले प्रवचन दिदैं आफ्ना अनुयायीहरूलाई निर्देशन दिएको सुनेको छु |
अहमादिया मुस्लिम जमात “खिलाफत” अर्थात् सर्वोच्च गुरूबाट संचालित हुन्छ | हात मिर्जा मसरुर अहमद यस पन्थका पाँचौं सर्वोच्च धर्मगुरू हुन् | यी बेलायतको निर्वासनमा छन् | वेलायतबाट नै विश्वभरीका अहमदी-मुस्लिमहरू संचालित, निर्देशित र दीक्षित हुन्छन् | एउटा सर्वोच्च धर्मगुरूको रूपमा मिर्जा मसरूर अहमद निकै प्रतिष्ठित छन् भने अर्को यिनको परिचय “शान्तिकर्मी”का रूपमा रहेको छ |
यिनले लेखेका एक दर्जनभन्दा बढी पुस्तकहरू मध्ये “वैश्विक अशान्ति र शान्तिको बाटो” सबैभन्दा महत्वपूर्ण रहेको छ | एस पुस्तकमा यिनले विश्वमा फैलिँदो अशान्ति, असहिष्णुता तथा आतंकवादको कारण खोतल्ने प्रयत्न गर्दै विश्वका प्रमुख नेताहरूलाई समेत “शान्तिका लागि इमान्दार” हुँदै अग्रसरता लिन आग्रह गर्दै पत्र लेखेका छन् | अमेरिकी राष्ट्रपति ओवामा, रुसी राष्ट्रपति पुटिन, चिनिया राष्ट्रपति वाओ, इजरायली प्रधानमन्त्री नेतान्याहू, इरानी सर्वोच्च नेता खुमेनी र अन्य धेरै नेताहरूलाई लेखेका पत्रहरू एसमा समावेश गरिएको छ |
अहमादिया समुदायका खलिफा मिर्जा मसरूर अहमद नै सम्भवत: पहिलो मुस्लिम धर्मगुरू हुन् जसले मानवताको रक्षाका लागि आफ्नो धार्मिकताको प्रयोग गर्न आग्रह गरेका छन् | यिनका विचारमा ईश्वरले मान्छेलाई आफ्नो आज्ञा पालन गरेको हेर्न चाहन्छन् किनभने उनीहरेक मान्छेप्रति दयालु छन् | हरेक मान्छे दयालु भए शान्ति स्थापना सजिलै हुन्छ | ईश्वरले अशान्त विश्व चाहन्न | तेसैले हरेक राष्ट्र र व्यक्तिले मानवता र शान्तिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ | अशान्त विश्वमा कसैको भलो हुँदैन |
उनका विचारमा कुरानको अर्थ र प्रयोजन नबुझ्ने केही मुस्लिमहरूले जिहादका नाममा हिंसालाई महत्व दिंदा इस्लाम वदनाम भएको छ | जसको नाम नै शान्ति हो तेस्तो धर्मले हिंसालाई कसरी संरक्षण गर्न सक्छ ? इस्लाममा देखिने हिंसा इस्लामप्रतिको गलत बुझाईको फल हो | जिहादको अर्थ आत्मनियन्त्रण हो | आफुभित्र भएका कमसल गुणहरूसंगको आध्यात्मिक लडाई हो |
धर्मका नाममा अर्को धर्मको हिंसा गर्नु ईश्वरको आज्ञाको उलंघन हो – भन्ने उनको विश्वास छ | उनको दोस्रो असल पक्ष भनेको उनी इस्लाम पन्थलाई शान्तिको प्रतीकको रूपमा खडा गर्न चाहन्छन् | उनी आफ्ना पूर्वज खलिफाहरू मिर्जा गुलाम अहमदको आदेश र इच्छालाई साकार गर्न विश्वभरि दिगो शान्ति कसरी स्थापना हुन्छ भन्ने विषयमा प्रवचन गर्छन् | उनी आफैमा मुस्लिम धर्म गुरू भए पनि अन्य धर्मप्रति उनी अत्यन्त विनम्र छन् | धर्महरू वीच प्रतिस्पर्धा होइन, सहकार्य हुनुपर्छ भन्ने उनको मान्यता रहेको छ | तेसका लागि उनले सबै धर्मका गुरूहरू वीच संवाद गर्न “सर्वधर्म सम्मेलन”को समेत आयोजना गराउँछन् |
मेरो लन्डन प्रवासका वखत “जलसा”मा मैले यो देखें र सुने पनि |
