पहिचानको कसिमा संस्कृतभाषा
आजको विश्वमा लगभग ७१०६ भाषाहरू बोलिन्छन् | यी मध्ये करिव २००० जति भाषा बोल्नेहरू १००० जनाभन्दा कम छन् | विश्वमा सबैभन्दा बढी बोलिने मेड़ेरियन-चिनी भाषा हो |
नेपाली, भारतीय, पाकिस्तानीआदि दक्षिण एसियाली राष्ट्रका मान्छेहरूले आफ्नो मातृभाषाको तुलनामा अंग्रेजीलाई बढी महत्व दिन्छन् | यद्यपि यी सबैजसोका आ-आफ्ना मौलिक भाषाहरू छन् |
मेडेरियन विश्वका प्राचीन भाषाहरूमा पर्छ | कुनै पनि चिनियाले “पुरानो भाषा” भनेर हेला गर्दैनन् | आज कन्फुसियस-सेन्टर खोलेर विश्वभरि फैलाउन कसरत गरिरहेका छन् |
आजको मितिमा ५-७ जना मिलेर मांग गर्ने हो भने चिनिया दुतावासले चिनीभाषा पढाउने शिक्षक निशुल्क उपलब्ध गराउँछ |
चिनिया भाषाभन्दा संस्कृत-भाषा निकै पुरानो हो | हाल विश्वभरिमा संस्कृत भाषाभाषीको सङ्ख्या ३० हजार हाराहारीमा रहेको अनुमान गरिन्छ | यी संस्कृत मध्ये कसैको पनि मातृभाषा होइन |
संस्कृत भाषाको पहिलो ग्रन्थ ऋग्वेद हो | आधुनिक विद्वानहरूले ऋग्वेदको रचनाकाल ई.पू. १५०० भएको अनुमान गरेका छन् | केही विद्वानहरूले ई.पू. १० हजार पहिले नै ऋग्वेदहरूको रचना भएको भनि प्रमाणित गरेका छन् | वेदलाई अपौरुषेय मान्नेहरू पनि छन् |
दक्षिण एसियाली राष्ट्रहरूको प्राचीन रैथाने भाषा संस्कृत नै हो | आजका मितिमा सम्पूर्ण दक्षिण एसियामा बोलिने भाषाहरूमा संस्कृतको गहिरो प्रभाव मिल्छ |
नेपाली, मैथिली, भोजपूरीमा त ५०% संस्कृत नै राइछाई छ भने नेवारी, गुरुङसेलोआदि भाषामा पनि २०-२५% संस्कृत भेटिन्छ | यी भाषाहरूबाट संस्कृतका शब्द निकाल्ने हो भने भाषाको स्वरूप नै फेरिन्छ |
संस्कृत भाषामाको पहिलो रचना वेददेखि १८ रौँ शताब्दिसम्म निरन्तर चलिनै रहेको थियो | भारतमा अंग्रेजहरूले १८३५ म्याकेलेको शिक्षा आरम्भ भएपछि एसमा विराम लाग्यो |
तेसपछि संस्कृत भाषामा भएका रचनाहरू थोरै छन् वा काब्य-महाकाव्यसम्म सीमित छन् | आयुर्वेद, गान्धर्ववेद, धनुर्वेद, शिल्पआदिमा संस्कृत-भाषाको प्रयोग पूर्णत: समाप्त भयो |
विगत १२ हजारवर्षसम्म संस्कृत-भाषामा लेखिएका असंख्य ग्रन्थहरू छन् | विद्वानहरूले संस्कृत भाषामा लेखिएका पुस्तकहरूको सङ्ख्या ५७ हजारसम्म भएको अनुमान गरेका छन् |
माइतीघरस्थित आर्काइ-सेन्टरमा मात्र करिव ९ हजार हातेकितावहरू प्रकाशनको लागि प्रतीक्षारत छन् भने बृटिश-पुस्तकालय र तेहाका अन्य पुस्तकालयहरूमा आज पनि हजारौं संस्कृतका कितावहरू रहेको लेखक आफैले देखेको र हेरेको छ |
भारतीय पुस्तकालयहरूमा पनि एत्तिकैको संख्यामा हस्तलिखित कितावहरू रहेको अनुमान गरिएको छ | व्यक्तिगत कलेक्शनमा रहेका अप्रकाशित पुस्तकहरूका विषयमा अनुमान नै गर्न सकिन्न |
नेपालमा भने संस्कृत-भाषाको दुर्भाग्य २००७ देखि आरम्भ भएको हो | विश्वमा लोकप्रिय हुँदै गरेको साम्यवादले नेपाली समाजमा नेपाली कांग्रेस र नेकपा जन्मायो | यी यी दूबै राजनैतिकधारहरूको स्रोत साम्यवाद नै थियो | यी दुवै विदेशीराजनैतिक अनुयायीहरूले “संस्कृत”को विरोध गर्नुमा आफ्नो भविष्य देखे |
नया विचार राख्ने राजनैतिक दलहरूले “संस्कृत”भाषालाई जातिवादी, छुवाछुतवादी, पुरातनवादी र बाहुनवादको स्रोतका रूपमा अतिरन्जित गरे | विश्वको प्राचीनतम जीवित भाषालाई “मृतभाषा”को पगरी गुथाए | अंग्रेज भक्त भारतीयहरूले जुन बाटो अपनाएका थिए, ठीक तेही बाटो नेपाली राजनैतिक शक्तिहरूले अवलम्वन गरे |
राजा महेन्द्र तथा वीरेन्द्रको शासनमा पनि पश्चिमाको प्यारो बन्न संस्कृत-भाषाको मान मर्दैन गर्दै १०२७ सालमा नया शिक्षानीति आरम्भ गरे | यो शिक्षानीतिले संस्कृत भाषालाई भाषाकोस्तरबाट तल झारेर “कर्मकाण्ड वा बाहुनवाद”को भाषामा स्थापित गर्यो |
तेसपछिका सरकारहरूले संस्कृतभाषाको तेजोवध गर्नमा आफ्नो शक्ति लगाए | कांग्रेस, एमाले तथा माओवादीहरूले संस्कृत-भाषाको दोहन गरे | राजा वीरेन्द्रले झारो टार्न स्थापित गरेको संस्कृत-विश्वविद्यालयलाई राजनैतिक झगडाको केन्द्र बनाए |
संस्कृत विविमा मिलोमतो मै “झगडा, तालावन्दी”को नाटक मंचन गर्दै संस्कृतको प्राकृतिक उत्थानमा तगारो हाल्ने गरिन्छ | एस्तो नाटकबाट जनता वाक्क भएका छन् |
बौद्ध, हिन्दू तथा जैनहरूको घरमा जन्मदेखि मृत्युसम्म प्रयोग गरिने संस्कृतभाषाप्रति हिन्दू, जैन बौद्ध कसैले पनि न्याय गर्न सकेको देखिन्न | बौद्ध तथा हिन्दू विद्वानहरू नै संस्कृतको जरो काट्न प्रेरित गर्ने र काट्न अग्रसर हुने दुर्भाग्यशाली नेपाल नै हो | भारतीयले जे-जेस्तो गरे तेसको ठ्याक्कै नक्कल गर्नु पर्ने किन ?
राजनीतिज्ञ र तथाकथित आधुनिक शिक्षामा दीक्षित भएकाहरूले आलोचना गर्ने “पुरोहित”हरूले नै इमान्दारीपूर्वक संस्कृतलाई बोकेर हिंडिरहेको यथार्थ हो | संस्कृतको आधिकारिक ज्ञान भएका पुरोहितहरू थोरै होलान् तर अल्पज्ञानी भए तापनि संस्कृतलाई भित्रैदेखि माया गर्नेहरू कर्मकाण्डी पुरोहित नै हुन् |
संस्कृतभाषा र संस्कृतिको रक्षाका लागि स्वस्फुर्तरूपमा खुलेका गुरुकुलहरू र संस्कृत विश्वविद्यालयलाई समेत उपरोक्त पुरोहितकै सन्तानले धानिरहेका छन् भन्दा कत्ति फरक पर्दैन | चर्कोस्वरमा संस्कृतको कुरा गर्ने तर आफ्ना सन्तानलाई अंग्रेजी विद्यालयमा पढाउने गरेको तीतोसत्य पनि हाम्रै समाजको यथार्थ हो |
यदि संस्कृतले विकसित गरेको सभ्यतालाई कसैले जीवित राखेका छन् भने ती गाउँकै ब्राहमण नै हुन् | गाउँले कर्मकाण्डी बाहुन नै हुन् | शहरिया पुरोहितले आफुले पुरोहित्याई गरे पनि आफ्ना सन्तानलाई कथंचित कर्मकाण्डको छाँया पनि पर्न दिंदैनन् | गाउँले पुरोहितहरू नै संस्कृतका यथार्थ रक्षक हुन् |
आज नेपालको राजनीतिमा पहिचानको ठूलो वहस चलिरहेको छ | नाक, छाला र भाषाभाषीका आधारमा सरकार बन्ने विग्रने गरेका छन् | तर यो सबै वीच रैथानेभाषाहरूलाई अंग्रेजीकरणले खर्लप्प निलेको छ |
नेपालका राजनैतिक कर्मीहरू चर्कोचर्को स्वरमा अधिकार र पहिचानको कुरा गर्छन् | तर ब्यबहारमा आफ्नै धर्म, संस्कृति, भाषाआदिको जरो काट्ने क्रियाकलापहरूलाई खुलेआम सघाउँछन् | नेपाली भाषालाई गालीगलौज गर्न अंग्रेजीको प्रयोग गर्छन् | नेपालीलाई विस्थापित गरेर अंग्रेजी लाद्छन् | संस्कृतको विरोध गरेर के उनीहरूको मातृभाषा जोगिन्छ ?
अंग्रेजहरूलाई संस्कृतभाषासंग ठूलै रिस छ | किनभने संस्कृतसाहित्यमा भएका विशेषताहरूले जहिले पनि अंग्रेजी डोमिनेट हुन्छ | संस्कृतको जानकार कुनै पनि विद्वानले अंग्रेजीबाट “कोट” गर्न सक्दैन |
सबैले संस्कृतलाई मान्नैपर्छ भन्ने छैन | संस्कृतसंग सरोकार नभएकाहरूले संस्कृत पढ्नैपर्छ, जान्नैपर्छ भन्ने पूर्वाग्रह राख्नुहुँदैन | तर जुन माटोबाट संस्कृतको जन्म भएको हो, तेसै माटोमा जन्म लिनेहरूले एसको विरोध गर्नु भनेको “आत्महत्या” गर्नुसरह हो | जुन थालमा खाइन्छ, तेसैमा दूलो पर्नेहरू आमाका हत्यारा हुन् |
अंग्रेजी भाषा जान्नैपर्छ तर आफ्नो मौलिक भाषा मासेर अंग्रेजी सिक्ने पक्षमा मरिमेट्नेहरूमा नेपाली सबैभन्दा अगाडी छन् | नेपाल एस्तो दुर्भाग्यशाली देश हो जहाँका विद्यालयमा मातृभाषा बोल्दा विद्यार्थीले दण्डित हुनुपर्छ | आमाबुवाले पनि मातृभाषामा बोल्न प्रयत्न गर्ने आफ्नै बालबालिकालाई दण्डित गर्न विद्यालयहरूलाई उक्साउने गर्छन् |
नेपाल होस् वा भारत संस्कृतप्रति घृणा फैलाउने काममा सबैभन्दा बढी राजनैतिज्ञहरूको भूमिका रहेको छ | साम्यवाद, पूँजीवाद, समाजवाद आदि खेमामा विभाजित राजनीतिको स्रोत विदेश हो | स्वभावत: विदेशी सोच विकसित हुनुभनेको स्वदेशी विस्थापित हुनुनै हो | नेपालमा एस्तै भएको छ | राजनीतिज्ञहरू मिलेर स्वदेशीलाई विस्थापित गरेका छन् |
संस्कृतजस्तो मौलिक र सबैविधामा सम्पन्न भाषालाई “पुरोहित्याई”को भाषाका रूपमा झार्ने काममा लोभीपुरोहितहरू र निर्लज्ज राजनैतिक ब्यबस्थाको समान भूमिका छ | पुरोहितले आफ्नो लोभको लागि संस्कृत जान्नबाट अरूलाई रोक्ने अनि राजनीतिज्ञले संस्कृत बाहुनको भाषा हो भनेर सर्वसाधारणलाई संस्कृतबाट बिमुख बनाउने ?
मैले संस्कृत त अंग्रेजी दुवैभाषा पढेको छु | नेपाली मेरो मातृभाषा हो | संस्कृतलाई “बाहुनको भाषा हो, कर्मकाण्ड”को भाषा भएको आरोप लगाउनेहरूलाई खुला चुनौती छ – संस्कृतलाई पुरोहितको भाषामात्र हो भनेर सिद्ध गर्नुहोस् |
सन् १५२३ भन्दा पहिला अंग्रेजीभाषामा केवल इसाईग्रन्थहरू लेखिन्थे | तर यही समयावधिसम्म संस्कृत भाषामा भने साहित्य, ज्योतिष, भूगोल, चिकित्सा, यहाँसम्म कि कामशास्त्र पनि लेखिएका थिए | संस्कृतको खेदो खन्नेहरूले संस्कृतको स-सम्म जानेका हुँदैनन् | अंग्रेजहरूले अनुवाद गरिदिएको संस्कृतग्रन्थ अंग्रेजीमा पढ्नेहरूले मात्र संस्कृतको खैरो खन्छन् | सबै अनुवादहरू खराव छैनन् |
संस्कृत पढेर, बुझेर संस्कृतको आलोचना गर्दा चित्त बुझाउनुपर्छ | तर अरूले भनेको आधारमा आफ्नै “आधार” काट्नेहरू अन्धकारमा जकडिएका प्राणी हुन् | आफ्नै जरो काटिंदा खुसी हुने बज्रमूर्खहरूसंग के नै आशा राख्न सकिन्छ र ?
संस्कृत भाषालाई पहिचान विरोधी भएको आरोप लगाउनेहरू बज्रमूर्ख हुन् | यदि संस्कृत र संस्कृतसाहित्य पहिचना विरोधी भएको भए नेपालबाट १२३ भाषाहरू र ती भाषाबोल्ने समुदायहरूको धेरै पहिले अन्त्य हुने थिएन र ? सन् २०१८ मा पनि यी सबैभाषाहरू र भाषाभाषीहरू जीवित छन् | संस्कृत सबैभाषाहरूको उत्थानको सहयात्री हो भन्ने यो नै बलियो प्रमाण होइन र ? संस्कृत सहअस्तित्वको भाषा हो भने संस्कृतभाषा जान्नेहरू वैश्विकअस्तित्वमा विश्वास गर्ने हुन् |
म आग्रह गर्न चाहन्छु, तपाईंले संस्कृतको निन्दा गर्नुस्, आलोचना गर्नुस् तर एकपटक संस्कृतभाषा बुझ्ने अवश्य प्रयत्न गर्नुस् | संस्कृत असजिलो भाषा पटक्कै होइन | हामीले दैनिक रूपमा प्रयोग गर्ने शब्दहरूमै राइछाई संस्कृत छ | हामीले खेल्दाखेल्दै, सुन्दासुन्दै संस्कृत सिक्न सकिन्छ | अलिकति परिश्रम गर्यौं भने विश्वको सबैभन्दा प्रगतिशील र धनि संस्कृत-साहित्यमा हाम्रो पहुँच बढ्छ |
अंग्रेजी सिक्नुस्, चाइनिज सिक्नुस्, फ्रेन्च सिक्नुस्, जुन भाषा सिके पनि राम्रै हो | यदि हामीले संस्कृतभाषा सिक्यौं भने हामीले आफ्नो वारेमा धेरै बुझ्नेछौँ | विश्वास गर्नुस्, यदि हामी/तपाईंले संस्कृतभाषा नपढी/नबुझी मर्यों भने विश्वको सर्वोत्तम र आफ्नै जरोकिलो नबुझी जीवन विताएको अपराध गर्ने छौँ | असंस्कृत जीवन बिताएकोमा पछुताउने छौँ |
अन्त्यमा, जाति, वर्ण, भूगोलआदिको बन्धनले संस्कृत उन्मुक्त छ | संस्कृतमा सबैको साझा अधिकारको भाषा हो | एकपटक संस्कृतको ज्ञान भएपछि तपाईं नै भन्नुहुने छ “संस्कृत सबैको साझाभाषा हो जुन छुवाछुत तथा दासताको”संस्कृतिबाट उन्मुक्त छ र सबैको कल्याणको कामना गर्छ | सबैलाई कर्तब्यशील भएर जीवन व्यतीत गर्न उत्प्रेरित गर्छ |

