हाम्रो गुरुकुल
हामीलाई पाश्चात्य शिक्षा प्रणालीको नशा लागेको छ | वर्षौंको नशाले हाम्रो चेतना अर्ध-जागृत अवस्थामा पुगेको छ | शिक्षाविद वा राजनैतिक नेतृत्वका रूपमा हामीले वर्तमान शिक्षानीतिको विकल्प हुन्छ भन्ने विचारसंग डराउँछौँ | यो भ्रम, नशाले हामी रोगग्रस्त भएका छौँ र सधैं एस्तै रोगी जनशक्ति उत्पादन गरिरहेका छौँ |
जव हामी गुरुकुल पद्यतिलाई वर्तमान शिक्षाको विकल्पका रुपमा प्रस्तुत गर्न खोज्दछौँ तेस बखत मानसिक रोगीहरूको ठूलो समूह सल्वलाउन थाल्छ | गुरुकुललाई टपरे-बाहुन उत्पादन गर्ने कारखानाका रूपमा चित्रित गरेर सर्वसाधारण जनता तथा अर्धचेतन अवस्थामा रहेका शिक्षक-शिक्षिकालाई भयभित पारिन्छ |
तर यदि कसैले अहिलेको पाश्चात्य शिक्षा पद्यति आर्यभूमिमा भित्रिनु भन्दा धेरै पहिले नालन्दा, तक्षशीला, पर्वतआदि ठाउँमा ठूलाठूला शिक्षालय मात्र होइन विश्वविद्यालयले समेत शिक्षाको प्रसार गर्थे भन्दा अविश्वास गर्छन् | यदि यही कुरा कुनै पश्चिमा शिक्षाविदले लेखिदिने हो भने प्रतिवाद गर्दैनौं |
हो, प्राचीन समयमा प्रसस्त जङ्गल थिए | नगर वा जङ्गलक छेउमा ठूलाठूला गुरुकुलहरू चलाउन सम्भव थियो | राजा, सेठ तथा अभिभावकहरूले गुरुकुलमै आ-आफ्ना बालबालिका शिक्षित गर्थे | सानो जनसंख्यामा यो सम्भव थियो | प्राचीन गुरुकुलकै आँखाले वर्तमान गुरुकुललाई बुझ्नु दोषी चस्माको कमाल मान्नुपर्छ |
हाम्रो गुरुकुल न जङ्गलमा हुने छ न टपरे-बाहुन उत्पादन गर्ने/गराउने फ्याक्ट्रीका रूपमा जीवित रहने छ | हाम्रा गुरुकुलहरू अहिलेका विद्यालय र तिनमा दिने शिक्षापद्यति भन्दा फरक हुनेछन् | हाम्रा विद्यार्थीहरूले आफुले चाहेको भाषा, विषय पढ्न सक्ने छन् तर ती विषयहरूको संरचना आफ्नो जरोकिलो अर्थात् हिन्दू, बौद्ध, जैनआदि रैथाने संस्कृतिसंग जोडिएको हुनेछ |
अनुसन्धानका सवालमा ” पश्चिमा पद्यति स्वीकार नगरी अनुसन्धान प्रमाणिक हुँदैन” भन्ने वर्तमान प्रतिमान हाम्रा गुरुकुलहरूले स्थापित गर्नेछन् | आचार्य शंकर, बाण भट्ट, चाणक्यआदिले लेखेका ग्रन्थहरू पनि गहिरो अनुसन्धानमा आधारित थिए | तेस बखत, एपिए वा एमएलए प्रणाली थिएनन् |
समय लाग्ला तर हाम्रो आधुनिक गुरुकुलले वर्तमानमा चलिरहेका वेरोजगार उत्पादन गर्ने फ्याक्ट्रीहरूलाई सीधा चुनौती दिने छौँ | गुरुकुलबाट उत्पादित कुनै पनि युवायुवति जागिरको लागि भौतारिन पर्ने छैन | अहिलेको शिक्षानीतिमा दीक्षितहरू चाकरी वा जागिरका पछाडी भाग्छन् भने गुरुकुलका स्नातकहरू पछाडी जागिर भाग्ने छन् |
यो पढ्नेहरूका मनमा अहिले धेरै कुरा चलिरहेका छन् | अविश्वास तथा आशा दुवै संचार हुँदैछन् | हामी सबै वर्तमान शिक्षानीतिको नशाले अर्धचेतन अवस्थामा छौँ तेसैले विकल्पका रूपमा गुरुकुल विकसित होला ? भन्ने कुरामा विश्वास नलागेको हुन सक्छ | तर अर्कोतिर आफ्नो धर्म, संस्कृति तथा रैथाने ज्ञानप्रणालीहरू मसिंदा चित्त पनि दुखेकै छ | अविश्वास गर्नेहरू बढी छन् र विश्वास गर्नेहरू अतिकम | तर हाम्रो विश्वास तिनको अविश्वासको तुलनामा धेरै बलियो छ |
हाम्रो कुरामा विश्वास गरे पनि नगरे पनि तपाईंले आफ्नो मनमा लागेका कुराहरू, सीपहरू वा सुझावहरूले आफ्नो विचार प्रकट गर्न सक्नुहुन्छ | तपाईंले प्रकट गर्ने “विचार”ले हाम्रो बाटो निर्धारित गर्नेछ | अन्त्यमा, यो आलेख पढ्दापढ्दै तपाईंले आफ्ना सन्तानलाई रोबट बनाउन चाहनुहुन्छ कि मान्छे ? भन्ने प्रश्नको ऊतरवारे अवश्य सोच्नुहोला |
अवको गुरुकुल ?
गुरुकुल भन्दा साथ धेरै मान्छेले नाक खुच्याऊछन् | अहिले गरिव ब्राहमण परिवारका बालकहरू मात्र गुरुकुलका छात्र बन्ने गरेको तीतोसत्य सत्य हो | र, अर्को सत्य पनि के हो भने यिनै गरिव बटुकहरूले नेपाली रैथाने संस्कृतिको रक्षा गरिरहेका छन् | त्यो भन्दा पनि बढी सकारात्मक समाचार के हो गुरुकुल वा संस्कृत पढेका कुनै पनि युवक-युवति वेरोजगार छैनन् | पूर्ण वा आंशिकरुपमा आत्मनिर्भर छन् |
सकिनसकी टाई भिराएर आफ्ना बालबालिकालाई इन्ग्लिश बोर्डिंग पठाउँनु आजको फेसन र बाध्यता बनेको छ | यो बाध्यता भनेको सरकारीस्तरबाट जन्माइएको हो | अंग्रेजी भाषा सिकेर विश्वको अंग बन्नु राम्रो कुरा हो तर अंग्रेजी जाने मात्र विकसित भइन्छ, प्रगतिशील भइन्छ भन्नु भ्रम हो | यिनै टाई-संस्कृतिबाट विद्वान बन्ने सपना देख्ने युवायुवतिहरू सबैभन्दा बेरोजगार छन् | साच्चिकै भन्ने हो भने अंग्रेजी माध्यमका विद्यालयहरू “वेरोजगार उत्पादन गर्ने कारखाना” का रुपमा सफलता प्राप्त गरेका छन् |
अव हामीले एस्तो गुरुकुलको परिकल्पना गरेका छौँ जहाँ गरिव बाहुनका छोराछोरीमात्र होइन, धनाढ्य ब्राह्मण र अन्य जातिहरूले पनि आफ्ना बालबालिका पढाउँन हानथाप गर्ने छन् | यी गुरुकुलमा पढ्ने विद्यार्थीहरू नेपालका रैथाने भाषाहरू समेत संस्कृत, अंग्रेजीमा पनि पुख्त हुनेछन् |
हामीले परिकल्पना गरेको गुरुकुल पद्यतिको शिक्षा वर्तमान “वेरोजगार उत्पादन गर्ने कारखाना” हुने छैन | गुरुकुलबाट उत्पादन भएका युवायुवतिहरू नेपाल समेत विश्वको कुनै कुनामा पुगे पनि “मालिक” भएर काम गर्न सक्षम हुनेछन् | नौकर बन्ने मानसिकता भएका जनशक्ति उत्पादन गर्ने काम हाल नेपाल सरकारले लिएको शिक्षानीतिलाई सुरक्षित रहने छ | हो, हामी वर्तमान शिक्षा पद्यतिलाई विस्थापित गरेर नयाँ शिक्षापद्यति भएको प्रतिमान विकसित गर्दैछौँ |