Govinda Sharan

 सासु वुहारी

सासु वुहारी
एउटा गाउँमा विधुवा बुहारी र सासु संगै बस्थे | दूबैजना बीच सम्बन्ध राम्रो थिएन | दूबैजनाको एकआपसमा बोलचाल समेत हुँदैनथ्यो | एउटा घरको छानो मुनि बस्ने, एकै भान्सामा पाकेको खाने, एकै पन्धेराको पानी पिउने र जिन्दगी भर संगै बस्नु पर्ने भाग्य पाएका यी सासु-बुहारीको कचिंगलले छिमेकी समेत दिक्क थिए |
एक दिन बुहारी माइतमा आइन् | माइतमा बूढा बा बाहेक कुनै आफन्त थिएनन् | बूढा बा एक्लै बस्थे | बैद्य भएकोले रोगीहरूको उपचार गरेर आफ्नो घरायसी खर्च चलाउँथे | बैद्य भएकोले उनलाई धेरै विषयको ज्ञान थियो |
छोरीले घर नफर्केने अडान लिएपछि बैद्य-बा केही चिन्तित भए | तर उनको भित्री इच्छा छोरी घर फर्केर बूढी भएकी सासुको हेरविचार गरोस् भन्ने नै थियो | बिधुर भएको नाताले एकान्तको पीडा समेत उनीबाट लुकेको थिएन |
अन्त्यमा, छोरीले सासुलाई मार्ने योजना बनाइन् | बाबुसंग लामो समयसम्म दिंदा लाग्ने विषको विषयमा बाबुसंग कुरा मिल्यो | छोरीको हातमा विषको पोको दिंदै ‘यो विष बेलुका सुत्ने बेलामा एक गीलास दूधमा मिसाएर पिउन दिनु, छ महिनापछि सासुको अन्त्य हुनेछ |” साथै बैद्य-बाले बिनय गर्दै भने ‘बूढी आखिरमा छ महिना भित्र त मर्ने नै छन्, एसो बिहान बेलुका मिठो खान दिनु, लुगा सफा गरेर लगाईदिनु र मीठो बोल्नु है |” छोरी सबै कुरामा सहमत भै घर फर्किन् |
सासुको अन्त्यका लागि बेलुका दूधमा बाले दिएको औषधि फिटेर खान दिन थालिन् | छ महिना भित्र मर्ने नै हुन् भनेर बुहारी मिठो बोल्न थालिन्, विस्तारा, लुगा र शरीरको समेत देखरेख गर्न थालिन् | यो सबै देखेर सासुको पनि मन बदलियो |
उनले पनि बुहारीलाई औधि माया गर्न थालिन् | बुहारी संगै खाने, बुहारीको काममा सक्दो सघाउने, छिमेकीका अगाडी आफ्नो बुहारीको प्रसंसा गर्ने र छोरा नभएकोमा दुखेसो छैन भन्दै बुहारीलाई ‘मान्न’ थालिन् |
दूबैको बदलिएको बानीले गाउँका मान्छे छक्क पर्न थाले | बुहारीले बा-ले दिएको औषधि दिन थालेको पांच महिना बितेछ | यस बीचमा सासुबुहारीको सम्बन्ध ‘आमाछोरी’को झैँ बनिसकेको थियो | बुहारीले सासुलाई आमा भन्ने र सासुले बुहारीलाई छोरी भनेर बोलाउन थालेको धेरै भएको थिएन |
एक दिन बुहारीले सासुको दूधमा औषधि हालिनन् | स्वाद फरक परेकोमा सासुले छोरीसंग औषधि मिसाउन अनुरोध गरिन् | नचाहेर पनि बुहारीले औषधि मिसाउन पर्यो | दूबै संगै सुते | बुहारीलाई सासुको मायाले रातभरी निन्द्रा परेन | भोलिपल्ट बिहानै सासुआमासंग अनुमति लिएर माइत गईन् |
बुबासंग आफुले आमाजस्तो आमालाई मार्न खोज्न औषधि दिएकोमा पछुतो व्यक्त गरिन् र एस्तो दवाई दिएकोमा गुनासो समेत पोखिन् | सासु नरहे आफु एक्लो हुने समेत बताइन् | उनको गुनासो सुनेर बैद्य-बा मुस्कराइ रहे | यो देखेर छोरीले दिक्क मानिन् |
अन्त्यमा, बैद्य-बाले कुरा खोले ‘लाटी !! मैले दिएको औषधी कुनै विष होइन | त्यो त भिटामिन हो | मैले तिमीहरूका बीच मायाप्रिति जगाउन ‘मन्दविष’को नाटक मात्र रचेको हुँ | असलमा, तिमो माया पाएर सासु पनि परिवर्तन आएको हो | आज म धेरै खुसी छु | तिमी दूबैजना संसारका लागि दह्रो उदाहरण बनेका छौँ |
मायाले जस्ताको मन पनि बदलिन्छ | निस्वार्थ सेवाले आत्मबल मिल्छ | एकआपसमा सुखदुखका विषयमा ख्याल गर्ने बानीको विकास हुन्छ | यदि आफु र अरूलाई बदल्नु छ भने हामीले आफ्नो बोली-ब्यबहारमा परिवर्तन गर्नु पर्छ |
छोरी आफ्ना बा’प्रति कृतज्ञ भइन् | यिनका बुबाले एउटा ठूलो अपराधबाट जोगाएका थिए | उनले ससुमा आमा पाएकी थिइन् | परिवारका सदस्यहरूको कर्तब्य छोराछोरीको घरबार राम्रो बनाउनु हुनुपर्छ |
उपरोक्त कथाको अनुशीलन र अनुकरण गर्ने हो भने नेपाली समाजका धेरै घरहरू स्वर्गमा परिवर्तित हुन्छन् | हरेक सासु आमा बन्ने छन् भने हरेक बुहारी छोरी बनेर आफ्नो दायित्व पूरा गर्ने छन् | यसका लागि दूबैले अग्रसरता लिनुपर्छ तर उमेरको दृष्टिकोणले बुहारी नै यो अग्रसरको लागि उपयुक्त पात्र बान्ने आँट गर्नुपर्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *