gsharan icon

भूम्यापर्व र संस्कृति रक्षाको मोर्चामा

भूम्यापर्व र संस्कृति रक्षाको मोर्चामा

मगर बोलीमा ‘नाम’ भनेको भूमि, जमीन, धर्ति वा पृथ्वी भन्ने बुझिन्छ तर रोल्पा, रुकुम, बाग्लुंग, पर्वत आदि जिल्लामा छरिएर रहेका १८ थर मगरहरूले प्रत्येक वर्षको असारको एक देखि तीन गतेसम्म भूम्या-पर्व मनाउने गर्छन् | भूम्या शब्द संस्कृतको भूमिशब्दबाट निर्मित भएको हो | मगर भाषामा ‘नाम-पूजा’ हुनुपर्ने ठाउँमा ‘भूमि-पूजा’ हुनु कुनै काकताली होइन | यो जमीनसंग जोडिएको परम्परासंग जोडिएको छ | अथर्ववेदको भूमि-शुक्तसंग जोडिएको छ |
नेपालभरिका मगरहरू भूम्यापुजा गर्छन् | भूमि-पूजाको सम्वन्ध पृथ्वीपूजासंग छ | भूम्या प्रतिष्ठानका अध्यक्ष बागलाल बूढामगर भन्छन् : भूमिपूजाकाअवसरमा मगर पूजारीले विधिविधानपूर्वक थानमा च्याग्रा वा भेडा बलिदिएर धूपीको हाँगा चढाएर भूमिको पूजा गर्छन् | अनि, तीनदिने नाच आरम्भ हुन्छ | बाढीपैरो, भूइचालो, फोरोरखटिरा, पानीजन्यरोगहरू जोगिन र राम्रो खेतीपातीको लागि पृथ्वीमातासंग प्रार्थना गर्नु नै भूमि-पूजाको उद्देश्य हो |
महिलाहरूलाई पूजारी भएर पूजाआजा गर्न अनुमति छैन तर भूम्याथानमा फुल-अक्षता चढाउँन भने रोकिदैन | पुजारीका रुपमा महिलाले गरेको पूजा भूम्यालाईस्वीकार हुँदैन भन्ने सामाजिक विश्वास रहेको देखिन्छ| पूजारीले विधिपूर्वक पूजामा मन्त्रको प्रयोग गर्छन् तर कस्ता मन्त्रको प्रयोग हुन्छ भन्ने विषयमा भने पूजारीहरूलाई मात्र थाहा हुन्छ | मन्त्रका विषयमा पुजारी बोल्न चाहन्नन् |
भूम्या नाच/पूजाआजाको चलनचल्ती कहिलेदेखि आरम्भ भयो कसैलाई थाहा छैन तर भूम्याका पक्षधरहरू यसलाई मगरहरूको रैथाने पर्वभएको विश्वास गर्छन् र यसलाई मगरहरूको मौलिक पर्व भन्छन् | बाजाबजाउने ‘दमाई’ बाहेकले बाहेक यो यो पर्वमा अन्यजातिहरू समावेश भएको नदेखिंदा यो कुराको पुष्टि हुन्छ | दमाईहरू नाचगानका लागि बाइसप्रकारका बाजा अथवा बाइसप्रकारका तालहरू प्रयोग हुन्छन् | तर यी बाइस प्रकारका बाजा हुन् कि नौमती बाजाहरूबाट निकाल्न मिल्ने ताल हुन् ? भन्ने कुरा स्पष्ट छैन |
बाइसप्रकारका बाजा हुन् वा ताल यिनको मौलिकता पहिचान हुन् सके नेपालीहरूको संगीत संसार अझै मौलिक र ब्यापक हुनेथियो | हाम्रा रैथाने ताल, बाजाहरू र तिनको बजाउने क्रम हामीले नखोजे अरूले खोजि दिंदैनन् | खासगरी मगरअगुवाहरूले यस विषयमा अनुसन्धान गर्न/ गराउन विविहरूका विद्यार्थीहरूलाई वा स्वतन्त्र अनुसन्धाताहरूलाई प्रोत्साहित गर्नुपर्छ | यो काम सरकारको पनि हो |
अव भूम्या-नाचका कुरागरौँ | झलक्क हेर्दा यो नाच राइलिम्बुको चण्डीनाच वा उभौलीजस्तो देखिन्छ | पूजारीले भूम्याथानमा विधिपूर्वक पूजा गरेर लिङ्गो ठड्याउने काम सकेपछि बाइसताल वा बाजामा ‘बाह्रनाच’ आरम्भ हुन्छ | भूम्यापर्वमा महिला र पुरुषहरू १२ थरीका नांचहरू नाच्दछन् | यो ‘बाह्रनांच’ नाच्ने क्रममा प्रयोग हुने बाह्रप्रकारका नृत्यमूद्रा हुन् कि नांच नै बाह्रप्रकारका हुन्छन् ? खुलामंचमा ‘भूम्यापर्व’का आयोजक र नृत्यमा भाग लिइरहेका मध्ये कसैले पनि स्पष्ट पार्न सकेनन् | भूम्यापर्वको अवसरमा मात्र प्रयोग हुने नृत्यशास्त्रका यी विधि वा मुद्राहरूको पहिचान गर्ने र तिनको संरक्षण गर्ने अति आवश्यक देखिन्छ |
बाह्रनाचको सबैभन्दा महत्वपूर्ण पाटो हो – एकैप्रकारको तालस्वरमा महिला र पुरुषहरू फरकफरक मुद्रामा नृत्य गर्नु हो | महिलाहरू झुमेर हातउठाउँदै नृत्य गर्छन् भने पुरुषहरू तलतिर हातफालेर नृत्य गर्छन् | महिलाकोटोली एकातिर र पुरुषहरूको टोलीअर्कोतिर हुन्छ | छिसमिस भएर भूम्या नाचिन्न |
मगरअगुवाहरूले भूम्यापर्व र बाह्र (नौ) नाचको सम्वर्धन गरेर प्रसंशनीय र अनुकरण योग्य काम गरेका छन् | सरकार र जनता दूबैले यसमा सहयोग गर्नुपर्छ | आफै समावेश हुनुपर्छ |
बातचितका क्रममा मैले धर्मनिरपेक्षता र धर्मपरिवर्तनले (इसाई धर्म स्वीकार गर्नेहरू बढेपछि) मगरसंस्कृतिमा कस्तो प्रभाव परेको भन्ने जवाफमा अगुवाहरू केही अल्मलिएको देखियो | उहाहरू धर्मनिरपेक्षताको पक्षमा तर धर्मपरिवर्तनको विपक्षमा उभिनु भयो | ‘इसाईधर्म स्वीकार्नेहरू’ भूम्या, माघी, जन्माष्टमीजस्ता पर्वमा बोलाउंदा पनि आउंदैन् | उनीहरू यी पर्वहरूसंग घृणा गर्छन् | ‘के धर्म परिवर्तन रोक्न अवाजउठाउनु भएको छ ? भन्ने मेरो प्रश्नको जवाफ दिन चाहानु भएन | सम्भवत: आयोजकहरूको राजनैतिक पृष्ठभूमिको कारणले उत्तर नआएको होला – म अनुमान गर्दैछु |
निश्चय नै, यदि धार्मिक स्वतन्त्रता धर्मपरिवर्तनको अधिकारका रूपमा लिने हो र सरकारले पनि यसलाई मान्यता प्रदान गर्ने हो भने रैथाने संस्कृति धर्म वा रितिरिवाजको रक्षा गर्नुपर्छ/ गराउनुपर्छ भन्नु जनताको आँखामा छारो हाल्नु हो | धर्मपरिवर्तन र संस्कृति संरक्षण एकै ठाउंमा अटाउन सक्दैनन् | धर्मपरिवर्तन गरेर इसाई बनेका गरिव, निरक्षर चेपांगहरूले आफ्नो मौलिक रथाने संस्कृति सधैंका लागि गुमाइसकेका जीवित प्रमाणहरू हाम्रो देशमा छन् |
पुन: अथर्ववेद र भूम्यापूजाको कुरागरौँ | अथर्ववेदको १२रौँ अध्यायको १ देखि १५ सम्म भूमिशुक्त, पृथ्वीशुक्तका मन्त्रहरू छन् | यी सबैमन्त्रहरूले पृथ्वीको प्रसंशा गर्छन् | आफ्नो अस्तित्वमा सहयोगी बनेकोमा धन्यवाद दिन्छन् र जलजन्य, भूमिजन्य समस्याहरूबाट जोगाउन स्तुति गर्छन् | मन्त्रहरूमा विशुद्ध प्रकृतिको आराधना छ | मगरहरूमा प्रचलित भूम्यापूजा र भूमिशुक्तको सम्वन्ध कस्तो रहेछ ? भन्ने विषयमा चर्चा गर्नु नपर्ला |
असलमा, अथर्ववेदलाई ‘तान्त्रिक’ मानिन्छ भने मगरहहरूका पूजारीले भूमिपूजाको क्रममा तान्त्रिक विधिकै प्रयोग गर्छन् | मगरहरू यद्यपि भूमिलाई ‘जीवित-देवी’ ठान्दैनन् तर ‘भूम्या खुसी हुँदा प्राकृतिक विपद् कम हुने र रिसाउँदा बढ्छ’ भन्ने विश्वासले ‘शक्ति’का रुपमा आराधने गरिने स्पष्टहुन्छ | यी सबै तथ्त्यले मगरहरू पनिवैदिक नै हुन् भन्ने कुरामा शंकागर्नु पर्ने ठाउँ रहन्न | यो तत्थ्य प्रमाणित नेपालका केही प्रमुख मन्दिरहरूका मूलपूजारीहरू ‘मगर’भएबाट भैरहेको छ |
नेपाल विविधतामा एकता र एकतामा विविधताको देश हो | हामी नेपालीहरूसंग आज पनि जीवित संस्कृतिहरू छन् | भूम्या, माघी, उभौलीआदि यसका जीवित रूप हुन् | यी सबैले हामी नेपालीहरू ‘मिलेर’ बसेको इतिहासलाई प्रमाणित गर्छन् | फरकफरक संस्कृति, मान्यता, भाषा, धर्महरू मान्ने र जान्ने भएर पनि एकार्काको अस्तित्वको सम्मान गर्दै हजारौं वर्षसम्मसंगै रहन सक्ने, सुरक्षा प्रदान गर्न सक्ने सहिष्णुताको प्राकृतिक ‘ब्यबहार’ विदेशीहरूले हामी नेपालीसंग सिक्नुपर्छ |
राजनीतिको खेल जितेर अगुवा भएका नेताहरू सांस्कृतिक संरक्षणको युद्धमा नराम्रोसंग पराजित भइरहेका छन् | धर्मपरिवर्तनको अधिकारले नेपालका रैथाने संस्कृतिहरूको पूर्णरक्षा कसरी हुन सक्छ ? यिनले जवाफ दिनैपर्छ | धर्मपरिवर्तन गरेर इसाई बनेका वा मुस्लिम बनेका नेपालीहरूको घोषणापत्रमा वा धार्मिक जीवनमा नेपालका रैथाने संस्कृतिहरूको रक्षा गर्ने प्रतिबद्धता हुनुपर्छ कि पर्दैन ? यो जवाफ नेपालको न्यायब्यबस्था वा जुनसुकै जातजाति वा राजनैतिक अगुवाहरूले दिनैपर्छ |
नत्र आगामी २० वा २५ वर्ष भित्र भूम्यानांच पूर्णतः इतिहासको विषय बन्ने छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *