कान्छा इलियाहको घृणावादी दृष्टिकोण
भारतीय दलित अभियन्ता ‘कान्छा इलियाह’का रचनाहरूले धेरै दलितवादीहरूलाई इतिहास तथा तत्थ्यहरूसंग भ्रमित पार्छ | उनले आफ्ना रचनाहरूमा प्रमुख रुपले दुई विषयमा बढी जोड दिएका छन् : दलितहरू हिन्दू होइनन् र हिन्दू वर्णब्यबस्था भित्र रहेर दलितहरूले समानता प्राप्त गर्न सक्दैनन् | असलमा, यी दूबै बुझाइहरू उनका आफ्ना होइनन् | न यिनका यी बुझाइले दलितहरूका ब्यबहारिक समस्यालाई नै सम्वोधन गर्छ | दलितहरू हिन्दू हुन् कि होइनन् ? यिनले प्रमाणित गर्नु पर्ने केही छैन | वेदमा शुद्रवर्ग ब्रह्मको ‘गतिशीलता हो’ भनेर सम्बोधन गरेको भेटिन्छ | गीताले पनि गुण र कर्मका आधारमा ‘शुद्र’को सृष्टि भएको भनेर प्रमाणित गरिरहेको छ | मनुस्मृति, याग्यबल्क्य स्मृति, यास्क-संहिता, उपनिषद्हरूले यत्त्रतत्र बोलिनै रहेका छन् |
एतिमात्र होइन, बंशानुगत रूपमा पनि एउटा ब्राह्मण र शुद्रको एकैथरिका गोत्रहरू छन् | जुन गोत्र उपाध्याय ब्राहमणको हुन्छ, त्यही नै गोत्र एउटा ‘दलित’को हुन्छ | गोत्र विहिन कुनै दलित हुँदैनन् | गोत्रका आधारहरू वेद तथा उपनिषदहरू हुन् | वेद-उपनिषदहरूले ‘कर्म’का रूपमा जातीय विभाजन गरेको कुरा गीताले प्रमाणित नै गरेको छ | अनन्तकालदेखि शिक्षा तथा समानताबाट बन्चित पारिएका ‘शूद्र’ समुदायलाई ‘कान्छा इलियाह’जस्ताले सजिलै अलगाववाद र मूलाधरप्रति बितृष्णा उत्पन्न गर्न सक्छन् | असलमा, ‘कान्छा इलियाह’हरू इसाई-प्रचारकहरूका गोटी हुन्, जसले केवल धर्मपरिवर्तनका लागि काम गर्छ | यो समुदाय गोत्रका आधारमा होस् अथवा बंशजका आधारमा एकाधघरको अंश पाउने रगतको साइनो भएको आफन्त हो | ‘कान्छा इलियाह’ले अछुतको गोटी खेलेर ‘दीर्घकालीन तथा योजनापूर्वक’ रोमको नुनको सोझो गर्न ‘मतभेद’को प्रयोग गरेका हुन् | भारतीय दलित आन्दोलनमा ‘‘कान्छा इलियाह’जस्तो धूर्तपात्र अर्को देखिन्न |
वेद तथा गीता पढ्नेहरूले सजिलै बुझ्न सक्छन् कि ‘शूद्र’ हुनु अछुत हुनु होइन | मांडूक्य ऋषिका सनातनहरू ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र चारै वर्गका थिए | पढ्न/पढाउनमा प्राकृतिक रुचि भएकाहरू ब्राह्मण बने भने युद्ध, सुरक्षामा चासो राख्नेहरू क्षत्री गनिए | खेतीपाती, ब्यापार र पशुपालनमा रुचि भएकाहरू वैश्य भनिए भने नोकरी-पेशा गर्ने र शारीरिक श्रम गर्नेहरू शूद्र भनिए | बैदिककालमा कामका आधारमा जातीय पहिचान त थियो तर छुवाछुत पक्कै थिएन | वेद तथा उपनिषद्हरूले यस विषयमा केही पनि उल्लेख गरेका छैनन् | दलितहरू वर्णाश्रम ब्यबस्था भित्र रहन सक्दैनन् भन्नु ‘बौद्धिक बेश्यावृत्ति’ हो | आज पनि कम्वोडिया, इन्डोनेसिया, वर्मा तथा थाइल्याण्डका केही भागहरूमा वर्णाश्रम त जीवित छ तर छुवाछुत विद्यमान छैन | शूद्र समुदायको असली शत्रु ‘छुवाछूत’ हो वर्णाश्रम ब्यबस्था होइन |
‘छुवाछूत’ आजको समाजले निर्मित गरेको ब्यबस्था होइन | प्राचीनकालदेखि नै छुवाछुत मूलक विभेदको विरोध हुँदै आएको इतिहास छ | अराजकता फैलाउने ‘शूद्र’लाई मृत्युदण्ड दिने रामले बाल्मिकी तथा शवरीको सेवा गरेको, गोडा धोएको र जूठो खानेकुरा खाएको इतिहास पनि छ | हिन्दूहरूको पवित्र तीर्थस्थल नैमिशारन्यमा चौरासी हजार ऋषिहरूले ‘शूद्र’ शौनकलाई गुरू थापेर कथा सुनेको प्रसंग विर्सन सकिन्न | हिन्दू संस्कृतिमा यस्ता अनेकौं उदाहरण छन् | आजको सामाजिक संरचनामा प्राचीन वर्णाश्रम ब्यबस्थाको पुन: स्थापनाको आशा गर्न सकिन्न | धेरै अर्थमा त्यो पुरानो सामाजिक ब्यबस्था अब्यबहारिक भैसकेको छ | अहिलेको आवश्यकता भनेको ‘दलन’मा परेका शूद्र समुदायहरूलाई समानतामा पहूँच सुनिश्चित गर्नु हो |
माध्यमिक हिन्दू आन्दोलनहरूको अध्ययन गर्ने हो भने भक्तिवादी आदोलनका अभियन्ताहरूले ‘सबै ब्रहम हो, समस्त विश्व नै ईश्वरको अंश हो’जस्ता मान्यताहरू विकास गरेर ‘सबैमा एकै ईश्वर ब्याप्त रहेको छ’ भन्दै हिन्दूहरू बीच एकताको प्रयन्त गरे | आज पनि भक्तिवादी सम्प्रदायहरूमा जातीय भेदभाव छैन | नेपालकै नाथ परम्परा होस् अथवा जोसमनी सन्त परम्परा नै किन नहोस्, जातीयतामा आधारित छुवाछूतको अस्तित्व छैन | रैदास, सूरदास्, गुजरातका सन्त ज्ञानेश्वर, सन्त नामदेव, दादुदयाल, कवीर आदि भक्तिवादीहरूले जातीयताका आधारमा गरिने भेदभाव भोग्नु परेन | यी सबैका पूज्य बने | यिनको जातले पूजित हुनबाट रोकेन |
ब्रिटिश भारतमा अंग्रेजहरूले ‘छुवाछूत’लाई जातीय सद्भाव बिथोल्न र प्राचीन बैदिक सभ्यताका विरुद्ध प्रयोग गर्ने मन्त्र भेटाए | छुवाछुतलाई उचालेर समुदाय विशेषमा आफ्नै गोत्रप्रति घृणा भर्दै धर्मपरिवर्तन गर्न प्रयोग गरे | भारतीय स्वतन्त्रता आन्दोलनको इतिहास हेर्ने हो भने राजा राममोहन राय, मदनमोहन मालवीय, महात्मा गान्धी, स्वामी विवेकानन्दआदिले छुवाछूतवादी चिन्तनको निन्दा मात्र गरेका छैनन् अपितु सुधारका लागि प्रयत्न पनि गरेका छन् | महात्मा गान्धीले योंग इन्डियामा लेखेका छन् ‘सबैभन्दा बढी परिश्रम गर्ने र अरूलाई मदत गर्ने यो समुदाय असली हरिजन (भगवान्का आफ्ना मान्छे) हुन् | जवसम्म हाम्रो संस्कृतिबाट छुवाछुत र एस्तो विभेदको अन्त्य हुँदैन, हामीलाई लज्जाबोध भैरहने छ |’’ महात्मा फुले, डा अम्वेडकर आदिले दलितवादी समाजको निन्दा गरे | डा अम्वेडकरले त झन् बौद्ध धर्मनै अगाल्ने निर्णय गरे |
नेपाली समाजमा सर्वप्रथम छुवाछूत बिरुद्ध आफ्नो आवाज उठाउनेहरूमा जोसमनी सन्तहरू पर्छन् | भनिन्छ, पाँचथरका सन्त ज्ञानदिल दासले आफ्नो मन्दिरको पूजारीमा ‘सार्की’ नियुक्त गरेका थिए रे ! राणाकालमा यो भन्दा क्रान्तिकारी कार्य अर्को हुनै सक्दैन | पछि, विविध कारणले देश निकाला परेका कोइराला र भट्टराईहरूले भारतीय स्वतन्त्रताको आन्दोलनबाट सिको गर्दै ‘छुवाछूत’को विरोध गरेकै हुन् | विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, पुष्पलाल आदिले छुवाछुतको अन्त्यका लागि प्रयत्न गरेकै हुन् | त्यस बखत आजभोलीझैं गैरसरकारी संस्था वा इसाई-मिसनरीहरूको जालोमा नेपाल फंसिसकेको थिएन | परम्परागत कट्टरपन्थी ब्राह्मण समाजमा हुर्केका विपी, भट्टराई, पुष्पराजहरूलाई अधिकारवादीहरूले ‘दलित-मुक्ति’को मन्त्र दिएका होइनन् |
वि.स. २०२० मा, एउटा कट्टर परम्परावादी राजपरिवारमा हुर्केका राजा महेन्द्रले बनाएको मुलुकी ऐनमा पहिलोपटक ‘छुवाछूत’ दण्डनीय अपराध बन्यो | २००८ साल होस् अथवा २०१६ को आम निर्वाचन नै किन नहोस् ‘शूद्र’ समुदायको उन्मुक्तिको लागि बोलिएन, लेखिएन | कट्टर हिन्दूका रूपमा राजा महेन्द्रलाई ‘सत्तेसराप’ गर्नेहरूले पनि यो इतिहास नजरअन्दाज गर्न मिल्दैन | उपरोक्त उदाहरणहरूबाट हामी बुझ्न सक्छौं कि दलित उन्मुक्तिको मुद्दा हिन्दूहरूले नै उठाएको हो र हिन्दूहरूले नै उठाइरहेका छन् | आइएन्जिओ/एनजीओ वा मानवाधिकारवादी (सबै होइन)को दलित-मुक्ति आन्दोलनको उद्देश्य समानतामूलक हिन्दू सामाजिक संरचना नभई ‘दलित’ समुदायलाई सांस्कृतिक एकताप्रति घृणा जगाएर इसाई बनाउनु हो | डोरो काटिएको चङ्गा र सांस्कृतिक मूलधारबाट अलग्गिएको व्यक्ति ‘जरूसलेम’ पुगेर आत्महत्या गर्न बाध्य हुन्छन् | धर्मपरिवर्तन गरेका दलितहरूलाई पुन: मूलाधार फर्काउने प्रयत्न गर्नु हामी सबैको पहिलो र अन्तिम कर्तब्य हो |
वर्तमान नेपालको दलित-आन्दोलनका मूल प्रवृतिलाई नियाल्ने हो भने यसमा दूईखालका समुहहरू छन् : हिन्दू संस्कृति मै रहेर मूलधारको अधिकार प्राप्त गर्ने र धर्मपरिवर्तन गरेर दलितहरू छुवाछूत मुक्त समाजको सृजना गर्ने | धर्मनिरपेक्षताको अवधारणाले दोस्रो पक्षलाई अतिउत्साहित बनाएको छ | एकातिर धर्मपरिवर्तन गरेर वर्णाश्रम परित्याग गर्ने र अर्कोतिर इसाई बनेपछि पनि राज्यले क्षतिपूर्तिपूर्तिका रूपमा दिएको ‘दलित आरक्षण’ हडप्नका लागि ‘दलित’लाई पहिचानका रूपमा स्थापित गर्ने लक्षमा इसाईहरू सफल भएका छन् | यसरी शूद्रहरूले प्राप्त गरेको क्षतिपूर्तिमा इसाईले आफ्नो अधिकार स्थापना गर्दै सांस्कृतिक विचलन, घृणा तथा असहिष्णुताका बीऊहरू रोपिरहेका छन् | के धर्मपरिवर्तन गरेपछि दलित-समुदाय भेदभावबाट मुक्त भएको छ ? यस प्रश्नको जवाफ सरकारले दिनुपर्छ किनभने धर्मनिरपेक्षताको ब्यबस्थालाई सामाजिक न्याय र उन्मुक्तिको रूपमा ब्याख्या गरेर धर्मपरिवर्तनमा प्रोत्साहन दिने पनि सरकार नै हो |
धर्मपरिवर्तन गरेका दलितहरू दोहोरो धरापमा पारिएका छन् | दलनबाट उन्मुक्तिको सपना बोकेर धर्मपरिवर्तन गरेका दलितहरूले ‘दलितपनबाट मुक्ति त परै जावोस्, उनीहरू दलित-इसाईको रूपमा पुन: अधिकार प्राप्तिको आन्दोलन भन्दै ‘दलित-पहिचान’ प्राप्त गर्न आन्दोलनमा होमिन बाध्य पारिएका छन् | हिजोसम्म घृणा र दलनको रूपमा बुझेर त्याग्न आतुर दलित परिचय, आज संविधानले नै संस्थागत गरिदिएको छ | यो एस्तो दोहोरो मार विश्वको कुनै समुदायले भोग्न नपरोस् | यदि दलितहरूले दलनबाट मुक्ति नै चाहन्छन् भने लालीपपका रुपमा भिराइएको विदेशी धर्म त्यागेर तुरुन्त हिन्दूहरू\संग सहकार्य गर्नुपर्छ | चोक्टा खान गएकी बूढी झोलमा डुवेर मरिन् भन्ने उखान प्रमाणित हुनुपूर्व नै दलितहरू आफ्नो मूलधारको धर्ममा फर्किनु पर्छ | हिन्दू समुदाय तिनको स्वागत गर्न तम्तयार छ भने राज्यले क्षतिपूर्तिको ब्यबस्था गरेकोले क्रमशः सतिप्रथा, कमारो प्रथा अन्त्य भएझैँ यो प्रथा पनि अन्त्य हुनेनै छ | ‘जातीय आधारमा कुनै प्रकारको भेदभाव दण्डनीय हुनेछ’ भन्ने शब्द लेखेर हामी नेपालीहरूले जातीय छुवाछूत प्रथाको चिहान खनिसकेका छौँ |
अन्त्यमा, समग्र नेपाली समाज नै छुवाछूतको कलंक सधैका लागि समाप्त पार्न संकल्पसहित र संघर्षरत छ भने धर्मपरिवर्तन गरेर सामाजिक उत्थान मिल्छ भन्नेजस्ता झूटो प्रचारमा किन विश्वास गर्ने ? सामाजिक उत्पीडनबाट मुक्तिका लागि धर्मपरिवर्तन गर्नुपर्छ भनेर प्रोत्साहन दिनेहरू हामी नेपालीका असली शत्रु हुन् | उनीहरू विभेदमुक्त समाजको निर्माणका लागि होइन, सबै संस्कृति र विविधतालाई निल्ने ‘सर्वभक्षी’ इसाइमतको स्थापनाका लागि समर्पित तत्व हुन् | हामीले सोच्नुपर्छ : नेपालमा प्रचलित रैथाने धर्म, संस्कृति, रीतिरिवाज नै नरहे कस्तो नेपाल रहला ? संस्कृतिको नाममा छुवाछूतलाई जायज ठहराउनेहरूलाई अवको समाजले बहिस्कार गर्ने छ र कानुनले दण्डित गर्ने छ | हामीले स्पस्ट संदेश दिनुपर्छ – हामी आफ्ना समस्याहरू आफै समाधान गर्न सक्षम छौँ | अवको बीस वर्षभित्र ‘दलित’को अवधारणा इतिहासको कितावमा मात्र जीवित रहने छ | अहिलेका एनजिओ/आइएनजिओले ‘दलित’ शब्दलाई संबैधानिक रुपमै संस्थागत गराएर हाम्रा ‘अंशियार बंशियार’ समुदायलाई ‘अछूत’को आधुनिक तक्मा भिराउनसफल भए, दलित पहिचान होइन अवस्था हो | सांस्कृतिक अन्यायबाट बाहिर निस्किरहेको यो समुदायलाई भड्खालोमा जाक्नेहरूहरू ‘अनन्त आगोमा फ्यालिने छन्’ !
