रक्षा बन्धनको मनोविज्ञान र उपयोगिता
मान्छेको पहिलो आवश्यकता नै उसले सुरक्षित भएको अनुभूति गर्नु हो | प्रसिद्ध मनोबैज्ञानिक मास्लोले पांचबटा मानवीय आवस्यकताको विषयमा वर्णन गर्दै दोस्रो प्राथमिकता क्रममा सुरक्षा-आवस्यकतालाई राखेका छन् | मास्लोले मानवको पहिलो आवश्यकता शारीरिक आवस्यकता पूर्ति, दोस्रोमा सुरक्षा, तेस्रोमा प्रेम-पूर्ति, चौथोमा आत्मविश्वास तथा स्वाभिमान र अन्त्यमा आत्मपूर्णता सम्वन्धि आवस्यकता पूर्तितिर मान्छेहरू लाग्ने निष्कर्ष निकालेका छन् | पाश्चात्य समाजको मनोविज्ञानमा आधारित मास्लोको यो बुझाई आज विश्वब्यापी बनेको छ | मास्लोको उपरोक्त बुझाई नेपाली समाज सापेक्ष छ कि छैन भन्ने विषयमा अध्यापन गर्नु पर्ला तर आज जनैपूर्णिमा तथा रक्षाबन्धनलाई दर्शन तथा मनोविज्ञानको आखाँले अनुभूति गर्दाको बुझाई एस्तो हुन्छ |
आहार, निद्रा भय तथा यौन मान्छेको लागि मात्र होइन समस्त प्राणीहरूका मौलिक आवस्यकता हुन् | जिउन तथा स्वास्थ्य रहन आहारको आवश्यकता पर्छ | शारीरिक तथा मानसिक स्फूर्तिका लागि निद्रा अनिवार्य हुन्छ | डरले आत्म रक्षा गर्न प्रेरित गर्छ भने यौनिकतालेले आफ्नो बंश विस्तार गर्छ | मान्छे र पशुजगतबिच यी चारबटा विषयमा समानता छ र रहिरहने छ | मास्लोले भन्दा हजारौं वर्ष प्राचीन वैदिक ऋषिहरूले (आहारनिद्राभय मैथुन च समानमेतत् पशुभि: नाराणामम्) यो तत्थ्यलाई उजागर गरिसकेका थिए | तर मास्लोले मान्छेलाई केवल ‘भौतिक प्राणीका रुपमा बुझ्ने प्रयत्न गरे जुन फ्राइडको प्रभव हो |
रक्षाबन्धनको पर्व सुरक्षा, आत्मसम्मान तथा पहिचानसंग जोडिएको छ | एउटा समुह वा व्यक्तिको व्यक्तित्व उसको पहिचानमा आधारित हुन्छ | प्राचीनकालदेखि नै मान्छेले व्यक्तिगत रूपमा होस् अथवा समुहगतरूपमा आफ्नो पहिचान स्थापित गर्ने प्रयत्नशील छ | पहिचानको उत्साह र चाहनाले मान्छेमा एकप्रकारको अभिप्रेरणा प्राप्त हुन्छ | यो अभिप्रेरणा विकासको मूलाधार हो | जनैपूर्णिमा पहिचानको पर्व हो | जनैले आफ्नो जाति, धर्म, संस्कार तथा संस्कृतिको प्रतिनिधित्व गर्छ | एउटा जाति-सांस्कृतिक समुहको अंगका रूपमा मान्छेले आफ्नो परिचय प्राप्त गर्छ | एस्तो परिचयले उसमा बल. तेज तथा समग्र जीवन दिन्छ |
बिहानै उठेर स्नान गर्नु सनातन धर्मको एउटा अंग हो | स्नानपछि सन्ध्याबन्दन तथा पंचागपूजन आध्यात्मिक साधनाका अंग हुन् | सन्ध्याबन्दनको सम्वन्ध ब्रतबन्ध अर्थात् जनैसंग छ | ब्रतबन्धको अर्थ ‘वेदोक्त जीवन शैली’मा चल्ने प्रतिज्ञा हो | ब्रतबन्धपछि बालबालिकाले धार्मिकतामा अधिकार प्राप्त गर्छन् | जनैपूर्णिमाका दिन जनै धारण गर्ने समुदायले आफ्नो ‘ब्रतबन्ध’लाई उत्सवका रूपमा लिन्छन् र पुन: विधिपूर्वक मन्त्रहरूले अभिमंत्रित गरेर जनै धारण गर्छन् | यो आत्मसम्मान र परिचयको यात्रालाई निरन्तरता दिने सामुहिक प्रतिबद्धता हो |
‘यज्ञबाट पवित्र भएको तथा प्रजापतिद्वारा धारण गरिएको यो जनैले मभित्र रहेका अशुभहरूको नाश गर्नेछ र मभित्र बल तथा तेजको स्थापना गर्नेछ ‘भन्दै धारण गरिने अभिमंत्रित जनैको शरीरमा उपस्थितिले धारणकर्ताको मनमा निश्चय नै सकारात्मक सोचको विकास गर्छ | यज्ञक्रियाकलापहरूले विश्वासको सृजना गर्छन् भने शरीरमा जनैको उपस्थितिले मन्त्रशक्तिले आफ्नो शरीरमा निवास गरेको ‘विश्वास’ले मानसिक सवलता मिल्छ |
जनैपूर्णिमाको दोस्रो महत्वपूर्ण कर्म भनेको रक्षाबन्धन हो | स्थान र परिवेशअनुसार रक्षाबन्धनका फरक शैली छन् | नेपालका पहाडी समुदायहरूमा ब्राह्मणहरूले अभिमंत्रित धागो बाधिदिने चलन छ भने तराई तथा भारतीय समुदायहरूमा दिदीबहिनीले दाजुभाईका हातमा रक्षाबन्धन बाध्ने चलन छ | आशीर्वाद दिने मन्त्र तथा रक्षा बन्धनको उदेश्यमा भने केही फरक छैन |
मैले भनि सकें कि अब्रहम मास्लोले दोस्रो आवश्यतामा ‘सुरक्षा’को चिन्ता गरेका छन् | मन्त्रद्वारा अभिमन्त्रित धागो दाहिनेहात (पुरुषले दाहिने हातमा र महिलाले देब्रेहातमा) मा बाँध्नुको उदेश्य नै आत्मरक्षा हो | मान्छे केवल भौतिकप्राणी मात्र होइन | बौद्धिकता तथा संवेगात्मकता उसको आफ्नो मौलिकता हो | विश्वास होस् अथवा अन्धविश्वास मान्छे आफ्नो विश्वासमा बाँचेको हुन्छ | आध्यात्मिक क्रियाकलाप तथा सन्दर्भले मान्छेमा जीवनप्रति सकारात्मकता विस्तार गर्छ नै | आजको मनोविज्ञानले यो तत्थ्यलाई अस्वीकार गर्दैन |
मलाई, लाग्छ मान्छेलाई केवल भौतिक सुरक्षा भएर मात्रै पुग्दैन | उसले आध्यात्मिक, आधिदैविक सुरक्षा पनि खोजेको हुन्छ | आध्यात्मिक विश्वासले आत्मविश्वास सृजित गर्छ भने आधिदैविक क्रियाकलाप (यज्ञ, पूजाआदि)ले मानसिकरूपमा विश्वास सृजित गर्छन् | विभिन्न वैदिक मन्त्रहरूले अभिमन्त्रित गरिको रक्षाधागो हातमा बाँधेपछि ‘म सुरक्षित छु’ भन्ने सकारात्मक सोचको विकास हुन्छ नै | दोस्रो कुरा, यो केवल धागो मात्रै होइन, आफु हुर्केको समाजको सांस्कृतिक अभ्यास पनि हो जसले त्यस समाजसंग आफ्नो ‘पहिचान’लाई अझै प्रगाढ पर्छ |
‘जुन प्रेममय शक्तिले शक्तिसाली राजा बली बाँधिए, त्यही प्रेममय शक्ति प्रयोग गरेर मैले तपाईंको लागि अचल रक्षा बन्धन गर्दछु’ भन्दै पुरोहितले होस् अथवा दिदीबहिनीले हातमा धागो वाधिदिन्छन् | एस्तो प्रेममय सम्बन्धको मनोविज्ञान संसारमा विरलै पाइन्छ | राजबलीले विष्णुलाई आफ्नो द्वारे बनाएका थिए | विष्णुले आफ्नो परिचय गुमाएर द्वारे बनेको उनकी पत्नी लक्ष्मीलाई मन परेन | बहिनी बनेर बलीको दरवारमा पुगिन् | धागो बाँधेर दक्षिणामा विष्णुलाई मागिन् | वलीले खुसीखुसी विष्णुलाई दिए तर लक्ष्मीले विष्णुसंग आजीवन बलिको रक्षा गर्ने वाचा गराईन् | दिदीबहिनी, आफन्त तथा समाजको प्रेमको बन्धनले व्यक्तिलाई जति आत्मबल मिल्छ, यो कुरा मनोबैज्ञानिकले राम्रै बुझेका छन् |
दार्शनिकरूपमा रक्षा बन्धनले पारिवारिक एकत्वको प्रेरणा प्रदान गर्छ भने भौतिकरूपमा व्यक्तिले आफु सुरक्षित रहेको अनुभूति गर्छ | शारीरिक आवश्यकताले शारिरको सुरक्षा माग्छ, मनको आवश्यकताले मनको शान्ति तथा रमाइलो माग्छ, बुद्धिको आवश्यकताले तार्किकता तथा जीवन सम्वन्धि समस्याहरू सुल्झिएकोमा सन्तोष प्राप्त गर्छ भने आत्मिकस्तरमा अनेकतामा एकता, पूर्णता, आनन्दको अनुभूतिमा पूर्णता प्राप्त हुन्छ | रक्षाबन्धनको पवित्र पर्वले मास्लोका शारीरिकदेखि आत्मिक आवश्यकताहरूको पूर्ण गर्छ | क्वाटीको तरकारी तथा स्नानले शारीरिक आवश्यकतालाई सम्वोधन गर्छ भने दोस्रो स्तरमा धागोको बन्धनले आत्मसुरक्षाको अनुभूति दिन्छ | तेस्रोस्तरमा दिदीबहिनी तथा संस्कारको प्रेमको आदानप्रदान हुन्छ भने चौथो, रक्षित अवस्थामा आत्मविश्वास, आत्मसम्मानको संचार प्राकृतिक हुन्छ | अन्तत: पाचौं, पूर्णता वा सन्तोषको स्तरमा धार्मिक कृत्य सम्पादन गरेको आत्मिक अनुभूतिले आनन्द, सन्तोष तथा सद्भावको जागृत हुन्छ | पन्चकोशको मनोविज्ञान, गुणहरूको मनोविज्ञान तथा वर्णहरूको मानसिक सन्तोष पनि यहीं स्थापित हुन्छ |
हरेक व्यक्ति प्रेम र सद्भावको भोको हुन्छ | रक्षाबन्धनको पर्वले व्यक्तिलाई प्रेमको बन्धनमा बाँधेर सुरक्षित हुने मनोवैज्ञानिक प्रेरणा प्रदान गर्छ | साथै, यो पवित्र धागोले एउटा व्यक्तिलाई आफ्नो धर्म-संस्कृतिमा अडिग रहन, आफ्नो जरोकिलोप्रति आस्थावान् रहन, आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिन तथा संस्कृतिहरूलाई पुस्तान्तरण गर्ने बचनबद्धता गर्छ | ऋषिमुनिहरूले स्थापित गरेका यी परम्परा जोगाउनु भनेको हाम्रो आफ्नो पहिचान, महत्व तथा मौलिकता जोगाउनु हो | यिनै मौलिकताहरूकामा हाम्रो पहिचान र अस्तित्व पनि लुकेको हुँदा, हामीले आफ्नो परम्परालाई आत्माको गहिराईदेखि नै अनुसरण गर्नुपर्छ |
हामीले आफ्ना चाडवाडहरूको महत्व बुझेर रहरले मनाउनु पर्छ | हाम्रा चाडवाडहरू जीवनसंग जोडिएका छन् | तिनको मानसिक तथा सामाजिक महत्व छ | संचार मध्यमहरूले पनि आंशिक समाचार बनाउन हुँदैन | तागो बाध्ने, ऋषिहरूलाई धन्यवाद दिने तथा जनै फेर्ने यो पर्वले हाम्रो पहिचानको सार्वभौमिक सन्दर्भलाई ब्यापक बनाएको छ | एस्ता महत्वपूर्ण चाडवाडपर्वहरू सृजना गरेर परिवार, समाज तथा राष्ट्रियताको सम्वन्धलाई प्रेमपूर्ण बन्धनमा बाँधिन प्रेरित गर्ने सनातन हिन्दू संस्कृतिका पुरोधा तथा जरोकिलो ‘‘ऋषिमुनि’हरूका चरणमा सादर नमन |
