छुवाछुत मुक्तिको लागि ब्राह्मणहरूले यसरी पहल गर्नुपर्छ
हिन्दू समाजको जातीय ब्यबस्था निकै जटिल छ | वेदहरूमा वर्णाश्रमको स्पस्ट ब्यबस्था छ | वेदहरूले ठूलो र सानो अर्थात् छुवाछुतयुक्त सामाजिक संरचनाका विषयमा स्पस्ट बोलेका छैनन् | उपनिषदहरूमा विरोधाभाष छ | समस्त संसार नै ब्रह्म हो भनेर उद्घोष गरिरहंदा यहीं भित्रका केही मानवजातिहरू किन छूत भए ? यसको जवाफ छैन |
वर्णाश्रम ब्यबस्था अन्तर्गत छुवाछुतको अवधारणा हिन्दू संस्कृति भित्र छ | छुवाछुतको अवधारणा र प्रचलन हिन्दू-समाजमा मात्र छ भन्नु गलत हो | गोरा र कालाविच, सीया र सुन्नीहरूविच, क्याथोलिक तथा प्रोस्टेस्टेन्टहरूविच पनि छुवाछुतको सम्वन्ध आज पनि विद्यमान छ |
हरेक समाजले आफ्नो समाजमा विद्यमान समस्या देख्ने, भोग्ने र बुझ्ने हो | दलितहरूका सवालहरू पनि यसै बुझाईसंग गाँसिएका छन् | उनीहरूको चित्त दुख्ने विषय नै ‘छुवाछुत’ हो | मलाई लाग्छ, छुवाछुतको सामाजिक प्रचलन समाप्त हुने हो भने दमै, कामी, सार्की, पोडेआदि थरहरू पनि सहज हुनेछन् | समस्या माथिल्लो र तल्लो जातको विचारसंग सम्बन्धित छ |
दलित समाज दुई अतिवादी विचारहरूको विचमा पिल्सिएको छ | एउटा हिन्दू सामाजिक तथा सांस्कृतिक संरचनाभित्रै रहेर समस्याको समाधान हुनुपर्छ भन्ने मान्यता राख्छ | अर्कोले, हिन्दू सामाजिक तथा सांस्कृतिक संरचना ध्वस्त नभएसम्म छुवाछुत मुक्त समाज बन्दैन भन्छ | पहिलो वर्गको बुझाई आफ्नै सामाजिक तथा सांस्कृतिक संरचानामा आधारित छ | दोस्रो, पश्चिमेली इसाई-मुस्लिम एकेश्वरवादमा आधारित छ |
हिन्दू सामाजिक तथा सांस्कृतिक ब्यबस्था अन्तर्गत छुवाछुतको अन्त्य हुनुपर्छ भन्नेहरू आफैं सांस्कृतिकरूपमा भेदभाव युक्त सामाजिक संरचनाको पकडबाट मुक्त भैसकेका छैन | केही उन्मुक्तिको विरोध गर्छन्, केही आफुलाई तटस्थ राख्छन् र केही सच्च्चिकै उन्मुक्तिको पक्षमा ब्यबहारत: काम गर्छन् | तर हजारौं वर्षको सांस्कृतिक संरचनामा परिवर्तन गर्न त्यति सजिलो छैन | भारत र नेपालमा छुवाछुत उन्मुक्त सामाजिक संरचनाका लागि संविधानत: ब्यबस्था गरिएको छ | यसबाट पहिलो वर्ग छुवाछुत मुक्त सामाजिक संरचनातिर उन्मुख छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ |
दोस्रो वर्ग, हिन्दू विरोधी वर्ग हो | यो वर्गको मूल उद्देश्य नै हिन्दू सांस्कृतिक तथा सामाजिक संरचना ध्वस्त पारेमात्र इसाई वा मुस्लिम संस्कृतिको विकास हुन्छ भन्ने बुझेको छ | उनीहरूमा रहेको दलित सहानुभूति एउटा दलाली मात्र हो | उच्चजातका व्यक्तिहरूले धर्मपरिवर्तन गरेर इसाई वा मुस्लिम वन्दा उनीहरू खुसी हुन्छन् | एउटा बाहुनबाट धर्म परिवर्तन गरेको व्यक्तिलाई दलितहरूविच पठाएर ‘ठूलो जातको मानिस पनि इसाई बन्यो, अव तपाईंहरू पनि इसाई बन्नुस्’ भन्ने मन्त्र दिन्छन् |
धर्मपरिवर्तन गरेर दलितहरूको सामाजिकीकरणमा कुनै मदत मिल्दैन | यसले झन् आफन्त र छिमेकीहरूसंग द्वन्द निम्त्याउँछ | छुवाछुतको मौखिक विरोध गर्ने तर ब्यबहारत: सामाजिक संरचनामा दलित तथा गैरदलितवादलाई स्वीकार गर्ने (राजनैतिक पण्डित, दल, व्यक्ति) पनि पाखण्डी नै हुन् | आधुनिकीकरणमा एस्तो मानसिक चिन्तनले दलित तथा गैरदलितवादलाई अझै बलियो बनाउँछ |
मलाई लाग्छ, दलितवर्गहरू छुवाछुत उन्मुक्तिको लागि आफ्नै सांस्कृतिक जातिवाद विरुद्ध आफ्नै समाजमा रहेर संघर्ष गर्नुपर्छ | यसका लागि दलितहरूले विगत १०० वर्षभित्र दलित र गैरदलितविच आएका ब्यबहारिक परिवर्तनहरूको मूल्यांकन गर्नुपर्छ | उदाहरणका लागि वि.स. २०२१ सालमा छुवाछुतरहित संविधान घोषणा गर्दा छुवाछुतवादीहरूले कुनै नाराजुलुस गरेनन् | भित्रभित्र असन्तुष्टि भने प्रकट गरे नै होलान् | तर त्यही अवधिमा दक्षिण अफ्रीकामा गोराहरूले कालाहरू विरुद्ध गरेको जातीय दमन उदेक लाग्दो छ | हाम्रो, सामाजिक अनुभवले भन्छ, हिन्दू समाजबाट क्रमशः छुवाछुतवादी चिन्तन कमजोर हुँदैछ |
आज हिन्दू समाजको कुनै पनि व्यक्तिले छुवाछुतवादी चिन्तन उपयुक्त छ भनेर खुलारूपमा बहस गर्न सक्दैन र गर्दैन पनि | यद्यपि छुवाछुतवाद पनि हिन्दू-संस्कृतिक जीवनको एउटा खम्वा नै हो | यसले हिन्दूहरू परिवर्तनशील र प्रगतिशील छन् भन्ने प्रमाणित गर्छ | धार्मिक सवालमा सबैभन्दा प्रगतिशील नै हिन्दू समाज छ भन्ने कुराको यो भन्दा बलियो प्रमाण संसारमा कुनै छैन |
विभिन्न सम्प्रदायमा विभाजित मुस्लिम समुदायहरूको एकआपसी द्वन्द तथा अस्वीकार्यताले आजको विश्व अस्थिर बनिरहेको छ | सामान धार्मिक आस्था र सांस्कृतिक जीवन भएका व्यक्तिहरूले एकअर्कालाई घृणित तवरले हत्या गरिरहेका छन् | इसाईहरूले प्रत्यक्ष हिंसा त गर्दैनन् तर उनीहरूका सम्प्रदायहरूविचको घृणा र अस्वीकार जगजाहेर छ | हिन्दू समाजभित्र इसाई वा मुस्लिम समाजको विस्तारले यी धार्मिक समूहविचको एकआपसी अस्वीकार्यता र कुरान-बाइबल नमान्ने समाजप्रतिको तिनको घृणित ब्यबहारले दलितहरूलाई अझै कठिनाइमा पार्नेछ |
वहुलतावादी नेपाली धार्मिक तथा सामाजिक संरचनाभित्र सबै धर्म, संस्कृति तथा परम्पराहरू स्वीकार्य छन् | इसाई-मुस्लिम धार्मिक तथा सांस्कृतिक संरचनामा बहुलता अस्वीकार्य हुन्छ | एकात्मकतावादी सम्प्रदायहरूको विस्तारसंगै नेपालको राष्ट्रियता मात्र कमजोर हुँदैन साथै यहाँको बहुलतावादी सामाजिक संस्कृतिको पनि नाश हुन्छ | दलित तथा गैरदलितहरूले एकजुट भएर एकात्मवादीहरूको विस्तार रोक्ने योजना तय गर्नुपर्छ |
तर आर्थिक तथा राजनैतिक दलालीको भुमरीमा भासिएको हाम्रो मानसिकताले उपरोक्त प्रस्तावलाई स्वीकार्न र कार्यन्वयन गर्न निकै कठीन छ | खासगरी, जातिवादले पिल्सिएका दलितहरू र प्रोजेक्ट मनि (दलाली)को लोभमा आफ्नै सामाजिक तथा धार्मिक मान्यताहरूलाई वदनाम गराउने उपल्लो तथा गैरछूतवर्गका स्वयम्भू विज्ञहरूका लागि उपरोक्त प्रस्ताव हितकर छैन | दलितहरू पिडित वर्ग हुन्, उनीहरूले जहाँ सजिलो, आफ्नोपन अनुभव गर्छन्, विचार गर्नका लागि जान्छन् र त्यहीं भासिन्छन् | दोस्रो दलालवर्ग हो, उसले आफ्नो व्यक्तिगत स्वार्थ बाहेक केही देख्दैन | यसको काम सधैंका लागि ‘नेगेटिभ रिपोर्ट’ पठाउने र पैसा कमाउने हो | राजनैतिज्ञहरूले भोटको लागि मात्र काम गर्छन् | नेपालका राजनीतिज्ञहरूलाई ‘झूट बोल्नका लागि सरकारले क्रिएट गरेको दरवन्दीमा काम गर्ने कारिन्दा’का रूपमा बुझ्दा हुन्छ | दलित, शब्द, समुदाय र तिनको दुख, पीडा तथा भोगाई फगत एउटा ‘भोट’ मात्र हो |
खासगरी, छुवाछुतवादी ब्यबहारका लागि सबैभन्दा बढी आरोप लाग्ने बाहुनवर्ग हो | इसाई, मुस्लिम तथा वर्णाश्रमसंग कुनै सरोकार नै नभएका नेपाली र विदेशीहरूले एकमुस्तरूपमा बाहुनलाई दोष दिन्छ | यी सबैको लागि बाहुन एउटा दुष्ट, निर्मम, लोभी, तथा दमनकारी शैतान हो | सबै समस्याहरूको जड नै बाहुन हो | बाहुनमुक्त समाज नै तिनको अन्तिम गन्तब्य हो | यस अर्थमा, दलितमुक्तिको सवालमा नेपालभरीका बाहुनहरू (पुरोहितवर्ग)को साझा घोषणा पत्र आउनु जरूरी छ | नेपालभरीका बाहुनले साझा घोषणा गर्नुपर्छ : “हामी दलितजातिको घरमा पनि कर्मकाण्ड गर्छौं, चुलोचौको गर्छौं |’’ साझारुपमा एत्ति घोषणा गर्दा साथ, बाहुनहरू विरुद्ध ‘शैतान’को उपनाम सधैंका लागि समाप्त हुन्छ |
आफ्नो देश, संस्कृति, धर्म तथा संस्कारहरूलाई माया गर्ने दलित, गैरदलितका लागि माथिल्ला प्रस्तावहरू अस्वीकार्य हुनुपर्ने कुनै कारण छैन | नेपालको ‘जरोकिलो’ मेटाएर विदेशीहरूलाई दिने मानसिकता बोकेकाहरूले यो प्रस्ताव ठाडै अस्वीकार गर्नेछन् | आफ्नो जरोकिलो वरिपरी घुम्न, बुझ्न तथा संघर्ष गर्न जति सजिलो हुन्छ, विदेशी धर्म-संस्कृतिमा हुँदैन | हाम्रो आन्तरिक शत्रु छुवाछुतवाद हो र बाह्य तर साझा शत्रु इसाई-मुसाई संस्कृति हो | पहिलो हाम्रो संघर्ष दलित उन्मुक्तिको लागि हुनुपर्छ | यसले हाम्रो जरोकिलो बलियो हुन्छ र हामी विदशी आक्रान्ताहरूको डटेर सामना गर्न सक्छौं |
अन्त्यमा, भारतवर्षीय धर्म, संस्कृति तथा आस्थाहरूलाई जोगाउने काम केवल क्षत्रीको मात्रै हुनुपर्छ भन्ने हाम्रो सोच तथा संरचना हाम्रो लागि विगतमा त्रासदी र दासत्वपूर्ण रह्यौं | ब्राह्मण एउटा पेशा हो भने यो पेशामा हरेक नेपालीले समानरूपमा अवसर प्राप्त गर्नुपर्छ, क्षत्री एउटा पेशा हो भने लडाकु बन्ने अवसरमा सबैको पहुच हुनुपर्छ, वैश्य एउटा पेशा हो भने हरेक नेपालीले आफ्नो रूचिअनुसार ब्यापार गर्न पाउनुपर्छ, सूद्र एउटा पेशा हो भने नोकरी गर्ने अधिकारको चयन गर्न हरेक जाति स्वत्रन्त्र हुनुपर्छ | यदि यो पेशा होइन भने अव यसको आवश्यता समाजलाई छैन भनेर घोषणा हुनुपर्छ | जाति तथा थर मुक्त समाजतिर उन्मुख हुनुपर्छ | कुनै पनि पेशा बाध्यता नभएर रहर हुनुपर्छ |
