शान्ति कि युद्ध !
अहिलेका मानिसहरू जतिचर्को स्वरमा शान्ति, सहिष्णुता तथा सद्भावको कुरा गरिरहेका छन् त्यसभन्दा हजारौं गुणा तीब्रगतिमा एकआपसी युद्धको विस्तारमा क्रियाशील छ | शान्ति र युद्धको गतिमा युद्धले विजय प्राप्त गरिरहेको छ | शान्तिको चाहना भन्दा युद्धको विस्तार तीब्रतर रुपमा हुँदैन |
हामीले अव एकता, सहअस्तित्व तथा मानवताको वर्तमान परिभाषामा विचार गर्ने पर्छ | वैश्विकस्तरमा बढी रहेको अशान्ति तथा युद्धहरूले राजनैतिक, धार्मिक तथा सामाजिकरूपमा मानवतावादको लागि प्रयोग गरिने मानकहरू असफल भएका हुन् | असफल परिभाषा तथा असफल प्रयोगले सफल तथा सहिष्णु मानव समाजको निर्माण गर्न सक्दैन | अहिले यही भएको हो |
गुगलको शब्द भण्डारमा peace (शान्ति) शब्द ८ करोड ७९ लाख छन् भने war (युद्ध) शब्द दुई अर्व ५० करोड छन् | युद्ध र शान्तिकोविचको एत्रो ठूलो खाडल हतियार उत्पादक पश्चिमा विचारकहरूले तयार पारेको शान्ति सम्वन्धि अवधारणाले पूर्न सक्ने कुनै सम्भावना देख्दिन | उनीहरूको शक्ति शान्तिको लागि होइन भन्ने स्पस्ट छ | यो व्यक्तिको कुरा होइन दर्शनको विषय हो |
सन् १८ रौँ शताब्दिपछि मानिसले ब्यबहारिक रूपमा होइन शाब्दिक रूपमा पनि शान्ति, सहअस्तित्व, सद्भाव, सहृद्यताका सवालमा कुनै प्रगति गरेको छैन | दूईवटा विश्वयुद्धपछिका शान्तिका प्रयत्नहरू असफल भएकै हुन् भन्ने यो भन्दा ठूलो प्रमाण केही हुन सक्दैन | शान्ति र सहअस्तित्वको अवधारणामा मान्छेलाई सजिलैसंग झुक्याएर व्यापार गर्नका लागि राष्ट्रसंघको मंचले केवल सजिलो बनाएको मात्र छ | मलाई लाग्छ, यो अच्काली आलोचना पटक्कै होइन |
सन् १९१६ पछि दिगो शान्तिका सवालमा जति पश्चिमाहरूले अवधारणा प्रस्तुत गरेका छन्, त्यति कसैले गरेका छैनन् किनभने प्रथम र दोस्रो युद्ध पनि पश्चिमाहरूबाट नै थालनी भएको हो | अशान्तिको थालनी गर्नेले शान्तिको विकास गर्न सक्दैनन् | पश्चिमा चिन्तनले दिगो शान्तिको चाहना पूर्ण हुँदैन | हतियार उत्पादन र शान्तिकाविच कुनै पनि प्रकारको सम्वन्ध छैन |
मान्छे र मान्छेकाविचको लडाई प्राकृतिक विषय हो | प्राकृतिक लडाईमा अप्राकृतिक शक्तिको उत्पादन र प्रयोग गर्न पश्चिमाहरूले आरम्भ गरेका हुन् | बन्दूक, बम, अणुवमहरूका प्रारम्भिक उत्पादक नेपाल, चीन, भारत, जापान वा अन्य पूर्वेली मुलुक पटक्कै होइनन् | लाजमर्दो मर्दो कुरा के हो भने “सशस्त्र सैनिक तथा वारुदहरूको प्रयोग गरेर मात्र दिगोशान्ति स्थापना हुन्छ” भन्ने मूर्खतापूर्ण मान्यतालाई विश्वभरी स्थापित गर्ने मोडालिटी पनि पश्चिमाहरू कै हो |
मैले वारम्वार पश्चिमा शब्दको प्रयोग जानेर, बुझेर र सोचेर गरेको छु | मेरो यो पश्चिमा शब्दको प्रयोग “हतियार उत्पादन, विस्तारवादी योजना, एकेश्वरवादी चिन्तन तथा प्राकृतिक दोहनका लागि बनाउने योजनाहरू नै विकास हुन्” भन्ने बौद्धिकतासंग सम्वन्धित छ | एकेश्वरवादी चिन्तनले विश्वका अन्य सभ्यताहरूलाई सहन्न | हतियार उत्पादन गरेर आर्थिक विकास गर्नेको लागि शान्तिको विचार ओठे नै हुन्छ | ब्यापारको विस्तार होस् वा राष्ट्रको विस्तार दूबैको मुख्य प्रयोजन शक्ति संचय नै हो | शक्तिशालीले आफ्नो बाहेक अरूको कल्याण चाहन्न र उसको एउटा मात्र ध्याउन्न हुन्छ संसारभरिका प्राकृतिक संसाधनमा नियन्त्रण गर | यस अर्थमा, पश्चिमवाद आज राष्ट्र-राष्ट्रहरूमा मात्र होइन, स-साना गुटहरू र व्यक्तिहरूमा समेत विस्तारित भएको छ | अनि, गुगलमा तीन अर्व “युद्ध” शब्दको भण्डार हुनु अचम्म रहन्न |
“वेदमा दिगो शान्तिको बैचारिक प्रारूप”बाट
