विज्ञानको पुनरावलोकन
विज्ञानप्रति मान्छेको अन्धविश्वास बढ्दो छ | हामीले बुझेको विज्ञान हाम्रो सुखसुविधा र स्वास्थ्यसंग सम्वन्धित छ | हवाईजहाजआदि बनेपछि आवतजावत गर्न सजिलो भएको छ | औषधि विज्ञानको विकासले मान्छेहरूको आयु र स्वास्थ्य राम्रो भएको छ | इन्टरनेटको विकासले विश्वका ज्ञानहरू मोबाइल सेटमा अटाएको छ | हामीले बुझेको विज्ञानले हाम्रा दैनिक समस्याहरू समाधान गर्न मदत गरेको छ | त्यसैले विज्ञानप्रति हाम्रो अन्धश्रद्धा बढिरहेको छ |
हामीले विर्सेको कुरा अर्कै छ : विज्ञानमा माया, करुणा, सहृद्यता, मानवता, सहअस्तित्वजस्ता मानवीय विषय हुँदैनन् | विज्ञान विवेकी हुँदैन | वर्तमानको बैज्ञानिक विकासले मान्छेलाई सजिलो त बनाएको छ तर यो सुविधाको लागि मान्छेले आफ्नो अस्तित्वलाई विज्ञानको हातमा थुन्नु परेको छ | लाखौंलाख टन बमको थुप्रोमाथि निर्मित सुविधापूर्ण घरमा सुखसामाग्री थपेर मान्छेले आफ्नो मृत्यु कुरिरहेका रहेको छ |
अहिलेको विज्ञानमा मान्छेमात्र होइन कुनै पनि प्राणीको जीवन सुरक्षित छैन | तर यो सत्य स्वीकार गर्ने छन्द र साहस विरलै भएको छ | यदि जीवन तथा प्राकृतिक विश्व नै विज्ञानको मूल्य हो भने आधुनिक बैज्ञानिक विकासको कुनै आवश्यकता छैन | विवेकहीन विज्ञान भन्दा मूर्खतापूर्ण जीवन धेरै महत्वपूर्ण हुन्छ | आफ्नो सुरक्षाका लागि अर्काको जीवन असुरक्षित पार्ने बैज्ञानिक विकासको अव पुनरावलोकन वा पुनपरिभाषा हुनैपर्छ | बैज्ञानिक विकासको मानक परिवर्तित हुनैपर्छ |
वेदले भन्छ, आत्म अर्थात् अहङ्कारका विषयमा आफ्नो र अरूको विचार सुन, त्यसका स्वार्थका विषयमा निधिध्यासन अर्थात् मनन गर | आत्मस्वार्थ केन्द्रीत चिन्तनप्रणालीमा परिवर्तन गरेर मात्र विज्ञानको परिभाषा परिवर्तन हुन्छ | ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ – बालकृष्ण समले पनि विज्ञानको आधुनिक परिभाषा वदल्न सोच बनाएकै हुन् |
मान्छे निस्वार्थी हुन सक्दैन तर आधुनिक विज्ञानको विकासले मान्छेलाई स्वार्थहरूको घनिभूत प्रतिमा बनाएको छ | विज्ञानले मान्छेहरूलाई स्वार्थीहरूको समूहमा रुपान्तरित गरेको छ | एस्तो स्वार्थ विज्ञानले आविष्कार गरेका सुखसुविधा उपयोग गर्न र प्राकृतिक साधनहरूमा एकाधिकार जमाउनेसंग सरोकार राख्छ | अमेरिकाका व्यक्तिहरूले विज्ञानको शक्तिका आधारमा स्वार्थपूर्ति गरिरहेका छन् | अमेरिका त एउटा उदाहरणमात्र हो, विज्ञानको शक्ति तथा सुविधा प्राप्त गर्न विश्वको हरेक मानिस मरिहत्ते गरिरहेको छ |
मरिहत्ते गर्ने मानसिकता तथा आत्मकेन्द्रीत सामुहिक सोचनै आधुनिक बैज्ञानिक आविष्कारहरूको अभिशाप हो | अव विज्ञानको परिभाषा साध्यका रूपमा होइन साधनका रुपमा हुनुपर्छ | ज्ञान भन्दा विशिष्ट विज्ञान हुँदैन भन्ने ब्यबहारिक बुझाईले विज्ञानलाई साधनका रुपमा ब्याख्या गर्न सक्छ | असलमा, विज्ञानको विकास हुनु राम्रो हो तर स्वार्थको ब्यबस्थापन नगरी भएको वैज्ञानिक विकास “सबैको लागि” हुनै सक्दैन | आधुनिक बैज्ञानिक, राजनीतिज्ञ तथा धार्मिकहरूले बुझ पचाएको तत्थ्य नै यही हो |
आधुनिक बैज्ञानिकहरूले यदि मान्छेको आत्म केन्द्रीत स्वार्थमा परिवर्तन गर्न सक्दैनन् भने मान्छेलाई विवेकी बनाउने मेसिनको आविस्कारतिर केन्द्रीत हुनुपर्छ | कुनै पनि आमाले बच्चा जन्माउँदा “विवेकी-मेसिन”मा राखेर उसको मस्तिष्कमा “विवेकशीलता” भर्न सकियोस् | यस बाहेक आधुनिक विज्ञानले निम्त्याउन सक्ने त्रासदीबाट जोगिने कुनै उपाय देख्दिन |
