बाहुनको छोरो

बाहुनको छोरो

बाहुनको छोरो

म बाहुनको छोरो | मेरो गाउँमा जातीय हिन्दूहरूको होइन, एउटा सांस्कृतिक हिन्दूहरू बस्थे | म हिन्दू परिवारमा जन्मे, हिन्दूले सिक्नु पर्ने र गर्नु पर्ने क्रियाकलाप सिकें | पण्डितको छोरो भएको नाताले मैले वेद, चण्डी, लघुकौमुदी पनि पढें | मेरो तर यो सबै कुरो मैले कुनै दलित, जनजाती, आदिवासी वा मधेसी जनताका बिरुद्ध प्रयोग गर्न आर्जन गरेको थिइन | अझै भन्ने हो भने मैले आफ्नो सांस्कृतिक शिक्षा प्राप्त गरिरहंदा हिन्दू र गैरहिन्दूको अन्तर पनि थाहा थिएन | दलित तर गैदलितको सीमा रेखा पनि थाहा थिएन | आदिवासी-जनजाति, मुस्लिम वा थारूहरू फरक जात हुन् भन्ने पनि थाहा थिएन | म किन बाहुन भएर जन्मे र अन्य किन अरू जात भएर -मसंग उत्तर छैन |
समय वित्दै गयो, भारत र नेपालमा बगिरहेको हावाले मजस्ता हजारौं र लाखौं जनताहरू ‘जाति’मा वदलिए | मजस्ता सामान्य मान्छेहरू ‘मान्छे’ बनेर बाच्ने अवसरबाट बन्चित गरिए | जातिवाद र घृणावादको भयंकर रोग भारतीय सीमा हुँदै नेपाल भित्रियो | भारतीयहरूले राजनैतिक शक्ति प्राप्त गर्न प्रयोग गर्ने मानसिक रसायनले आज नेपाल आक्रान्त बनेको छ | नेपालीहरूको भाग्यमा घृणा, जातिवाद, आफ्नै सांस्कृतिक जीवनप्रति अनास्था गर्ने रोग निको नै नहुने सल्कियो | रोग सल्काउनेहरू हाँसिरहेका छन्, रोग लाग्नेहरू रोइरहेका छन् |
अहिलेको डा. धर्मनिरपेक्षहरूले भित्र्याएको ‘जातीय घृणावाद’को रापले मजस्ता निरपेक्ष व्यक्तिहरू पनि प्रभावित गर्न थालेको छ | आफ्नै छिमेकिले आफुलाई ‘देशमारा बाहुन’ भनेर सुन्ने क्षमता ह्रास हुँदै गएको छ | मेरो प्राकृतिक बाहुन मरेर मभित्र नै अराजक, जातीय, निष्ठुरी बाहुन जन्मिने डरले म आक्रान्त बन्न थालेको छु | मेरो बिग्रिएको मनलाई मैले कहिलेसम्म थाम्न सक्छु – भन्न सक्ने अवस्था र ब्यबस्था रहेन |
आज रक्षा बन्धनको पर्व हो | धेरै नेपालीहरू यसलाई जनैपुर्णिमाको पर्व भनेर मान्छन् | रक्षा सबैको साझा चाहना र संस्कृति हो | मन्त्र पढ्दै बाहुनले हातमा धागो बांधिदिन्दा आफु सुरक्षित भएको अनुभब गर्छु | कुनै पनि बाहुनले जाति वा नाक हेरेर धागो बाँधेको मैले देखेको र सुनेको छैन | भारत र तराइमा दिदीबहिनीले राखी बाँधेर दाई-भाईबाट आफ्नो सुरक्षा सुनिश्चित गर्छन् | धागोको कुनै जात हुँदैन | मेरो सांस्कृतिक आस्थाका कारण मैले जनै धारण गर्छु, रक्षाबन्धनमा बांधिन्छु | यो मेरो अधिकार हो, यो मेरो संस्कृति र संस्कारप्रतिको प्रतिबद्धता हो |
म जुन समयमा आमाको पेटबाट बाहिर निस्केर नेपालको भूमिलाई स्पर्श गरें, त्यसबेलासम्म ठूलो र सानोजातका आधारमा जातीय भेदभाव गर्न नपाइने कानुन बनिसकेको थियो | मेरो संविधानमा छुवाछुतको अस्तित्व थिएन | म विद्यालयमा जाँदा सबै जातजाति र नाकवाल संगै बसेर पढेका थियौं | उनीहरू बाहुनलाई ‘काठे’ भन्थे उनीहरूलाई हामी ‘लेडा’ | यो रमाइलोका लागि थियो | मैले धेरैपटक गुरुङको भात खाएको छु, गुरुङहरूले मेरो घरको | हाम्रो आफ्नै गाउँमा दलितहरू नभएको हुँदा, आफ्नै घरमा छुवाछुतको अनुभव देख्नु र भोग्नु परेन | घरबाहिर कहिल्यै पनि सानोठूलो जातीयताको अहंकार मैले सहनु परेन |
दलित र गैरदलितको जातीयतामा सबैभन्दा पिडित वर्ग नै ‘दलित’ हुन् | दलितहरूप्रति गैरदलितहरूको दृष्टिकोण बदलिंदै गर्दा नेपालमा जातीयघृणावाद झाँगिएको छ | यदि यो देशमा सबैभन्दा पिडित वर्ग कुनै छ भने त्यो हो दलित | तर संबैधानिकरूपमा समाप्त गरिएको ‘जातिवाद’ ‘दलित’ पहिचानका रूपमा डलरवादीहरूले स्थापित गर्ने प्रयत्नगरिरहेका छन् | यदि ब्राह्मण, क्षेत्री हुनु जातीयता हो भने दलित हुनु वा मगुराली हुनु पहिचान कसरी हुन सक्छ ? जातीहरू बीच घृणाका बीऊ रोप्नेहरूका लागि उपरोक्त प्रश्नको जवाफ युरोपीयन होटलमा लेखिन्छन् |
नेपालमा एमाओवादीले मार्क्सवादको अचम्मको ब्याख्या गरे | युरोपबाट चाइना हुँदै नेपालमा पसेको माओवादी चिन्तन ‘जातीवाद’मा परिवर्तीत भएको छ | बाइबलको चिन्तन धारामा आफ्ना प्राचीन संस्कृतिहरू गुमाएका ‘बैचारिक अन्धता’ बोकेका युरोपियन गुरूहरूसंग माओवादको फ्युजन हुन्छ | एउटा जातिविशेष विरुद्ध धेरै जातिहरूलाई उचालेर घृणावाद फैलाउन यी सफल हुन्छन् | बाइबलको चिन्तनको पृष्ठभूमिमा अन्धा बनेका र मार्क्सवादको पृष्ठभूमिमा आफ्नो प्राकृतिक आधार गुमाएका समुहहरूको मिलनले नेपालमा जातीयघृणावादको भएको छ | अब यो फैलँदो छ | फैलिंदै गर्दा अवसरवादीहरू तछाड र मछाड गरेर लाभ उठाउन खोज्दैछन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *