gsharan icon

प्रत्ययवादी मार्क्सवाद

प्रत्ययवादी मार्क्सवाद

आज भन्दा २७ सयवर्ष पहिले महात्मा मनुले “भूगोल, सामाजिक र सांस्कृतिक परिवेश र पारिवारिक पृष्ठभूमिका आधारमा व्यक्तिको व्यक्तिगत र सामाजिक चरित्र विकास हुन्छ, सबैले आफ्नो आवश्यकताअनुसार आ-आफ्ना चरित्रको शिक्षा-दीक्षा प्रदान गरूँन्” नेपाली चिन्तनको बहुलतालाई मलजल गरेका थिए | आजको नेपाली समाजका “बुझाईका जराहरूले” तेसैमा टेकेका छन् | तर अहिलेको नेपाली चिन्तन प्रणाली केही उत्तेजित वा दिग्भ्रमित भएको छ, जुन निम्न वुँदाहरूमा मैले बुझ्ने प्रयत्न गरेको छु |
१. पहिलो अतिवादी चिन्तन
विश्वब्यबस्थाको मार्क्सवाद नै अन्तिम बैज्ञानिक ब्याख्या हो र अन्य विश्वका सबै दार्शनिक सिद्धान्तहरूको एसैभित्र ब्याख्या हुन्छ भन्ने पक्षमा विश्वास गर्ने ठूलो जमात छ | यो जमातका लागि मार्क्सवाद निर्विकल्प छ | मार्क्सवादी तत्व चिन्तन, ज्ञानमीमांसा, सौन्दर्य मीमांसा, तर्क, सामाजिक मान्यता र आर्थिक चिन्तनको विकल्प खोज्नेहरू अबूझ हुन् |
२. दोस्रो अतिवादी चिन्तन
वैदिक, जैन, बौद्धजस्ता प्राचीन ऋषिमुनिहरू र तिनका अनुयायीहरूले प्रतिपादन गरेको दार्शनिक चिन्तन नै अन्तिम सत्य हुन् | आध्यात्मिक चिन्तनको अभावमा दार्शनिक चिन्तन अपुरो हुन्छ | अपुरो चिन्तनका आधारमा पूर्णसत्यको साक्षात्कार हुनै सक्दैन | भौतिकवाद साधन हो आध्यात्मवाद साध्य हो | साध्य-चिन्तनका सामु मार्क्सवाद फिका छ |
अहिले नेपाली ज्ञानशास्त्र यी दुई अतिवादका वीचमा रुल्मुलिएको छ | विगत ७० वर्षदेखि राजनैतिक र बैचारिक रूपमा बहुमत स्वीकृत हुँदा पनि मार्क्सवादले नेपालीहरूको दु:ख निवारण गर्न सकेन | एता विगत ३५०० वर्ष लामो नेपालको मौलिक दार्शनिक चिन्तनका आधारमा विकसित भएका वादहरूले पनि नेपाली जनताको दु:ख निवारण गर्न सकेका छैनन् |
३. वर्तमान सङ्कट
अहिले हामी नेपालीको चिन्तन-विश्व एउटा ठूलो ज्ञानमीमांसीय सङ्कटमा परेको देखिन्छ | दु:ख मुक्तिका लागि वैचारिक रूपमा स्वीकार गरिएको मार्क्सवादी चिन्तनको जगमा दुखमुक्तिको प्रयास सफल भएको छैन भने अर्कोतिर नेपालका रैथाने ज्ञानहरू समेत क्रमशः चिन्तनको तहबाट विस्थापित भैरहेको अवस्था छ | न हामीले मार्क्सवादलाई समातेर “माया” कमाउन सकिरहेका छौँ र नेपालका प्राचीन दार्शनिक पद्धतिका आधारमा नवीनतम नेपालको सपना देख्न सकेका छौँ |
४. अस्वीकृतिको सिद्धान्त
अंग्रेजीका नाम चलेका शब्दकोशहरूले मार्क्सवादलाई दर्शनशास्त्र भन्दैनन् भने अर्कोतिर तिनै शब्दकोशहरूले नेपाली चिन्तनलाई “अतिआध्यात्मवाद” भन्दै अवैज्ञानिक मान्छन् | अंग्रेजहरूले मार्क्सवादलाई दर्शन मानेनन् भने नेपाली दर्शनशास्त्रलाई “विज्ञान सम्मत” मान्न अस्वीकार गरे | अंग्रेजहरूले तेही गरे जुन उनीहरूका स्वार्थका लागि अनुकुल थियो | अंग्रेजहरूका लागि मार्क्सवाद र नेपाली दार्शनिक चिन्तन दुवै “अवान्छित” विषय हुन् |
सत्य स्वीकार गर्ने आँट हुनुपर्छ | जसरी यहुदीले इसाईलाई, इसाईले मुस्लिम यी तिनैबटाले एकआपसको अस्तित्व अस्वीकार गर्छन् र साथसाथ यी तिनैबटा धार्मिक मतहरूले विश्वका अन्य धार्मिक मतहरूको अस्तित्वलाई “शैतान” ठान्छन तेसैगरि मार्क्सवाद र डेमोक्रसीले आफुलाई निर्विकल्प ठान्छन् | अस्वीकृतिको सिद्धान्तमा सबैको सहमति छ |
५. स्वीकृतिको सिद्धान्त
नेपालीहरूका लागि मार्क्सवादी चिन्तन “विदेशी” हो | नेपालमा इसाई र मुस्लिम आएर आफ्नो अड्डा जमाएझैं मार्क्सवादले पनि अड्डा जमाएको हो | नेपाली ज्ञान-प्रणालीले वहुलतावादलाई स्वीकार गर्ने हुँदा यहुदी, इसाई र मुस्लिमको अस्त्वित्व स्वीकार गरेकै छ | यदि नेपाली समाजमा “विदेशी मार्क्सवाद” फलिफुलीरहेको छ भने यो नेपालीहरूमा रहेको प्राकृतिक रूपमै अर्काको अस्तित्व स्वीकार गर्ने “स्वीकृति” सिद्धान्त नै हो |
६. प्रत्ययवादी मार्क्सवाद
मैले नेपाली समाजले स्वीकृति दिएको मार्क्सवादलाई “प्रत्ययवादी” भनेको छु | नेपालमा मार्क्सवाद केवल सैद्धान्तिक रूपमा स्वीकार गरिएको छ तेसैले मैले एसलाई प्रत्ययवादी भनेको हुँ | नेपालका मार्क्सवादीहरूले जे-जस्ता तर्क दिए पनि नेपाली मार्क्सवादीहरूका लागि धर्म “अफिम” होइन | पूँजी कमाउनु शोषण होइन | संसदीय प्रणाली “खसीको टाउको बेच्ने ठाउँ होइन | नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाहरू “नष्ट” गरिने विषय होइनन् | “पुरानोको विनाश” नयाँ विकासको जग होइनन् |
७. नेपाली दार्शनिकता
अहिंसावादी बुद्धमा मार्क्सवाद खोज्नु र हिंसावादी मार्क्सवादमा बुद्ध खोज्नु नेपालको बहुलतावादी ज्ञानप्रणालीको सहृदयी उपज हो | नत्र हिंसा र अहिंसाका बीच मिलनको कुनै विन्दू नै भेटिन्न | नेपाली समाजले दैनिक जीवनका समस्या मुक्तिको लागि अर्थ-मार्क्सवादलाई विश्वास गरेको छ भने अन्य सामाजिक, सांस्कृतिक जीवनचर्याका लागि आफ्नै मौलिक हिन्दू, जैन बौद्ध परम्परामा आस्था छोडेको छैन |
अहिलेको नेपाली जीवनशैली “विचारमा मार्क्सवाद” र ब्यबहारमा आफ्नै मौलिक चिन्तन बोकेर अगाडी बढिरहेको छ | मार्क्सवादले नेपाललाई प्रभावित पारेको छ भने नेपाली जीवनशैलीका सामु “कठोर” मार्क्सवादले आत्मसमर्पण गरेको छ | धार्मिकता मार्क्सवादका लागि बान्छनीय हुँदैन तर नेपाली मार्क्सवादी धार्मिक छन् | प्रजातन्त्र मार्क्सवादका लागि स्वीकार्य विषय होइन तर यहाँ स्वीकार्य बनेको छ | मार्क्सवादको नेपालीकरण भएको छ |
८. अन्त्यमा,
मान्छेको पहिलो समस्या भएको आफ्नो अस्तित्वलाई जोगाई राख्नका लागि निरन्तर सङ्घर्ष गर्नु हो | तत्कालीन युरोपमा कार्लमार्क्सले मजदूरहरूको अस्तित्वमा सङ्कट अनुभूत गरेर होला “तिमीले जित्न संसार छ छोड्न केही छैन” भनेर रक्तपातपूर्ण सङ्घर्ष गर्न उक्साए | तर अहिलेको नेपालमा “कुनै पनि मान्छेको अस्तित्व सङ्कटमा छैन र थिएन पनि | तेसैले मार्क्सवाद नेपालको यथार्थ हुनैसक्दैन तर परिवर्तनकारी भने अवश्य छ | तेसैले “मूढ़ेमूढ़े मतिर्भिन्ना” भन्ने प्राकृतिक सिद्धान्तलाई स्वीकार गर्दै “मनुर्भव:” अर्थात् अत्यन्त सहृदयी भाव, स्वीकार्यभाव र स्वधर्म, संस्कृति तथा मौलिक सभ्यताप्रति गर्व गर्ने मानवभावको मिलेर विकास गरौँ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *