नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ
नेपालीहरूले सिद्धान्त विनिर्माणमा काम गरेकै छैनन् भन्ने आरोपहरू सुनिन्छ तर यो सत्य होइन | विदेशीहरूले निर्माण गरेका सिद्धान्तहरूमात्र पढ्ने वानी परेर एस्तो भएको हो | सिद्धान्त विनिर्माण गरेर नेपाल र नेपालीको विश्वमा बर्चश्व स्थापित गर्ने नेपाली विद्वानहरू छन् | ती मध्ये केही विद्वानहरूले नेपाल मैं वसेर कठोर अनुसन्धान गरेर मौलिक सिद्धान्तहरू प्रतिपादन गरेका छन् भने केही नेपालीहरूले विदेशी विश्वविद्यालयहरूमा अध्ययन/अध्यापन गराउंदै सिद्धान्तहरू अभिनिर्माण गरेका छन् | हामीले ती सिद्धान्त र सिद्धान्तकारहरूको पहिचान र अभिलेखीकरण गरेका छैनौँ | सरकारी निकायहरूले मौलिक सिद्धान्त खोज्नेहरूको सम्मान गर्न सकेको छैन र नेपाली विश्वविद्यालयहरूमा नेपाली विद्वानहरूले खोजेका सिद्धान्तहरूलाई महत्व दिएर पुन: अनुसन्धान गर्ने परम्परा विकसित भएको छैन |
सिद्धान्त-अभिनिर्माणका लागि कठोर अनुसन्धान अपेक्षित हुन्छ र अनुसंधेय विषयका हरेक पक्षको समालोचनात्मक ज्ञान हुनुपर्छ | सबैभन्दा महत्वपूर्ण कुरा अनुसन्धातामा “जुनुन” हुनुपर्छ | एस्तो “जुनुन”ले आफुलाई अनुसन्धानका लागि समर्पित गरेर “सिद्धान्त निर्माण” गरेका नेपालीहरूको पहिचान हुनुपर्छ | सिद्धान्त र सिद्धान्तकारहरूलाई सम्मान दिंदा नेपाली विद्यार्थीहरूमा नवीनतम सिद्धान्त निर्माण गर्ने प्रेरणा प्राप्त हुन्छ | सिद्धान्त निर्माण गर्नु भनेको भविष्यका लागि हजारौं अनुसन्धानका ढोका खोल्नु सरह हो | हामीले सिद्धान्त र सिद्धान्तकारको महत्व बुझ्नुपर्छ |
असलमा सिद्धान्तकारहरू विश्वविद्यालयका प्राध्यापक मात्र होइनन् एकदमै साधारण र कसैले नाम नै नसुनेका व्यक्तिहरू पनि छन् | केवल विद्यावारिधिले (PhD) कुनै सिद्धान्तकार बन्दैन | यदि कुनै विद्यावारिधि गरेको विद्वान सिद्धान्तकार बन्छ भने सुनमा सुगन्ध हुन्छ तर विश्वका अधिकांश मौलिक सिद्धान्तहरूका अभिनिर्माणहरू विविभन्दा वाहिर भएका छन् र पछि विश्वविद्यालयहरूले तिनको सम्मान गरेका छन् अर्थात् अनुसंधेय विषय बनाएका छन् | नेपाल मै पनि विश्वविद्यालयबाट कुनै पनि औपचारिक वा अनौपचारिक डिग्री प्राप्त नगरेका विद्वानहरूका कृतिहरूमा धेरै विद्यावारिधि गरिएका छन् र गरिने छन् |
नेपालमा चारप्रकारका सिद्धान्तकारहरू भन्ने मेरो निजीठहर छ |
(१) परम्परागत (२) परम्परागत र आधुनिक (३) आधुनिक (४) अनुकारणात्मक | परम्परागततहका व्यक्तिहरू ती सबै अनुसन्धाता हुन् जसले विविका डिग्रीहरूको अपेक्षा गरेनन् ( वा तेस बखत विविले पठनपाठनलाई नियमित गर्ने परम्परा नै थिएन) र आफ्नै स्थानीय मौलिक ज्ञानका आधारमा कठोर परिश्रम गर र सिद्धान्तहरू प्रतिपादन गरे | मिथिलाञ्चलका गंगेश उपाध्याय, जोसमनी सन्तहरू, ज्योतिषीहरू, वैद्यहरू, कृषकहरू, शिल्पीहरूआदि पर्छन् | उदाहरणका लागि युनेस्कोले विश्व सम्पदासूचिमा सूचिकृत गरेका स्थान र भवनहरू, नेपाल आर्काइभ सेन्टरमा राखिएका असंख्य हस्तलिखित पुस्तकहरू भित्ररहेको ज्ञानआदि पर्छन् | यी सिद्धान्तकारहरूका सिद्धान्तहरूप्रति आधुनिकहरूले उपेक्षा गरे पनि सम्पूर्ण नेपाली समाज यिनै सिद्धान्तहरूले निर्देशित र संचालित छ |
दोस्रोतहका सिद्धान्तकारहरू ती हुन् जसले आधुनिक विश्वविद्यालयमा शिक्षादीक्षा प्राप्त गरेका छन् र परम्परागत ज्ञानपरम्परामा (संस्कृत, नेवारी, किराती, मैथिलीआदिमा) पनि राम्रो पकड छ तथा स्वयं पनि ज्ञानपरम्पराका साधक हुन् | यो तहमा धेरै अनुसन्धान भएका छन् तर ती सबै अनुसन्धानलाई “मौलिक सिद्धान्त” भनेर स्वीकार्न सकिन्न | मसंग केही प्रतिक उदाहरणहरू छन् जसमा महेशराज पन्त, दिनेशराज पन्त, गोविन्दशरण, कुलराज गौतम, निर्मलमणि अधिकारी, दिवाकर आचार्य, विद्यानाथ उपाध्याय, बालचन्द्र लुइँटेल, स्थानेश्वर तिमिल्सिना, विशाल सिटौला आदि पर्छन् | ती मध्ये संचारक्षेत्रमा “साधारणीकरण”को मौलिक सिद्धान्त निर्माण गरेका निर्मलमणी अधिकारी बढी चर्चित छन् |
तेस्रोतहमा मैले “आधुनिक” सिद्धान्तकारको परिकल्पना गरेको छु जसमा ती सबै सिद्धान्तकारहरू पर्छन् जसले आधुनिक विज्ञानमा आधारित रहेर सिद्धान्तहरू प्रतिपादन गरेका छन् | यी सिद्धान्तकारहरू सीमारहित छन् | देश-विदेशमा कार्यरत छन् | यिनले प्रतिपादन गरेका, खोज गरेका सिद्धान्तहरूलाई देशविदेशमा सम्मानका साथ उधृत गरिन्छ | मैले केही नाम लिनुपर्दा बालकृष्ण सम, उपेद्र देबकोटा, विद्यानाथ कोइराला, दुर्गा पराजुली, प्रतिक दाहाल अनेकौं छन् | यिनले गरेका खोज र सिद्धान्तहरूले विश्वलाई प्रभावित पारेको छ | चिकित्सा, भौतिकी, कृषि, यांत्रिकी, खगोल, भूगोल, कृषिक्षेत्रमा अनेकौं विद्वानहरूले सिद्धान्तको तहमा काम गरेका छन् दुर्भाग्यवस यी सिद्धान्तकार र खोजहरूले जति विदेशमा ख्याति र सम्मान प्राप्त गरेका छन् तेसका तुलनामा नेपालमा ओझेलमा छन् |
चौथोतहमा ती सिद्धान्तकारहरू पर्छन् जसले विविमा पढेका त थिए तर राजनीतिक अभिरुचिका कारण राजनीतिक्षेत्रमा लागे | उदाहरणका लागि परम्परागत मार्क्सवादी चिन्तनमा (नेपालमा प्रगतिवादी विचारधारा पनि भनिन्छ) आधारित रहेर राजनैतिक सिद्धान्त निर्माण गर्न प्रयत्न गर्नेहरूमा स्व. मदन भण्डारी (जवज) पुष्प कमल दाहाल (प्रचण्डपथ) अगाडी छन् | यी दूवैले राजनैतिक क्षेत्रमा पोखेको चिन्तनले समाजका हरेक क्षेत्रमा प्रभाव परेको छ | समर्थकहरूले यी प्रभावलाई “सकारात्मक” भन्लान् र विरोधीहरूले अस्वीकार गर्लान् तर प्रभावलाई नकार्न सकिन्न र मिल्दैन | राजा महेन्द्रले निर्माण गरेको पंचायत पनि साम्यवाद, पूंजीवाद तथा समाजवादको सम्मेलन भए पनि यसमा नेपालका मौलिक परम्पराहरू जसमा ग्रामकुल, जनपदकुल, राज्यकुलआदि समावेश गरिएका थिए | स्व. विपी कोइरालाले समाजवाद अगाडी सारे तर उनको समाजवाद साम्यवाद, पूंजीवाद र फान्सेली मोडेलको सम्मेलन थियो | चौथोतहका सिद्धान्तकारहरूमध्ये धेरैजसोले नेपालका मौलिक तथा परम्परागत ज्ञान परम्पराहरूलाई “विकास र प्रगतिको विकासका बाधक”का रूपमा बुझे र विदेशी प्रतिमानहरूलाई नेपालीकरण गर्ने प्रयत्न गरेका छन् |
उपरोक्त चारप्रकारका सिद्धान्त र सिद्धान्तकारहरूका आ-आफ्ना विशेषता र न्यूनताहरू छन् | मेरो विचारमा नेपाल एस्तो सौभाग्यशाली देश हो जहाँ आधुनिक विश्वविद्यालयमा परम्परागत सिद्धान्तहरू खोज गर्ने र सिद्धान्त अभिनिर्माण गर्ने प्रचुर सम्भाव्यता छ | आधुनिकताको दम्भमा परम्परागत ज्ञानलाई अस्वीकार गरे पनि नेपाली समाज परम्परा मै आधारित रहेर संचालित छ | आधुनिक र प्राचीन दूवै ज्ञान परम्परामा समानतहमा काम गर्न सक्ने निष्पक्ष विद्वानहरू (हिन्दू, जैन, बौद्ध, किराती, बोन तथा अन्य रैथाने परम्परासंग जोडिएका भिजेका र अभ्यास समेत गर्न सक्ने) हाम्रो समाजमा विद्यमान छन् | हाम्रा अनुसन्धाता, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू तथा अन्य सम्बन्धित निकायहरूले उपरोक्त उपलब्ध विज्ञहरूका ज्ञानको समुचित उपयोग गर्नुपर्छ |
मैले लेख्दैमा नेपाली विविहरूका अनुसन्धान केन्द्रहरू र सरकारी निकायहरू राजनैतिक पक्षपातबाट मुक्त हुने कुनै सम्भावना छैन | तैपनि राजनैतिक दलकै प्रतिनिधि भए पनि ती केन्द्रका प्रमुखहरू नि:सन्देह विद्वानहरू नै हुन्छन् | आफ्नो विज्ञता र ज्ञानलाई २५% भए पनि स्वतन्त्र प्रयोग गरेर आफ्ना अनुसन्धाताहरूलाई “मौलिक सिद्धान्त विनिर्माण”का लागि प्रोत्साहित गर्नुपर्छ | अनुसन्धाताहरूले मौलिक सिद्धान्त निर्माण गर्न सके नेपाल र नेपालीको विश्वले सम्मान गर्ने छ | केवल विदेशी प्रतिमानहरूको नक्कल गरेर, आधुनिकताको नाममा परम्परागत ज्ञान-परम्परामा निहित सिद्धान्तहरूको उपेक्षा गरेर र तटस्थरहेर सिद्धान्तहरूको विकास हुँदैन | नक्कल नक्कल नै हुन्छ, नक्कलीलाई विश्वले नक्कली भनेर नै चिन्छ | परम्परा र आधुनिकता दूवै अवस्थाहरू उपलब्ध भएको नेपाली शिक्षाको क्षेत्रसंग “सिद्धान्त विनिर्माण” गरेर फड्को मार्ने ठूलो सम्भावना छ | हामी सबै मिलेर एस्तो सम्भावनाको उपयोग गरौँ, उपयोग गर्न चाहनेहरूलाई सहयोग गरौँ र नेपाललाई सिद्धान्तकारका रूपमा स्थापित गर्ने/गराउँने जस प्राप्त गरौँ |

