प्राथमिकता

प्राथमिकता

प्राथमिकता

वेद, उपनिषद तथा श्रीमद्भगवद्-गीताका विषयमा जगदगुरु श्रीशंकराचार्य, श्रीरामानुज, निम्बार्क, माधवसायणआदिले जे भन्नुभएको छ तेसको तुलनामा आइन्स्टाइनआदिको “भनाई”लाई बढी महत्वपूर्ण ठान्नुको कुनै औचित्य छैन | आइन्स्टाइन, सोपेन हावर, म्याक्समुलर आदिले गीताको गूदी होइन बोक्रो मात्र बुझेका थिए, तेसैको आधारमा दुई शब्द लेखे, बोले | मैले उहाँले वैदिक साहित्यको विषयमा बुझेको र बोलेको कुराको अन्तर्मनले सम्मान गर्छु तर आदिगुरु शंकराचार्यजस्ता विद्वानहरूसंग तुलना गरेको वा यी गुरुहरू भन्दा बढी महत्व दिएर उद्धरण गर्नेहरूसंग सहमत हुन सक्दिन |
वेद होस् वा मनुस्मृति, चरकसंहिता होस् अथवा कामसूत्र, भरत नाट्यम होस् वा पंचतन्त्र – गोराहरूले बोल्दिए महत्वपूर्ण ठहरिने नत्र चर्चाको विषय नै नहुने मानसिकता पनि विदेशी दासताको प्रतिविम्व हो | वेद, गीता, पुराणआदि वैदिक, बौद्ध जैन ग्रन्थहरूलाई जतिराम्ररी हामीले बुझ्न सक्छौं वा हाम्रा पूर्वजहरूले बुझेका थिए उनीहरूले तेसको १०% पनि बुझ्न सक्दैनन् | यही तत्थ्य, ओडिसी र एलियाडको विषयमा हामीतिर लागुहुन्छ |
विदेशीहरूले वैदिक साहित्यको विस्तारका लागि गरेका कामको प्रसंशा गरौँ तर तिनको बुझाईमा भरचाहिं पटक्कै नगरौं | सकिन्छ भने अनुसन्धानमा आफ्नै प्राथमिक स्रोतलाई पहिलो स्थानमा राखेर उल्लेख गरौँ | सुकरात, प्लेटो अरस्तुआदि पश्चिमाहरूका प्राथमिक स्रोत हुन् र हुनुपर्छ तर वैदिकशास्त्रहरूका सन्दर्भमा अरस्तु, प्लेटो, कान्ट, बर्त्रेंट सरेल, कार्लमार्क्स वा अन्य पश्चिमा विद्वानहरूलाई अन्तिम अधिकारिक ठान्नु शैक्षिक प्रकृति विरुद्धको कुरा हो |
मैले संस्कृत भाषामा लेखिएका सबै प्राचीन ग्रन्थहरूमा विज्ञान मात्रै छ भन्न सक्दिन तर विदेशीले भनिदिए वेद, उपनिषद् वा अन्य ग्रन्थहरू विज्ञान सम्मत, मानवीय तथा उत्कृष्ट हुने नत्र पत्रु हुने विषाक्त चिन्तन अव छोड्नैपर्छ | प्रगतिका लागि विदेशीको नक्कल होइन, उनीहरूबाट असलगुणहरू सिकेर आफ्नो जरोकिलोलाई विस्तार गर्ने हो | असल कुराहरू विश्वभरी छरिएर रहेझैं कमसल कुराहरू पनि फैलिएर रहेका छन् | हामी गुणग्राही बन्ने हो र आफ्ना गुणहरू पनि विश्वभरि फैलाउने हो |
हाम्रो प्राचीन साहित्य, इतिहास तथा संस्कृति विश्वकै उत्कृष्ट थियो भन्दै आत्मरति गर्नुभन्दा ऋग्वेदको एउटा सूक्त पढ्नु, गीताको एउटा श्लोक बुझ्नु र चरकसंहिताको एउटा औषधि चिन्न प्रयत्नशील हुनु धेरै महत्वपूर्ण हुन्छ | प्रविधिले सजिलो बनाएको छ – हामीले चाहनामात्र गर्ने हो भने कौमुदी, सिद्धान्त, वेद-उपनिषद हामीले पढ्न, बुझ्न र जान्न सक्छौं |
केही विद्वानहरू एतिबिध्न पश्चिमा पद्धतिप्रति विश्वास गर्छन् कि उनीहरूका लागि पश्चिमा पद्धति निर्विकल्प हुन्छ | विज्ञानका क्षेत्रमा पश्चिमाहरूले गरेको प्रगति होस् का विज्ञानका क्षेत्रमा उनीहरूको देन हो – निकै लोभलाग्दो छ र सिक्न योग्य छ तर तिनीहरू पूर्ण छैनन् | उनीहरूको दुर्भाग्य हो कि उनीहरूको इतिहासमा वेद, पुराण, उपनिषद, ज्योतिष, आयुर्वेद,जस्ता ग्रन्थहरू छैनन् | हाम्रो दुर्भाग्य हो कि हामीसंग हिराका खानीहरू छन् तर ती खानी खनेर हिरा निर्यात गर्नुको साटो विदेशी कोइलालाई नै हिरा ठान्छौं | अव हिराका खानीहरू आफैले खन्ने बेला आएको छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *