दाम्पत्य योग

दाम्पत्य योग

दाम्पत्य योग – १

पति र पत्नी यी दुईबटाको संयोगले मान्छेको जन्म हुन्छ | वेदले विवाहित पतिपत्नीलाई दम्पति भन्छ | दम्पति मिलेर दिनरात चल्ने गृहस्थरूपि महायज्ञ सम्पादन गरिरहेका हुन्छन् | यो जीवनरूप यज्ञमा पत्नी धर्मक्षेत्र हुन् भने पति कर्मक्षेत्र | यो धर्मक्षेत्र र कर्मयज्ञका स्वामीहरुले आफ्ना पांचबटा ज्ञानेन्द्रीय र पांचबटा कर्मइन्द्रीय (पाण्डव)हरूको विवेकशील प्रयोग गरेर जीवनयज्ञ सम्पादन गरिरहेका हुन्छन् | कर्मक्षेत्र र धर्मक्षेत्रको दायित्वहरू निर्वाह गर्दागर्दै अनेकौं असल, कमसल तथा खराव व्यक्ति वा समुदायसंग सहकार्य गर्नुपर्ने हुन्छ | एस्तो सहकार्य गर्दा पतिपत्नीले निर्वाह गर्दै आएको दाम्पत्यमा पनि राम्रो/नराम्रो प्रभाव पर्छ | (गीता १/१-११)
जव दुई स्वतन्त्र नारी र पुरुष विवाहित भएर दाम्पत्य जीवनमा प्रवेश गर्छन्, बल्ल उनीहरूले विवाह अर्थात् आफुले विशिष्ट प्रकारको दायित्व अनिवार्यरूपमा बहन गर्नै पर्ने शर्तहरू बुझ्दछन् | साथै, एउटा दम्पतिको रुपमा एकआपसको दायित्व, आफ्ना परिवारप्रतिको दायित्व, समाजप्रतिको दायित्व, राष्ट्र तथा विश्वप्रतिको दायित्वको गहनता स्वीकार गर्नुको विकल्प हुँदैन | उनीहरूले मानव विश्वको मियोका रूपमा आफुलाई पाउँछन् | सम्पूर्ण मानव-विश्वको प्रगति तथा दुर्गति आफ्नै हातमा रहेको देख्छन् | दम्पतिका रूपमा आफ्नो अधिकार सुरक्षित राख्नुका साथै कर्तव्य पालनको गहन जिम्मेदारी अझैं टड्कारो रूपमा बुझ्दछन् |
विवाह विधिद्वारा दाम्पत्य जीवन स्वीकार गर्दा साथ उनीहरूका अगाडी “गृहस्थ जीवनरूपी” महाभारतको युद्धले प्रतिक्षा गरिरहेको हुन्छ | गृहस्थरुपि महायुद्धमा केही सहयोगी, केही प्रतियोगी, केही शत्रु त् केही निरपेक्ष हुन्छन् | हरेक दम्पतिका लागि अनुकुल परिस्थितिहरू कृष्ण र पाण्डव हुन् भने प्रतिकुल अवस्था तथा परिवेशहरू कौरव हुन् | कौरव कर्मक्षेत्र हो, गृहस्थरुपी महायज्ञ हो, जीवन र मरणबीचको महासङ्ग्राम हो |
आनन्दमय र सुखी जीवनका लागि कौरवरूप कर्मयुद्ध जित्नैपर्छ | हरेक दम्पतिसंग विवेक या बुद्धिका रूपमा श्रीकृष्ण तत्व विद्यमान छ | यो कृष्णतत्व आफ्नै आत्मा, मन, बुद्धि, विवेक वा ज्ञानतत्व हो | कुनै पनि दम्पति एक्ला छैनन् सबै दम्पतिहरूसंग कृष्णरूप विवेक प्राकृतिक रूपमा आफुसंगै छ भने पाण्डवपक्षका योद्धाहरूझैं इष्टमित्र, सहयोगी, विद्या, धन, सम्पूर्णप्रकृति सहयोगका लागि उपलब्ध छन् | तर जीवनयुद्धलाई सजगतापूर्वक जितेर धर्म, अर्थ, काम तथा मोक्षको अभिप्राप्ति गर्ने कि गृहस्थरुपि पवित्र महायज्ञलाई बुझ्न नसकेर दाम्पत्य जीवनलाई प्रतिकुल बनाएर गृहस्थीरूप महाभारतमा पराजित हुने ? निर्णय आफै गर्नुपर्छ |

दाम्पत्य योग – २

मनको प्रसन्नता, सरलता, मौन, आत्मसयम र भावमा शुद्धता तपस्वी मनमा सम्भव छ | पतिपत्नी एकआपसमा प्रसन्नता चाहन्छन् भने एकआपसमा अत्यन्त सरल र निर्दोष व्यबहार गर्नुपर्छ | (गीता १७/१६) मान्छेबाट गल्ती हुन्छ तर पत्नीले गल्ती गरे पनि पतिले गल्ती गरे पनि एकैछिन मौन रहेर आवेगलाई बाहिर निस्कन दिनुपर्छ | मौनताले आवेग वा आक्रोशलाई वाहिर निकाल्छ | भित्रभएको फोहोर निस्कंदा निस्किंदै आक्रोशवस मौनता भंग भयो भने पतिपत्नीचिच बिग्रह मच्चिन्छ नै |
आजको युवा पुस्ताले आत्मसंयमलाई महत्व दिदैन | एकअर्काको शरीरको भोग स्वतन्त्रता पूर्वक गर्नुलाई मानवअधिकारका दृष्टिकोणले बुझ्नुपर्छ भन्ने आगह राख्छन् | तर शरीर भनेको मन, बुद्धि र अहंकार तथा भावनाहरू बोक्ने भाँडोमात्र हो | आत्मसंयम गुमाउनेहरू शरीरलाई केवल “भोग”को विषय बनाउँछन् | शरीरलाई भोगको वस्तु देख्ने, बुझ्ने र मान्ने व्यक्तिहरूको दाम्पत्य दिगो, सहयोगी र सहृदयतायुक्त हुँदैन | आत्म संयम नभएको प्रेम बर्षको च्याउझैँ हुन्छ | उम्रन नपाउँदै मर्छ |
मान्छेको लागि सबैभन्दा गाह्रो काम नै भावना शुद्धिको हुन्छ | मनमा असंख्य राम्रा नराम्रा भावहरू आउंदैजाँदै गर्छन् | यदि पतिपत्नीबीच एकआपसमा सरलता, एकअर्कालाई सम्मान गर्ने चरित्र तथा निर्दोष प्रेम छ भने मन प्राकृतिक रूपमा प्रसन्न रहन्छ | यदि एकआपसमा सरलता, बोलीमा नियन्त्रण, आत्मसंयम र एकअर्काप्रति निर्दोष प्रेम छैन भने मन प्रसन्न हुँदैन | मन नै प्रसन्न नभएपछि के को सुखी दाम्पत्य ?
तेसैले दाम्पत्यमा प्रेम र दिगोपन चाहनेहरूले एकआपसमा सरल र सहज व्यबहार गर्छन्, उत्तेजनाको बेलामा मौन धारण गर्छन्, एकअर्काको इच्छाको सम्मान गरेर मात्र यौन-व्यबहारमा प्रवेश गर्छन र पति वा पत्नीका रूपमा सधैं शुद्धभावले आदर सम्मान गर्छन् | गीताको यो धारणा मान्नेहरूको दाम्पत्य जीवनले धर्म, अर्थ, काम तथा अन्त्यमा मोक्ष प्रदान गर्छ |

दाम्पत्य योग – ३

जुन दम्पत्तिके एकआपसमा आआफ्नो सोच र कार्यवारे कुराकानी गर्छन्, एकअर्काको भलो सोच्छन्, भलो हुने काममात्र गर्छन्, एकआपसमा आफ्नो बुझाई र भोगाई निर्धक्कसंग साटासाट गर्छन्, एकअर्काको कुरा सुनेर रमाउँछन्, र सन्तोष गर्छन्, एस्ता दम्पतिहरूको दाम्पत्य निकै खुसी तथा सुखी हुन्छ | एस्ता दम्पतिहरूलाई मैले त सहयोग गर्छुनै समाजले पनि सहयोग गर्छ र ती दम्पतिले धर्म, अर्थ, कामको उपयोगका साथै मोक्ष प्राप्त गर्छन् |
पतिपत्नीका बीच यदि एकआपसमा कुराकानी (आवश्यक) हुँदैन, एकअर्काको भलो सोच्दैनन् ( सोच्ने कुरा मन भित्र हुन्छ, कसले अर्का र आफ्नै विषयमा के सोचिरहेको छ भन्ने कुरा आफैलाई मात्र थाहा हुन्छ) एकअर्काको भोगाई र बुझाईप्रति रमाउन नसक्ने, सहयोग गर्न नसक्ने तथा एकअर्काप्रति सधैं दोषारोपण मात्रै गर्नेहरूको दाम्पत्य असफल हुन्छ | यस्ता व्यक्तिहरूलाई समाज र ईश्वरले पनि सहयोग गर्दैनन् | गीता ९/९-१०

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *