यो कथा होइन – १६७
स्थान : पिपलबोट, समय : विहान ९:३०
उहाँ आफ्नो नातिलाई विद्यालय पुर्याउन आउनु भएको हो | म जाममा पारेको हुँदा रोकिएको थिएँ | बाले इसारा गरेर “मलाई लिफ्ट दिने हो ?” भनेर इसारामा सोध्नुभयो | मैले हुन्छ भनेपछि उहाँ मेरो मोटरसाइकलमा बस्नुभयो | उहाँ सात दशक काटेको व्यक्ति भएको अनुमान मैले गरें |
“बाबु ! मलाई यी केटाकेटी देखेर खुसी लाग्छ | राम्रो लाएर, राम्रो खाएर राम्रो विद्यालयमा सुविधासंग पढ्न पाएका छन् | विद्यालय पुर्याउने, खाजाको ख्याल राख्ने, पढेको नपढेको बुझ्ने, समयमा विद्यालय पुग्ने – यी केटाकेटी भाग्यमानी छन् | यिनले नेपालको भविष्य राम्रो गर्ने छन् |
“हाम्रो पालामा पढ्नका लागि धेरै दु:ख खेप्नु पर्थ्यो | खेतीपातीका बखतमा विद्यालय जान पाइन्नथ्यो | मैले दिनहुँ दुई घण्टा हिंडेर एसएलसी पास गरेको थिएँ | जे-जति पढिन्थ्यो, आफैले | घरमा पढ त भन्थे तर पढाई प्राथमिकतामा थिएन | खेतीपाती र घाँसपात प्राथमिकतामा पर्थे | खाजाको कुरा नगरौं | विहान बेलुका पेट भर्न पाए भाग्य | नयाँ लुगा, विद्यालयको ब्याग, जुत्ता, नयाँ किताव हुनु त सानको कुरा थियो |
“मेरो नाति र नातिहरूको पुस्ता भाग्यमानी छ | यिनले पढ्नु बाहेक केही काम गर्नु पर्दैन | राम्रो पढ्छन् | राम्रो कुरा जान्ने गर्छन् | देश-विदेशका कुराको जानकारी राख्छन् | आफ्नो, परिवार र देशको “राम्रो” वारे जानेका छन् | सबै सुविधा छ र सुविधाअनुसारको उत्तीर्ण पनि हुन्छन् |
“मलाई मेरा नातिपुस्तामा गौरव गर्न मन लाग्छ | यी सबै कुरामा अब्बल छन् | तर आफ्ना आमावुवा, समाजप्रति त्यति उत्तरदायी छैनन् | यिनीहरूले आफन्तहरूले गरेको त्यागका विषयमा पनि जानकारी प्राप्त गर्न जरुरी छ | कुनै पनि कुरा तेसै पाइदैन भन्ने जान्नु जरूरी छ |
“हामी माया गर्छौं तर यी बालबालिकाहरूले हामीलाई माया गर्छन् कि गर्दैनन् ? वा “आमा बुवाले आफ्ना छोराछोरीको शिक्षादीक्षाको प्रबन्ध गर्नुनै पर्छ, कुनै अचम्म मान्नु पर्ने काम गर्दैनन्” भन्ने ठान्छन् ? मैले बुझेको छैन | बालबालिकाहरू शिक्षित हुँदैछन् तर कर्तव्यपालनबाट विमुख पनि हुँदैछन् कि ? मैले सधैं विचार गर्छु |
उहाँ को हुनुहुन्थ्यो ? कहाँ जाने हो ? मैले सोधिन तर उहाँले बोलेका कुराहरू निकै घतलाग्दो ठानेर मैले जस्ताको तस्तै तपाईंहरुका लागि (आफ्नै लागि) लेखें |

