७७ बटा विश्वविद्यालय खोलौं
नेपालीले सबैभन्दा बढी चिन्ता गर्नु पर्ने विषय खस्किंदो शिक्षाको गुणस्तर हो भने पहिलो राजनैतिक प्राथमिकता दिएर सुधार्नु पर्ने, विशिष्टिकरण गर्नु पर्ने र विकास गर्नु पर्ने पनि शिक्षाक्षेत्र नै हो | राणाकालमा शिक्षाक्षेत्र सबैभन्दा निम्छरो थियो | राणाहरूले आफ्नो राजनैतिक वर्चश्व जोगाउन शिक्षालाई सधैं ओझेलमा राखे | पंचायतकालमा राजा महेन्द्रले शिक्षा र उद्योग यी दुई क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढाए तर प्रजातन्त्र होस् वा अहिलेको लोकतन्त्र यी दूवै प्रकारका संबिधानले शिक्षाको महत्वलाई बुझ्न सकेको देखिन्न |
वि.स. २०७२ को नेपाली संबिधानमा शिक्षा अनिवार्य र आधारभूत अधिकारका रूपमा परिभाषित गरिएको छ तर यो परिभाषा कार्यन्वयन हुने र गर्ने कुनै लक्षण छैन | सत्य के हो भने २०७२ को संबिधानले प्रत्याभूत गरेको अधिकार कार्यन्वयन गर्दा साथ शिक्षाक्षेत्रमा राजनैतिक शक्तिहरूले गर्ने ठाडो हस्तक्षेप अन्त्य हुन्छ | यस अर्थमा वर्तमान राजनैतिक शक्तिहरूको शिक्षाप्रतिको दृष्टिकोण र राणाहरूको दृष्टिकोणमा केही फरक देखिन्न | यसो भन्दा राजनैतिक नेताहरूको चित्त दुखे दुखोस् |
राजनैतिक व्यक्ति र शक्तिहरूको आलोचना गरेर समय गुमाउनुको कुनै अर्थ छैन | भैसीको अगाडी मुरली बजाए बरू सुन्ला तर राजनीतिको लोभलाभको हिसाव-किताव गर्नेहरूका लागि केही फरक पर्दैन | अमेरिकी राष्ट्रपतिका छोराछोरीले सरकारी विद्यालयमा पढ्ने कुरा यहाँको राजनैतिक नेतृत्वले नदेख्ने र नबुझ्ने कुरा होइन, कुरा केवल नियतिको हो | नेपालमा राजनैतिक स्थायित्व नहुनु, हरेक क्षेत्रमा सधैं राजनैतिक किचलो भैरहनु, अनेकौं प्रतिरक्षात्मक कानुनहरू हहुँदाहुँदै पनि निरन्तर भष्ट्राचार मौलाउनु – यी सबैको मूल कारण भनेको नै गुणस्तरीय शिक्षा-व्यबस्थाको अभाव हो |
आजको मितिमा सम्पूर्ण राजनैतिक शक्तिहरूले शिक्षाक्षेत्रको सुधारका लागि सकारात्मक पहल थाल्न आवश्यक छ | मधेश, पहाड तथा हिमाल यी सबै ठाउँका जनताले गुणस्तरीय शिक्षा चाहेका छन् | यो चाहनालाई राजनैतिक रूपमा मूर्तरुप दिने काम राजनैतिक शक्तिहरू कै हो | तेसैले नेपालको लागि एउटा दिगो-शिक्षा नीति निर्माण गरौँ र अन्य क्षेत्रमा मतभेद कायम राख्दै शिक्षाको गुणस्तर विकाशमा सम्पूर्ण मतभेदहरूको अन्त्य गरौँ | देशको धर्म, संस्कृति, ज्ञानविज्ञान तथा भाषाआदिको समावेशी विकास गर्ने र केही समुदाय वा व्यक्तिको हितमा नभए पनि समग्र नेपालीको कल्याणका लागि हरेक जिल्लामा विश्वस्तरीय शिक्षस्थलहरू स्थापित गरौँ | कुनै पनि बालबालिका शिक्षाबाट बन्चित नरहनुन् |
नेपालले विश्वलाई दिन सक्ने भनेको नै सोफ्ट-पावर हो | नेपालले क्रयोजनिक इन्जिन बनाएर तुरुन्त अमेरिकालाई बेच्न सक्दैन तर गुणस्तरीय शिक्षाक्षेत्र कायम गरेर क्रयोजनिक इन्जनको टेक्नोलोजी आफ्ना विविहरूमा पढाउने व्यबस्था मिलाउन सक्छ | हरेक जिल्लामा एउटा वा दुईटा विश्वविद्यालयहरू स्थापित गरौँ | विश्वभरिका लगानी कर्ताहरूलाई शिक्षाक्षेत्रमा लगानी गर्न आवाहन गरौँ र स्वसंस्कृतिको रक्षाको पूर्वसर्तसंगै उनीहरूले शिक्षाक्षेत्रमा गरेको लगानी सुरक्षित गर्ने कानुन निर्माण गरौँ | विश्वास गरौँ – आगामी २० वर्षमा नेपाली शिक्षाको गुणस्तर अमेरिकी, बेलायती, चिनिया शिक्षासंग तुलना गर्न योग्य हुने छ |
आजको मितिदेखि नै नेपालका हरेक जिल्लामा कमसेकम एउटा विश्वविद्यालय खोल्ने सङ्कल्प गरौँ | यस्तो सङ्कल्प गरिरहंदा यी विश्वविद्यालयहरूमा राजनैतिक हस्तक्षेप नगर्ने/गर्न नदिने सङ्कल्प कानुन निर्माण गरेर प्रकट गरौँ | हो, विश्वविद्यालयहरू खोल्न सजिलो होला तर यी विश्वविद्यालयहरूको शिक्षामा गुणस्तरीयता कायम गर्न निकै ठूलो सङ्घर्ष गर्नु पर्ने हुन्छ | पहिलो सङ्घर्ष, आफ्नै कार्यक्रतासंग हुन्छ किनभने राजनैतिक कार्यक्रतालाई जहाँ पनि “भाग” खोज्ने बानी परेको छ | दोश्रो सङ्घर्ष आफैसंग गर्नु पर्ने छ किनभने आजको मितिसम्म शक्तिको स्रोतका रूपमा विद्यालयहरू र विश्वविद्यालयहरू उपयोग भएका छन् | तेस्रो सङ्घर्ष छिमेकीहरूसंग गर्नु पर्ने हुन्छ जसले नेपाललाई गरिव राख्दा आफ्नो फाइदा देखिरहेका छन् | शिक्षाको सवालमा राजनैतिक शक्तिहरू एकठाउँमा उभिंदा उपर्युक्त समस्याहरू क्रमशः समाधान हुँदै जान्छन् |
नेपाललाई शिक्षाको केन्द्र बनाऔं
नेपाललाई विश्वस्तरीय शिक्षाकेन्द्र बनाउनेतिर लाग्नु पर्छ | अमेरिका, अस्ट्रेलिया र क्यानाडाको ३६% राजश्व विदेशबाट पढ्न आउने विद्यार्थीले दिन्छन् | नेपालका हिमाल, नदीपहाड, हिमाल सबैतिर ठूला विश्वविद्यालयहरू निर्माण गरेर विश्वभरीबाट विज्ञहरू बोलाएर, तिनलाई उचित पारिश्रमिक दिएर नेपाललाई शिक्षाका माध्यमबाट पर्यटकीयस्थल बनाउन सकिन्छ | शिक्षाक्षेत्र मासेर नेपालको विकास हुँदैन, नेपालको गौरब बढ्दैन | साथै, आफ्ना झोलेहरूलाई पोस्न मात्र नयाँ विश्वविद्यालयहरू खोलेर पनि नेपाल र नेपालीको कुनै सम्मान हुँदैन |
नेपालले प्राकृतिक रूपमा प्राप्त गरेको बातावरणले अफ्रिकी मुलुकहरूका विद्यार्थीहरूलाई तराई-मधेशमा, युरोपेली र पहाडी देशका विद्यार्थीहरूलाई पहाड़मा र निकै चीसो देशका विद्यार्थीहरूलाई हिमाली क्षेत्रमा अध्ययन/अध्यापनको व्यबस्था गर्न सकिन्छ | मेडीकलमात्र होइन मुस्तांग, खप्तड, सगरमाथातिर अन्तरीक्ष विज्ञानका विविहरू संचालन गर्न सकिन्छ | यहाँबाट अन्तरीक्ष अन्य ठाउँका तुलनामा धेरै स्वच्छ देखिन्छन |
साथैं हिन्दू, बौद्ध तथा जैन संस्कृति र धर्मको थलो नेपाल भएको हुँदा यी धर्मका धार्मिक शिक्षाहरूका लागि विश्वस्तरीय विविहरू खोलेर विश्वभरीबाट धार्मिक, सामाजिक, सांस्कृतिक शिक्षाका लागि विद्यार्थी तान्न सकिन्छ | यी सबै काम गर्नुको सट्टा केवल राजनीतिका लागि आश्वासन बाट्ने र भएको शिक्षा, स्वास्थ्य तथा उद्योगका सम्भावनाहरूलाई “झोले” परिचालित गरेर निमिट्यान्न पार्नेहरू यो देशका सबैभन्दा बढी अबान्छ्नीय तत्व हुन् |
राजनीतिका पण्डित र सारथी दूवैले उपर्युक्त सम्भावनाको सम्मान गर्ने वातावरण मात्र बनाउने हो भने लगानी गर्नेहरूको विश्वमा कुनै कमी छैन | स्वच्छ र प्राकृतिक पानी पिउन र स्वच्छ पर्यावरणमा बाँच्न पनि विश्वका धेरै लगानीकर्ताहरूले नेपालमा लगानी गर्ने छन् | विश्वभरीका रिटायर प्रोफेसरहरू जीवनभरी कमाएको धन र सीप लिएर नेपाल आउने छन् र स्वयं सेवक बनेर यी विश्वविद्यालयहरूमा सेवा दिने छन् |
कुनै पनि मुलुकको निर्माण र विनाश राजनीतिले गर्छ | राजनीति चाहिन्छ तर नेपालको जस्तो राजनीति विश्वको कुनै मुलुक र नागरिकले भोग्न नपरोस् | राजनैतिक दलहरू साम्यवाद, समाजवाद, गणतन्त्र, लोकतन्त्रजस्ता वैश्विक राजनीतिका भूमरीबाट निस्केर नेपाल र नेपालीलाई माया गरिदिए पुग्छ | जुनसुकै सिद्धान्तको राजनीति गरे पनि “नेपाललाई शिक्षाको केन्द्र बनाउने प्रयोजनका बाटोमा कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप हुने छैन, राजनैतिक उदेश्य पूर्तिका लागि झोलेहरू शिक्षाक्षेत्रमा परिचालित गरिने छैन” भन्ने न्यूनतम समझदारी र त्यसको पालन गरे, नेपालको काया पलट हुन्छ |
विद्यायाऽमृतमस्नुते, सा विद्या या विमुक्तये, विद्या धनंं सर्व धनंं प्रधानम् अर्थात् शिक्षाले अमृतत्व प्राप्ति हुन्छ, विद्या नै स्वतन्त्रता हो, विद्या भन्दा ठूलो सम्पति अर्को केही हुनै सक्दैनजस्ता कालजयी नाराहरू निर्माण गरेर विश्वले अक्षर पनि नचिनेको बखतमा शिक्षाको महत्वलाई उजागर गर्ने ऋषि परम्पराको सम्मान गर्दै नेपाललाई शिक्षाको केन्द्र बनाउनतिर उन्मुख हुनु इतिहास, धर्म, संस्कृति, परम्पराप्रतिको उत्तरदायित्व पनि हो |
राजनीति गरौँ तर देश विगार्न होइन, सपार्न गरौँ | नयाँ विवि खोलौं तर झोले पाल्न होइन नेपाललाई शिक्षाको केन्द्र बनाउने उदेश्यसंग खोलौं | नयाँ विवि खोल्दै गर्दा विश्वभरीका रिटायर प्रोफेसरहरूलाई नागरिकता नेपालको मानद प्रदान गरेर विश्वविद्यालयहरूमा सेवा दिन आग्रह गरौँ | डलर पनि आउँछ, विज्ञ जनशक्ति पनि प्राप्त हुन्छ, नेपालको शैक्षिक क्षेत्रमा लगानी गर्नेहरू नेपालतिर प्रस्थान गर्छन् |
ठूलाठूला र गुणस्तरीय शिक्षा केन्द्रहरू खोल्न तथा संचालन गर्नका लागि नेपालीको भूगोल र बातावरण सबैभन्दा अनुकुल छ | नेपाली भूबनोट एकदमै गर्मी र एकदमै चीसो ठाउँ दूवैतिरका विद्यार्थीहरूका लागि अनुकुल छ | प्राकृतिक रूपमा बगिरहेका नदीहरूका किनारमा ठूलाठूला गुणस्तरीय शिक्षाकेन्द्रहरू स्थापित गरौँ र विश्वभरीका विद्यार्थीहरूलाई शिक्षादीक्षा दिने प्रवन्ध गरौँ | शिक्षाक्षेत्रमा कुनै प्रकारको राजनैतिक हस्तक्षेपको अन्त्य गरौँ | नेपालमा शिक्षामा ब्युजिनेश गर्न चाहनेहरूका लागि उचित व्यबस्था गरौँ र प्रत्येक शिक्षण केन्द्रहरूमा १०-२०% नेपाली विद्यार्थीहरुलाई आरक्षणको व्यबस्था गरौँ |
नेपालको मौलिक संस्कृतिको संरक्षण, अनुसन्धान तथा प्रचारप्रसारका नेपालमुखी नीतिनियम तय गर्न सकिन्छ | नेपाललाई शिक्षाको ब्युसिनेश क्षेत्र बनाउने सवालमा कंग्रेस, कम्युनिस्ट, समाजवादी, पहिचानवादी, हिन्दुवादी, बौद्धवादीजस्ता सबै नेपाललाई माया गर्नेहरू एकठाउँमा आउन मिल | सबै मिलेर नीति र कानुन बनाइदिने हो भने लगानी कर्ता खोज्नु पर्दैन | धनको थैलो च्यापेर लगानीको ठाउँ खोज्नेहरू थुप्रै छन् | हरेक जिल्लामा एउटा मेडिकल कलेज खोले पनि गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने हो भने भारत, बंगलादेश, पाकिस्तान र चाइनाबाट ठूलो सङ्ख्यामा विद्यार्थी आउने छन् | अर्कोतिर आइटी क्षेत्रका लागि पनि नेपाल उर्बर भैसकेको छ | अहिले नेपालका विद्यार्थीहरूलाई अंग्रेजीमा राम्रो गर्न सक्ने भनेर पहिचान गरिसकिएको छ | सबै मिलेर नेपाललाई शिक्षाको हव बनाउने दिशातिर लागौं |
नेपाल विश्वशिक्षाको केन्द्र बन्नुपर्छ !
प्राचीन संस्कृत साहित्यमा “विद्या धनम् सर्व धनम् प्रधानम्” अर्थात् धन-सम्पत्ति मध्ये सबैभन्दा दीगो धन विद्या हो भनेर लेखिएको छ | नेपालमा शिक्षित (साक्षर) जनसंख्या ह्वात्तै बढेको छ | साक्दिषरता हुनु चेतनाको एउटा खुड्गोकिलो होला तर आत्मनिर्भरताको ग्यारेन्टी होइन | शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ तर नेपालमा शिक्षा क्षेत्रसंग गरिएको राजनैतिक छेडछाडले शिक्षाक्षेत्र रोगी भएको छ | शिक्षा क्षेत्रले आत्मनिर्भर नागरिक उत्पादन गर्नुको साटो हीनताबोध र परनिर्भरतामा विश्वास गर्ने जनशक्तिको बढेका छन् | यसले देशको उत्थान त होइन बरू दीर्घकालीन द्वन्दतिर सम्बन्धित जनशक्तिलाई अभिप्रेरित गर्छ |
विद्या (शीप) नभएको तर प्रमाणपत्र भएको जनशक्तिले विद्याका आधारमा होइन, दक्षताका आधारमा होइन प्रमाणपत्रका आधारमा सुविधा प्राप्त गर्न चाहन्छ | सायद नेपालको बढ्दो वेथितितन्त्र यसैको उपज हो | शिक्षाको क्षेत्रलाई राजनैतिक रणभूमिका रूपमा प्रयोग गर्ने योजनाकारहरु यस तन्त्रका ड्राइभर हुन् |
राणाकालदेखि नै शिक्षा क्षेत्र अपहेलित रह्यो | आज देशमा १६ बटा विश्वविद्यालय छन् | ८४ हजार भन्दा बढी विद्यालयहरू छन् तर नेपाली जनताले विद्या आर्जन गर्न सकिरहेका छैनन | हरेक वर्ष आमावुवाको पसिनाको कमाईको मूठो बोकेर “विद्या प्राप्त” गर्न विदेश पलायन गर्ने युवाशक्तिको सङ्ख्या बढेको छ | शिक्षामा विद्या प्राप्त गर्ने र त्यो विद्याका आधारमा आत्मनिर्भर बन्ने खोज गलत होइन |
विदेश जाने विद्यार्थीको लर्को जतिसुकै धेरै भनेर वर्णन गरे पनि हरेक वर्ष ५ लाखजति विद्यार्थीले ए.इ.इ दिन्छन् ती ,मध्ये महज
% मात्र विद्यार्थी विदेश जान्छन् किनभने तिनका अभिभावकले विदेश पठाउन सक्ने रकम जोहो गर्न सक्छन् | बाँकी सबैको भाग्य नेपालसंग नै बाँधिएको छ | उनीहरूको गन्तव्य भारत, खाडी वा नेपालको राजनीतिमा हुन्छ | विदेश जाने जान्छन् तर नेपाललाई बनाउने राजनीतिमा विद्याहीन, आत्मविश्वासरहित र हीनताबोधले भरिएका जमातहरूको बलियो उपस्थिति हुन्छ | अनि, नेपालको राजनीति ठ्याक्कै हामीले भोगिरहेको, देखिरहेको र आलोचना गरिरहेको जस्तो हुन्छ | जुन हामीसंग छ |
शिक्षाक्षेत्रमा विथिति कहाँबाट आएको छ ? सबैलाई थाहा छ | शिक्षाक्षेत्रको प्रयोग गरेका राजनैतिक शक्तिहरूले आफ्नो परम्परागत शक्ति गुम्ने डरका कारण त्यसबाट वाहिर निस्कन चाहन्नन् | अव धेरै भयो | राजनीति गरौँ तर शिक्षाक्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गरौँ | विद्यालय र विश्वविद्यालयहरूलाई “शिक्षाक्षेत्र:मा काम गर्न स्वतन्त्र छोडी दिऊ | यसो गर्दा सबैको भलो हुन्छ |
भारतीय सन्त महेश योगीले पटकपटक भनेका थिए “नेपाली बालबालिकाको बुद्धि तीखो छ | उनीहरूको जीब्रोले विश्वका अन्य मानिस भन्दा शुद्ध बोल्न सक्छ | नेपाली बालबालिकाहरू ईश्वरका अप्रतीम वरदान हुन् |” उनले तेसै बखत नेपाललाई वैदिक शिक्षा-दीक्षाको केन्द्र बनाउने योजना लिएर आएका थिए तर सरकारहरूले पत्याएनन् वा उनको महत्वलाई बुझेनन् |
अव सम्पूर्ण मतभेद र मनभेदहरू त्यागेर नेपालका प्रत्येक जिल्लामा विश्वविद्यालयहरू खोल्न पाउने नीति तर्जुमा गर्नुपर्छ | बेलायत, क्यानाडा, अमेरिका र अस्ट्रलिया जाने रकम र दाताहरू रोकेर नेपाललाई विश्वस्तरीय शिक्षाको केन्द्र बनाउनतिर लाग्नु पर्छ | नेपालीहरूको तीखो बुद्धि, प्रकृतिले दिएको सबैका लागि अनुकुल हुने भूगोल, जनशक्तिको अनेकता र विश्वको सबैभन्दा प्राचीन जीवन्त हिन्दू, जैन, बौद्ध, बोन किरातीजस्ता जीवन्त सांस्कृतिक निरन्तरता यी सबैले शिक्षाको क्षेत्रमा अगाडी बढ्ने हौसला प्रदान गर्छन् |
नेपाल र नेपाली शिक्षित र दीक्षित भए विश्वलाई शान्ति, सम्पन्नता र सहकार्यको संस्कृति प्रदान गर्न सक्छन् | अरू क्षेत्रमा राजनैतिक लडाई लडौं तर नेपाललाई शिक्षाको विश्वकेन्द्र बनाउने विषयमा एक बनेर अगाडी बढौं | यदि हामी एकठाउँमा उभिएर यो पवित्र कार्यमा लाग्यौं भने आगामी १५ वर्षमा नेपाल स्विट्जरल्यान्ड बन्छ | स्वीट्जरल्याण्डको मुखमा कालोधनको भकारी भन्ने दाग लागेको छ तर शिक्षाक्षेत्रको केन्द्रको रूपमा नेपाल दागरहित विकास प्राप्त गर्ने छ |
शिक्षामा होइन शिक्षाको लागि राजनीति
जवसम्म देशका जनता र राजनैतिक शक्तिले देशमा नै विश्वस्तरीय शिक्षाको विकासमा ध्यान दिंदैनन् तवसम्म देश दिगो विकासको बाटोमा जान सक्दैन | भारतवर्षको इतिहास साक्षी छ जवसम्म यहाँ तक्षशिला, नालन्दाजस्ता विश्वविद्यालय र गुरुकुलहरू संचालित थिए भारतवर्षले विश्वको २५% आर्थिक भार वहन गर्थ्यो | यो कुरा बुझेर बेलायत सन् १००९ देखि शिक्षाक्षेत्रमा व्यापक प्रगति गर्ने नीति बनायो | पोपवादीहरूको व्यापक हस्तक्षेप हुँदाहुँदै पनि बेलायत र वेलायतीहरूले उपनिवेश बनाएका मुलुकहरूमा शिक्षाको विकाश भएको छ |
बेलायतीहरूले शिक्षानीतिको तर्जुमा आफ्नो हितका लागि गरेको हुँदा भारतीय, पाकिस्तानी साउथ अफ्रिकी देशहरूमा शिक्षाको गुणस्तर निर्माण भएन | उनीहरूले गोरे बहुल भएको देशमा शिक्षालाई प्राथमिकतामा राखेर काम गरे भने भारत र दक्षिण अफ्रिकेली मुलुकहरूमा “शिक्षित कामदार” बनाउन शिक्षालय निर्माण गरे | भारतीय उदाहरण हेरौं – महात्मा गान्धी, जवाहर लाल नेहरू, भीम राव अम्बेडकरजस्ता नाम चलेका विद्वानहरूले उच्चशिक्षाका लागि वेलायत नै जानु परेको थियो भने केही अपवाद बाहेक आजको मितिमा पनि गुणस्तरीय शिक्षाका लागि भारतीय, पाकिस्तानीआदिहरू गोरेहरूका विश्वविद्यालय जाने गरेका छन् | हामी सभ्य हौँ, धनीमानि छौँ भन्नेहरू पनि शिक्षाका लागि पश्चिमा देश कुदेको सजिलै भेटिन्छ |
गोरेहरूले गुणस्तरीय शिक्षाको हव आफुसंग सुरक्षित राखेर आफ्नो स्वार्थको रक्षा गर्नु उनीहरूको दूरदर्शिता हो | तर गोरेहरूले देश छोडेको ९० वर्ष वितिसक्दा पनि आफ्नै देशमा गुणस्तरीय शिक्षाको व्यबस्था गर्न नसक्नु वा नचाहनु नेपाली तथा भारतीयहरूको लाचारी हो वा उनीहरूले निर्माण गरिदिएको शिक्षाले मानसिक-दासत्व निर्माण गरेको हो ? बुझ्ने प्रयत्न गर्नुपर्छ | आज पनि अमेरिका र बेलायतमा पढ्ने “विद्वान र नेपालमा पढ्ने ठीकै” भन्ने मनोविज्ञानबाट समाज मुक्त छैन | आफ्नो देशमा गुणस्तरीय शिक्षाको व्यबस्था गर्न नसक्दाको परिणाम यस्तै हुन्छ |
नेपालमा अनेकौं सरकार फेरिए तर शिक्षाक्षेत्रको अनुहार फेरिएन | विश्वविद्यालय र विद्यालयहरूको सङ्ख्या बढ्यो, शिक्षाक्षेत्रमा रोजगारी आयो, जनताहरू साक्षर भए तर यी सबै कुरा हुँदै गर्दा शिक्षाको गुणस्तरचाहिं राणाकालको भन्दा पनि खस्किएर गयो | सत्यले पोल्छ तर सत्य यही हो | राजनैतिक पण्डितहरूले शिक्षाक्षेत्रलाई केवल “सत्ताको भर्यांड” बनाए | गोविन्द केसीले सायद गुणस्तरीय शिक्षाको कुरा गरेका हुन् – यसप्रति १००% सहमति छ तर शिक्षाक्षेत्र सीमित हुनुपर्छ भन्ने उहाँको मांग जायज होइन |
शिक्षाको गुणस्तर निर्माण गर्न कडा कानुनी व्यबस्था र राजनैतिक हस्तक्षेप मुक्त मेडिकल कलेजहरू हरेक जिल्लामा खोल्नुपर्छ | गुणस्तर कायम भए पछि अमेरिकाबाट पनि मेडिकल शिक्षा ग्रहण गर्ने विद्यार्थी आउँछन् | लग्जमवर्गजस्तो सानो देशमा २२ बटा विश्वविद्यालय छन्, तेहाको ३०% जिडीपी वहन गर्छ | यसको अर्थ हो – शिक्षालाई ब्युजिनेश बनाउन सकिन्छ तर त्यसका लागि कडा अनुगमन चाहिन्छ | विदेशीहरूलाई विश्वविद्यालय खोल्न दिनुपर्छ तर विश्वविद्यालयहरूले पढाउने मानविकीका विषयहरू नेपालको धर्म, संस्कृति तथा परम्परा विरोधी हुनुहुँदैन | विज्ञानका क्षेत्रमा यस्तो समस्या हुँदैन |
मलाई लाग्छ, नेपालीहरूले अव शिक्षाक्षेत्रमा पोलिटिक्स गर्ने बाटो छोड्नु पर्छ | शिक्षक तथा प्राध्यापकहरूले पूर्णकालीन राजनैतिक शक्तिको झोले बन्ने प्रवृत्ति त्याग्नु पर्ने बेला भएको छ | भोट दिन पाउने र आफ्नो अभिमत राख्ने स्वतन्त्रता यसबाट कुण्ठित हुँदैन | उप्रान्त सबै मिलेर नेपाललाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउनेतिर लाग्नुपर्छ | शिक्षाको विकास भयो भने नेपालको मुहार फेरिन धेरै वर्ष लाग्दैन | गफले देश रुपान्तरित हुने होइन, हाम्रो क्रियाकलाप पनि रुपान्तरणका लागि हुनुपर्छ |
राजनीति गरौँ तर शिक्षाक्षेत्रको दीगोविकासको लक्षका विषयमा सबै राजनैतिक शक्तिहरू एकठाउँमा उभिएर संकल्प गरौँ – हामी शिक्षाक्षेत्रको विकासका लागि अवरोधक बन्ने छैनौं | आगामी २० वर्षभित्र नेपाल विश्वको अग्रणी शिक्षा केन्द्र बन्ने छ | यही लक्षकासाथ हाम्रो राजनीति हुने छ | हो, आजसम्म हामीले शिक्षाक्षेत्रबाट राजनैतिक शक्ति आर्जन गर्न राजनीति गरेका छौँ भने उप्रान्त शिक्षाका माध्यमबाट नेपाललाई विश्वको अग्रणी बनाउन एकीकृत राजनीति गर्नेछौँ – यो सङ्कल्प गर्न सबै राजनैतिक दलहरू तयार हुनुहुन्छ त ? शिक्षामा दिगो राजनीति गर्न सङ्कल्प गर्नुहुन्छ त ? एउटा शिक्षक भएको नाताले यो प्रश्न मैले गरिने रहने छु |

