निम्बार्काचार्यको दार्शनिक परम्परा र पाश्चात्य दर्शन
१. कार्तिक पूर्णिमामाका दिन विश्वभरी आचार्य निम्बार्कको ५०१९ सौं जन्मजयन्ति मनाइदै छ | आचार्य निम्बार्कको जन्म कार्तिक पूर्णिमाका दिन हालको दक्षिण भारतमा भएको विश्वास गरिन्छ | नियमानंद, निम्बादित्य भनिने र सुदर्शन चक्रमा अवतारका रूपमा मान्यताप्राप्त आचार्य निम्बार्कले वेदको स्वाभाविक सिद्धान्त “द्वैताद्वैत”वादलाई महत्व दिंदै प्रस्थानत्रयिको व्याख्या गरेका हुन् | साथै राधाकृष्णको अभेदउपासना पद्यतिको गुरुशिष्य परम्परालाई प्रभावकारी रूपमा निरन्तरता दिएका थिए | नेपालमा पनि विभिन्न ठाउँहरूमा निम्बार्क सम्प्रदायका अनुयायिहरूले आचार्य निम्बार्कको दार्शनिक, धार्मिक, सांस्कृतिक तथा समन्वयवादी दृष्टिकोणको वरिपरी रहेर विधिध कार्यक्रम गरिरहेका छन् | कमसेकम विगत १०० वर्षदेखि यो क्रम निरन्तर चलिरहेको छ |
२. एउटा दर्शनशास्त्रको विद्यार्थीको रूपमा स्नातकको परीक्षा दिंदै गर्दा जर्मनदार्शनिक कान्ट समालोचनाको दर्शन र आचार्य शङ्करको अद्वैतवादले मलाई सबैभन्दा बढी प्रभाव परेको थियो | बुद्धिवाद र अनुभववादका विचमा ज्ञानको स्रोत, ज्ञानको कार्य र सीमाका विषयमा निकै गहिरो विवाद थियो | बुद्धिवादीहरूमा देकार्त, स्पिनोजा र लाइबनिजले एकमात्र बुद्धिलाई ज्ञानको प्रमाणिक स्रोत हुने तत्थ्यलाई अगाडी सारे भने जन लक, विसप वर्कले र ह्यूमले इन्द्रियानुभलाई ज्ञानको एकमात्र प्रमाणिक स्रोतका रुपमा उभ्याउन खोजे | बुद्धिवादीहरू अज्ञेयवादको भूमरीमा फंसेर परमसत्यको निर्णय गर्न असफल भए भने इन्द्रियानुभवको अन्त्य आत्मउच्छेदमा हुन्छ र कार्यकारणको सिद्धान्त अनुभववादका आधारमामा सिद्ध हुनै सक्दैन भन्दै ह्युमले अनुभववादको निचोड़ दिए |
३. सम्पूर्ण पाश्चात्य दार्शनिक जगत बुद्धिवाद र अनुभववादको खेमामा विभाजित भएको अवस्थामा जर्मन दार्शनिक इम्मन्युएल कान्टले बुद्धिवाद र अनुभववाद दूवैको “ज्ञानमा महत्व हुन्छ, ज्ञान प्राप्ति र त्यसको प्रमाणिकतामा दूवैको महत्व छ | केवल बुद्धि वा अनुभवको भर परेर वा यी दूवैको महत्वलाई अस्वीकार गरेर सही ज्ञान प्राप्त हुँदैन, असन्दिध प्रमाकालागि बुद्धि र अनुभवका विच समन्वय हुनुपर्छ, दूवै एकअर्कामा अनुस्यूत र स्वतन्त्र रहेर सकार्य गर्नुपर्छ | तवमा ज्ञानको उत्पत्ति, क्रिया र सीमाको पहिचान र स्थापना हुन्छ भन्ने तर्क दिए | इम्मन्युएल कान्टले पाश्चात्य दर्शनको ज्ञान विषयक विवादलाई समन्वय गरे | बुद्धि र अनुभववादको स्वतन्त्रतालाई अविच्छिन्न राख्दै, अनुभव र बुद्धिलाई एकआपसमा अनुस्यूत गर्ने जुन् दृष्टिकोण कान्टले अवलम्बन गरे आचार्य निम्बार्कले हजारौं वर्षपहिले “द्वैताद्वैत”वादका रूपमा स्थापित गरिसकेका थिए |
४. पाश्चात्य धर्मदर्शनको आधार बाइबल भएको हुँदा परमसत्यको रुपमा गडको वाहेक अन्य कसैको अस्तित्व स्वीकार गरिन्न र जीव-जीव जगतलाई यथार्थ मानिए पनि पूर्णतया गड वा अल्लाहको नियन्त्रणक विषय हुन् | प्लेटोले बहुलवादी दर्शनको स्थापना गरे तर प्लेटोका शिष्य अरस्तुले अद्वैतापेक्षी द्वैतवादको “द्रव्य र मेटर”को स्थापना गरे | उनले आफ्नो दार्शनिक चिन्तनलाई द्वैताद्वैत भनेनन् तर उनको उद्देश्य द्वैत, अद्वैत र अनेकवादको विवाद सधैंका लागि अन्त्य गर्दै सर्वमान्य सत्यको स्थापना गर्ने प्रयत्न गरे |
५. अहिलेको मानव-विश्वमा चिन्तन र सिद्धान्तकोतहमा प्राकृतिक रूपले समन्वयवादी दार्शनिक चिन्तन र व्यबहारको गहिरो मांग छ | यस्तो निष्कर्षको बलियो आधार छ जुन कुनै प्रकारको पुराग्रहमा आधारित छैन | आचार्य शङ्करले केवल अद्वैत परक वैदिक महावाक्यको सत्यतालाई स्वीकार गरे, फलत: वेदका द्वैत तथा बहुलवादी महावाक्यहरूको सत्यतामा अविश्वास भयो | द्वैतवाद र बहुलवादी सम्प्रदायका विषयमा पनि यसै गरि बुझ्नुपर्छ | बौद्धहरूले आत्मा र जगतको “अनादि”अस्तित्वलाई अस्वीकार गरेपछि उच्छेदवाद र जैनहरूले केवल बहुलवादको पक्ष पोषण गरेपछि एकवाद, द्विवादका सवालमा असहिष्णु सावित भए | यद्यपि जैन तथा बौद्धहरूले वेदको अपौरुषेयता अस्वीकार गरेपछि निम्बार्कसंग सैद्धान्तिकतहको समन्वयका सवालमा बाहेक तुलना गर्नु पर्ने देखिन्न | बुद्धले आत्माको अमरता, ईश्वरको ईश्वरता र जगतको बास्तविकतालाई पूर्णत: अस्वीकार गरेर निषेधको बाटो अबलम्बन गरेका छन् | यिनको दार्शनिक चिन्तन राजनैतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक समन्यवको पूर्णआधार बन्न सक्दैन |
६. तर समन्वयको व्याबहारिक सिद्धान्त केवल आचार्य निम्बार्कले प्रस्तावित गरेका छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ | निश्चय नै आचार्य निम्बार्क शक्तिशाली सुदर्शन चक्रका अवतार, श्रीराधाकृष्णका विनम्र उपासक, नारद ऋषिका सुयोग्य शिष्य तथा आफ्ना आराध्य देव राधाकृष्णका समक्ष रङ्गदेवीका रूपमा र मुमुक्षुहरूका लागि द्वैताद्वैतवादका प्रवर्तक निम्बार्क सम्प्रदायका प्रथम आचार्य होलान् तर वेदका विरोधाभाषी लाग्ने संकथनहरूको अपौरुषेयता अक्षुण्ण राख्न “द्वैताद्वैत”वादको बाटो रोज्ने आचार्य निम्बार्क विश्वका साझा सिद्धान्तकार हुन् | यदि आचार्य निम्बार्कले वेदका केवल द्वैत, केवल अद्वैत वा केवल बहुलवादको एकल सिद्धान्तका पक्षमा कुरा गरेको भए अपौरुषेय वेदका आदर्शहरूको अपमान, अस्वीकृति तथा अवज्ञा हुन्थ्यो | वेदको एउटा कथनले अर्को कथनको खण्डन-मण्डन गर्छ भन्ने श्रुति-प्रतिकुल आदर्श सिद्ध हुन्थ्यो |
६. प्राध्यापक हरिशरण उपाध्यायले नेपालमा निम्बार्क सम्प्रदायको आगमन राजा गिर्वाण विक्रम शाहको बेलामा भएको तर स्याङ्गजा निवासी श्रीभगबत शरण जीले सन् १९८० तिर बाट प्रभावकारी रूपमा प्रचारप्रसार गर्न थालेको भन्ने आशय व्यक्त गरेका छन् | अर्कोतिर गोविन्द उपाध्यायले ललितपुरको कृष्ण मन्दिर पनि नरसिंह मल्लसंगै कृष्ण भक्तिका प्रवर्तक आचार्य निम्बार्ककै अनुयायी भएको तर्क गरेका छन् | सन्दर्भमा, हाल नेपालको सुदूरपश्चिम बाहेक अन्य सबै प्रदेशहरूमा निम्बार्क सम्प्रदायका प्रचुर अनुयायी, मठमन्दिर तथा आफ्नो जीवन निम्बार्क सम्प्रदायको साधना तथा विस्तारका लागि समर्पण गरेका अनेकौं सन्तहरू क्रियाशील छन् |
७. यदि निकट विगतको कुरा गर्ने हो भने आचार्य भगवतशरण देव, नरहरी शरण, चक्रपाणी शरण आचार्य खेमराज केशव शरण, रुक्मणी शरण, लक्ष्मी शरण, तुलसी शरण आदिको नाम उल्लेखयोग्य छ भने बर्तमानमा प्रा हरिशरण (गैडाकोट), बाल सन्त चतरा, गौसेवी बाबा, प्रा. मुकुन्दशरणआदिको नेपालमा उल्लेख गर्न सकिन्छ भने भारतमा नेपाली मूलकै गोपाल शरणजी गोलोक धामआदि र मैले चिने/ मैले नचिनेका वा अहिले नसम्झेका निम्बार्क सम्प्रदायका विनम्र नेपाली अनुयायीहरू क्रियाशील छन् |
८. सिद्धान्त प्रवर्तकका रूपमा आचार्य निम्बार्कले वेदका विरोधाभाषी प्रतीत हुने महावाक्यहरूका आदर्शहरूलाई एकांगी रूपमा स्वीकार गरेर दोश्रो कथनलाई असत्य तुल्याउनु भन्दा वैदिक अपौरुषेयता र सत्यको अक्ष्णुताको सम्मान गर्दै वैदिक आदेशहरूको समन्वयात्मक (द्वैताद्वैत मूलक) अर्थमा बुझ्नु पर्ने र सत्य वा परमतत्व द्वैताद्वैत परक रहेको अविरोधि चिन्तनको मार्ग अबलम्बन गरेका छन् | सिद्धान्त विस्तारका क्रममा कुनै पनि दार्शनिक चिन्तनको खण्डन नगरेको हुँदा आचार्य निम्बार्क सबैभन्दा प्राचीन रहेको सम्प्रदायका अनुयायी विद्वानहरू र प्रसिद्ध दार्शनिक बलदेव आचार्य तथा विद्यापतिले तर्क गरेका छन् | भारतका पूर्वराष्ट्रपति र दार्शनिक सर्वपल्ली राधाकृष्णनले पनि अप्रत्यक्ष रूपमा “अविरोधि” चिन्तनलाई प्राचीन हुन सक्ने उल्लेख गरेका छन् |
९. निम्बार्क सम्प्रदायको नेपालसंग अत्यन्त गहिरो सम्बन्ध छ | निम्बार्क सम्प्रदायको परम्परागत मान्यताअनुसार यस सम्प्रदायका प्रवर्तक हंस भगवान् हुन् | हंस भगवानले राधाकृष्णको समवेत लिंग शालीग्राम सनकादि ऋषिहरूलाई दिंदै अखण्डसेवाको परम्परा चलाए | नेपालको कालिगण्डकीमा उत्पन्न भएका शालीग्रामको निरन्तर सेवा गर्ने परम्पराको अग्रदूत निम्बार्क सम्प्रदाय नै हो भन्न असजिलो मान्नु पर्दैन | तेस बखतदेखि सर्वेश्वर भगवानका रूपमा शालीग्रामको अक्षुण्ण सेवा गर्ने परम्परा निम्बार्क सम्प्रदायमा छ | अन्य सम्प्रदायमा शालीग्रामको सेवापूजा गर्ने परम्परा अवश्य छ तर प्रमुख आराध्यदेवका रूपमा प्रमुख आचार्यले आफै शालीग्रामको सेवा गर्ने परम्परा आचार्य निम्बार्कले आरम्भ गरेका हुन् भने नेपाल र नेपालीहरू सांस्कृतिक तथा धार्मिक गौरवका निम्बार्क सम्प्रदायप्रति कृतज्ञ हुनैपर्छ |
१०. भारतवर्षका धेरैजसो संस्कृतिविद् र दार्शनिकहरूले आचार्य निम्बार्कलाई राधाकृष्णको उपासनालाई संस्थागत गर्ने प्रथम आचार्यका रुपमा स्वीकार गरेका छन् | यो तत्थ्यलाई नेपालका परमविद्वान् प्रा. चुडानाथ भट्टराइले पनि स्वीकार गरेका छन् | दार्शनिक दृष्टिकोणले विचार गर्दा आचार्य शङ्करले वेदको अद्वैतवादी चिन्तनको परम्परालाई महत्व दिए तर आचार्य रामानुजलाई दार्शनिक दृष्टिकोणले आचार्य शङ्करको अद्वैतवाद तर्कसङ्गत नलागेकोले “विशिष्टअद्वैत”का रूपमा संशोधन गरे | यो जगजाहेर तत्थ्य हो | यसैगरी बङ्गालका भक्तिवादी आचार्य चैतन्य आफ्नो गुरुपरम्पारामा प्राप्त शुद्धद्वैतवाद तार्किक रूपले सन्तुष्ट हुन सकेनन् र आचार्य निम्बार्कले अगाडी बढाएको द्वैताद्वैतलाई नै “अचिन्त्यभेदभेद”को नयाँ नाम राखेर अगाडी बढाए | सम्प्रदायका विनम्रअनुयायीहरूका लागि उपर्युक्त कथन असंगत लागे पनि दार्शनिक दृष्टिकोणले अकाट्य तत्थ्य हो |
११. आचार्य निम्बार्क र मध्व दूवै राधाकृष्णका उपासक हुन् | मध्वले दुईतत्वको वैदिक बाटो अबलम्बन गरेका हुन् | आचार्य मध्व, चैतन्यका गुरू ईश्वर पुरी र स्वयं चैतन्यले राधाकृष्णको उपासनामा स्वेकीय र परकीया भावको खासै चर्चा गरेका छैनन् तर गौडिया सम्प्रदायका प्रमुख आचार्यहरू रूप र जीव गोस्वामीले परकीया भावको उपासना अङ्गीकार गरेपछि अचिन्यभेदभेद र द्वैताद्वैतको उपासना व्यबहारमा सूक्ष्म पार्थक्य देखिन्छ | स्थूल दार्शनिक दृष्टिकोणबाट दुवै सम्प्रदायहरूमा फरक छुट्याउन कठीन छ | अझैं आधिकारिक रूपमा कवि जयदेवले गीत गोविन्दमा राधाकृष्णको विवाह ब्रह्माले सम्पन्न गरेको उल्लेख गरेपछि राधाकृष्णका स्वेकीय भावका उपासक निम्बार्कीहरू र परकीय भावका उपासकका रूपमा गौडियाहरू सुस्पस्ट हुन्छन् |
…..
-अद्वैत परक : एकमेवाद्वितीयम्, सर्वं खलुमिदं ब्रह्म, अयमात्मा ब्रह्म
-द्वैत परक : द्वा सुपर्णा सयुजा सखाया, यतो या इमानि भूतानि जायन्ते…संविशन्ति |
व्यबस्था
श्रुतिद्वैधम् तु यत्र स्यात् तत्रधर्माबुभौ स्मृतौ |
उभावपि हि तौ धर्मौ संयगुप्तौ मनीषिभि: || मनु २/१
भोक्ता भोग्यं प्रेरितारञ्च मत्वा सर्वं प्रोक्तं विविधं ब्रह्ममेततत् (स्वेताश्वतर १/१२
नोट :
श्रुतिद्वैध तु यत्र स्यात्तत्र धर्माबुभौं स्मृतौ (मनुस्मृति)
द्वि-इत शब्दबाट द्वैत शब्दको निर्माण भएको हो | द्विको अर्थ हो दुई प्रकारले र इत शब्दको अर्थ हो बुझ्नु | यसै प्रकारले द्वि शब्दमा नय् समास गर्दा अद्वैत शब्दको निर्माण हुन्छ | यसरी केवल एक प्रकारले मात्र बुझ्नु अद्वैत हो भने दुईप्रकारले बुझ्नु द्वैत हो | तर जव कुनै सत्यलाई द्वैत र अद्वैत दूवैतहमा बुझ्ने गरिन्छ त्यस्तो बुझाईमा विश्वास गर्ने सिद्धान्तलाई “द्वैताद्वैत, भेदाभेद वा प्राकृतिक भेदाभेद” भनिन्छ | यही आचार्य निम्बार्कले स्थापित गरेको सिद्धान्त “द्वैताद्वैत” हो | द्वैताद्वैतले द्वैत र अद्वैत – यी दूवै सिद्धान्तहरूको सैद्धान्तिक आग्रहलाई प्रा. हरिशरणले “अर्धनास्तिकता” (सनातन निम्बार्क दर्शन र सनातन जीवन -पृष्ठ ८) भन्दै आलोचना गरेका छन् | प्राध्यापक उपाध्यायकाअनुसार श्रुतहरूले द्वैत र अद्वैत दुवै तत्वको प्रतिपादन गरेका छन् भने वेद बचनको सत्यतालाई निर्विवाद रूपमा स्वीकार गर्ने वैदिक परम्परा विरुद्ध केवल “द्वैत वा अद्वैत” दृष्टिकोणलाई एकमात्र सत्य मान्नु “अर्ध-नास्तिकता” हो | यदि वेदले द्वैताद्वैत सत्यको पक्ष उजागर गरेका छन् भने सो सत्य प्राकृतिक रूपमा स्वीकार गर्नुको विकल्प छैन |
वेदका बचनहरूको आफुखुसी व्याख्या गर्ने कसैलाई अधिकार छैन | वेदले जे बोलेका छन् – त्यही नै परम र अन्तिम सत्य हुन्छ | यदि वेदहरूमा द्वैत तथा अद्वैत दूवै प्रकारका बचन छन् भने त्यही सत्य हो र यसको अर्थ वेदले “समन्वयात्मक” सत्यको कुरा गरेको छ भन्ने आचार्य निम्बार्कको ठम्याई निकै महत्वपूर्ण छ | एकवादी र द्विवादी दृष्टिकोणले चिन्तन गर्दा स्वाभाविक भेदाभेदमा विरोधाभाष देखिए पनि विवेकपूर्ण दृष्टिले हेर्ने हो भने उज्यालो र उज्यालोबाट देखिने विविधताको स्रोत मूलत: दियो नै हुन्छ | दियो, दियोबाट निस्किरहेको प्रकाश र प्रकाशका कारणले दृष्टिगोचर भैरहेका पदार्थहरू प्राकृतिक रूपमा एकआपसमा जोडिएका छन् भने व्याबहारिक रूपमा तीन थरी पनि छन् |
