भारतयात्रापछि
(१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो | सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाई पटेलको गाउँ साकरोड़ियाको भ्रमण रह्यो | लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ “साकरोड़िया”मा कृषकका रूपमा जीवन यापन गर्छन् | उनका एकमात्र छोरावुहारी पनि गाउँमै वस्छन् | घरमा शहरमा भएका सबै सुविधा छन्, त्यो भन्दा पनि बढी सुविधा प्रदुषण रहित वातावारण र आफ्नै खेतको विषादीरहित भोजनको अवसर प्राप्त गरिरहनुभएको छ |
(२) “साकरोड़िया” गाउँ गुजरातको प्रमुख सहर अहमदावादबाट उत्तरतिर १७० किलोमिटर पर छ | हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वप्न र मोडेल प्रदेशको रूपमा प्रचारित गुजरातको यो गाउँको यात्राका क्रममा मैले त्यस गाउँको कृषि-व्यबस्था, अस्पताल, बालवाडी, गाउँपंचायतको कार्यालय, वैंक र पाठशाला (हाइस्कूल)को प्रत्यक्ष निरीक्षण गर्ने, सम्बन्धित अधिकारीहरूसंग र बालवालिकासंग कुराकानी गर्ने अवसर जुट्यो |
(३) यो गाउँको जनसंख्या लगभग ५६० जनाको रहेछ | यो गाउँमा सबै जातजातिको वसोवास भए पनि सबैभन्दा बढी समुदाय भने “पटेल”हरू रहेछन् | गाउँको हरेक घरबाट एकजना सदस्य अनिवार्य रूपमा अमेरिका, वेलायत वा अस्ट्रेलिया भएको बुझियो | म यो गाउँमा पुग्दा अमेरिकामा स्थायी वसोवास भएका यही गाउँका वासिन्दाहरूको विवाह भोज चलिरहेको थियो | यहाँ हुनेखानेहरूले ५ देखि ७ दिनसम्म आफन्तहरूका लागि विहान-वेलुका नै खाने व्यबस्था गर्दा रहेछन् | विवाह उत्सव लगभग १० दिनसम्म चल्दो रहेछ | विवाहका पहिका तीन दिन भने गाउँका कुनै घरमा पनि खाना पाक्दो रहेन छ | सवै गाउँले विवाहघरका पाहुना हुँदा रहेछन् | मैले पनि श्रीयोगेन्द्र शुक्लासहित विहान तथा वेलुका यही “भतेर”मा भोजन गर्ने अवसर प्राप्त गरें |
(४) गाउँ गुम्दै गर्दा कक्षा १० सम्म पठनपाठन गरिने ग्रामीण पाठशाला पुगियो | पाठशाला निकै स्वच्छ, व्यवस्थित र मर्यादित थियो | पाठशालामा १३९ जना विद्यार्थीहरू रहेछन् | ती विद्यार्थीका लागि १३ जना शिक्षकशिक्षिका रहेछन् | पाठशाला तीन ब्लकमा विभाजित रहेछ | शिशु, प्राथमिक र ६ देखि १० सम्म | सा-साना नानिवावुहरू कक्षाकोठामा पलेटी मरेर गलैचामा पढ्दा रहेछन् | कक्षा पांच भन्दा माथिका विद्यार्थीहरूका लागि भने टेवल कुर्सी रहेछन् | विहान १० बजे देखि ४ बजेसम्म कक्षा चल्दा रहेछन् तर कक्षाचारसम्मका विद्यार्थीहरू ३ बजे घर जाँदा रहेछन् |
(५) विद्यालयआउने सबै विद्यार्थीहरूका लागि विद्यालयमै तीन पटक भोजन र नास्ताको व्यबस्था रहेछ | विद्यालय आउँदा केही हल्का नास्ता, १ बजे भोजन र जाने वेला पुन: हल्का नास्ता विद्यालयले नै खुवाउदो रहेछ | मैले आफै विद्यालयको भोजनलय हेरें | त्यो निकै सफा र हाइजेनिक थियो | छ दिनका लागि छ प्रकारका भोजनको व्यबस्था रहेछ | विद्यार्थीहरूका लागि भोजन पकाउनु, खुवाउनु, सरसफाई गर्नु प्रोजेक्ट वर्कका अनिवार्य अंश रहेछन् | सबैभन्दा महत्वपूर्ण कुरा हरेक विद्यार्थीलाई सरकारले घरबाट आउने/जाने व्यबस्था गरिदिएको रहेछ |
(६) शिक्षक/शिक्षिकाहरू निकै फरासिला रहेछन् र विद्यार्थी मित्र रहेछन् | विद्यार्थीहरूको अनुशासन निकै राम्रो लाग्यो | हरेक कक्षामा स्मार्ट-कक्षाका लागि स्मार्ट-बोर्ड जडान गरिएको रहेछ | शिक्षक-शिक्षिकाले पढाएका हरेक विषयवस्तुहरू रेकर्ड गरिँदो रहेछ भने अन्य ठाउँका शिक्षकले पढाएका विषयवस्तु र इन्टरनेटमा भएका विषयवस्तुलाई पाठ्य-सामग्रीका रूपमा निकै उपयोग गरिंदो रहेछ | सबैभन्दा गज्जवको कुरा त के भने विद्यार्थीहरूले हरेक दिन घरबाट किताव बोकेर ल्याउनु पर्ने रहेनछ | हरेक विद्यार्थीले आफ्ना किताव आफ्नै टेवलमा छोडेर जाने वा लिएर जाने निर्णय गर्न पाउँदो रहेछ |
(७) कक्षा ४ सम्म गुजराती मिडियममा पठनपाठन हुँदो रहेछ भने तेसपछि अंग्रेजी, गुजराती, संस्कृत, हिन्दीआदि भाषामा पठनपाठन गरिँदो रहेछ | गुजरातका ८०% बालबालिकाले हिन्दी बुझ्दा रहेछन् भने बोल्नेचाहिं मातृभाषा मै रहेछ | मैले यी सबै विशेषता सरकारी विद्यालयको बताएको हुँ | गृहप्रदेश गुजरात भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षामा ठूलै लगानी गरेका रहेछन् भने त्यो लगानीको प्रतिफल पनि निकै राम्रो रहेछ |
(८) नेपालमा झैं गुजरातमा पनि “हुनेखाने र हुँदा खाने” दूवैले आफ्ना बालबालिकाहरूलाई अंग्रेजी मिडियमको पब्लिक स्कूलमा पढाउने इच्छा राख्दा रहेछन् | सरकारी विद्यालयहरूमा एतिबिध्न सुविधाहरू हुँदा पनि धेरैले दुखजिलो गरेर अंग्रेजी स्कूल रोज्ने रहेछन् | मैले निरीक्षण गरेको विद्यालयमा पनि धेरैजसो गाउँले न्यूजआय भएका परिवारका बालबालिका नै पढ्ने रहेछन् | गुजरातका गाउँहरूमा पनि अंग्रेजी पढ्नेहरूरू “जान्ने” हुन्छन् भन्ने सोच पछिल्लो पटक घटेको भन्ने पनि भेटियो |
(९) गुजराती सरकारी विद्यालयहरूका शिक्षक-शिक्षिकाहरू शिक्षाका क्षेत्रमा निकै समर्पित हुँदा रहेछन् र सरकारले पनि तिनको निकै ध्यान दिएको रहेछ | सरकारी विद्यालयमा पढाउने हरेक शिक्षकशिक्षिकाहरू विद्यालय आउँदाजाँदा आफ्नै कार प्रयोग गर्दा रहेछन् अर्थात् उनीहरूले राम्रो तलव प्राप्त गर्ने रहेछन् | साथै अभिभावकहरू पनि निकै सचेत रहेछन् | मैले विद्यालयमा आएका हरेक विद्यार्थीहरू सफासुग्घर भेटिए |
Photo : Prof. Rajkumar Ranjan Singh, the Minister for Education and external affairs Government of India.
