खुसीको खेत

खुसीको खेत

खुसीको खेत -१ (लारा र रानिकोट भन्ज्याङ)

खुसी मनको अवस्था हो | खेत शब्द संस्कृतको क्षेत्रबाट अपभ्रस भएर बनेको हो | खुसी कस्तो खेतमा राम्ररी सप्रिन्छ ? उत्तर सजिलो छैन | तर जसले शरीरको तहमा खुसी खोजिरहेका छन्, तिनलाई खेतको ज्ञान छैन | सुख शरीरमा फल्छ | खुसी मनमा हुर्किन्छ | आनन्द आत्माको गहिराईमा सप्रिन्छ | शरीरले सुख चाहन्छ | मनले खुसी खोज्छ | आत्मा आनन्दमा रमाउँछ | तेसैले सुखको खेत शरीर हो, खुसीको खेत मन हो भने आनन्दको खेतचाहिं आत्मा हो |
२७ वर्षीय लारा अमेरिकामा हुर्किन, पढिन् | ठूलो अन्तराष्ट्रिय कम्पनिमा काम गर्छिन् | विश्वका धेरैजसो मुलुक घुमेकी छन् | विश्वका धेरै संस्कृतिका भोजनहरू र मान्छेसंग सङ्गत गरेकी छन् | तर उनको घुमाई, उनको अनुभव तथा महङ्गा होटलहरूको रहनसहनले न सुख मिल्यो न मनमा खुसीको संचार नै भयो | ठूलो जिम्मेवारीले सुखका साधनहरूको “लत” बढायो | जतिजति सुखका साधनहरू प्राप्त भए तेतितेतिनै सुख नपुग भएको अनुभव बढ्यो |
उनी प्रकृति देखि धेरै टाढा भइन् | आफन्तले उनको मन देख्न र पढ्न छोडे | सबैले उनको अप्राकृतिक जीवन दिने “डलर”लाई महत्व दिन थाले | उनको सुख उनका लागि नै उकुसमुकुसको कारण बन्न थाल्यो | शरीरले भौतिक सुखहरू प्राप्त गर्दा पनि मन “शान्त, संस्कृत र जीवन्त” भएन | विश्व सुन्दर देखिन छाड्यो | मान्छे रमाइला देखिन छाडे | आफु अप्राकृतिक (Artificial) जालोमा थुनिएको अनुभव हुन थाल्यो |
मानसिक खुसी खोज्दै होइन कामको सिलसिलामा उनी नेपालमा थिइन् | उपाध्यायसंग कामकै सिलसिलामामा भेट भयो | एउटा शनिवार काठमाडौँका भन्ज्याङ घुम्ने निधो भयो | विहानै भक्तपुरको डोलेश्वर हुँदै रानीकोट पुगियो | भन्ज्याङबाट खुलेका हिमालहरू, प्रकृतिमा घोलिएको काँचो माटोको सुगन्ध, गरिव तर सुसंस्कृत स्थानीयहरूको निर्दोष मुस्कान, प्राकृतिक फापरको खाना र कुनै पनि देखावटीपन रहित व्यबहार पाएर उनको मन तृप्त भयो | उनी जीवनमा तेस्रो पटक सबैभन्दा बढी खुसी भइन् |
मान्छे पनि अचम्मको प्राणी हो | उ ज्यादै दुखी हुँदा होस् वा खुसी हुँदा, यो पोख्न चाहन्छ | उसका आँखाबाट भल बनेर सुखदु:ख पोखिन्छ | उनी खुवै रोइन | यो रुवाईबाट बगेका आँसुका भलमा जताततै मानसिक खुसी पोखिएको थियो | उनी रानिकोट भन्ज्याङको “हाइल्याण्ड”मा पाँच दिन बिश्राम गरिन् | रानीकोटको जङ्गलमा प्रकृतिसंग रमिन् | विहानैको घामले उनको मनलाई उज्यालो पार्यो | बाघभैरवले उनका ग्रह शान्त पारे | भोटे-भोटेनीको निर्दोष मुस्क्यानबाट उनीले डलरवाहिर लुकेको खुसीलाई बुझ्न सकिन् |
नेपालका हरेक डाँडाकाँडा, भन्ज्याङ, पोखरी, पौवा, संस्कृति, भाषा, पहाड, हिमाल, तराई र मान्छेका बिचमा खुसीको खेती हुन्छ भनेर राम सुन्दर बंकेले न बोलेको भए मैले “सुखको खेत” नेपालका असंख्य भन्ज्याङहरूमा लटरम्म फालिरहेको खुसीलाई बुझ्न सक्ने थिइन | नपत्याई, नपत्याई रानीकोट पुगेकी लाराको मनबाट खुसी छल्किएर आँखाबाट बग्ने थिएन |
तेसैले नेपाल विश्वको एकमात्र एस्तो देश हो जहाँ प्राकृतिक रूपमा खुसीको खेती हुन्छ | वास खेतसम्म तिमीले हिंडेर जानुपर्छ | तिमीभित्र पनि लारा नै लुकेकी छन्, त्यो लाराको मनलाई एकैछिन् भए पनि खुसीको खेतमा पुर्याउने दायित्व तिमीले पुरा गर |

खुसीको खेती-२ – आमाको बोली

वि,स. २०७२ मा दुई जना स्वीस नागरिक मेरो घरमा पुगे | दुई रात उनीहरू मेरो माटोको घरमा बसे | २३ वर्षीया स्वीस सान्नीलाई छोएर आमाले भन्नुभयो “म तिम्रो सेतो रङ्ग देखेर साह्रै खुसी छु | हाम्री पार्वतीझैं (देवी) तिम्रो यो रूप कति राम्रो | हाम्री पार्वती पनि ठ्याक्कै तिमीझैं होलीन् ! मैले अंग्रेजीमा अनुवाद गरिदिएँ | ती स्वीस नागरिक धेरै वेरसम्म आमालाई समातेर रोइन् | उनले भनिन् “तपाईलेझैं अर्काको वारेमा सोच्ने भए यो संसार कति खुसी हुन्थ्यो होला ! हामी सधैं पैसाले खुसी प्राप्त गर्न चाहन्छौं तर तपाईंको यो दुर्गम गाउँको मनमा एतिबिध्न खुसी रहेछ, हामीले कल्पनासम्म गर्न सक्दैन |” उनी फर्केर स्वीस पुगिन् तर उनले आमाको त्यो छोटो कुरा हरेक पल सम्झिएको कुरा लेख्छिन् |
ती स्वीस युवतिहरूको खुसीको ग्रन्थी नेपालको दुर्गम गाउँकी एउटी रैथाने निरक्षर महिलाको मिठो बोलीले फुकायो | उनीहरू जुन नेपालीलाई दीनदुखी, गरीव र साधनहीन ठानेर सुखी दिन चाहन्थे, उनीहरूले सोच्दै नसोचेको खुसीको स्रोत साधन र सुविधाहीन नेपाली महिलाबाट प्राप्त गरे | संयोग नै भन्नुपर्छ कि उहाँ मेरी आमा हुनुहुन्छ | नेपालीका हरेक घरमा आधुनिक सुविधा नहोला तर खुसी भने प्रसस्त छ | अनि, जव लिस्वेथ र सान्नी दुई दिन गाउँ घुमे, गाउँका रैथानेहरूसंग भेटे, विद्यालय गए | माटोको गाह्रो भएका, टीनको छत फाटेका, हाफ छुट्टीको घन्टी बजेपछि कक्षाबाट चरीहरूझैं चिर्विराउँदै दौडदै गरेका बालबालिकाको खुट्टाको चापले उड्ने प्राकृतिक माटोको कुइरोभित्र मुस्कराहट देखे र मधुर तथा निर्दोष मुस्कानबाट स्वागत प्राप्त गरे उनीहरू दंग परे | उनीहरूले बल्ल खुसीको अर्थ बुझे | हो, सुखी हुन थुप्रै साधन चाहिन्छ तर खुसी हुनका लागि मन चाहिन्छ र खुसी हुने इच्छा शक्ति नै चाहिन्छ भन्ने राम्ररी बुझे | आमा भन्नुहुन्छ “खुसी छरिएको छ, ससानो कणमा एताउति घुमिरहेको छ, तिमीले टपक्क टिप्नुपर्छ |
मान्छे सुखी रहन चाहन्छ कि खुशी ? यो प्रश्न निकै गहन छ | यस्ता प्रश्नहरूको समस्या के हो भने हरेक मान्छेले आफ्नो समाज, परिवेश र अनुभवका आधरमा ब्याख्या गर्छ | सबैको सुख र खुसी एकै प्रकारको हुनुपर्छ भन्ने आवश्यक हुँदैन | केही मान्छे स-सानो कुरामा निकै खुसी हुन्छन् भने केही मान्छेका लागि सुनको पहाडनै बनाएर दिंदा पनि खुशी प्राप्त हुँदैन | धेरैजसो मान्छेहरूले पाको उमेरका क्रममा खुशी गुमाउँदै जान्छन् | उनीहरूसंग खुशी गुमाउनुको कुनै भरपर्दो कारणचाहिं हुँदैन | विगतका रमाइलापलहरू सम्झेर वा छोराछोरी, छिमेकी अथवा सरकारले “मैले सोचे अनुसारको भएन” भन्दै गर्दा खुसी प्राप्त हुने होइन | धेरैजसो मान्छेहरूले आफ्नो प्राकृतिक खुसी अर्काको कुरा काट्ने क्रममा गुमाइरहेका हुन्छन् |
म छ-सात वर्षको हुँदा मेरा स्व. कान्छाबाले एउटा निकै रङ्गीन लुगाको जोडी ल्याएर दिनुभयो | त्यो लुगा लगाएर पुरा गाउँ चाहारें | यो क्रम दुईदिनसम्म जारी रह्यो | मेरा उमेरका दौंतरीहरू मेरो रङ्गीन कमिज र जांगे देखेर खुसी हुन्थे | उनीहरूले माया गर्दै मेरो लुगा छाम्थे | केहीकेही साथीहरूले एक पटक लगाउन इच्छा गर्थे | केही साथीहरू इर्ष्या गर्थे तर त्यो कुरा लुकाउन्नथे | उनी भने “खुवै देखाउन आको | हाम्रा बाले पनि ल्याइदिनु हुन्छ |” उनीहरूले लुकाउनु पर्ने केही थिएन | मनमा जेआउथ्यो सिधै पोखिन्थ्यो | एउटा पिपल गेडी, एउटा मिठाई, एउटा टुक्रा गरी, एउटा केराको कोसा, पाँचपैसा दक्षिणा, एउटा नया कलम, एक डाडु दूध – यी ससाना कुराहरूले मन रमाइलो हुन्थ्यो | त्यो रमाइलोपनमा फाटेको लुगा, साथीको गाली, आमाबुवाको हप्काईले खासै फरक पर्दैनथ्यो |
मान्छेले खुसी हुने व्यबहार आफ्नो बाल्यकालबाट सिक्नुपर्छ | आज पनि म स-सानो कुरामा सन्तुष्ट हुन्छु | मैले नराम्रो बोल्नेहरूको बचनलाई महत्व दिन्न | चीसो मौसममा चीसो हुनु स्वाभाविक हुन्छ | गर्मीमा गर्मी हुनु पनि स्वाभाविक कुरा हो | कुरौटेहरू प्राकृतिक ऋतुको पनि कुरा काट्छन् | मैले आफुभित्र एउटा आँट विकसित गरेको छु जसले असहज कुरा, घटना वा मान्छेलाई वेवास्ता गरिदिन्छ | मन नपर्ने घटना, कुरा वा मान्छेका चरित्रहरूलाई वेवास्ता गर्नेहरू खुसी हुन्छन् | कुनै घटना, व्यक्ति वा व्यबहारप्रति निकै चासो राख्ने, ती घटना वा व्यबहारलाई आफ्नोपन दिनेहरूको खुसी थोरै हुन्छ |
ससानो कुरामा खुसी हुनु जीवनको आदत हुनुपर्छ | मैले आफ्नो जीवनमा धेरै मान्छेहरू भेटेको छु जुन धेरै धनी थिए र छन् तर खुसी छैनन् | छिमेकीले नया कार किन्यो भने दुखी हुन्छन्, छिमेकीले एउटा नया लुगा फेर्दा इर्ष्या हुन्छ, छिमेकीको छोरीले राम्रो नम्बर ल्याएर पास हुँदा असजिलो लाग्छ | अर्काको सानो प्रगतिमा दु:खी भएझैं हामीले आफुलाई छिमेकीका सानासाना उपलब्धि देखेर खुसी हुन सक्छौं | हामीले चिन्न सक्नुपर्छ, हामी नेपालीका हरेक मनमा स-साना खुसीहरू लटरम्म फलिरहेका छन् |
स्वस्तिअस्तु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *