विवाहका लागि भगवान् श्रीकृष्णको सुझाव
विवाहका सम्बन्धमा भगवान् श्रीकृष्णले एस्तो सुझाव दिनुभएको छ : “जसको धन, कूल, ऐश्वर्य, सौदर्य तथा आयआर्जन आफुसरहको हुन्छ तिनैसंग विवाह र मित्रता गाँस्नु पर्छ | आफुभन्दा धेरै माथिल्लोतह वा तल्लोतहको सम्बन्ध सुखद हुँदैन |” श्रीमदभागवत १०/६०/१५
आजको नयाँपुस्ता फेसबुकबाट प्रेम आरम्भ गर्छ, फेसबुकबाट विवाहमा बाँधिन्छ र फेसबुकबाटै पारचुके लिन्छ | अनि, फेरी अर्कोसंग प्रेम-प्रसंग चल्न थाल्छ | सेक्स-मार्केटिंग गर्ने मिडिया र प्रत्यक्ष यौनाचारलाई प्रेम ठान्ने भ्रममा परेको युवापुस्ताहरूले आफ्नो सम्भाव्य दाम्पत्य जीवन आफै मास्दै छ | एस्तो पुस्ताका लागि श्रीकृष्ण भगवानको उपरोक्त परामर्श “पुरानो जमानाको पुरानो उपदेश” मात्र ठहरिन सक्छ |
वैदिक संस्कृतिमा विवाहपूर्व यौनाचारलाई “पापकर्म” मानिएको छ | पुरुषका लागि २५ वर्ष अनिवार्यरूपमा ब्रह्मचर्यको आदेश छ | आधुनिकता र प्रगतिशीलताको अन्धोपनले उपरोक्त मान्यता र संस्कारलाई अस्वीकार गर्छ | आजको समाजका लागि विवाह एउटा ठट्टा भएको छ | यौन र विवाहलाई फरकफरक तवरले स्वीकार्नुपर्छ भन्ने पश्चिमा दृष्टिकोण समाजमा हावी हुँदैछ | परिणामत: विवाहसंस्था निकै कमजोर भैसकेको अवस्था छ |
विवाहसंस्था कमजोर हुँदा पारचुके बढ्छन् | असलमा, नेपाली सांस्कृतिक तथा सामाजिकतहमा “पारचुके” मुस्लिम तथा इसाईहरूबाट आयातित अवधारणा हो | प्राचीन समयमा पारचुके नै नगरी अलगअलग घरजम गरेर जीवन व्यतीत गर्ने चलन थियो, स्वेच्छिक पुनर्विवाहका लागि पारचुकेको आवश्यकता थिएन | तेसैले नेपाली समाजमा आजपनि विवाह, वैवाहिक मूल्य तथा परिवार बलियो छ | आम नेपालीले पारचुकेको परिकल्पना समेत गरेका हुँदैनन् |
समानतहको आर्थिक अवस्था भएको, कूल, भाषा, भूगोल, अभिरुचिहरू मिल्ने, सामाजिक तथा सांस्कृतिक समानता भएको, शारीरिक तथा मानसिक रूपले स्वास्थ्य, दाम्पत्य जीवनको लागि आवश्यक पर्ने धनार्जन गर्न सक्षम, ब्रह्मचर्य आश्रम पूर्ण गरेको (पढाई सकिएको) समानतहमा सम्मान दिन र लिन सक्नेहरूसंग विवाह गाँस्नु राम्रो हुन्छ | भगवान् श्रीकृष्णको उपरोक्त सल्लाह मानेर दाम्पत्य जीवन आरम्भ गर्ने कुनै पनि मनुष्यको गृहस्थी जीवन असफल हुँदैन |
भगवान् श्रीकृष्णके भन्नुभएको छ
(१) धन, सम्पत्ति तथा शक्ति छ भन्दैमा विवाहयोग्य हुँदैन | विवाहका लागि उपरोक्त उपरोक्त विषयहरू साधन हुनुपर्छ साध्य होइन | यदि धन, सम्पत्तिआदिलाई साध्य मान्ने हो भने विवाह, दाम्पत्य तथा प्रेम गौण हुन्छ | केवल धनसम्पत्तिका लागि विवाह सम्बन्ध गाँस्नु हुँदैन | यदि कुनै स्त्री वा पुरुषमा उपरोक्त सबै गुणहरू छन् र विवाहलाई साध्यका रूपमा स्वीकार गरिन्छ भने तेस्तो विवाह दीगो हुन्छ | (श्रीमदभागवत १०/६०/१२)
(२) आफुले रोजेको दाम्पत्यका लागि रोजेको व्यक्तिको आनिवानी वारे ज्ञान हुनुपर्छ (श्रीमदभागवत १०/६०/१३) आजभोली डेटिङका माध्यमबाट जीवनसंगीलाई चिन्ने नाटक रचिने गर्छ | डेटिङका सन्दर्भमा गरिएका विश्वव्यापी अनुसन्धानले ७८% डेटिङहरू बलत्कार वा सहमतिको यौनाचारमा टुंगिने गरेको भेटिएको छ | व्यक्तिको चालचलन बुझ्न आफैं डेटिङमा जाने चलन आत्मघाती हो | परम्परागत नेपाली समाजमा मान्छेको चालचलन बुझ्ने काम केटाकेटीका आफन्तले गर्छन् |
(३) शरीरसंग प्रेम गर्नेले व्यक्तिसंग प्रेम गर्न सक्दैनन् | तेसैले विवाह सम्बन्ध आत्मिक प्रेम गर्नेहरूसंग मात्र दिगो हुन्छ | जसले केवल शारीरिक सुन्दरता र भौतिक सम्पत्तिका लागि विवाह गर्छन्, विमार हुँदा, अस्वस्थ्य हुँदा, निर्धन हुँदा वा असजिलोमा पर्दा छोडेर हिड्छन् | तेसैले धन, बल वा सुन्दताको अभिमान गर्नेहरूसंग विवाह सम्बन्ध गाँस्नु हुँदैन (श्रीमदभागवत १०/६०/१५)
(४) असल/खराव कुराहरू सुनेको आधारमा विवाह सम्बन्ध गाँस्नु वा त्याग्नु हुँदैन | रुक्मिणीले भगवान् श्रीकृष्णको गुणानुवाद सुनेर कृष्णसंग विवाह सम्बन्ध गाँस्ने निर्णय गरेकी थिइन् | तर भगवानले सुनेको आधारमा प्रेम गर्ने निर्णय गर्नु गलत हुन्छ भन्ने परामर्श दिनु भएको छ | यदि श्रीकृष्ण गलत भएको भए रुक्मणीको जीवन व्यर्थ हुने थियो |
(५) परिवार वा आफ्नो व्यक्तिगत शत्रुता साँध्न वा स्वार्थ सिद्धि गर्न प्रायोजित गरिने विवाह अस्वीकार गर्नुपर्छ | प्राचीनकालमा थुप्रै राजाहरूले आफ्नो राजनैतिक स्वार्थ साँध्न राजकुमार/राजकुमारीका बीच बलजफत विवाह गरिदिने चलन थियो | काठमाडौँकी राजकुमारी भृकुटीको विवाह तिब्बतका वादशाहसंग गरिनु पनि एउटा राजनैतिक स्वार्थ थियो | भगवान श्रीकृष्णले स्वार्थका लागि गरिने विवाहलाई अनुचित भन्नुभएको छ |
जसले केवल भौतिक प्रेमका कारण जवर्जस्ती (भागेर वा अभिभावकहरूलाई थाहा नदिई अथवा अभिभावकहरूको अभिमत अस्वीकार गर्दै) विवाह गर्छन्, सम्भवत: ती मध्ये केवल १% दम्पत्तिहरू सुखी रहन्छन्, धेरैको दाम्पत्य जीवन कलह र घृणासंग अन्त्य हुन्छ |
तेसैले विवाहजस्तो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय गर्दा स्वेच्छाले भन्दा आफन्त, अभिभावकसंग परामर्श गरेर समानतहको जीवनसंगी चुन्नुपर्छ | देवी रुक्मणीले पनि श्रीकृष्णसंग विवाहपूर्व प्रेम गर्नुभएको थियो र एकजना ब्राह्मणका माध्यमबाट “प्रीतिपत्र” प्रेषित गरेकी थिइन् |
उमेर हुँदैजाँदा विपरित लिंगीप्रति आकर्षित हुनु, यौनचाहना हुनु प्राकृतिक कुरा हो | तर १०० वर्षसम्म रहने दाम्पत्य जीवनका विषयमा मूढ़ेबलले निर्णय गर्नु आत्मघाती हुन सक्छ | तपाईंले विवाहका सम्वन्धमा स्वेच्छाचारी निर्णय गर्न सक्नुहुन्छ (तपाईंले सहसा कसैसंग विश्वास गरेर यौनाचार स्वीकार गर्नुहुन्छ) भने तपाईंले रोजेको व्यक्ति स्वेच्छाचारी छैन भनेर सोच्ने अधिकार तपाईंसंग रहन्न |
एस्तो अवस्थामा विवाह गरिसकेपछि पनि विवाहेतर यौनाचारको शंकाले दुवैजना सधैं आशंकित रहन सम्भव हुन्छ | तेसैले जसरी विवाह गरे पनि दाम्पत्य जीवन प्रति इमानदार रहने मानसिकता र विश्वास विवाहपूर्वनै स्थापित भएको हुनुपर्छ |
देवी रुक्मणी भन्छिन् – विवाहपश्चात् पनि स्वेच्छाचारीहरूको मन नयाँनयाँ पुरुष/स्त्रीहरूतिर आकर्षित भैरहन्छ | बुद्धिमान् मनुष्यले एस्ता स्वेच्छाचारीको सङ्गत गर्नुहुँदैन नत्र लोकपरलोक गुम्छ |
श्रीमदभागवत १०/६०/४८

