योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई

योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई

योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई

अरूले जे-जसो मानोस् मैले श्रीकृष्णलाई परमात्मा मान्छु | यो श्रद्धा मेरो अध्ययनले विकसित भएको हो | विश्वमा श्रीकृष्णजस्तो अद्भूत व्यक्तित्व जस्तो उपास्य अर्को हुनै सक्द्दैन | तेस्तै दम्पतिका रूपमा राधाकृष्ण अद्वितीय छन् | राधाकृष्णको प्रेम गर्नेशैली अद्भूत छ र कामवासना रहित छ भन्ने प्रमाणहरू मैले आत्मसात गरेको छु | तर कृष्णतत्वका सवालमा मेरा केही जिज्ञासा र विनम्र असहमतिहरू पनि छन् |

भक्तिवादी धारका अधिकांश श्रीकृष्ण सम्बन्धि साहित्यहरूमा श्रीकृष्णलाई गोपी-लम्पटका रूपमा चित्रित गरिएको छ | जहाँ श्रीकृष्ण (चौविसौं घण्टा) प्रेमिका श्रीराधा र गोपिनीहरूसंग विहार गरेको, संवाद गरेको, झगडा गरेको, खानपान गरेको, रमाइलो गरेको र यहाँसम्म कि रति-उपयोग गरेको भन्ने प्रसंगहरू आउँछन् | खासगरी मध्यकालका स्थानीय भाषामा रचिएका भक्तिसाहित्यमा श्रीकृष्ण अत्याधिक रसिकेश्वरका रूपमा अभिव्यक्त भएका छन् भने भाषाका कविता लेख्ने कविहरू रसिकका रूपमा |

कालिदासीय यौवन गीतको संस्कृत साहित्यमा शिवपार्वतीको दाम्पत्य बढी चर्चित छ | जयदेव कविले गीत गोविन्दको रचना गरेपछि यौवन-गीतहरू श्रीकृष्णको जीवनमा केन्द्रीत हुन्छ | वैष्णव आचार्यहरूले पनि राधाकृष्णको दाम्पत्य प्रेमको प्राकृतिक उपासना नै गरेका छन् तर कसले रचना गरेको हो भन्ने टुङ्गो नलागेका राधाकृष्णलाई प्रतीक बनाएर लेखेका यौवन-गीतका कारण श्रीराधाकृष्णको दाम्पत्यजीवन अतिजन्जित भएको छ | ११ बर्षको उमेरमा सधैंका लागि ब्रज छोडेका श्रीकृष्णलाई ब्रजसंग जोडेर यौवनगीतका पात्र बनाउनु न्यायसङ्गत र तर्कसङ्गत देखिन्न र बुझिन्न पनि |

श्रीकृष्ण आफैमा रस स्वरूप हुन्, “सर्वकारण कारणम्” हुन् भने शारीरिक वासनाजन्य यौनसंग कृष्णको संलग्नताको अर्थ छैन |केही संस्कृतज्ञ कविहरूले आफ्ना यौनइच्छालाई (यौवनजन्य) संस्कृत श्लोकमा लेखेर राधाकृष्णको प्रेम तथा दाम्पत्यलाई “अचानो” बनाएको हो कि भन्ने मलाई लाग्छ | श्रीकृष्णको जीवन दर्शनलाई राम्ररी अध्ययन गर्ने हो भने स्वकीया र परकीय यी दूवै भावहरूबाट राधाकृष्णको प्रेम परे छ | गोकुलबाट मथुरा गएपछि न कृष्णले राधा र गोपिनीहरूलाई खोजे न राधा र गोपिनीहरू कृष्णलाई खोज्दै नजिकैको सहर मथुरामा पसे | यही नै निष्काम-प्रेम हो | तेसै वेदव्यासले “कृष्णस्तु भगवान् स्वयम्” भनेका होइन |

श्रीमद्भागवतमा ब्रजका स्त्रीपुरुषहरूसंग श्रीकृष्णको सम्वन्ध बाल्यभावमा बढी केन्द्रीत भेटिन्छ | गोपिगीत होस् वा युगलगीत दूवैमा गोपिनीहरूले कृष्णका बालस्वभावको कवितात्मक वर्णन गरेका छन् | कविता नै भएको हुँदा रचनामा मीठास भर्नका लागि यौवनका प्रसंग पनि हुनु स्वाभाविक ठान्छु | अतिनै भए पनि राजा परीक्षितलाई “रास-प्रसंग” मन परेन र मुख फोरे | अनि, रास-प्रसंगको अन्त्य भयो |

रासको अर्थ रस हो | श्रीकृष्ण रसराज हुन् | यदि कसैको जीवन रसहीन छ भने श्रीकृष्ण रस हुन् | कृष्णमा प्रेम, ज्ञान, योग तथा भक्ति सबैको सङ्गम छ | श्रीकृष्णमा १६ डाइमेन्सन छन् – सोह्रगुण सम्पन्न भनेको यही हो | श्रीकृष्णलाई रसिकेश्वरको रूपमा उपासना गर्ने, योगेश्वरका रूपमा उपासना गर्नेहरू र ज्ञानेश्वरका रूपमा उपासना गर्नेहरूका लागि पनि कृष्ण छन् | श्रीकृष्णलाई वृन्दावनका कुन्जगलीहरूमा गोपिनीहरूसंग मात्र सीमित गरेर उपासनामा खोज्नु अतिवाद हुने छ |

लेख्न र भन्न असजिलो लाग्छ तर योगेश्वर श्रीकृष्णको दिव्यता केही भक्तिवादीहरूका यौवनगीतका कारण असजिलोमा परेको छ | न श्रीराधा, न गोपिनीहरू न श्रीकृष्ण नै पुरुष वा स्त्री लम्पट हुन् | यदि राधाकृष्णको जोडी प्रकृति तथा पुरुषको प्रतिक हो भने कुन्जगलिहरूमा लुकेर “विहार” गर्न लगाउनु कविको कल्पना ठहर्छ | राधानै कृष्ण हुन् र कृष्ण नै राधा हुन् भन्ने शास्त्रीय मर्यादाले समेत कुन्जगलिहरूमा “रतिराग”मा राधाकृष्णको व्यस्ततालाई अस्वीकार गर्छ | भाषा जेसुकै होस्, लेख्ने मान्छे जतिनै विद्वान होस्, भाषाले व्यक्त गरेका शब्दहरूको अर्थ बदल्न्न सकिन्न |

संसारमा केही बज्रमूर्खहरू पनि छन् जसले वृन्दावनका कृष्ण, गोकुलका कृष्ण, गीताको उपदेश दिने कृष्ण र यसोदाका छोरा कृष्णलाई फरकफरक ठान्छन् | ९० वर्षको उमेरमा गीताको उपदेश दिने श्रीकृष्णले नै ११ वर्षको उमेरमा कंसलाई मारेका थिए, सात वर्षको उमेर देखि मुरली बजाएर, गोठाला भएर ब्रजका वासिन्दाहरूलाई खुसी पारेका थिए | “ईश्वर: परम कृष्ण: सच्चिदानन्द विग्रह:” भन्ने ब्रह्मसंहिताको बचनले श्रीकृष्णको एकत्वलाई प्रमाणित गर्छ | श्रीकृष्णले प्रदान गरेको उपदेश गीतालाई मान्ने तर श्रीकृष्णलाई ईश्वर नमानेर महापुरुषमात्र ठान्ने दुखीहरूको पनि श्रीकृष्णले कल्याण नै गर्नुहुन्छ |

श्रीकृष्ण परमात्मा हुन् | उनको क्रियाकलापमा उनी स्वतन्त्र छन् | परमात्माका रूपमा के गर्ने के नगर्ने भन्ने उनी आफैले निर्धारित गर्न सक्छन् | योगेश्वर श्रीकृष्ण रसिकेस्वर बन्नै सक्दैनन् भन्ने पनि होइन तथापि भक्तिको अर्थ र प्रयोजन केवल कृष्णको रसिकेश्वर स्वरूपको उपासनामात्र बुझ्नु केवल एउटा पाटो हो | द्रोपदीको साडी बनेर लाज जोगाएका, राजसूय यज्ञमा सबैभन्दा निकृष्ट कर्म “गोडा धुने” जिम्मा लिएका र विश्वको प्रथम विश्वयुद्धजस्तो घातक अवस्थालाई रोक्न दूतकर्म गरेका तथा गीताजस्तो विश्वजयी प्रबचन दिने श्रीकृष्णको अर्को पाटो पनि भक्तियोग्य छ |

श्रीराधा र कृष्णलाई “एकप्राण दुई शरीर”का रूपमा शास्त्रीय व्याख्या पनि पाइन्छ | नि:सन्देह अर्धनारीश्वरको उपासना गर्ने र अर्धांग तथा अर्धांगिनीका रूपमा पतिपत्नीका बीचको सास्वत सम्वन्ध स्थापित गर्ने वैदिक संस्कृतिमा राधाकृष्ण वा रुक्मणीकृष्णका रमण प्रसंगहरू स्वाभाविक ठहर्छन् तर ११ वर्षको उमेरमा गोकुल-वृन्दावन सधैंका लागि त्यागेका श्रीकृष्णलाई ‘स्त्री लम्पटका रूपमा भएका “रसिक” व्याख्याहरू वारे म निकै अन्यौलमा छु |

श्रीकृष्णको महान् व्यक्तित्वलाई “महिला लम्पट”को दृष्टिकोणले लेखिएका भक्ति ग्रन्थहरूसंग श्रीकृष्णको वास्तविक सम्बन्ध छ कि गृहस्थाश्रम देखि भागेका र ब्रह्मचर्यको भूत चढेका केही सन्तहरूको मनभित्रबाट कविताका रूपमा महिला लम्पट श्रीकृष्णको मानसिक अवतार भएको हो ? मैले पटक्कै बुझ्न सकेको छैन | श्रीराधाकृष्णको प्राकृतिक प्रेम र जीवनशैली आजका उरन्ठ्याउला गीतमा रुपान्तरित हुनुमा संस्कृतमा लेखिएका कवितामा श्रीकृष्णलाई गोपी-लम्पटका रूपमा चित्रित गर्ने शैली नै जिम्मेदार छ |

संस्कृत एउटा प्राचीन भाषा हो | संस्कृतमा लेखिएका सबै कुरा “पूजापाठ”का मन्त्र मात्र हुँदैनन् | संस्कृत भाषाका कवितामा जसरी यौवनहरू नदीझैं सलील प्रवाहित भएका छन्, विश्वका अन्य कुनै भाषामा छैनन् | मेरो विचारमा यौवनका भावहरू व्यक्त गर्न संस्कृतजस्तो पूर्णभाषा अर्को छैन | संस्कृतका कविहरूले राधाकृष्णको दाम्पत्यलाई प्रतिक मानेर यौवनका भावहरू व्यक्त गरे तर संस्कृतमा अल्पज्ञान भएकाहरूले ती प्रतिकात्मक यौवन-कविताहरूलाई राधाकृष्णको वास्तविक जीवनमा घटित भएको बुझ्ने भूल गरे | संस्कृत भाषामा लेखिएका यौवनका गीतहरूले श्रीराधाकृष्ण सरल जीवनलाई अतिरंजित पारे |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *