नेपालको माता-संस्कृति

नेपालको माता-संस्कृति

नेपालको माता-संस्कृति

१. माता संस्कृति नेपालको मौलिकता मध्येको एउटा हो | मिति २०७६/१/२१ का दिन संयोगले एकजना ७२ वर्षीय मातासंग भेट हुने मौका मिल्यो | सपरिवार आफ्नो घर मै वसेर विश्वलाई “अम्वे”को भक्तिमा लगाउने र मुक्त गराउने उहाको सङ्कल्प सुनियो | उहाले फोटो खिचाउन मान्नु भएन र नाम पनि उल्लेख नगर्न अनुरोध गर्नुभयो | मैले उहाँको विचारलाई सम्मान गरेर उहाको नाम र ठाउँ गोप्य नै राखेको छु |
निज ७२ वर्षीया मातासंगको एकघण्टे भेटघाटले मभित्र माताहरूसंग सत्संग गर्ने हुटहुटी निम्त्यायो | मैले माता-संस्कृति बुझ्ने जमर्को गरें |
तेसपछिका हरेक दिन मैले कुनै न कुनै एकजना मातासंग नियमित भेट गरिरहेको छु | मैले भेटेका केही माताहरू २३ वर्षमात्रका पनि छन् | ब्राह्मण, क्षत्री, नेपाली, परियार, तामांग, नेवार, राई-लिम्वु, राजवंशी, गुरुङ र मगर बंशमा जन्मिए छन् | धेरैजसो माताहरू आफ्नो परिवारसंगै वसेको पाएँ भने केही माताहरू एकल जीवन व्यतित गरिरहेका छन् भने केहीले आश्रम नै निर्माण गरेर “देवी”का रूपमा पूजित हुँदैछन् |
एकजना आश्रमधारी माताको दर्शन गर्न नै १००८ रुपैया लाग्ने भनेपछि मैले पैसातिरेर दर्शन गर्ने विचार त्यागें |
मैले भेटेका सबै माताहरू साकाहारी छन् | उनीहरूले आफ्नो घरमा देवीको मन्दिर स्थापना गरेका छन् र धेरैजसोले हरेक अष्टमीका दिन आफ्ना भक्तजनहरूलाई आशिर्वाद दिने गरेको पाइयो | धेरैजसो माताहरू भक्तजनको समस्या निको पार्न काम्ने गरेको देखें | तर एस्तो कमाई वारे उहाँहरूले “थाहा नै नहुने” भन्नुभयो |
झारफुक गराउन , आफ्नो भविष्य जान्न र रोगबाट मुक्त हुन्, भूतप्रेत, बोक्सीआदिबाट मुक्त हुन भक्तजनहरूले मातासंग सहयोग लिंदा रहेछन् | केही माताहरूले मैले दक्षिणा दिन खोज्दा स्वीकार गर्नुभएन भने केही मातहरूले फलफुल किनेर ल्याइदिन अनुरोध गर्नुभयो भने केहीले स्वेच्छालेले दिएको रकम स्वीकार्नु भयो |
मैले विनम्रता पूर्वक माताहरूलाई आफ्नो पारिवारिक पृष्ठभूमि र माताका रूपमा आफ्नो रुपान्तरणका विषयमा बताइदिन अनुरोध गर्दा ५०% माताहरू सहमत हुनुभयो | केही “माता”को कुनै पारिवारिक पृष्टभूमि हुँदैन भनेर पन्छिनु भयो भने केहीले आफु आफ्नो विगत सम्झन मन गर्नुभएन | मैले उहाँको इच्छाको सम्मान गर्छु |
यो माता संस्कृतिको सबैभन्दा उम्दा पक्ष भनेकै हरेक माता जातपातबाट माथि उठेको भेटें | माताहरू जुनसुकै जातपातका भए पनि सबैले सम्मान गर्ने गरेको र झुकेर प्रणाम गर्ने गरेको बुझें |
हाम्रो समाजले “सन्यासी” बनेको जुनसुकै जातजातिका स्त्री-पुरुषलाई जातिपातिका रूपमा होइन ईश्वरीय अंश वा शक्तिका रूपमा सम्मान गर्दा रैछन् भन्ने बुझें | मैले आफ्नै आँखाले देखें – परियार थरकी माताको दर्शन गर्ने, उहाको हातबाट प्रसाद ग्रहण गर्नेहरूमा ब्राह्मण नै बढी रहेछन् |
मैले सुनेअनुसार काठमाडौं उपत्यकाभित्र मात्रै ३०० जनाभन्दा बढी माताहरूको अस्तित्व छ | केही माताहरूले त झन् आफ्नो जीवनकाल मै आफ्नो मन्दिर बनाएर, आफ्नो फोटोको आराधना गर्न लगाएको मन्दिर पनि देखें |
मैले भेटे मध्येका ३ जनाले आफु पार्वती देवीको प्रत्यक्ष अवतार भएको बताए भने धेरैले “आफुले देवीबाट शक्ति प्राप्त कसरी गरें ?” भन्ने समेत वर्णन गरे | मैले के पाएँ भने पतिहरूले पनि आफ्नी पत्नी मातामा रुपान्तरण भएपछि नमन र वन्दन गर्दा रहेछन् | यो हाम्रो पितृसत्तात्मक भनिने समाजको अर्को रूप हो |
यो महिलाहरूलाई आध्यात्मिक गुरुको रूपमा स्वीकार्ने हिन्दूहरूको महान् परम्पराको निरन्तरता हो | मानवाधिकारको कोकोहोलो गर्ने अमेरिका र युरोपमा समेत महिलाले एस किसिमको सम्मान प्राप्त गर्ने कल्पना समेत गरेका छैनन् |
उदाहरणका लागि योगमाया बालविधवा थिइन् | उनले दोस्रो विवाह गरे पनि सफल भएन | उनी जोसमनी सन्त परम्परामा दीक्षित भइ “माता”मा रुपान्तरित भइन् | तेसपछि के राजा के रंक उनका अनुयायी बने | तेस बखतको समाजले पनि “माता”मा रुपान्तरित महिलालाई अवहेलना गरेन, बरू उच्चतहको संम्मान नै गर्यो |
निकै प्रगतिशील मानिने इसाई-समाजले आधिकारिक रुपमा आजसम्म कुनै महिलालाई गुरूका रुपमा स्वीकार गरेको कुनै उदाहरण छैन | वैदिक हिन्दू सनातन संस्कृतिको यो परम्परा विश्वमै अद्वितीय छ |
२. नेपालमा “माता-परम्परा”को कुरा मैले उठान गरेको थिएँ | पाठकहरू बाट फरकफरक प्रतिक्रिया आए | केहीले प्रशंसा गरे, केहीले “अन्धविश्वास” भनेर आलोचना पनि गरे | तर मेरो धारणामा कुनै परिवर्तन भएको छैन | मेरो विचारमा र विश्वासमा नेपाल माता-संस्कृतिको पहिलो देश हो |
संस्कृत माता शब्दको अर्थ “आमा” हो | हिन्दू संस्कृतिमा आमाको ब्यापक अर्थ छ | वैदिक संस्कृतिले आफ्नी पत्नी बाहेकका सबै नारीहरूलाई “आमा” मान्नु भन्ने आदेश दिन्छ | नेपाल शक्ति आराधना गर्ने राष्ट्र हो | महाकाली, महालक्ष्मी, महासरस्वतीआदि वैदिक देवीहरू र तान्त्रिक देवीहरूको उपासना गरिन्छ |
असलमा, नेपाल शाक्त राष्ट्रहो | हरेक नेपाली परिवारले बालिकाहरूलाई अविवाहित बालिकाहरूलाई शक्तिकै रूपमा आराधना गर्छ | बालिकाहरू सधैं सबैका लागि पुज्य हुन्छन् | वर्षमा दुईपटक नवरात्रि मनाइन्छ : वैसाख र दशैंका वखत | सबैलाई थाहा छ नवरात्री देवीआराधनको पर्व हो | नेपालका हरेक थुम्का, टोल सबैतिर मातृशक्तिका विभिन्न स्वरूपमा आराधना गरिन्छ |
नेपालको पूर्वदेखि पश्चिम सम्म असंख्य शक्तिपीठहरू छन् | ई शक्ति पीठहरूमा देवीकै आराधना हुन्छ | एस्तो आराधना पद्धति एकेश्वरवादी र ईश्वर केवल पुरुष हुन्छ भन्ने विश्वास गर्ने यहुदी, इसाई तथा मुस्लिमहरूलाई पच्दैन | तेतिमात्र होइन, पश्चिममा विकसित भएका राजनैतिक, सामाजिक, सांस्कृतिक तथा मानवाधिकारवादीहरूका लागि समेत अपाच्य छ | खासगरी, महिलावादीहरूले “महिला पूजाका वस्तु होइनन्” भनेर खोट लगाएको सुनिन्छ |
सम्भवत: प्राचीन मातृसंस्कृतिको निरन्तरता नै आजको “माता” संस्कृति हो | मैले धेरै ठाउँमा स्वर्गीय “माता”हरूको सम्झनामा पीठहरू स्थापित गरेको भेटेको छु | गाउँका नाममा, ठाउँका नाममा, घटनाका नाममा देवीपीठहरू स्थापित गरिएका छन् | अर्कोतिर, सन्यास स्वीकार गरेका तथा सामाजिक वा सांस्कृतिक सेवामा आफ्नो नाम स्थापित गरेको महिलाहरूलाई अनि “माता” मान्ने गरिन्छ |
नेपाली समाजमा ‘माता’ भन्ने अवधारणा तीन-चारप्रकारले विकसित भएको अनुमान गर्छु | पहिलो वर्गमा “माता”का रूपमा आफ्नै आमा, गुरूआमाआदि हुन्छन् | दोस्रो वर्गमा झाडफुक गर्ने, तन्त्रमन्त्रहरू गर्ने तथा देवी-देवतासंग कुरा गर्न सक्ने तर घरगृहस्थी महिला नै हुन्छन् भने तेस्रो वर्गमा झाडफुक गर्ने, आफुलाई देवीको अवतार भन्ने, भक्त-भक्तिनीहरू बनाउने र घरत्यागेर अलग्गै वस्ने माताहरू हुन्छन् भने चौथोवर्गमा कथाहरू गर्ने, उपदेश दिने गृहस्थी वा आश्रममा बस्ने हुन्छन् |
समाजमा मुख्यतया, दोस्रो तेस्रो वर्गका “माता”हरूबोलवाला रहेको देखिन्छ | यी माताहरू काम्ने, उप्रने, लामो कपाल पाल्ने, रूद्रक्ष धारण गर्ने, त्रिशुल बोक्ने, अस्वाभाविक ब्यबहार गर्ने, मन्दिर, तलाउँआदिमा बस्न रुचि देखाउने हुन्छन् | काठमाडौँमा एस्ता माताहरू ब्यापक छन् | भूतप्रेत भगाउने देखि लिएर सन्तान जन्माउँन मदत गर्नेजस्ता अनेकौं अलौकिक काम गर्ने भनि आफ्नो प्रचारप्रसार गर्छन् |
चौथो वर्गका माताहरू भने पढालेखा, सभ्य र सामाजिकीकरणमा क्रियाशील देखिन्छन् | यी मध्ये केही विवाहित त केही अविवाहित पनि हुन्छन् | इनीहरूमा धार्मिक महत्वाकांक्षा ठूलो गुरुबन्ने, देश-विदेश घुम्नेआदि निकै ईच्छा रहेको हुन्छ | केही विनम्र स्वभावका एकान्तमा साधना गर्ने हुन्छन् | पहिलो वर्गका माताहरू देवी हुन् | दोस्रो, तेस्रो वर्गका माताहरू साधना वा चमत्कारिक हुन्छन् भने चौथोवर्गका माताहरू मूलतः कथावाचक, सन्यासी हुन्छन् |
केही माताहरू सम्प्रदायमा दीक्षित हुन्छन् | जोसमनी, दसनामी, शाक्त, शैव, वैष्णव तथा नाथ सम्प्रदायहरूमा दीक्षित साध्वीलाई समेत “माता” नै भन्ने गरिन्छ | केही महिलाहरू अचानक “माता” बन्न पुग्छन् | मैले ललितपुरको गोटीखेलमा एकजना १७ वर्षीया मातालाई भेटेको थिएँ जुन आफुलाई “नागीन”माता भन्ने गरेकी छन् | उनी विद्यालयमा पढ्दापढ्दै अचानक काम्ने र नागझैं हिड्न थालेपछि आमाबुवाले जङ्गलको एकान्तमा कुटी बनाएर राखिदिए | एसरी, आचानक माता बन्नेहरू प्रसस्त छन् |
नेपाल पार्वती, सीता, भृकुटीआदिको देश हो | माता-संस्कृति हाम्रो देशले नारीप्रति प्राकृतिक रूपमा स्थापित उच्चस्तरीय सम्मानको प्रतिक हो | वैदिक संस्कृतिबाट विकसित भएका जैन, बौद्ध तथा सीख परम्परामा पनि नारीहरू “देवी” नै हुन् | जुन सम्मान वैदिकहरूले नारीहरुलाई दिएका छन् – यहुदी, इसाई तथा मुस्लिमहरूले कल्पना समेत गर्न सक्दैनन् |
अव ब्यबहारमा पनि घरकी नारी अर्थात् “आमा, श्रीमती, छोरी, वुहारी”को पनि समानतहमा सम्मान गर्नुपर्ने अवस्था सृजना गर्नुपर्ने अवस्था स्वीकार्नु पर्छ | घरमा नारीको अपमान गर्ने तर वाहिर माताको भक्त बन्नु ढोंग हो | यसैमा नेपाल र नेपालीको गौरव छ |
फोटो : नेटबाट साभार गरिएको हो जसमा माताहरूका विभिन्न स्वरूप छन् | सबैमा नमन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *