पतिपत्नी : परामर्शको नेपाली मोडेल

पतिपत्नी : परामर्शको नेपाली मोडेल

पतिपत्नी : परामर्शको नेपाली मोडेल

महाकवि कालिदासले करिव २३ सयवर्ष पूर्व प्रसिद्ध संस्कृतको महाकाव्य “रघुवंश”को आरम्भ गर्दै शिवपार्वतीको यसरी बन्दना गरेका छन् “
वागर्थाविव संपृक्तौ वागर्थप्रतिपत्तये । जगतः पितरौ वन्दे पार्वतीपरमेश्वरौ || (१/१/) जसरी वाणी र अर्थ एकआपसमा मिलेका छन् तेसरी नै जगतका कारण वाणी र अर्थझैं छुट्टिन नसक्ने जगतका मातापिता शिवपार्वतीको वन्दना गर्दछु |
धेरैका लागि यो केवल शिवपार्वतीको वन्दना होला तर वैदिक पतिपत्नीको सम्बन्ध र मनोविज्ञान बुझ्नेहरूका लागि यो एउटा जीवन-सूत्र हो | एसैगरी वैदिक जीवन दर्शनको एकीकृत उत्स पनि हो | यो श्लोकको अर्थलाई मनन गर्ने हो भने निम्न तत्थ्यहरू स्पष्ट हुन्छन् :
१. हरेक विवाहित पतिपत्नीको सम्वन्ध वाणी र तेसको अर्थझैं एकआपसमा जोडिएको हुन्छ |
२.हरेक पतिपत्नीको विश्वका मातापिता हुन्छन् किनभने पुरुष र स्त्रीको वैवाहिक सम्वन्ध नै मानव-सृष्टिको निरन्तरताका लागि सन्तान उत्पतिसंग सम्वन्धित हुन्छ |
३. वैवाहिक जीवन गृहस्थ-आश्रम हो, जसमा (ब्रहमचर्य, वानप्रस्थ, सन्यास) आश्रमहरूको जीवन आश्रित रहेको हुन्छ | आजको भाषामा गृहस्थी नै असली ट्याक्स-पेयर हुन्छन् |
४. पतिपत्नी वीच (शिव) शान्ति र (पार्वती) स्थिरताले दाम्पत्य जीवन सरल, सहज र नमनयोग्य बन्छ |
५. पतिपत्नी वीच हरहमेशा मानसिक, शारीरिक तथा वाणीजन्य सम्बाद हुनुजरूरी हुन्छ |
६. एकआपसमा (शिव पार्वतीझैं) मिल्ती हुनुपर्छ र बल्ल जीवन मूल्यवान् हुन्छ |
७. विधिपूर्वक विवाह गरिएका पतिपत्नी दम्पत्ति हुन्छन् अर्थात् सम्पूर्ण धर्म, कर्म, धन तथा घरमा सहअधिकार प्राप्त हुन्छ | अग्नी साक्षी राखेर “अधिकार आधा-आधा उपयोग र उपभोग गर्ने” प्रतिज्ञा गरिएको हुन्छ |
८. तर पति तथा पत्नीका रूपमा (एउटा अलगै व्यक्ति भएको नाताले) जीवन दर्शन सम्वन्धि स्वतन्त्रता पनि प्राप्त हुन्छ तर एस्तो स्वतन्त्रता एकअर्कालाई होच्याउन हुँदैन |
उपरोक्त श्लोकले वैदिक परम्पराद्वारा विवाहित पतिपत्नीको एकआपसी सम्बन्ध, कर्तब्य र लक्षका विषयमा सूक्ष्म जानकारी प्रदान गरेको छ | तैपनि विवाह र बैबाहिक “पतिपत्नी’को विषयमा शास्त्रीय जानकारी प्राप्त हुँदा परामर्शकार्यको योजना र लक्षप्राप्त गर्न सजिलो हुन्छ | वैदिक संस्कृति वा तेसको छायामा विद्यमान सम्भ्यताहरूका लागि विवाह “कागजी-संझौता” हुँदैन | धार्मिक विश्वासले भन्दा “सांस्कृतिक” प्रभावले काम गरेको हुन्छ | हामीले “पतिपत्नी” हुर्केको संस्कृतिका विषयमा बुझ्नु राम्रो हुन्छ |
वैदिक संस्कृतिमा विवाह नगरी कुनै पनि युवा-युवति “दम्पत्ति” बन्न सक्दैनन् | शास्त्रहरूमा पुरुषको १६ वर्षदेखि र महिलाको ८ वर्षदेखि विवाह गर्न सकिने उल्लेख छ | तर धेरैजसो शास्त्रहरूले पुरुषका लागि ब्रह्मचर्यआश्रमको अन्त्यमा (२५ वर्ष पुगेर २६ वर्ष लागेपछि) र महिलाका लागि “स्त्री” अवस्था (प्रथम रजस्वला भएको ती वर्षपछि अर्थात् १५ वर्षपछि) विवाह गर्ने योग्य ठानिएको छ | १६ वर्ष लागेपछि महिलाले स्वेच्छाले विवाह गर्न सक्छन् भनिए तापनि केटाकेटीको विवाह गर्ने उत्तरदायित्व मातापिताले नै वहन गर्नुपर्छ भन्ने शास्त्रहरूको आग्रह रहेको देखिन्छ |
वैदिक संस्कृतिले आठप्रकारका विवाहहरूको अस्तित्व स्वीकार गरेको छ तथापि अन्त्यका तीनबटा विवाह “निन्दीत” भएको किटानी गरेको छ | तैपनि हिन्दू संस्कृतिले “विवाह-संस्था”लाई ज्यादै महत्व दिने हुँदा असुर, राक्षस पिसाच विवाहलाई समेत विवाहका रूपमा स्वीकार गरेको देखिन्छ तर यी विवाहले “पतिपत्नी”को शास्त्रीय मान्यता स्थापित नहुने हुँदा घटनाक रूपमा मात्र स्वीकार गरिएको अर्थमा बुझ्नुपर्छ |
उमेर पुगेपछि आमाबुवा, आफन्त वा स्वेच्छाले विवाह गर्नुपर्छ | केटा तथा केटीको आपसी सहमति नभई विवाह गर्न पाइन्न तर मातापिता तथा आफन्तले विवाहका लागि “स्वजातीय हुनुपर्ने, स्वास्थ्य हुनुपर्ने, स्वगोत्रीय नहुने, केटाकेटीको परिवारको समान हैसियत हुनुपर्ने. केटाकेटीमा मानसिक, शारीरिक तथा अन्य दोष नभएको” सुनिश्चित गर्नुपर्छ | ग्रहदशाआदिको पनि विचार गरिनुपर्छ | यी सबै कुराहरू मिलेपछि मातापिताको सहमतिमा विवाह मिति तोकिन्छ |
हिन्दू संस्कृतिले “विवाह”लाई सोह्र संस्कारहरू मध्ये सबैभन्दा प्रमुख मान्छ | विवाहको बखत प्रत्येक केटाकेटी लक्ष्मीनारायणका रूप हुन्छन् र मातापिताले वैदिक मन्त्रहरूको उच्चारण गर्दै बाक्दान गर्छन् केटाकेटी दूबैले यज्ञअग्निको परिक्रमा गर्दै सप्तपदि इत्यादि संस्कारहरू सम्पन्न गर्छन् | यी सबै संस्कारहरूको लक्ष दम्पत्तिका रूपमा पतिपत्नीले एकआपसमा मिलेर (सप्तपदिका वखत एकआपसमा गरेका प्रतिज्ञाअनुसार एकअर्काको सम्मान गर्दै) धर्म, अर्थ, काम तथा मोक्षको साधना गर्नेछन् भन्ने हो |
पाश्चात्य जीवनशैलीले किच्दै गर्दा पनि अहिले पनि नेपाली समाजले “वैवाहिक” दाम्पत्य नै रोज्ने गर्छ | मेरो विश्वासमा ९०% नेपाली पतिपत्नीहरू रितिरिवाज पूर्वक विवाह गरिएका जोडी हुन् | आज पनि नेपाली समाजले विवाह-संस्थामा गहिरो आस्था राख्छ | समाजले विधिपूर्वक विवाह नगरी “संगै बस्ने” र “बालबालिका जन्माउने” जोडीलाई मूलधारको गृहस्थका रूपमा स्वीकार गर्दैन | नेपाली समाजले गे, लेस्वीयन तथा अन्य प्रकारका यौनाचारलाई अप्राकृतिक नै मान्छ | कानुनी मान्यताले एस्तो “सोच”मा कुनै फरक पर्दैन |
नेपाली सामाजिक तथा सांस्कृतिक परम्परामा पतिपत्नीको सबैभन्दा महत्व छ | पतिपत्नीको सम्बन्ध स्थापित नभई गृहस्थी बन्दैन | वर्तमान नेपाली कानुनले पतिपत्नी बन्ने उमेर २० वर्ष तोकेको छ | एसपछि जुनसुकै युवायुवतिले विवाह गर्न सक्छन् र एस्तो विवाह आजीवन निर्विकल्प रहने आशा गर्छन् | वैदिक संस्कृतिको चेतनाले प्रभावित पारेका समाजहरूमा “विवाह” तथा “पतिपत्नी”को सम्वन्धलाई सास्वत तथा पवित्र हुने विश्वास गरिन्छ | पतिपत्नीको पारचुके वारे निकै कम चर्चा हुन्छ |
एउटा दक्ष परामर्शकर्ताले नेपाली दम्पत्तिसंग बस्नुभन्दा पहिले (पतिपत्नीसंगै अथवा पति वा पत्नीसंग अलगअलग वस्दा) निम्न केही तत्थ्यहरूलाई पूर्वशर्तको रूपमा लिनु उचित हुन्छ |
१. वैदिक/जैन वा बौद्ध पद्धतिअनुसार विवाह गरेका पतिपत्नीहरूमा विवाह संस्थाप्रति ठूलो आस्था हुन्छ |
२. उनीहरूले विवाहलाई केवल यौनआवश्यकता पूरा गर्न गरिएको कागजी संझौता ठान्दैन् |
३. विवाहका विषयमा आमाबुवा र आफन्तहरू पनि जिम्मेदार हुने विश्वास राख्छन् |
४. बर्तमान विवाहमा पूर्वजन्मको कर्म र आफ्नो भाग्यपनि जिम्मेदार भएको विश्वास गर्छन् |
५. विवाह तोड्नु भनेको (पारचुके) ईश्वरीय आदेश वा धार्मिक क्रियाको अपमान हो भन्ने विश्वास हुन्छ |
६. पतिके पत्नीको र पत्नीको पतिले नाम ऊच्चारण गर्न र “तँ” जस्ता शब्दहरू प्रयोग गर्नबाट जोगिन्छन् |
७. आफ्ना यौनव्यवहारका विषयमा सजिलोसँग खुन्दैनन्
८. केही अपवाद बाहेक “गृहस्थ” जोगाउन चाहन्छन् |
मैले पहिला नै सङ्केत गरिसकेको छु कि वैदिक पतिपत्नीको सम्बन्ध पनि “एकता”को दार्शनिक पृष्ठभूमिमा निर्मित भएको र तेसै वरिपरी मानसिकरूपमा अङ्कित भएको हुन्छ | तेसैले जुनसुकै भारतवर्षीय दम्पत्तिले आफ्नो वैवाहिक जीवन जोगाउनका लागि “त्याग” गर्न समेत तम्तयार हुन्छन् | पश्चिमाहरूमा “जोडी”हरूमा एस्तो मनोविज्ञान पाइन्न | एस्तो विशेषता केवल वैदिक संस्कृतिभित्र पाइन्छ | एस्तो विश्वास पतिपत्नीका लागि निकै पीडादायी हुन्छ |
जतिसुकै विचार पुर्याएर विवाह गरे पनि “दम्पत्ति”का वीचमा समस्या नै हुँदैन भन्न सकिन्न | स्त्री र पुरुष दूबै फरक-फरक मान्छे भएकोले विचारभेद, ब्यबहार भेद र कर्मभेद हुनु स्वाभाविक हुन्छ | केहीले एस्तो मतभेद सहेर बस्छन् | केहीले एस्तो मतभेद सहन नसकेर दोस्रो वा तेस्रो विवाह गर्छन् | केही विवाहलाई जीवित राखेर अलग वस्छन् | केही कानुनी उपचार प्राप्त गरेर अलगअलग बस्छन् | केहीले सहन नसकेर आत्महत्या गर्छन् | केहीले पारचुके गर्छन् | तर यी सबैले तिनको समस्या समधान हुँदैन |
नेपाली समाजमा महिलाहरूले आफ्नै लोग्ने, आफन्त र सामाजिक प्रताडना सहेर पनि “गृहस्थ” जोगाउने ठूलो जिद्द हुन्छ | एस्तो जिद्दीले उनीहरूमा तीब्र मानसिक तनाव बढ्छ, जसले अवसादको रूप लिंदै आत्महत्या अथवा पागलपनतिर धकेल्छ | नेपाली समाजमा एस्ता धेरै “पतिपत्नी” छन् | जसले “सहेर” बसेका छन् | आफुले मनको कुरा खोल्ने, बोल्ने र दु:खबाट छुटकाराका लागि बाटो प्राप्त चाहन्छन् | एस्तो बाटो “मनोबैज्ञानिक परामर्शदाता” नै हुन्छ |
संचारप्रविधिको विकासले विश्वका सांस्कृतिक मान्यताहरू र चालचलनले एकअर्काको विश्वलाई प्रभावित पार्न थालेका छन् | अर्को शब्दमा, विश्वका सबै परम्परागत संस्कृतिहरूले एकआपसमा अरूको चालचलन पनि न्यूनाधिक रूपमा अङ्गिकार गरेका छन् | नेपाली समाज अर्थात् नेपाली पतिपत्नी पनि एस्तो प्रभावबाट अछुत छैनन् | थोरै मात्रामा भए पनि नेपाली दम्पत्तिहरू वीच विवाहका आधुनिक मान्यताहरूले पनि प्रवेश पाएका छन् | तेस्ता मान्यताहरूमा “एकल परिवार, काम गर्ने समान अधिकार, सम्पत्तिमा समान अधिकार, समान यौनाचार”आदि पर्छन् भने “उमेर पुगेका केटाकेटीले आफ्नो लागि लोग्ने वा पत्नी आफैले छान्न पाउनुपर्छ” भन्ने विश्वास बलियो हुँदै गएको छ |
नेपाली समाजमा विवाहपूर्व यौनाचारलाई नैतिक ठानिन्न | सामाजिक तथा सांस्कृतिक परम्पराअनुसार गरिने विवाहले दुई विपरित लिंगी स्त्री र पुरुषको पतिपत्नीका रूपमा नाता गाँसिन्छ | पतिपत्नीका रूपमा उनीहरू एकआपसमा यौनजीवन उपभोग गर्न स्वतन्त्र हुन्छन् भने सामाजिक तथा सांस्कृतिक रूपमा “पूर्ण नागरिक”को दर्जा प्राप्त गर्छन् | विवाहित भएपछि उनीहरू दम्पत्ति अर्थात् “घरका साझा स्वामी” ( ऋग्वेद २.२९.२) मा रुपान्तरित हुन्छन् |
विश्वका सबै धर्म, संस्कृति तथा परम्पराहरूले “पतिपत्नी” भएको पारिवारिक संरचनालाई सर्वाधिक महत्व दिएको छ | किनभने पतिपत्नीका रूपमा संगै जीवन यापन गर्ने स्त्री तथा पुरुषले धर्म, संस्कृति, समाज, राजनीतिआदि सबैप्रकारका उत्तरदायित्व स्वीकार गर्दै (धन कमाउने, कर तिर्ने, राज्य वा सामाजिक संस्थाको अंगका रूपमा दायित्व बहन गर्ने, धर्म, संस्कृति तथा परम्पराहरूमा सक्रिय तवरले काम गर्ने/गराउनेआदि) सन्तान जन्माएर मानव-वंशलाई अगाडी बढाउने दायित्व लिन्छन् |
मनुस्मृतिका अनुसार विवाह आठ प्रकारका हुन्छन् :ब्राह्म, दैव, आर्ष, प्राजापत्य, गान्धर्व, आसुर, राक्षस,र पैशाच (३/२) | यी मध्ये ब्राह्म, दैव, आर्ष, प्राजापत्य, गान्धर्व क्रमशः असल मानिन्छन् भने पछिका तीनबटा अस्वीकार्य छन् | जैन, बौद्ध सम्प्रदायले पनि विवाहसंस्थामा विश्वास गर्छन् र विवाहित पतिपत्नीलाई “विश्वका पालक” भनेर प्रसंशा गर्छन् |
यहुदी, इसाई तथा मुस्लिम समाजमा पनि वैवाहिक कार्य अनिवार्य मानिएको छ | यी सबै संस्कृतिले विवाहपूर्व यौनाचारलाई स्वीकार गर्दैनन् | हिन्दू, बौद्ध तथा जैन संस्कृतिको तुलनामा यी सम्प्रदायहरू पारचुकेका सवालमा निकै उदार छन् | यिनको धार्मिक विश्वासअनुसार “महिलामा आत्मा नहुने” हुँदा महिलाको अवस्थाको निर्णय पुरुषको हातमा हुन्छ | पश्चिमाहरूमा नास्तिकता बढ्दै गए पछि उपरोक्त मान्यता प्रभावविहिन देखिएको छ भने मुस्लिम समाज आज पनि अन्यका तुलनाका कठोर देखिन्छ |
विश्वका सबै धर्म र संस्कृतिले “विवाहित जोडी”लाई नै विश्वप्रति सबैभन्दा बढी उत्तरदायित्व थोपरेको छ | श्रीमद्भागवत (७/१४) मनुस्मृति, गरुडपुराणआदि धार्मिक ग्रन्थहरूमा गृहस्थको कर्तब्यका रूपमा पतिपत्नीले संगै सम्पन्न गर्ने अनेकौं कर्तब्यमात्र होइन एकआपसमा कस्तो ब्यबहार गर्ने भन्ने विषयमा पनि बडो प्रभावकारी तवरले वर्णन गरिएको छ | राजा भत्रिहारिले “धन्योगृहस्थाश्रम” भनेर पतिपत्नीले संयुक्तरुपमा संचालन गर्ने गृहस्थी जीवनको प्रशंसा गरेका छन् | मनुस्मृतिले (३/७७-७८) “जसरी वायुको अभावमा जीवन सम्भव हुँदैन तेसरी नै गृहस्थ विना अन्य आश्रम (ब्रह्मचर्य, वानप्रस्थ तथा सन्यास) जीवित रहदैनन्” भनेको छ | यसरी विवाहित दम्पति अर्थात् गृहस्थ पतिपत्नी नै मानव समाजका सबैभन्दा महत्वपूर्ण संरक्षक हुन् |
यहाँ प्रश्न उठ्नु स्वाभाविक ठहर्छ कि एतिबिध्न उत्तरदायित्व पूरा गर्ने “पतिपत्नी” “दम्पत्ति” लोग्नेस्वास्नी” “जोइपोई” “बूढाबूढी”को एकआपसको सम्बन्ध कस्तो रह्यो भने मात्र एस्तो गृहस्थी जीवन सहज हुन्छ त ? एउटा कुरा ध्रुवसत्य छ, त्यो के हो भने विश्वका अधिकाशं पतिपत्नीहरूले अरूप्रतिको कर्तब्य निर्वहन गरिरहँदा एकआपसको मानसिक, शारीरिक, आध्यात्मिक तथा सामाजिक स्वास्थ्यलाई विर्सिन्छन् |
आज पनि नेपाली समाजले विवाह-संस्थाको ठूलो आदर गर्छ | विवाहपूर्व प्रेम गर्ने युवक-युवति पनि सकेसम्म अभिभावकहरूको अभिमतमा विवाह गर्न् चाहन्छन् | हाडनाता भित्र गरिने यौन-प्रेम बाहेक अन्य यौनप्रेमलाई समाजले अलिअलि गरेर स्वीकार गरिरहेको अवस्था छ | वि.स्. २०७३ को जनगणनाअनुसार नेपालभरी करिव ३७ लाख पतिपत्नी छन् | तेसमा स्वाभाविक रूपले वैदिक संस्कारअनुसार विवाहित पतिपत्नी नै बढी छन् | विना विवाह “लिभिंग टुगेदर”मा बस्ने पनि केही छन् तर ती परम्परागत विवाह पद्धतिका आधारमा बनेका “पतिपत्नी” होइनन् |
नेपाली तथा भारतीय पतिपत्नीहरूको आपसी ब्यबहार निकै परम्परागत शैलीको हुने र आपसमा निकै कम बोल्ने भनि भारतीय मनोविज्ञान सम्बन्धि अनुसन्धानले इंगित गरेका छन् | पश्चिमाहरूले यही अनुसन्धानलाई आधार बनाएर “विवाहित” जोडीहरूको आलोचना गर्छन् | आपसी संवाद कम छ भन्दैमा, परम्परागत पद्धतिअनुसार विवाह भएको हो भन्दैमा विवाहित जोडीहरू मानसिकरूपमा समस्या ग्रस्त छन् भनेर निष्कर्ष निकाल्नुको कुनै महत्व छैन | विवाहित पतिपत्नीका आपसी ब्यबहारहरू पश्चिमा जोडीहरूझैं भए मानसिक रूपमा स्वास्थ्य हुने र नत्र मानसिकरूपमा अस्वस्थ्य हुनेजस्तो अब्यबहारिक सोच नै परिवर्तन हुनुपर्छ |
तर एउटा तीतोसत्य के हो भने “सबैको ख्याल गर्ने नेपाली तथा भारतीय विवाहित पतिपत्नीले आफ्नो नीजि खुसी तथा मानसिक स्वास्थ्यको निकै कम ख्याल राख्ने गरेको अनुसन्धानहरूले प्रष्ट पारेका छन् | “तपाईंलाई अर्काको सेवा गर्दा खुसी मिल्छ कि आफ्नो ?” भनेर सोधिएको प्रश्नमा १०२ जनामध्ये केवल ४.६% पतिपत्नीले आफ्नो स्वास्थ्यमा पनि ध्यान दिने बताएका छन् | भने तपाईंले आफ्नो निजीपनको लागि भनेर समय छुट्याने गर्नुभएको छ ? भन्ने प्रश्नको उत्तरमा ८०% ऊत्तरदाता पतिपत्नीले “थाहा छैन” भन्ने जवाफ दिएका छन् | एसबाट “नेपाली पतिपत्नी”हरूका लागि सहयोगको खाँचो छ भन्ने स्पष्ट हुन्छ |
तर यहाँ एउटा महत्वपूर्ण तत्थ्य मैले स्पष्ट पार्न आवश्यक ठान्छु | इसाई, मुस्लिम र पश्चिमा नास्तिक समुदायमा “विवाह” तथा “पतिपत्नी”को आपसी सम्वन्ध, अधिकार तथा उत्तरदायित्व र वैदिक परम्परामा आधारित अथवा यो परम्पराको प्रभावक्षेत्रमा रहेका समुदायको विवाह तथा पतिपत्नीको आपसी सम्बन्धको बुझाई फरक हुन्छ | मुस्लिम नै भए पनि नेपाली मुस्लिम पतिपत्नी र साउदीअरवका पतिपत्नीको “पतिपत्नी” अवधारणा फरक हुन्छ | भारतीय, नेपाली मुस्लिम तथा इसाईहरूको “पतिपत्नी”को आपसी सम्बन्धमा हिन्दू जीवनशैलीको गहिरो प्रभाव हुनु स्वाभाविक हुन्छ भने इसाई वा मुस्लिम समुदायका माँझ लामो समयसंग बस्ने गैर-मुस्लिम वा इसाईहरूमा पनि तिनको प्रभाव परेको हुन्छ नै | मनोबैज्ञानिक परामर्शदाताले यी तत्थ्यहरू बुझ्न आवश्यक हुन्छ |
मैले यहाँ केवल वैदिक, बौद्ध वा जैन पद्धतिका “विवाहित” पतिपत्नीको (दम्पति, लोग्नेस्वास्नी, बूढाबूढी)को वैवाहिक मानसिक स्वास्थ्यको मात्र कुरा गरिरहेको छु | पश्चिमा पद्धतिमा “कपल” “फेमिली” “मेरिज” भन्नाले जे बुझिन्छ तेसभन्दा पनि धेरै कम क्षेत्र “पतिपत्नी” भनेर बुझ्नुपर्छ | फेमिली, कपल तथा मेरिज, वैवाहिक परामर्शको क्षेत्र ब्यापक छ | पश्चिमा पद्धतिमा कपल भन्नाले विवाहित पतिपत्नी, विवाहित गे-जोडी, विवाहित लेस्वियन जोडी, अविवाहितभएर पनि यौनसम्बब्ध भएका प्रेमी-प्रेमिकाआदि बुझ्नुपर्छ भने वैदिक परम्परामा “पतिपत्नी” भनेको आठप्रकार मध्ये कुनै एकप्रकारको माध्यमबाट यौनसम्बन्ध बनाएर पतिपत्नी बनेका जोडीलाई बुझ्नुपर्छ |
हिन्दू, बौद्ध तथा जैन समुदायमा अविवाहित यौनाचार र अप्राकृतिक (गे,लेस्वियन) पतिपत्नी स्वीकार्ने चलन छैन | विदेशमा बसेर फर्केका, पाश्चात्य पद्धतिको यौनव्यबहारमा विश्वास गर्ने नेपालीहरूले “कपल, मेरिज, फमिली”को अर्थ व्यापक रूपमा लिन सक्छन् तर परम्परागत नेपाली समाज र तेसले निर्माण गरेका पतिपत्नीले एस्तो सम्वन्ध बुझ्दैनन् | अधिकारवादको आवरणमा नेपाल छिरेका एस्ता “जोडी”हरू र तिनको ब्यबहारले नेपाली समाज केही प्रभावित हुन थालेको नकार्न मिल्दैन |
पश्चिमा जगतमा खासगरी अमेरिकामा सन् १९२० ताका पहिलो पटक विवाहित जोडीलाई सहयोग गर्ने उदेश्यले जर्मनी र तेसपछि १०३० ताका अमेरिकामा आरम्भ भएको थियो | पछि १९५० ताकाबाट मनोबैज्ञानिक परामर्श “कपल”लाई इंगित गरेर आरम्भ गरियो | तर व्हिल ओस्लेन (१९७०), डब्लु. सी निकोलस (१९७३), सेगर, केप्लान, गुन्लाक (१९८१) गोटम्यान (१९८७) हावर्ड, स्कोट, सूसन आदि विदेशी मनोबैज्ञानिकहरूले यस क्षेत्रमा निकै काम गरेका छन् | तर मैले भनेझैं यी सबै परामर्शदाताहरूको प्रारूप पश्चिमा कपलमैं आधारित छ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *