gsharan icon

कमारो र घर्तिको वरपीपल चौपारी

कमारो र घर्तिको वरपीपल चौपारी
फागुन २०७२ को कुरा हो | गाविसले बाटो खन्न डोजर बोलाएको रहेछ | त्यो डोजरले घर्तिगाउँमा रहेको चौपारी मासेर बनाउने पर्नुभयो |सबै गाउँले चौपारी मास्नु पर्ने पक्षमा थिए | गाउँका ७४ वर्षी रामलाल घर्ति भने चौपारीमा उभिएका बर, पिपल र स्वामीका रुख जसरी पनि जोगाउन चाहन्थे |
म बाटो हिंडिरहेको अवस्था थियो | गाउँलेहरूको कर्यांकुरुंग सुनेर तल झरें | करिव १५० जना मान्छे र एउटा भीमकाय डोजर त्यहाँ रहेछ | बाटो खन्दै आएको डोजर अचानक चौपारीमा आएपछि रोकिन बाध्य भएछ |
कुरो के रहेछ भनेर बुझ्दा त ७४ वर्षीय रामलाल घर्ति र निजकी ७० वर्षीया पत्नी काली घर्ति पिपलको रुखमा अंगालो हालेर “बरू हाम्रो ज्यान जान्छ तर यी वर-पिपल” मास्न दिंदैनौं” भनेर अड्डी लिएर बसेका रहेछन् | उनीहरू रूखहरू र चौपारी जोगाउन जीवन पनि दिन तयार रहेछन् | उनको अड्डी अकारण थिएन |
कुरो बुझ्दा, उनका पूर्खा तेही गाउँको एउटा मगर परिवारमा कमारो रहेछन् | पछि, मगरका सन्तान नभएपछि निज मालिक मगरले चौतारी बनाएर वर, पिपल र स्वामीको रुख लगाई विधि-पूर्वक ती रुखहरू विच विवाह गराई, चौतारो चिनेर, कमाराहरू मुक्ति गरेका रहेछन् | त्यसपछि त्यो परिवारमा सन्तान भएछ |
यो सबै घटना आफैले नदेखे पनि सुनेका रामलाल घर्तीका वर-पिपलको चौतारीसंग गहिरो नाता रहेछ | उनी भन्दै थिए “उल्टो ठाउँठाउँमा वरपिपल रोपेर, चौतारा बनाएर गाउँलाई हरियो-परियो बनाउनु पर्ने ठाउँमा भएको चौतारी मासेर रुख काट्न थाल्ने ? यी गाउँलेको बुद्धि विग्रिएको छ |
मेरा लागि यी वर-पिपल देउता हुन् | मैले मेरो जीवनमा वर-पिपल रोपेर विवाह गराउन सकिन, यी रूखहरू मरे पनि काट्न दिन्न | मेरो ज्यान नै किन नजाओस् | उनी आफ्नो अडानमा थिए | आखिर उनी र उनका पुर्खाले तेसै रुखका माध्यमबाट मुक्ति पाएको थियो |
अन्तत: गाउलेहरू हारे | तल्लो वारिको पाटोबाट डोजर चलाउने सहमति बन्यो | एउटा बृद्धको अडानका कारण एउटा चौतारी मात्र होइन वरपिपलसंग जोडिएको इतिहास, धर्म-संस्कृति समेत जोगियो, रूखहरूको ज्यान जोगियो |
म बटुवा तेहा बाट हिडें | मैले आफैलाई भने “पहिलेका हाम्रा पूर्खाहरू रुख रोपेर, चौतारी बनाएर, रुखलाई नै देवी-देवताको रूप मानेर विवाह गर्थे | आ- जीवन तिनको सुरक्षा गर्थे | अहिले पनि लोकगीतहरूबाट चौतारीहरूको भाका मेटिएको छैन | गीत, कविता र मनमा भए पनि वर-पिपलका चौतारीहरू नेपालीको मनमा छन् |
बूढो हुँदैजाँदा मान्छे बढी रुढीवादी हुन्छ भन्ने मनोविज्ञानको मान्यता छ तर जुन रुढीवादले समाज र संस्कृतिको इतिहास बोकेको छ तेसको जगेर्ना गर्नु हामी सबैको कर्तब्य हो | विकासको अन्धो आँखाले वातावरणको विनास नदेख्न सक्छ तर विनासले निम्त्याउने त्रासदी भोग्न बाध्य पार्छ | असल चालचलनहरू अपनाउनु र तेसको प्रवर्धन गर्नु रुढीवादिपन हुँदैन |
हरेक बाटो, बाटोमा रहेका पौवा-पाटी, ठाँटी, चौतारा, पँधेराहरूको आफ्नो रैथाने इतिहास छ | हरेकले एउटा सिंगो समाज, व्यक्ति वा चालचलनको प्रतिनिधित्व गरिरहेका हुन्छन् | विकासको अन्धोयात्रामा यी इतिहासहरू मेटिनु दुर्भाग्यपूर्ण हो | डोजरले पँधेरो मात्र होइन एउटा सिङ्गो इतिहास मेटाउने काम गर्छ | अनि, डोजरको छेउमा उभिएर हामी आफ्नो इतिहास, धर्म, संस्कृतिको विनाश हुँदै गर्दा ताली बजाएर हास्ने दुर्भागी नागरिक बन्छौं |
मेरा पूज्य पिता पं पिताम्वर उपाध्याय भन्नु हुन्थ्यो “बट-सावित्री विवाह गर्नेहरूको सात कुल तर्छन्’ उहाको कुरा आध्यात्मिक अर्थमा सत्य होला-नहोला भन्न सक्दिन तर एउटा वर तथा पिपलको आयु र तिनले उत्सृजन गर्ने प्राणवायु (अक्सिजन)ले सात कुल होइन पचासौं कुलहरू तार्छ भन्ने कुरामा शंका छैन | हामीले बुद्धकालीन पीपल अझैं जीवित रहेका कुरा सुनेकै छौँ |
गाउँमा डोजर पुग्दा गाउँलेहरूले हातमा धूप, चन्दन, फूल र अक्षता लिएर पूजा गर्दै स्वागत गरेको धेरै पटक देखेको छु | यो विकासको खुसी हो तर पूजा गरेर स्वागत गर्नेहरू महँगो भाडा तिर्न नसकेर तेही बाटोमा पैदल हिंडेको पनि मैले नै भेटेको छु | “के गर्नु ? सामानले गाडी नभरिएसम्म ती हिड्दैनन् र भाडा पनि तिरी नसक्नु छ – भन्ने यात्रुहरू धेरै छन् | एस्तो विकाको औचित्यमा प्रश्न उठाउने आँट त गर्नैपर्छ |
जताततै डोजरले काटेर बनाएका घाउँहरूले गाउँहरू रोगी बनेका छन् | धरती डाँको छोडेर रून सक्ने भए अवश्य रुन्थिन् | विवर्ण बनेका कान्लाहरुले वर्षाको वेलामा आफ्नो रुदन प्रकट गर्छन् | खनिएका खरवारी, वारी, खेत, खलिहान, खोल्सा, चौतारीको विनासमा खुसी हुने मान्छेले हरेक दूइसय मिटरमा एउटा वरपिपलको चौतारी बनाउने सङ्कल्प लिए कति राम्रो हुन्थ्यो होला ? डोजर गाउँ पस्दा हातमा थाली लिएर पूजाआजा गराउने पण्डितहरूले हरेक गाउँलेलाई “एउटा घर एउटा चौतारी”को सङ्कल्प गराए कस्तो होला !
हरेक दिन कुनै नकुनै विकासे नारा दिएर वैठक बोलाउने NGO कर्मीले हरेक बैठकको अन्त्यमा एउटा वरपिपल रोप्ने निर्णय गरे कसो होला ? नया बन्ने हरेक मन्दिरसंगै एउटा वरपिपलको छहारी बनाउने आँट गरे कसो होला ? हरेक ब्रतबन्ध-विवाहमा एउटा वरपिपलको विवाह गर्ने सङ्कल्प गर्दा के होला ? दाह संस्कार गर्ने हरेक परिवार र परिवारका आफन्तले क्रियाको अन्त्यमा एउटा वरपिपलको चौतारी वा रूख रोपेर मृतक आफन्तको सम्झना गरे कसो होला ?
एकातिर हामी पन्चपल्लव नभई पूजाआजा गर्दैनौ अर्कोतिर ती पातहरूको स्रोत रूखहरू रोप्ने र तिनको सम्बर्धनतिर ध्यान दिंदैनौं | मेरो आफ्नै गाउँका नया पुस्ताहरू पूर्खाले रोपेर चौपारी बनाएर संरक्षण गरेका रुखहरू काट्न प्रतिस्पर्धा गरेको देखेको छु तर एउटा नया चौपारी बनाएर रुख रोप्नु भन्दा NGO ले डाक्ने वातावरण सुरक्षा सम्बन्धि बैठकमा २०० रुपैया बुझ्न आतुर देखिन्छन् | स्वार्थीपनको विकासे परियोजनाले हाम्रो समाज बौलाहा भएको छ |
मानौं, अहिले नेपाली जनता विकासको लागि बौलाहा भएका छन् | विकासको बौलात्ठीपनले विकासको नाममा विनास निम्तिएको छ | भारत, चीन, जापानबाट भित्रिने डोजर, एकसाभेटर, गल्फबाट आयात गरिने पेट्रोलियम पदार्थले देशको पैसो तेतैतिर लागिरहेका छ | विकासको छन्द भेषमा ठकेदारहरूले पैसाको झोहो गरिरहेका छन् |
आज हामीले रुख रोप्ने र छहारीका लागि चौतारी बनाउने काम त गर्न सक्दैनौं तर आफ्नै पूर्खाले रोपेर हुर्केका रुखहरू काटेर विकासको दम्भ भरिरहेका छौँ | पुरानो समयमा गाउँ-शहरमा श्रीभागवत कथा, अन्य पूजाआजा हुँदा मान्छेहरूले वरपिपलको रूख रोपेर त्यसको समापन गर्थे | के आज पनि तेसै गर्न सकिन्न र ?
वैदिक, जैन, बौद्ध, वोनआदि नेपालका रैथाने सांस्कृतिक धारामा रूखलाई देवता मानिएको त छ नै तर हालै प्रसिद्ध बायोलोजिस्ट जर्ज डेविड हस्केलले आफ्नो पुस्तक रूखहरूको गीतमा “रूखहरूले बोलेको, क्रियाकलाप गरेको तथा सुख-दुख व्यक्त गरेको मान्छेले बुझ्न सकिन्छ” भनेर विश्वमा तहल्का मचाएका छन् | तर हामीले आफ्ना पूर्खाहरूले रूखलाई नै पतिपत्नीको रुपमा बुझेर विवाह गरिदिने, चौपारी बनाएर तिनको घरवार जोडिदिने परम्पराप्रति हामी ध्यान दिन्नौं | २०१७ जर्ज डेविडले भनेको कुरा हाम्रा वैदिक ऋषिहरूले ब्यबहारिक रूपमै सिद्ध गरिसकेका थिए | कुनै सेतोछाला भएको मान्छेले अंग्रेजीमा नलेखिएसम्म आफ्नै परम्परामा रहेको विज्ञानलाई अन्धविश्वास ठान्ने हाम्रो बौद्धिक अन्धविश्वासको अन्त्य कहिले होला ?
मैले रामलाल घर्तिलाई आफ्नो गुरुका रूपमा स्वीकार गरेको छु | उनले जसरी एउटा चौतारीमा उभिएका रुखहरू जोगाउन आफ्नो जीवनलाई चुनौती दिए र डोजरलाई हार्न बाध्य बनाएर तिनको प्रेरणा मेरो आदर्श बनेको छ | स्वार्थी राजनीति, ठेकेदार संस्कृति, विकासे रोग लागेको अन्धो समाज र आफ्नो धर्म, संस्कृति तथा राम्रो परम्पराहरूमा निर्लज्ज आक्रमण हुँदा “प्रगतिशील” बन्ने रूखो निर्दयी समाजका लागि रामलाल-काली घर्ती प्रेरणा हुन् | रामलाल दम्पत्ति ! तपाईंको कालजयी निर्णयप्रति मेरो सम्मान छ, मेरो प्रणाम छ |
अवको पुस्ताले त रुखहरू विच विवाह गरिन्थ्यो भनेर सुन्दा पनि “कस्तो अन्धविश्वासी समाज” भनेर नाक खुम्चिन्छ तर त्यो तेस चलनमा लुकेको वातावारणप्रतिको प्रेम र आफ्नोपन बुझ्न सक्दैन | विदेशीको सिको गर्ने प्रतिस्पर्धामा हामीले आफैलाई निल्दै छौँ | आफ्नो धर्म-संस्कृतिमा रहेका असल जरोकिलो मासेर प्रगति हुन्छ भन्ने सोचमा परिवर्तन गर्नुपर्छ | आफ्नो जरोकिलो,मा अडिएको विकास दिगो हुन्छ भन्ने बुझ्नुपर्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *