नेपालको (Dark age) कालोयुग खोई !
पश्चिमा विद्वानहरूले लगभग लुप्त भैसकेका प्राचीन ग्रीकेली विद्वानहरूका रचनाहरू खोज्न ठूलो परिश्रम गरे | सन् ४७८ देखि युरोपमा इसाई धर्मको एकल वर्चस्वले किच्दा, बाइबलसंग विमति राख्ने सबैजसो प्राचीन बौद्धिक सम्पदाहरू खोजीखोजी आगोमा पोलियो | सन् १५०० सयसम्म यस्तो परम्परा कायम रह्यो | इसाई धर्मको चरमचुलीको कालखण्डलाई “कालोयुग” भनिन्छ |
सन् १५००पछि विद्वानहरूके हिम्मत गरेर प्राचीन बौद्धिक सम्पदाहरू खोज्न थाले | त्यसमा देकार्तजस्ता विद्वानहरूले इसाई भएको छद्मभेष पनि स्वीकर गरे | भनिन्छ, सन् १९५३ सम्म प्राचीन ग्रीकेली, कालोयुगमा लुकेर लेखिएका बौद्धिक सामग्रीहरूमध्ये केवल ३०% मात्र पुन:स्थापित गर्न सकियो | ७०% बौद्धिक सामग्रीहरू “कालोयुग”ले निल्यो |
तर प्राचीन भारतवर्षीय बौद्धिक विकासको आधिकारिक कालोयुग भने सन् १७७३ मा भारतीय उपनिवेषलाई आधिकारिक ब्रिटिश कलोनी बनाउन ब्रिटिश पार्लियामेन्टमा प्रस्तुत गरिएको इस्ट इन्डिया कम्पनी एक्ट १७७३ बाट भएको हो भने प्राचीन तथा समकालीन भारतवर्षीय बौद्धिक सम्पदाको मान मर्दन गर्न र यसको अनुपयोगिता सिद्ध गर्ने सन् १८३५ मा लर्ड म्यकलेको सिफारिसमा ल्याइएको “इंग्लिस एजुकेशन बिल १८३५ सुनिश्चित गरिएको छ |
म्यकालेको सिफारिसको एकल र अन्तिम उदेश्य नै प्राचीन भारतेली शैक्षिक ब्यबस्थाको अन्त्य गर्नु र अंग्रेज-मुखी शिक्षाको विकास गर्नु रहेको थियो | आगामी दिनहरूमा तिनको शिक्षा फिफरिस फलिभूत र घनिभूत भयौ | नेपाली तथा भारतीय विद्वानहरूले आफ्ना प्राचीन ऋषि मुनिका बौद्धिक सम्पदाहरूको विषयमा जानकारीको कुरा त छोडौं नामसम्म पनि नजान्ने भए |
अहिले हामी अरस्तु, प्लेटो, अगस्ताइनआदिको नाम र काम त जान्दछौँ तर बृहस्पति, भृगु, चाणक्य, सायन आदिका विषयमा हाम्रो ज्ञान छैन | मैकलेको शिक्षानीतिले पराइलाई आफन्त र आफन्तलाई पराई बनायौं | हामी विदेशी विद्वानहरूको प्रशंसा गर्ने, तिनको अनुसरण गर्ने र तिनका कामको बखान गर्ने “गाइने”मा रुपान्तरित भयौं |
सन् १८३५ मा नया शिक्षा लागु भएपछि अंग्रेजहरूले परम्परागत शिक्षानीतिमा प्रहार गर्ने, त्यसका लागि पूर्वाधारको रूपमा माथिल्लो समुदायलाई निशुल्क अंग्रेजी शिक्षा दिने नीति अवम्वन गरे | फलत, यहाँका विद्वानहरूले प्राचीन ऋषिमुनिहरूको नाम, काम र योगदानको चर्चा गर्न छोडे भने अरस्तु, प्लेटोआदिको नाम घोक्न र तिनको विचारलाई पहिलो पंक्तिमा उल्लेख गर्न अह्राए |
आज जुन सुकै रिसर्चमा हाम्रा विद्वानहरू बडो गौरवका साथ प्राचीन ग्रीकेलीहरूको साभार गर्छन् | यसरी अग्रेजहरूले आफ्नो प्राचीन बौद्धिक गौरव , कुनै पनि सरोकार नभएको नेपाली समाजमा समेत स्थापित गर्न सफल भए | उनीहरूले आफ्ना ऋषिहरूको ऋण यसरी तिरे |
अंग्रेजले जे गरे तिनको लागि निकै गौरवको विषय हो | उनीहरूले गर्नु पर्ने पनि यही हो | तर हामी नेपालीहरूले जे-गरिरहेका छौँ, यो नितान्त निन्दनीय छ | हामीले “रेडीमेड”हरूलाई महत्व दियौं | आफ्ना प्राचीन गौरवशाली बौद्धिक सम्पदाहरू खोजेर, ती सम्पदा र सम्पदकारहरूलाई “पहिलो उद्धरण” बनाउन चासो दिएनौं | सन् १८३५ सम्म पनि ऋषिमुनिको परम्परामा आधारित हाम्रो शैक्षिक, बौद्धिक कार्यहरू निरन्तर अगाडी बढिरहेका थिए |
त्यसताका नेपालका गंगेश उपाध्यायले नब्य न्यायमा काम गरिरहेका थिए भने भारतको बङ्गालमा विश्वनाथ चक्रवर्तीहरूले न्याय दर्शनको विकास गरिरहेका थिए | काशी र कस्मीरमा शैवदर्शनको पुन: ब्याख्या हुँदैथियो | संस्कृतमा भइरहेको बौद्धिक सृजना रोकिएको थिएन |
सन् १८३५ को शैक्षिक वीलले यो परम्परागत क्रियशनमा पूर्ण विराम लगायौं | मैले निवेदन गरिसकें यसपछि भारतवर्षीय विद्या परम्परामा “कालोयुग” आरम्भ भएको र यो कालोयुगको गहिरो गर्तमा हाम्रो परम्परागत बौद्धिक सिर्जनाशीलता भासिएको छ | हामी सबै तमासविन बनेर भासिंदै र हराउंदै गएको आफ्नो मौलिकताप्रति विवश आँखाले हेरिरहेका छौँ |
हरेक समाजको आफ्नै विशेषता हुन्छन् | भारतवर्ष, चीन, इजिप्ट, दक्षिण अफ्रीका र विश्वका अन्य देशहरूका आफ्नै विशिष्टता छन् | तिनको शिक्षा परम्परा आफ्नै विशिष्ट परम्परा र आवश्यकताअनुसार विकसित भएको हुन्छ | अंग्रेजी शिक्षानीतिले सामाजिक विशिष्टताहरूलाई तिरस्कार गर्दै विश्वको प्राकृतिक विविधतालाई एकै आखाँले पढ्ने पद्यति बसाल्यो |
एतत् देशप्रसूनस़्य सकाशादग्रजन्मनः। स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवा: अर्थात् आफ्नो विशिष्टताअनुसार विश्वका हरेक मानिसले आ-आफ्नो आवश्यकताअनुसार शिक्षा प्राप्त गर्छन् भन्ने प्राचीन ऋषिहरूको मान्यतालाई अंग्रेजी शिक्षाले विस्थापित गरिदियो | शिक्षित हुनुको अर्थ “अंग्रेजी बोल्नु, बुझ्नु, अंग्रेजीमा लेखिएका विषयहरूलाई मात्र प्रमाणिक मान्नु तथा अन्य बौद्धिक सम्पदाहरूलाई अंग्रेजीसंग तुलना गर्नु, अंग्रेजी इतरका विषयवस्तुप्रति अविश्वास गर्नु र हरेक परिवेशमा अंग्रेजीपन” अंग्रेजी शिक्षाले क्रमिकरूपमा लादेका विकृतिहरू हुन् | अहिलेको नेपाली र भारतीय समाज उपरोक्त मानसिक अवसादबाट ग्रस्त छ |
एउटा परिस्कृत तथा संचारका मिडियमका रूपमा अंग्रेजी भाषाको विरोध गर्नु गलत हो तर अंग्रेजीका लागि आफ्नो मौलिक बौद्धिक संम्पदाप्रति निरपेक्ष हुनु वा विरोधी मानसिकता प्रदर्शन गर्नु नितान्त अनुचित हो | अंग्रेजहरूले आफ्नो धर्म, संस्कृति तथा त्यसको वाहक अंग्रेजी भाषाको विकासका लागि गरेको प्रयत्नका नमन गर्नुपर्छ तर हामी नेपाली तथा भारतीयहरूले के गर्यौं ? हामीले आफैसंग सोध्नुपर्छ |
असलमा, हामी नेपालीहरू शिक्षामा मात्र होइन अन्य सबैथोकमा पराश्रित बनिरहेका छौँ | राजनीतिमा बामपन्थ जर्मनीबाट, चीनबाट, पूँजीवाद फ्रान्स तथा इंग्ल्यान्डबाट, समाजवादआदि रेडिमेड हामीले आयात गरिरहेका छौँ | तिनको असफल अभ्यास गरिरहेका छौँ | हामी स्वीकार्न तयार छैनौं कि हामी आफ्नै इतिहासको अध्ययन गरेर आफ्नै आवश्यकता सुहाउँदो राजनैतिक चिन्तन विकास गर्न सक्छौं | रेडिमेडहरूले हाम्रो क्षमता तथा आत्मविश्वासको विनाश गरेका छन् | नक्कलको परिणाम नै यस्तै हुन्छ |
म्यकालेको शिक्षा नीतिले हाम्रो आत्मविश्वास र आत्मसम्मानलाई गलाएर पसीना बनाएको छ | हामी गर्न सक्छौ, हामीसंग क्षमता छ, हामीसंग इतिहास छ भन्ने तत्थ्यहरूलाई समेत अस्वीकार गर्ने मानसिकता विकसित भएको छ | अचम्मको कुरा के हो भने यस्तो “मानसिकता”लाई हामीले सामाजिकीकरण गरिसकेका छौँ |