पोखरी, चौपारी, कोट र पौवा
यदि मलाई कसैले सोध्यो नेपालका आफ्ना मौलिकता के-के हुन् ? मैले भन्ने छु पोखरी, कोट, पौवा र चौपारी हुन् भन्ने छु | हरेक गाउँको अग्लो ठाउँमा एउटाकोट, हरेक गाउँको मुटुमा एउटा पोखरी र चौपारी नेपाली गाउँका आफ्नै विशेषता हुन् | चौपारी र पोखरी नभएको गाउँ नै छैन भन्दा अत्युक्ति हुँदैन |
वैदिक संस्कृतिमा पोखरीको ठूलै महत्व छ | वेद, उपनिषद् तथा पुराणहरूमा पोखरी निर्माण गर्ने कामलाई निकै महत्व दिइएको छ | प्राचीनकालमा मान्छे, पशुपक्षीहरूका लागि पानीको भरपर्दो स्रोत नै पोखरी तथा इनारहरू थिए | पहाडमा पोखरी र तराईमा तलाउँ – जीवनदायिनी नै थिए र कतिपय ठाउँमा त आज पनि छन् |
पहाडका हरेक गाउँमा पोखरीहरू छन् र ती पोखरीहरूको एउटा आफ्नै छुट्टै इतिहास छ | हाम्रो गाउँमा पनि मैले जाँदा दुईबटा पोखरीहरू थिए | ती मध्ये एउटा गाउँका वीचमा थियो र तेसको पानीमा गाउँभरीका पशुहरू आश्रित थिए | एककोश टाढाको झौरी खोलाबाट हप्ताको एक पटक सानो कुलोबाट तेस पोखरीमा पनि झारिन्थ्यो | गाउँलेहरू फुर्सद र रहरले कुलोमा पानी ल्याउन जान्थे |
अर्को पोखरी जङ्गलका वीचमा थियो | मान्छेहरू सत्यान आउँदाजाँदा तेस पानीको प्रयोग आफ्ना तिर्खाएका पशुहरूका लागि गर्थे भने गाईवस्तु चराउनेहरूहरू तेसै पोखरीमा आश्रित थिए | बर्खामा वर्षात र हिउँदमा खोलो वा मूलबाट पानी ल्याउने गरिन्थ्यो |
नेपालका हरेक पोखरीको इतिहास छ | तेसका निर्माणकर्ताहरू छन् | तेसमा धर्म तथा परोपकारको गहिरो आस्था लुकेको छ | मैले सुनेअनुसार मेरो गाउँको पोखरी पनि हाम्रा पुर्खाले गाई-वस्तुलाई नि:शुल्क पानी पीउने ब्यबस्था गर्न र आफ्ना पूर्खाहरूको सम्झनामा बनाएका थिए रे |
भविष्यपुराणमा पोखरी निर्माण गर्ने ठाउँ, तिथि तथा अनुमानित खर्चको समेत विवरण दिइएको छ | पोखरी निर्माण गर्दा जसरी तिथिमिति हेरिने चलन थियो तेसरी नै निर्माण भैसकेपछि पोखरीको वीचमा मौलो गाडेर तेसमा बरुण तथा शेषशायी विष्णुको आराधना गर्ने अझै पनि चलन छ | एसको अर्थ हो, हाम्रा पूर्खाहरूका लागि पोखरीहरू देवदेवीका प्रतिनिधि नै थिए | बाल्यकालमा मैले पनि धेरै पटक वरपिपलको विवाह र मौलो-पूजा देखेको छु |
अधिकांश पोखरी र चौपारीहरूसंगै हुन्छन् | थाकेका बटुवाहरू चौपारीमा सुताउँछन् भने तिर्खाएका पशुहरू पोखरीको पानी खान्छन् | भारी विसाउने, सामाजिक सरसल्लाह गर्ने, विवाह छिन्ने, ब्रतवन्धको मितितिथि तय गर्ने, बाघचाल खेल्ने र कतिपय अवस्थामा राति वास वस्न समेतका लागि चौपारीको प्रयोग हुन्थ्यो |
चौपारीको कुरा पछि गरौँला | अहिले पोखरीकै कुरा गरौँ | काठमान्डौ उपत्यकामा थुप्रै साना ठुला पोखरीहरू छन् | ती मध्ये रानीपोखरी, कमल पोखरी, खिचापोखरी, सिद्ध पोखरीआदि प्रमुख हुन् | अर्को शब्दमा काठमाडौँ उपत्यकालाई मन्दिरको शहरसंगै तलाउँहरूको शहर भन्न मिल्छ | उपत्यकाका हरेक पोखरीहरूको आफ्नै मौलिक इतिहास छ | जे-जस्तो इतिहास भए पनि तिनको मुख्य प्रयोजन तिर्खा मेटाउनु नै थियो भन्ने ठोकुवा गर्न सकिन्छ |
आज समयले कोल्टे फेरेको छ | मूलबाटोमा पर्ने भएकाले सबैजसो पोखरीहरू मोटरबाटोको आक्रमणमा परेका छन् | हामी लोभीपापीहरूले सजिलैसंग पोखरी फालेर (पुरेर) आफ्ना पूर्खाहरूको इतिहास र नाशो दुवै मेटिरहेका छौँ | आफ्नो इतिहास आफै मेटिरहेका छौँ | मेरै गाउँको पोखरीलाई सडकले निलेको छ | ठुम्पोखारा, ठूलीपोखरा, शङ्करपोखरीजस्ता इतिहासिक धरोहरहरूको इतिहासको खोजिनिधि नै नगरी सधैका लागि पुरिएको छ | सम्भवत: आधुनिकताको अर्थ नै आफ्नो मौलिक इतिहास मेट्नुनै रहेछ कि ?
पोखरीसंग जोडिएको दोस्रो धरोहर चौपारी हो | मैले माथिनै उल्लेखगरीसकें पोखरी र चौपारीको सम्वन्ध अन्योंयाश्रित रहेको देखिन्छ | पोखरी बनाउनेले चौपारी बनाएको र चौपारी बनाउनेले पोखरी खनेको हुन्छ नै | तर केही ठाउँमा खासगरी पाखो र बाँझो ठाउँमा चौपारीमात्र पनि बनाइएका हुन्छन् | जहाँ थकित भएका बटुवाहरू एकैछिन भए पनि आफ्नो थकाई मार्न सकूँन्, आराम गर्न सकूँन् |
ठाउँअनुसार चौपारी, चौतारा, चौतारोआदि भन्ने गरिन्छ | प्राचीनकालमा चौपारी बाटोघाटोमा चौपारी चिनेर तेसमा छहारीदार रूख लगाउने कामलाई निकै पूण्यकर्म ठानिन्थ्यो | वर-पिपल तथा समीका अजंग बिरुवाहरू चौपारीको माझमा सरेर चारैतिरबाट मान्छे वस्न, भारी-विसाउन मिल्नेगरी ढुंगाको गारो चिनिन्थ्यो | जसरी पोखरीसंग मानिसको दैनिकी जोडिएको थियो तेसैगरी चौपारीसंग पनि जनजीवन जोडिएको थियो र अहिले पनि जोडिएकै छ |
मैले आफ्नै गाउँको कुरा गर्छु | हाम्रो गाउँमा पाताल, पोखरा चौपारी, भिराकपालआदि गरी लगभग १०-१२ बटा चौपारीहरू छन् | ती सबै चौपारीहरू हाम्रा पूर्खाहरूले पुण्यकर्म गर्न निर्माण गरेका थिए | आज पनि यी चौपारीमा रोपिएका ठूलाठूला वर, पिपल र समीका रूखहरूले पर्याप्त रूपमा छहारी दिएकै छैन | धेरैजसो चौपारीहरू धारो, पोखरीसंग गांसिएकै हुन्छन् | चौपारीमा उभिएका अजंग रूखहरूले जलाधार क्षेत्रको सुरक्षा गर्छन् |
चौपारीहरूले जलाधारक्षेत्रको रक्षा मात्र गर्दैनन् अपितु वातावरणको पनि उत्तिकै रक्षा गरिरहेका हुन्छन् | ढुङ्गाले चिनिएका चौपारीले भू-क्षयलाई जोगाउने काम गर्छन् | वरपिपलले पर्यावरणमा अक्सिजन उत्सर्जन गर्छन्, कार्वन खान्छन् | हाम्रा पूर्खाले चौपारी चिनेर तेसमा रूख लगाएर, ती रूखहरूलाई छोराछोरीको झैं एकआपसमा विवाह गरिदिएर आफ्नै परिवारको अंग बनाएका हुन्छन् | गाउँले मिलेर विवाहित रूखदम्पति, चौपारी र पोखरीको संरक्षण गर्छन् |
मेरा जिजुबुबा गूरुदत्त पाध्याले सन्तान नभएपछि पातलमा चौपारी बनाई वर-पिपलको विधिवत विवाह गरिदिएपछि ३ भाई हजुरवुवाहरू र तीन बहिनि फुपूहरू जन्मेको प्रसंग अझैं पनि हाम्रो परिवारमा चल्छ | बटुवालाई छाया प्रदान गर्न, भरियालाई विश्राम दिन हाम्रा पूर्खाहरूले चौपारी चिन्थे | तेस्ता चौपारीहरूले हाम्रो देशको इतिहास निर्मित भएको छ | उदाहरणका लागि राम शाहको चौतारो न्यायका लागि प्रसिद्ध थियो भने लेखनाथले तरूणतपसीमा चौतारीलाई “तपस्यास्थल”का रूपमा चित्रित गरेका छन् | नेपाली लोकसङ्गीत त झन् चौपारीको चर्चा विना अधूरो नै रहन्छ |
लगभगजसो हरेक गाउँ, बाटो, टोल र टाकुरामा रहेका चौपारीमा हाम्रो इतिहास लुकेको छ | ती इतिहासहरूमा हाम्रो आफ्नो पहिचान र अस्तित्व लुकेको छ | हाम्रा पूर्खाहरूको परोपकारी जीवनशैली र पौरखलाई यी चौपारीहरूले थेगिरहेकाछन् | हरेक चौपारी हाम्रा स्वाभिमान हुन्, हाम्रो आफ्नोपन हुन् | कुनै पनि चौपारीमा विदेशीको एकपैसो पनि परेको छैन | तेसैले यी विशुद्ध रूपमा मेड इन नेपाल, मेड बाइ नेपाली र मेड फ्रम नेपाल नै हुन् |
तर बुल्डोजरको विकासले चौपारीहरू मासिएका छन् | हामी एतिबिध्न निर्दयी बनेका छौँ कि आफ्नै हातले आफ्ना पूर्खाको इतिहास र पौरखलाई बुल्डोजरको पाउँमा अर्पिएका छौँ | आफै अगाडी बढेर आफ्नो पहिचान मेट्दैछौँ | हाम्रा सन्तानले हाम्रो कस्तो इतिहास लेख्ने छन् – भन्न सकिन्न र उनीहरू कस्को इतिहासमा जिउने छन्, अनुमान गर्न गाह्रो छ |
अव कोटको कुरा गरौँ | कोटको सम्वन्ध शक्तिप्रदर्शन, शक्ति संचय तथा सूचना प्रवाहसंग रहेको छ | सामान्यतया कोटहरू गाउँको अग्लो ठाउँमा निर्माण गरिएका हुन्छन् | कोटमा देवीको मन्दिर हुन्छ र शक्ति आर्जनका लागि ती देवीका लागि पशुपक्षीको बलि दिने चलन छ |
तराईमा कोटहरुको अवधारणा पाइन्न | पहाडी भेकमा कोटहरूको निर्माण अग्लो ठाउँमा गरिन्थ्यो किनभने यहाँबाट शत्रुपक्ष उपर निगरानी राख्न सजिलो हुन्थ्यो भने निरन्तर युद्धको खतरा रहने हुँदा देवीको आराधना गरेर शक्ति आर्जन गरिन्थ्यो |
कोटबाट कटुवाल शब्दको निर्माण भएको हुनुपर्छ | कटुवालको काम ठूलो स्वरमा (घोक) बोलेर गाउँलाई सचेत गर्नु वा सूचना दिनु हुन्थ्यो | म केटाकेटी हुँदासम्म कोतुवालले घोक हालेको धेरै पटक सुनेको छु | समय वदलिएसंगै कोतुवाल कटुवालमा परिवर्तित भएका छन् |
यसरी, पोखरी, चौपारी र कोटको रचना हाम्रो नेपालीको आफ्नो मौलिक पहिचान तथा जीवनशैलीसंग जोडिएको छ | आधुनिक विकासले सबैभन्दा बढी क्षति यिनै “धरोहर”लाई गरेको छ | धरोहरहरू मासेर गरिएको विकासले इतिहास मेट्छ | संस्कृति तथा पहिचान मेट्छ |
के पोखरी, चौपारी तथा कोटहरूको विनाश नगरी विकास हुनैसक्दैन ? के मोटर बाटोका लागि आफ्नो इतिहासको बलिदान गर्नु उचित हो ? हामीले जवाफ दिने वेला आएको छ | धाराको पानी आउंदैमा पोखरी पुर्नुपर्छ भन्ने छैन | मोटरबाटोका लागि पोखरी, चौपारी र कोटहरूको बलिदान दिनुपर्छ भन्ने पनि छैन |
आज पनि पोखरी, चौपारी तथा कोटहरू तेती नै सान्दर्भिक र महत्वपूर्ण छन् | पशुपक्षीहरूलाई पोखरीको पानी आज पनि चाहिन्छ | बटुवाहरूका लागि आज पनि चौपारी उत्तिकै महत्वपूर्ण छ | बरू विद्यालय जाने/आउने बालबालिकाका लागि समेत चौपारीले वैकल्पिक विद्यालयको काम गरेको मैले धेरै ठाउँमा देखेको छु | बालबालिकाहरूले चौपारीमा वसेर पढेको, मैले धेरै पटक देखेको छु |
परिवारको सदस्यसरह वरपिपल र समी वीच विवाह गरिदिने संस्कृतिकै कारण होला विश्वभरी वनजङ्गलहरू घटिरहेका वेला नेपालमा भने वनजङ्गलहरू बढिरहेका छन् | हामीले आफ्नो संस्कृतिमा गर्व गर्नुपर्छ किनभने एसले हामीलाई रुख पूजा गर्न सिकाएको छ |
उपरोक्त तीनबटा मौलिकता वाहेक चौथो मौलिकता यात्रीहरूका लागि नि:शुल्क वास बस्न बनाइने “पौवा” हुन् | पौवाहरूको अलि विकसित स्वरूप धर्मशाला हो | पौवामा केवल वासमात्र वस्न सकिन्छ | विस्तारा, खाना आदिको कुनै ब्यबस्था हुदैन | तीर्थस्थलहरूमा, घाटहरूमा र चौपारी तथा पँधेरो भएको तर अलि निर्जन ठाउँमा पौवाको ब्यबस्था हुन्थ्यो हामी धेरैले भत्केका पौवाका अवशेषहरू देखेका छौँ |
आज पौवाहरूको स्थान धर्मशाला तथा होटलहरूले लिएका छन् | होटलहरू पूर्ण ब्यबसायिक हुन्छन् भने धर्मशालाहरू नि:शुल्क र स-शुल्क दुवै प्रकारले संचालित हुन्छन् | आज पनि दानदाताहरूको चन्दाले धेरै धर्मशालाहरू संचालित छन् | खासगरी तीर्थस्थलहरूमा यात्रुहरूका लागि सहुलियतदरमा धर्मशाला पाइन्छन् | तर निजीकरणले बढेको लोभले “पौवा”को चलन हराउंदै गइरहेको छ |
उपरोक्त चारैबाट मौलिकतामा निर्मित धरोहरहरू प्राचीनकालमा राजामहाराजा तथा धनीमानीहरूले बनाएर समाज सेवाका लागि अर्पण गर्थे भने गरिवगुरुवाहरूले पनि आफ्नै पाखुरा प्रयोग गरेर पोखरी, चौपारी तथा पौवाहरूको निर्माण गरिदिन्थे | सेतिवेनीमा एकजना दलित भक्तले निर्माण गरेको पौवा र चौपारी निकै प्रसिद्ध रहेको थियो | मैले सुनेअनुसार गरिव बोटेले तीर्थयात्रुहरूको लागि तिनको निर्माण गरेका थिए |
मलाई लाग्छ, गाउँका हरेक पोखरी, चौपारी, कोट तथा पौवाहरू कुनै मन्दिर भन्दा कम छैनन् | मन्दिरमा विराजमान भएका देवी-देवताको मान्छेले सेवा गर्नुपर्छ तर चौपारीहरूले प्राणीमात्रको सेवा गर्छन् | प्रत्येक गाउँ-सरकारहरूले आफ्नो गाउँ-ठाउँका पोखरी, चौपारी, कोट तथा पौवाहरूको इतिहास खोजेर तेसको अभिलेखीकरण गर्नुपर्छ | हरेक पोखरीको आफ्नै इतिहास छ जसले गाउँका निवासीहरूको इतिहास र जीवनशैलीको शब्दस वर्णन गर्नेछ |
विचार गरौँ त – यी चौपारी, पोखरी, कोट तथा पाटीपौवाहरूमा हाम्रा पूर्खाको आध्यात्मिक चेतना, परोपकारको दृढचेतना तथा तत्कालीन समयको शीप बोकेको छैन र ? के उनीहरूको यो परोपकारी प्रवृति हाम्रा लागि अनुपयोगी भएका हुन् ? के उनीहरूका प्राचीन शीपहरू आजका लागि वेकार भएका छन् त ? पटक्कै होइन, उनीहरूले आफ्नो समयानुकुल दायित्व पूरा गरेका थिए तर अव हाम्रो पालोमा हामीले आफ्नो दायित्व कसरी पूर्ण गरिरहेका छौँ भन्ने प्रश्न हामीले आफैसंग गर्नुपर्छ |
आजभोली सडक निर्माण गर्न यी चौपारीहरू, पोखरीहरू, पाटीपौवाहरूको बडो निर्ममतापूर्वक विनाश गरिंदै छ | कोटहरू उजाड पारिंदै छ | यहाँसम्म कि गाउँलेहरूले पुर्खाले चिनेका चौपारीका ढुंगाहरू उखेल्रेर लैजाने गरेका छन्, वरपिपलका सुन्दर रुखहरू काठको प्रयोजनका लागि काटेर ध्वत पार्दैछन् | एस्तो दृश्य मेरै आँखाले धेरै पटक देखेको छु, रोक्न खोजेको छु | तर आधुनिकताका नाममा मातिएको र आफ्नो इतिहाससंग पातिएको समाजले एसतिर ध्यान दिन छोडेको छ | आफ्नै खुट्टामा बन्चरो हान्ने आत्म-विनाशको एस्तो बाटो अन्त्य हुनैपर्छ |
मेरो जन्म पर्वत जिल्लाको विहादी-वराचौरमा भएको हो | म केटाकेटी हुँदा मान्छेहरूले पोखरी खान्थे, चौपारी चिन्थे | पोखरीमा मौलो गाढेर शेषशायी विष्णु र नागको पूजा गरिन्थ्यो र पोखरी समाजका लागि समर्पण गरिन्थ्यो | तेस्तै चौपारी चिनेर, बरपीपल रोपेर तिनको विवाह गराइन्थ्यो र समाजका लागि समर्पित गरिन्थ्यो | वराचौरका फाँटमा होस् वा सत्यानको टाकुरामा चौपारी र पोखरीको अस्तित्व जताततै छ | तर न आज कसैले चौपारी चिन्नेतिर ध्यान दिएका छन् न रहेबाँचेका चौपारी वा पोखरीहरू संरक्षण गर्न तम्सिएका छन् | मेरा हाम्रा वडाअध्यक्ष Om Prasad Kunwar यिनको संरक्षण गर्न जुट्नुपर्छ भन्ने मेरो आग्रह र निवेदन छ | एस्तो असलकार्यको लागि हाम्रो वडाको पहल नेपालमै पहिलो हुनुपर्छ | तेसपछि सबैले हाम्रो अनुकरण गर्नेछन् |
अन्त्यमा, अझैं पनि नेपालका हरेक गाउँमा पोखरी, चौपारी र कोटहरू जीवन्त छन् | तिनको लेखाजोखा राखौं, तिनको इतिहास खोजौं र जल, जङ्गल र कोटहरूको महत्व उजागर गरौँ | पोखरी पुरेर होइन खनेर, चौपारिका ढुंगाहरू रुखहरू काटेर र चोरेर होइन नया चौपारी चिनेर तथा कोटहरूको संरक्षण गरेर अगाडी बढौं | स्थानीय सरकारसंग एसका लागि हामी सहकार्य गरौँ |

