gsharan icon

नेपाली दर्शन निर्मित हुँदै 

नेपाली दर्शन निर्मित हुँदै
नेपाली दर्शनशास्त्रले अलिअलि गरेर आफ्नो परिचय स्थापित गर्दैछ | प्राचीन नेपाली दार्शनिक चिन्तकहरू दार्शनिक दृष्टिकोणले भारतवर्षमा केन्द्रित थिए | यद्यपि हिमवत्खण्ड, नेपाल महात्म्य, स्वयम्भू पुराणआदि संस्कृतमा लेखिएका वैदिक तथा बौद्ध ग्रन्थहरूले तेसैवेला पनि “नेपाली दर्शन”को आरम्भ त गरेकै हुन् – यो तत्थ्य हो | तत्कालीन नेपाली भूभागभित्र विकसित भएका (बुद्ध बाहेक) दार्शनिक दृष्टिकोणहरू तत्कालीन भारतवर्षका अन्य भूगोलमा के-कस्तो स्वरूपमा पुगे र स्थापित भए ? अनुसन्धान गर्नुपर्छ तर कास्मिरका शाक्त दार्शनिक अभिनव गुप्तको चिन्तनले नेपालको जीवन दर्शन प्रत्यक्ष प्रभावित देखिन्छ | अर्कोतिर दक्षिण भारतमा जन्मिएका आचार्य शङ्कर, रामानुज, निम्बार्क, मध्व, बङ्गालका चैतन्यआदि दार्शनिकहरूका चिन्तनले नेपाली जनजीवन गहिरोसंग प्रभावित रहेको छ | प्रत्यक्ष रूपमा हेर्ने हो भने हालको नेपाली भूभागभित्र जन्मिएका सिद्धार्थको दार्शनिक चिन्तनले विश्वलाई प्रभावित पारेको छ | दर्शनशास्त्रमा कलम चलाउनेहरूले वैदिक दर्शन, जैन दर्शन, सांख्य दर्शन, मीमांसा दर्शनको आरम्भ नेपालमै भएको हो भन्ने र लेख्ने गरे पनि एस्तो दावी गर्ने बलियो प्रमाण छैन | कोशीलाई संस्कृतकरण गरेर कौसिकी बनाउंदैमा वेदको आरम्भ पूर्वी नेपालको कोशीको किनारबाट भएको हो भन्ने तत्थ्य सबैका लागि मान्य हुँदैन |
अहिले नेपाली दर्शनशास्त्रको स्वतन्त्र अस्तित्व निर्मित हुँदैछ | प्राचीन भारतवर्षीय दार्शनिक चिन्तनहरूलाई एकलौटी “भारतीय” भन्ने राजनैतिक पूर्वाग्रहप्रति अस्वीकृति बढ्दै छ | दार्शनिक अभिरुचि भएका नेपाली विद्वानहरूले प्राचीन संस्कृत, पाली तथा स्थानीय भाषामा प्रवेश गरेर “भारतीय” भनिएका दार्शनिक चिन्तनहरूको नेपाली आधार खोज गर्दैछन् | उदाहणका लागि जैन दर्शनका संस्थापक ऋषभदेवले तपस्या गरेको थलो गण्डकी क्षेत्र (पुलाहा आश्रम) हो भनेर भागवतले लेखेको तत्थ्यका आधारमा जैनदर्शनको आरम्भ नेपालको वर्तमान भूमिबाट भएको हो भन्नु र नेमिनाथजस्ता तीनतीनबटा जैन तिर्थान्करहरू हालको नेपाली भूमिमा जन्मिएको प्रमाणित भएपछि जैनदर्शनलाई नेपाली पनि हो भन्न कसैले रोक्न सक्दैन | बौद्ध दर्शनका नेपालबाट आरम्भ भएको तत्थ्य लगभग स्थापित तत्थ्य नै हो | अर्कोतिर धार्मिक सम्प्रदाय नै भए पनि गोरखनाथको दार्शनिक उद्भव र विकासको ठूलो पाटो नेपाली नाथपन्थी योगीहरूले ओगटेका छन् | नेपाली गाउँका कुनाकन्तरमा भेटिएका “नाथ मठ”हरू र त्यहाँबाट सृजित भएका ग्रन्थहरूको दार्शनिक अध्ययन अत्यन्त जरुरी छ |
पाश्चात्य दार्शनिक दृष्टिकोणमा “दार्शनिकता एउटा स्वतन्त्र तथा धर्मनिरपेक्ष” बौद्धिक क्रियाकलाप हो तर भारतवर्षीय दार्शनिक दृष्टिकोणहरू यो मान्यताभित्र पर्दैनन् | भारतमा होस् वा नेपालमा – पाश्चात्य दार्शनिकहरूको उपर्युक्त मान्यतामा आधारित रहेर दर्शनशास्त्रलाई धर्मबाट अलग्याउने प्रयत्न गरेका छन् तर असफल छन् | यसैगरी कम्युनिस्ट दृष्टिकोणका समर्थक भारतीय दार्शनिक स्व. देवीराम चट्टोपाध्यायआदिले भारतवर्षमा प्रचलित दार्शनिक चिन्तनहरूको कठोर आलोचना गर्दै मार्क्सवादी दृष्टिकोणबाट व्याख्या गर्ने प्रयत्न तर ती स्थापित हुनै सकेनन् भने अर्कोतिर पाश्चात्य समकालीन दार्शनिक प्रवृत्तिहरूलाई अबलम्बन गर्दै स्व. कृष्णभट्टाचार्यआदि भारतीय दार्शनिकहरूले भारतवर्षमा विकसित भएका दार्शनिक चिन्तनहरूलाई “भौतिकवादी तथा धर्मनिरपेक्ष” बनाउने प्रयत्न गरे | चट्टोपाध्यायहरूको तुलनामा भारतीय चिन्तन जगतले भट्टाचार्य प्रवृत्तिलाई केही महत्व दियो तर सर्वसाधारणका दैनिक जीवनसंग दर्शनशास्त्र धर्म र सम्प्रदायहरूका रूपमा प्रत्यक्ष जोडिएको “धर्म र दर्शनशास्त्र”लाई अलग पार्ने प्रयत्न सफल भएको छैन र भविष्यमा पनि यो सम्भव छैन |
छापाखाना, रेडियो, टेलिभिजन र अन्त्यमा इन्टरनेटले विश्वलाई जोडेपछि अन्य विषयमा झैं दार्शनिक जगतमा पनि चिन्तनको आदानप्रदान तथा समालोचना आरम्भ भएको छ | दर्शनशास्त्रको मूल काम विविधतालाई एकीकृत रूपमा अध्ययन गर्नु र बुझ्ने प्रयत्न गर्नु हो | विज्ञानको विकासले धार्मिक प्रतिमानहरूमा आधारित चिन्तनहरूप्रति आलोचनात्मक तथा निषेधमूलक दृष्टिकोण विकसित भएको छ | अर्कोतिर अब्राहमिक एकेश्वरवादको कठोर एकलवादी धार्मिक चिन्तनका ठाउँमा बहुलवादी हिन्दू तथा निर्वाणवादी बौद्ध चिन्तनको पनि प्रभावक्षेत्र बढ्दै गएको छ | राजनैतिक दर्शनमा पहिचानवादको नयाँ अवधारणा विकसित भएर विश्वव्यापी हुँदैछ | नेपालजस्तो बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक समाजले एकअर्कालाई “जान्ने, बुझ्ने र आफ्नो चिन्तनलाई स्थापित” गर्ने अवसर पाएको छ |
नेपालको दार्शनिक जगतका केही प्रवृत्तिहरूका विषयमा बुझौं | नेपालको बहुसंख्यक समुदायको बौद्धिक दृष्टिकोण धर्म र धार्मिकताबाट अभिनिर्मित भएको छ | आधुनिक विज्ञानको प्रभाव र उपयोगिता बढ्दै जाँदा चिन्तनको परम्परागततह प्रभावित भएको छ | भारतमा स्वामी विवेकानन्दको नेतृत्वमा “व्याहारिक वेदान्त”का रूपमा प्राचीन वैदिक दर्शनहरूको पुनर्व्याख्या र समसामयिक बनाउने अभियान आरम्भ भएको थियो | नेपालमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, नरहरीनाथ, खप्तडस्वामी, विशुद्धदेवआदिले परम्परा नछोडी समसामयिक आवश्यकता र बुझाईका आधारमा दर्शनशास्त्रको व्याख्या गरेका छन् | रुखलाई विम्ब बनाएर लेखनाथले, प्राचीन शाकुन्तललाई रोजेर देवकोटाले संस्कृत विश्वविद्यालय नै खडा गरेर नरहरीनाथले पुनर्जागरणको नेतृत्व गरेका छन् | आज पुनर्जागरणको उपर्युक्त आन्दोलन बौद्धिक जगतमा निकै लोकप्रिय रहेको छ |
-यसैगरी प्रगतिशील भनिने नेपालका बामपन्थी बुद्धिजीविहरूले “धर्म र दर्शनलाई अलग पारिनु पर्छ” भन्ने मान्यता राख्दै वेद, उपनिषद, पुराण तथा धार्मिक सम्प्रदायका दार्शनिक साहित्यभित्रबाट नै भौतिकतावाद खोजेर अनेकौं पुस्तकहरू समेत प्रकाशित गरेका छन् | यो प्रबृत्तिको नेतृत्व भारतीय दार्शनिक द्वय प्रा, देवीराम तथा सांस्कृत्यायनले जन्माएका थिए भने नेपालीहरूमा बेदुराम भुषाल, नारायण आचार्य, गोपीरमण उपाध्याय, मोदनाथ आश्रित राजाराम सुवेदी, विष्णु प्रभातआदिले गरिरहेका छन् | यी मध्ये केहीले आफुलाई बौद्ध पनि भनेको पढिएको र सुनिएको छ | उपर्युक्त दर्शनशास्त्रमा अभिरुचि लिने बामपन्थी राजनैतिक कर्मीहरूले समस्त भारतवर्षीय दर्शनशास्त्रका प्राचीन संस्कृत तथा पाली बांग्मयको मूल उद्देश्य “द्वन्दात्मक भौतिकवाद” रहेको र पछिका संस्कृतका विद्वानहरूले धार्मिक पूर्वाग्रहका साथ भौतिकवाद अपव्याख्या गरेर आध्यात्मिक दर्शनमा रुपान्तरण गरेको” भन्ने आरोप लगाउने गरेका छन् | उपर्युक्त दृष्टिकोणले परम्परागत नेपाली चिन्तनमा नयाँ खाले बौद्धिक बहसले जन्म लिएको छ | वेद, उपनिषद तथा दर्शनशास्त्रका अन्यविधाको भौतिकवादी व्याख्या जान्ने, चिन्तन गर्ने र दृष्टिकोण विकसित गर्ने मौका जुराएको छ |
“मनुर्भव”को विशुद्ध दार्शनिक शुद्धधारालाई अंगालेर जयपृथ्वी बहादुर सिंहले अंग्रेजीमा “मानवतावाद” लेखेपछि राजनैतिक, धार्मिकवाद्हरूबाट माथि उठेर मानवतावादी दृष्टिकोणको दार्शनिक परिवेश पनि निर्माण भएको छ | यो दृष्टिकोणको नेतृत्व जोसमनी सन्तहरूले गरेका छन् | जोसमनी सन्तहरूले प्राचीन वेदान्तको नेतृत्वमा निर्गुण परम्पराअवलम्बन गर्दै सानोठूलो जाति र छुवाछुतलाई अस्वीकार गरे | लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विपी कोइरालाआदिले धर्म र धार्मिकताको समालोचना गर्दै मानवतावादको वकालत गरे | यो मानवतावादी धारमा पुनर्जागरणवादी, समकालीन पस्चात्य दर्शनवादी तथा धर्मनिरपेक्षतावादीहरू समावेश छन् | चाहेर वा नचाहेर बामपन्थी र कठोर वैदिक तथा बौद्धहरू पनि जोडिएका छन् | यहाँ उल्लेख गर्ने पने महत्वपूर्ण पक्ष के हो भने बालकृष्ण सममात्र एकजना एस्ता व्यक्ति हुन् जसले सिद्धान्त निर्माणतहमा पुगेर “नियमित आकस्मिकतावाद”को सिद्धान्त बनाए | दार्शनिक सिद्धान्तको तहमा काम गर्ने सम एकमात्र समकालीन दार्शनिक हुन् भन्ने लेखकीय ठहर छ |
नेपालमा दर्शनशास्त्रको पुनर्जागरणकाल चलिरहेको छ भन्दा अत्युक्ति हुँदैन | यस्तो हुनु नेपालको दार्शनिक पहिचानका लागि ज्यादै महत्वपूर्ण कुरा हो | नेपालमा चलिरहेको पुनर्जागरण नेपालको सबैतह र तप्कामा फैलिएको छ | राजनैतिक कारणले नै किन नहोस्, नेपालका सबै जातजाति, भाषाभाषी नेपालीहरूले आफ्नो मूल चिन्न, बुझ्न र सम्मानजनक तवरले स्थापित गर्ने प्रयत्न गरिरहेका छन् | हरेक समुदायले आफ्नो परिवेशमा दार्शनिक प्रतिमानहरू खोज्ने प्रयत्न गरिरहेका छन् | पछिल्लो समयमा किरात, गुरुंग, थारूआदिले आफ्नो मौलिक दर्शनको खोजिगरिरहेका छन् भने बोन्पोजस्तो ठ्याक्कै बौद्धसरहको प्राचीन धार्मिक समुदायको पहिचान भएको छ | बोन्पो दर्शनका प्रतिमानहरू स्थापित हुँदैछन् | नेपाली (खस) भाषामामात्र होइन अन्य नेपाली भाषाहरूभित्र रहेका दार्शनिक चिन्तन तथा प्रतिमानहरूको पहिचान गर्ने प्रवृत्ति बढेको छ | यी सबै तत्थ्यहरूले नेपाली दर्शनशास्त्रको क्षेत्रमा उत्साह वर्धन गर्छन् | प्राचीन वैदिक, जैन, बौद्ध तथा बोन परम्परामा पुनर्जागरण हुँदैछ भने नेपालका रैथाने तर ओझेलमा परेका समुहहरूले आफ्नो दार्शनिक प्रतिमान खोज्ने र स्थापित गर्ने क्रियाकलापलाई अगाडी बढाएका छन् |
दर्शनशास्त्रको क्षेत्र मूलतः विचार र सिद्धान्तको क्षेत्र हो | यो जति महत्वपूर्ण हुन्छ, त्यतिनै जोखिमपूर्ण पनि मानिन्छ | एउटा दार्शनिक चिन्तनको आरम्भ हुँदा ईश्वर पनि डराउँछन् किनभने त्यो चिन्तन सकारात्मक दिशातिर गयो भने विश्वको कल्याण हुन्छ, नकरात्मक दिशातिर गयो भने विश्वको विनाश हुन्छ – प्रसिद्ध दार्शनिक लाइनले लेखेका छन् | नेपाली समाजको पुनर्जागरण दिशा निकै विवादित छ | पुर्जगारणको बाटोमा अगाडी बढ्दै गरेका नेपाली समुदायका बिचमा सहृदयी सम्बन्ध “संगै रहौं, संगै प्राप्त साधनको उपयोग गरौँ, एकसंग अर्काको मन मिलोस्, कुनै प्रकारकको शत्रुतापूर्ण घृणावादी चिन्तनको विकास नहोस्” भन्नेतिर निकै चनाखो हुनुपर्ने देखिन्छ | आफ्नो पहिचान र मौलिकताको कुरा गर्दा अर्को समुदायप्रति असहिष्णु वा घृणावादी प्रवृत्तिको अवसान गर्ने बैचारिक पक्षलाई बलियो बनाउनु पर्छ | राजनीतिमा स्वार्थ हुन्छ तर त्यो स्वार्थलाई घृणावादका रूपमा अगाडी बढ्नबाट रोक्नुपर्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *