क्रमशः मौसम वदलिन थाल्यो | गर्मीको ऋतुमा चिसो र चिसोको मौसममा गर्मी हुन थाल्यो | गर्मीमा फल्ने धान चिसोको कारणले फल्न छोड्यो भने चिसोमा फल्ने गहुँआदि पनि फल्न छोडे | सम्पूर्ण अन्न, फलफुल तथा अन्य खाद्यवस्तुहरू ऋतु परिवर्तनका कारण फल्न छोडे |
मान्छेहरू र पशुमात्र होइन रुख-विरुवा, फलफुल तथा पक्षीहरू समेत दिग्भ्रमित हुन थाले | जाडोका महिनामा प्रचण्ड गर्मी र गर्मीका महिनाहरूमा प्रचण्ड जाडो पर्न थाल्यो | मान्छेहरू अन्न फल्न छोडेपछि भोकभोकै मर्न थाले | पशुपक्षीहरू पनि मर्न थाले | समुन्द्रका छेउका मानिसहरू दिनहरू माछाहरू खाएर बाँच्न सङ्घर्ष गरिरहेका थिए |
मेरो घरभएको ठाउँमा निरन्तर चिसो बढ्न थाल्यो | समुन्द्रको छालझैं चिसोले मेरो घरलाई छोप्यो | म र मेरा परिवारहरू भोकै थियौं तर पनि चिसोले ज्यान जोगाउन निरन्तर दौडीरहेका थियौं | चारैतिर मान्छेहरू दौडीरहेका थिए | जताततै अत्यधिक चिसो थियो | सूर्यका किरणहरू देखिन्नथे | मान्छेहरू चिसोका कारणले गर्दा मरिरहेका थिए | रूख, विरुवा, खोला-नालाहरू चिसोके अस्तव्यस्त थिए |
अनि, अचानक एकदम गर्मी हुन थाल्यो | गर्मीका कारणले आगो वर्सिएझैं थियो | मान्छेहरू रोइरहेका थिए | रुखबाट चरा र बाँदरहरू खसेर मरिरहेका थिए | मेरो शरीर केही क्षण अगाडीसम्म चिसो र भोकले जलिरहेको थियो भने अहिले कठोर गर्मीले पोलिरहेको थियो | मैले आफुलाई नितान्त एक्लोतथा बदलिएको प्रकृतिबाट निकै आश्चर्य मान्दै थिएँ | वास्तवमा म किम्कर्तव्य बिमूढ़ थिएँ |
म अचेतन भएर हिडिरहेको थिएँ | बाटोमा दुईबटा मृग भेटिए | ती घाँस खान नपाएर अचेतझैं भएर एताउति दौडिरहेका थिए | मैले अनुभव गरें : ती दुवै मृगहरूले मतिर अत्यन्त घृणाले हेरिरहेका छन् | त्यसपछि, मैले केही पक्षीहरू बाटोमा खसेर छटपटाइरहेको देखें | ती चिसोले कामिरहेका थिए | भोकले छटपटाइरहेका थिए | मलाई देखेर तिनका आँखामा घृणा भरियो | ती दूबै चराले मलाई घृणापूर्वक हेर्दै प्राण त्यागे | त्यही बाटोमा धेरै रुखहरू थिए, ती सबै चिसो र तातोले डढेर मरिरहेका थिए | मैले आफ्नो भित्रीमनमा ती रूखहरूले पनि म मान्छेप्रति घृणा गरेका छन् भन्ने अनुभव गरें |
मेरो यात्रा एउटा विशालकाय पहाडको टाकुरामा गएर रोकियो | त्यो टाकुराबाट मैले नदीहरूको पानी सुकेको, खेतहरूमा आगो जलिरहेको, पहाडहरू हिउँले ढाकिएर सेताम्मे भएको देखें | पहाडको त्यो टाकुरामा एउटा बेलको रूख थियो | म त्यसै बेलको रूखको फेदमा बसें | आँखा चिम्लिएर आफ्नो एक्लोपन र वरिपरीको संसार जान्ने प्रयत्न गरें |
“मेरो बन्द आँखाभित्र भविष्यको संसार देखें | मेरो अन्तप्रज्ञाले मलाई भन्यो “भविष्यका मान्छेहरूले अहिलेका मान्छेहरूले प्रकृतिसंग खेलाँची गरेको मूल्य आफ्नो प्राण दिएर चुकाउने छन् | मान्छेले विगारेका अन्नहरू फल्न छोड्ने छन् | हिउँ भएका पहाडहरूमा आगो बल्ने छ | आगो बल्ने ठाउँमा हिमाल भरिने छ | मान्छेले गरेका कुकर्मको फल निर्दोष जगतले भोग्ने छ | तैंले देखेको यो सपना भविष्यको सत्य हो | तेरो भविष्यको सन्ततिले यो प्रकृतिको उग्रसत्यलाई पचाउन सक्ने छैनन् |”
”””””””””””””””””””””””’
मेरो निद्रा खुल्दा ठीक रात्रिको दुई बजेको रहेछ | अनि, म सुत्न सकिन | के यो सपना भविष्यको सत्य हो ? मेरो मनले अनेकौं प्रश्न गरिरहेको छ | तपाईं के भन्नु हुन्छ ?
